शिक्षकबाटै दुर्व्यवहार: राजनीतिक हस्तक्षेप, फितलो कारबाही

प्रतिमा सिलवाल

मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ मा शिक्षा विकास माद्यमिक विद्यालयकी छात्रालाई एक शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यालयका छात्रछात्रा र अभिभावकहरूसमेत आन्दोलित भए। लेटाङ नगरपालिका– ५ का वडाध्यक्ष भूमसूर्य मगरले दिनुभएको जानकारीलाई मान्ने हो भने ती शिक्षकलाई कानुनी कारवाहीका लागि प्रहरी बोलाइएको थियो।तर भीडले ती शिक्षकलाई जोगाउन खोजेको ठान्यो र अनियन्त्रित भिडले विद्यालयमा आगजनी तोडफोड र ढुंगामुढा गरेको थियो ।

त्यो अवस्थालाई सामान्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगरस्थित रानी गणमा कार्यरत महिला प्रहरी जवान उर्मिला श्रेष्ठ आन्दोलनकारीको आक्रमणबाट मृत्यु भयो ।

ती आरोपित शिक्षकलाई गर्न लागेको कारवाहीका बारेमा विद्यालय तथा प्रहरीले भनेको कुरा विद्यालयका छात्रछात्रा र अभिभावकहरूले किन मानेनन्। त्यसपछाडिको कारण हो यस्ता घटनाका आरोपितलाई राजनीतिक संरक्षण गरिनु र फितलो कारवाही गरिनु। यस्ता घटना भुसको आगो झै सल्किरहेको हुन्छ, कतिखेर भयानक रूप लिन्छ थाहा नै हुँदैन। चितवनमा त्यस्ता केही घटना छन् जसले हाम्रो समाजको चरित्रलाई ऐना देखाउँछ।

गत वर्ष फागुन २२ गते चितवनको टाँडीमा रहेको क्रिष्टल कलेजमा कक्षा ११ मा पढ्ने एक विद्यार्थीलाई सोही विद्यालयका शिक्षक गोकुल पराजुलीले यौनजन्य दुर्व्यवहार गरेको घटना सार्वजनिक भयो।

पीडित विद्यार्थीले शिक्षकले इलाका प्रहरी कार्यालय टाँडीमा यौनजन्य हिँसा भएको जाहेरी दिइन्। तर, उनको उमेर १९ वर्ष भएकोले प्रहरीले मुलुकी अपराध संहिता २०७४ को जबरजस्ती करणीको महल अन्तर्गत २२४ ले व्यवस्था गरेको यौन दुर्व्यवहारको उजुरी लिन मानेन।

मुलुकी अपराध संहिता २०७४ को अनुसूची १ ले यौन दुर्व्यवहारको घटनामा उजुरी प्रहरीमा नभइ सिधै अदालत जानुपर्ने व्यवस्था गरेको छ। उजुरी गर्ने नजिकको  र सजिलो ठाउँ भएकोले पीडितका परिवारले प्रहरीमा नै उजुरी दिने निर्णय गरे।

तर प्रहरीमा यौन दुर्व्यवहारमा दर्ता नहुने भएपछि घटनाको भोलिपल्ट २३ फागुन २०७८ मा पीडितले मुलुकी अपराध संहिता २०७४ को दफा ११८ अन्तर्गत अभद्र व्यवहारको कसुरमा जाहेरी दर्ता गराए।

शिक्षक पराजुलीले पीडित विद्यार्थीलाई फेसबुकको म्यासेज प्रयोग गरि सौराहामा बियर खाएर रमाइलो गर्नुपर्छ लगायतका यौनका आसयले म्यासेज गरेको जाहेरीमा उल्लेख थियो। प्रहरीमा जाहेरी दर्ता भएपछि प्रहरीले पीडक पराजुलीलाई पक्राउ गर्न सकेन। उनलाई फरारको सूचीमा राख्यो।

मान्छे नभेटिएपनि प्रहरीले अनुसन्धान गरि जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल बुझायो। तर, जिल्ला न्यायाधिवक्ता कार्यालयले उक्त अभियोगमा मुद्धा चलाउन नमिल्ने भन्दै फाइल नै अघि बढाएन।

पीडितहरूले कारबाही अघि बढाउन माग गर्दै उच्च अदालतका सरकारी वकिलसमक्ष फाइल पठाएपछि अभद्र व्यवहारमा मुद्धा प्रकृया अघि बढाउन उच्च अदालतका न्यायाधिवक्ता कार्यालयबाट निर्देशन आएपछि २०७८ जेठ ३० गते जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान पुनः गरेर मिसिल पठायो। त्यसपछि बल्ल जाहेरीमा कारबाही प्रकृया जिल्ला प्रशासन कार्यालय चितवनमा अघि बढायो।

प्रमुख जिल्ला अधिकारीले घटना भएको करिब एक वर्षपछि ५ माघ २०७७मा तीन हजार पाँच सय जरिबाना र १४० रुपैयाँ क्षतिपूर्ति रकम तोकेर फैसला गरिदिए। अहिले शिक्षक पराजुली रत्ननगरकै एक सामूदायिक विद्यालयमा पढाउँछन्। उनी नेकपा एमालेका स्थानीय अगुवा पनि हुन्।

