द्रौपदीको स्वयंवरमा पहिलो पटक प्रकट भए कृष्ण

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—४

हरिविनोद अधिकारी

पाण्डवहरू किन खाण्डवप्रस्थ (खाण्डव वन) जानु परेको थियो ?अनि कसरी खाण्डवप्रस्थ इन्द्रप्रस्थ हुन पुगेको थियो ? अनि युधिष्ठिरलाई कसरी युवराजको पदवी दिएर हस्तिनापुरबाट सम्मानसाथ हटाइएको थियो ? किनभने युवराज भनेको राजाको उत्तराधिकारी हुनुपर्ने तर युवराजलाई किन राजाबाट टाढा टाढा पठाइयो ? अनि दृष्टिविहीन महाराज धृतराष्ट्रको उत्तराधिकारी को थियो ? या स्वयं धृतराष्ट्र आफूलाई कार्यवाहक महाराजका रूपमा मान्थे र पाण्डुको असली उत्तराधिकारीसँग तर्सन्थे र उसलाई आफू र आफ्ना भावी उत्तराधिकारीको आँखा सामुन्नेबाट सदाका लागि हटाउन चाहन्थे ?

महाभारतमा द्रौपदी स्वयंवरपछि बल्ल वसुदेव पुत्र वासुदेव कृष्णको प्रादुर्भाव हुन्छ। यसअघि धेरै घटना भएका हुन्छन् तर कृष्णको कतै प्रसङ्ग देखा परेको छैन। त्यसो त कतिपय महाभारतका समीक्षकहरूले वासुदेवको नाम कृष्ण अनि द्रौपदीको असली नाम कृष्णा रहेकोले कृष्णकी प्रेयसी हुनुपर्छ र त स्वयंवरका लागि गोकुलदेखि पाञ्चालसम्मको यात्रा सम्पन्न गरेर आएका थिए भन्ने पनि छ तर महाभारतको अध्ययन गर्दा कृष्ण समस्याको समाधानका लागि मात्र बारम्बार यत्रतत्र घुमेको पाइन्छ र त्यो समसामयिक समयका सबैभन्दा तर्कशील , समयको अध्ययन गर्न सक्ने अनि विना हतियार पनि युद्धलाई आफ्नो पक्षमा पार्न सक्ने क्षमता भएका अलौकिक व्यक्तित्वका रूपमा देखिएको पाइन्छ।

विश्वास गरिन्छ कि श्रीकृष्ण द्वैपायन व्यास, जसलाई वेद व्यासको रूपमा पौराणिक इतिहासमा चिनिन्छ, उनले जय नामक ग्रन्थ तयार गरेका थिए। जय नामक ग्रन्थ कुरुवंशको वंशीय इतिहास लेखिएको थियो।महाभारतको पहिलो पर्व आदि पर्वको सुरुमै महाभारतसहित अन्य इतिहास पुराणको महिमा मण्डित गर्दै भनिएको छ:

नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्। देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्।।

अर्थ—बदरिकाश्रम निवासी प्रसिद्ध ऋषि श्रीनारायण तथा श्रीनरको (अन्तर्यामी नारायणस्वरुप भगवान् श्रीकृष्ण, उनकै नित्य सखा नर स्वरूप नर श्रेष्ठ अर्जुनका) लीला प्रकट गर्ने भगवती सरस्वती र उनका वक्ता महर्षि वेद व्यासलाई नमस्कार गर्दै (आसुरी सम्पत्तिको नाश गर्दै अन्तःकरणमा दैवी सम्पत्तिको विजय प्राप्त गराउने अवस्था सृजना गर्नका लागि) जयको पाठ गर्नु जरुरी छ।

