गाजा युद्धविरामबारे मतदान हुँदै

गाजामा युद्धविरामका लागि पटक–पटक गरिएको आह्वानलाई अवरुद्ध गर्दै आएको संयुक्त राज्य अमेरिकाले ‘तत्काल युद्धविराम’ को आवश्यकताबारे संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा प्रस्तावको मस्यौदा पेश गर्ने भएको छ ।

गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी क्षेत्रमा तत्काल युद्धविरामका लागि आह्वान गर्न विश्व निकायलाई रोक्न संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को भिटो प्रयोग गर्दै आएको छ ।

फेब्रुअरीको अन्त्यमा अन्तिम भिटो पछि अमेरिकी अधिकारीहरूले बन्धकहरूको रिहाइको बदलामा छ हप्ताको युद्धविरामको लागि गाजामा भएका कूटनीतिक प्रयासहरूको पक्षमा केन्द्रित वैकल्पिक प्रस्तावमा छलफल गरिरहेका छन् ।

युद्धविराम सम्झौताको प्रस्तावको पछिल्लो संस्करणमा ‘सबै पक्षका नागरिकहरूको सुरक्षा गर्न, आवश्यक मानवीय सहायता प्रदान गर्न र मानवीय पीडा कम गर्न तत्काल र दिगो युद्धविरामको आवश्यकता’ लाई उल्लेख गरिएको छ ।

त्यसैले प्रस्तावको पछिल्लो संस्करणले ‘बाँकी रहेका सबै बन्धकहरूको रिहाइको सन्दर्भमा यस्तो युद्धविराम सुरक्षित गर्ने कूटनीतिक प्रयास’लाई जोड दिएको छ ।

इजरायलको प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाको समर्थनलाई कम गर्न अन्तर्राष्ट्रिय समुदायबाट दबाब आइरहेको समय बुधबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पछिल्लो प्रस्तावले ‘कडा सङ्केत’ दिएको बताउनुभएको छ ।

प्रस्तावमा बन्धकहरूको रिहाईसँग जोडिएको तत्काल युद्धविरामको आह्वान गरिएको र राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूले यसलाई समर्थन गर्ने मा आफू विश्वस्त रहेको साउदी अरब भ्रमणका क्रममा विदेशमन्त्री ब्लिन्केनले बताउनुभएको थियो ।

यद्यपि, प्रस्तावमा स्पष्ट रूपमा ‘आह्वान’ शब्द प्रयोग गरिएको छैन, बरु केवल युद्धविराम अनिवार्य छ भनेर उल्लेख गरिएको छ । रूसले प्रस्तावमा प्रयो गरिएको उक्त भाषालाई लिएर प्रस्तावलाई धेरै कमजोर भनेको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि रूसी उपराजदूत दिमित्री पोल्यान्स्कीले बिहीबार सञ्चारकर्मीसँग भन्नुभयो, “तत्काल युद्धविरामको माग नगर्ने कुनै पनि कुराबाट हामी सन्तुष्ट छैनौं ।” इन्टरनेसनल क्राइसिस ग्रुपका विश्लेषक रिचार्ड गोवनले अमेरिकाले अझै पनि कुनै पूर्वशर्तबिना युद्धविरामको माग गरिरहेको छैन ।

तर अमेरिकाको यो सीमित परिवर्तनले पनि इजरायलीहरूलाई चिन्तित तुल्याउनेछ, किनकि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संयुक्त राष्ट्रसङ्घलाई युद्धबारे कूटनीतिबाट पूर्णतया टाढा राख्न चाहनुहुन्छ ।

कूटनीतिक स्रोतका अनुसार, संयुक्त राज्य अमेरिकासँग अब यो प्रस्ताव पारित गर्नका लागि पर्याप्त मत १५ मध्ये कम्तिमा नौ मत छ, तर रूसले भिटो लगाउन सक्ने सम्भावना कायमै छ ।

अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले यसलाई अङ्गीकार गर्न आफू आशावादी रहेको बताउनुभएको छ ।

युद्धविरामका अतिरिक्त, प्रस्ताबले ‘गाजामा जनसङ्ख्यिकीय वा क्षेत्रीय परिवर्तनको कुनै पनि प्रयासलाई अस्वीकार गर्दछ’ र इजरायलविरुद्ध ‘अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणसहित सबै आतङ्कवादी कार्यहरू’ को निन्दा गर्दछ ।

यदि यो प्रस्ताव पारित भएमा सुरक्षा परिषद्ले पहिलो पटक इजरायलमा करिब एक हजार १६० जनाको मृत्यु भएको हमासको आक्रमणको निन्दा गर्नेछ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link