क्रिस्टल कलेजकै घटनासँग लगभग मिल्ने अर्को घटना २८ फागुन २०७७ मा चितवनकै बालकुमारी माध्यामिक विद्यालयमा भयो। त्यहाँ अध्यापन गराउने दुई शिक्षकले यौनको आशयले हैरानी दिएको भन्दै कक्षा १२ का विद्यार्थीहरूले स्कुल परिसरमै शिक्षकहरूलाई कालोमोसो पनि दले।

दुई मध्येका एक शिक्षक हरीकुमार श्रेष्ठ विरुद्ध यौन हिँसामा उजुरी दिन विद्यार्थीहरू जिल्ला प्रहरी कार्यालय चितवनमा पुगे। तर, प्रहरीले १८ वर्षमाथिका पीडित भएकोले कानून अनुसार अभद्र व्यवहार अन्तर्गत जाहेर लिएर आएमात्रै दर्ता गर्न सकिने बतायो। त्यसपछि पीडितहरूले २०७७ चैतको ६ गतेमात्रै उजुरी दर्ता गराए। उजुरीमा शिक्षक श्रेष्ठले सार्वजनिक स्थलमा बस्दा छुन खोज्ने, एकान्तमा भेट्न बोलाउने लगायतका यौनजन्य दुर्व्यवहार गरेको उल्लेख गरेका थिए।

उक्त जाहेरीको अनुसन्धान गरि प्रहरी जिल्ला प्रशासन कार्यालय मार्फत मुद्दा अघि बढायो। जाहेरी दिएलगत्तै पक्राउ गरेका शिक्षकलाई १३ दिन अनुसन्धानको क्रममा हिरासतमा राखेको अवधिलाई नै सजाय भएको गणना गरि धरौटी रकम समेत फिर्ता हुने गरि चितवनका प्रमुख जिल्ला अधिकारीले बिना नै उन्मुक्ति दिने फैसला गरे।

बालकुमारी माध्यामिक विद्यालयमा निजी स्रोतका अँग्रेजी शिक्षक श्रेष्ठ अहिले शिक्षण पेशामा आवद्ध  छैनन्।

मूलुकी अपराध संहिता २०७४ को दफा ११८ मा रहेको अभद्र व्यवहार गर्न नहुने सम्बन्धी व्यवस्थाले कानून विपरितको काममा १० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था छ। चितवनमा विद्यार्थीलाई नैतिकता सिकाउने शिक्षकबाटै यौन हिंसा भएको एक वर्षको अवधिमा तीन वटा घटना सार्वजनिक वृत्तमा आयो।

सार्वजनिक स्थलमा यौन हिंसा भएपनि १८ वर्षमाथिको हकमा भने अभद्र व्यवहारमा मुद्धा चलेर अभियोग नै कमजोर बनाइदिने माथिका दुई घटनाले देखाउँछ। चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ अभद्र व्यवहार अन्तर्गतको मुद्धा नै कमजोर रहेको स्वीकार गर्छन्। उनले भने, ‘मकहाँ आइपुग्दा मुद्दा र अभियोजन निकै कमजोर हुन्छ। तैपनि मैले अधिकतम सजाय दिएको छु।’

एकातिर राजनीतिक लिगेसी अर्कोतिर अभियोजन नै कमजोर हुँदा यस्ता मुद्दामा शिक्षककले उन्मूक्ति पाउने गरेका छन्। माडीको सोमेश्वर उच्च माध्यामिक विद्यालयमा फागुन २९ गते शिक्षक सुरज लामिछानेले गरेका यौन दुर्व्यवहारको घटनामा त माडी स्तरीय शिक्षक संघले विज्ञप्ति नै निकालेर आरोपी शिक्षकको संरक्षण गर्यो।

शिक्षकले दुर्व्यवहार गरेका विद्यार्थी १५ वर्षकी भएकोले प्रहरीमा बाल यौन दुर्व्यवहारको जाहेरी पीडितले दिएका छन्। उक्त घटनामा पीडितको तर्फबाट उजुरी लेखिएकी अधिवक्ता सरिता तिवारी यौन दुर्व्यवहारजस्तो संवेदनशिल मुद्धामा पनि दलीय दबाबले न्यायिक प्रकृया कमजोर बनाउन खोज्नु खेदजनक भएको बताउँछिन्।

पीडित बालिकाकी आमाले चैत ६ गते जिल्ला प्रहरी कार्यालयमा बाल यौन दुर्व्यवहारमा उजुरी दिएकी छिन्। मूलुकी अपराध संहिताको दफा २२५ अन्तर्गत बाल यौन दुर्व्यवहार गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनुक्ने व्यवस्था छ। अधिवक्ता तिवारी माडीको घटनामा विकसित राजनीतिक हस्तक्षेप हेर्दा अनुसन्धान नै फितलो हुनसक्ने अनुमान गर्छिन्। उनले भनिन्, सुरुदेखिकै घटनाक्रम र राजनीतिक हस्तक्षेप हेर्दा पीडितलाई प्रभावित पारेर मुद्दा नै फितलो हुनसक्ने देखिन्छ। त्यसैले हाम्रो खबरदारी निरन्तर आवश्यक देखिन्छ।’

प्रतीकात्मक तस्बिर सौजन्य टेलिरिपोर्ट

 

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिमा सिलवाल/ चितवन का अन्य पोस्टहरु:
शिक्षकबाटै दुर्व्यवहार: राजनीतिक हस्तक्षेप, फितलो कारबाही
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link