जय शब्दको अर्थ महाभारत नामक इतिहास नै हो। व्यापक अर्थमा भने जयो नामेतिहासोयम् भनिएको छ। अथवा अठार पुराण, वाल्मीकि रामायण आदि आर्ष(प्राचीन) ग्रन्थहरूलाई समष्टिगत रूपमा जय पनि भनिन्छ। तर जय नामक ग्रन्थले कुरुवंशीय इतिहासलाई मात्र बयान गर्ने भनेता पनि पछि श्रीकृष्णको बयान विना तत्कालीन इतिहास अपूर्ण हुने हुनाले महाभारतमा श्रीकृष्णको महिमा थपिएको बताइन्छ। तिनै कृष्णको प्रादुर्भाव द्रौपदीको स्वयंवरमा मात्र हुन्छ महाभारतमा। त्योभन्दा पहिले कतै पनि श्रीकृष्णको प्रसङ्ग पाइँदैन महाभारतमा। जब द्रौपदीको स्वयंवर हुँदै थियो, विशिष्ट अतिथिका रूपमा पाञ्चाल नरेशले काम्पल्यमा कृष्णको स्वागत गरेको जस्तो देखिन्छ। उदाहरणका लागि ब्राह्मण कुमारहरूले द्रौपदी स्वयंवरको प्रतिस्पर्धाका भाग लिएको कुरामा र एक जना राजकुमारीलाई पाँच जना ब्राह्मण कुमारहरूले विवाह गर्ने कुरामा पनि कृष्ण र वेद व्यासका कारणले समस्याको समाधान भएको पाइन्छ। तत्कालीन इतिहासको अध्ययन अहिले गर्दा पनि कुन्तीले वसुदेव दाइको यो छोरोको बारेमा सुनेको हुनसक्ने तर क्षमताका बारेमा जानकारी प्राप्त भएको देखिँदैन। तर द्रौपदीको स्वयंवरपश्चात् उब्जेको विवादलाई साम्य पार्न , पाँच भाइको परिचय द्रुपद राजालाई दिन, पाँच राजकुमारहरूका लागि विवाहित हुन नै द्रौपदीको जन्म भएको कुरामा सबैलाई सहमत गराउन पनि श्रीकृष्णले सराहनीय भूमिका निर्वाह गरेको पाइन्छ। सायद यही कारणले पनि द्रौपदीले कृष्णलाई एउटा अपरिहार्य सखाका रूपमा स्वीकार गरेको हुनुपर्छ।

जे भए पनि हस्तिनापुरका लागि पाञ्चाल राज्य एउटा स्वतन्त्र तर हस्तिनापुरको अधीनमा जस्तै रहेको देखिन्छ किनभने जब अर्जुनले द्रुपद महाराजलाई जितेर गुरु द्रोणाचार्य सामु नतमस्तक बनाए अनि आधा राज्य खोसेर गुरु  द्रोणाचार्यको अधीन गराए, त्यसपछिको घटनाक्रमले गरिएको यज्ञबाट नै धृष्टद्युम्न र द्रौपदीको जन्म भएको देखिन्छ। यज्ञबाट जन्मेकीले नै अयोनिजा या आमाको गर्भबाट नजन्मिएकी याज्ञसेनी भनिएको हो। त्यसो त कतिपय समीक्षकहरूले भने कतैबाट युवा तथा युवती खोजेर कुरुवंशको नाश गर्ने तालिम दिएको पनि भनिँदो रहेछ। तर हामीले मान्ने भनेको महाभारतको कथाबाट प्राप्त परिणामका आधारमा मान्ने हो।

त्यसो त द्रौपदीलाई कुनै प्रसङ्गमा इन्द्राणी मानिएको छ त कुनै प्रसङ्गमा साक्षात् कालीको अवतार मानिएको छ। स्वर्गका राजा इन्द्रकी रानी शचीले इन्द्रका अंशहरू पाण्डवका रूपमा अवतरण भएर पृथ्वीको भार हरण गर्न आउन थालेपछि उनले पनि सँगै बस्ने आशीर्वाद लिएर द्रौपदीको रूपमा अवतार लिएको मान्ने पनि छन्। जे होस्, धृष्टद्युम्नको उत्पत्तिमा द्रौपदी पनि सँगै आएर कुरुवंशको नाशको कारक बनेकी हुन् भन्नेचाहिँ तथ्यगत प्रमाण बनेको देखिन्छ।

वारणावर्तमा जलेर मरे भनेर काजक्रिया गरिसकिएका पाँच पाण्डव तथा उनीहरूकी माता महारानी कुन्ती जीवित हुनु पनि हस्तिनापुरका लागि नयाँ चुनौती थियो तर द्रुपद नरेशकी छोरी विवाह गरेकाले पाण्डवहरूको पक्षमा हस्तिनापुरले सकारात्मकता देखाउनु जरुरी थियो। त्यसले के देखाउँछ भने हस्तिनापुरले बाध्यतावश पाञ्चालीलाई स्वीकार गर्नु परेको थियो जबकि दुर्योधनादि वीरहरूले द्रौपदीप्रति मोह देखाए पनि प्रतिस्पर्धामा हारेर छोड्नु परेको थियो। कर्णका हकमा भने स्वयं द्रौपदीले आफू कुनै पनि हालतमा सूत पुत्रसँग विवाह बन्धनका नबाँधिने भनेर प्रतिस्पर्धाको नियम उल्लङ्घन गरेकी थिइन्। प्रतिस्पर्धाका लागि सार्वजनिक आह्वान गर्दा तल पानीमा हेरेर घुमिरहेको चक्रमा उनिएको माछाको आँखामा बेधन गर्नुपर्ने मात्र सर्त थियो। कसले गर्न सक्नु पर्छ भन्ने सर्त थिएन , थियो माछाको आँखामा भेदन गरेर आफ्नो शूरता, वीरता र धनु वाण निपुणता देखाउनु। त्यसको भित्री रहस्य नै हुनुपर्छ त्यो बेलामा अर्जुनबाहेक कोही पनि त्यस्तो वीरता र निपुणता देखाउने थिएन। प्रतिस्पर्धाको घोषणा गर्दा भने अर्जुनको कुनै टुङ्गो थिएन। कारण थियो, वारणावर्तमा कुन्ती सहित पाण्डवहरू जलेर मरेको समाचार संसारभर फैलिएको थियो। यसो हुनुमा  पाण्डवहरूको शक्ति  सञ्चयको कारण थियो रहस्यमा भने बाहिरी आँखाले देख्दा जलेको दरबारमा एक जना बालिग महिला र पाँच जना पुरुषहरूको  डढेको नचिनिने गरी लास मात्र बाँकी थियो। पाण्डवहरू जीवित छन् भन्ने कुरा थाहा पाउने त्यस बेलामा मात्र तीन  जना थिए—वासुदेव कृष्ण, श्रीकृष्ण द्वैपायन र महामन्त्री विदुर। वासुदेव कृष्णले सबै रहस्य थाहा पाएर अर्जुनलाई द्रौपदी जिम्मा लगाउने परिपाठ मिलाउन काम्पल्य आएका थिए भने सबैका सर्व स्वीकृत आदर्श पुरुष वेद व्यासले सबै तारतम्य मिलाउनका लागि काम्पल्य आउनु जरुरी थियो। वेद व्यास त्रिकालज्ञ र भविष्यमा हुने कुरुवंशका कारणले महायुद्धको तयारीमा थिए। विदुरका कारणले त बारणावर्तमा  पुरोचनसँग सतर्क रहँदै आफ्नो वासस्थानमा आगो लगाएर एक जना भिल्ल महिलासहित उसका पाँच वटा छोराहरूलाई आगो लगाएर नचिनिने लासको व्यवस्थापन गरेर त्यही दरबारको मुनिबाट सुरुङ तयार गरी भाग्दाभाग्दै एकचक्रा नगरीमा बास बस्न पुगेका थिए जुन पाञ्चाल राज्यमा थियो र काम्पल्यको नजिक थियो। र त द्रौपदी स्वयंवरमा दृढताका साथ सहभागी हुन पुगेका थिए।

महाभारत कालमा विवाहका केही नियमहरू थिए। दाजुको विवाह नगरी भाइको विवाह मान्य हुँदैन थियो। त्यस्तो अवस्थामा परिवेत्ता भनिन्थ्यो। दिदीको विवाह नभई बहिनीको विवाह गर्न पाइँदैनथ्यो। यदि विवाह गरेमा परिवेत्ती मानिन्थ्यो र उनीहरूका बिचमा बोलचाल, खानपिन बन्द हुन्थ्यो। त्यही बिचमा एउटा प्रसङ्ग के पनि परेको थियो भने राती पहरा दिँदा हिडिम्बासुरलाई भीमले मारे, अनि हिडिम्बाले आफ्नो दाजुजस्तो महान् वीरलाई मार्न सक्ने कस्तो पुरुष होला भन्ने भावनाले आकर्षित भइन् र उनले भीमसँग विवाहको प्रस्ताव गरिन्। दाजुभन्दा पहिले विवाह गर्न अनुमति नभएपछि युधिष्ठिर बाहिर थाहा नपाउने जस्तो गरी हिडिम्बासँग संसर्गका लागि अनुमति दिए। सँगै राख्न मिल्दैनथ्यो। त्यो समस्या अर्जुनका लागि मात्र द्रौपदीको विवाह मान्दा अझ कडा रूपमा देखिने अवस्था थियो। भविष्य वेत्ता र तारण हार वेद व्यास र कृष्णले पाँच भाइसँगै बेग्ला बेग्लै विवाहको प्रक्रिया पूरा गराएका थिए र सर्त थियो, पटरानीका रूपमा द्रौपदी मात्र मान्य हुनेछिन्। त्यसैले सबै पाण्डवहरूका बेग्लाबेग्लै श्रीमतीहरू थिए तर ती सबै पटरानीका रूपमा, या बडामहारानीका रूपमा मान्यता प्राप्त गरेका थिएनन्। त्यसका लागि नारद ऋषिले एउटा गज्जबको सूत्र तयार गरेर भने—भोलि सुन्द उपसुन्द राक्षसको जस्तो एउटै केटीका लागि युद्ध भएर एक अर्कालाई मार्ने अवस्था नआओस्, त्यसैले एक जना पाण्डवको एक वर्षको अवधि तोकेपछि जन्मेको बच्चाको पनि बाबु को हो थाहा हुने, अनि द्रौपदीलाई के नाताले बोलाउने भन्ने पनि निश्चित हुने तय गरिएको थियो। तर दाजु या भाइसँग जोसँग उनको रसबस बसे पनि उनी मात्र पटरानी थिइन्। क्रमशः

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link