पूर्व सांसद मैयाँदेवी श्रेष्ठको गए राती निधन भएको छ। मैयादेवी ‘दु:खकी साथी’, को सबैमाझ परिचित हुनुहुन्थ्यो। बिस १९८५ सालमा तनहुँको बन्दीपुरमा जन्मनुभएकी श्रेष्ठलाई बुढ्यौलीसँगै विभिन्न रोगले गाँजेको थियो। उहाँको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा निधन भएको हो।
मैयाँदेवीले दुखी गरिबलाई मात्र होइन, राजनीतिक (नेपाली कांग्रेस) देखि सामाजिक र शिक्षा क्षेत्रका लागि आफ्नो व्यक्तिगत धनसम्पत्ति दान गर्नुभयो। अझ भनौँ, उहाँको आफ्नो स्वामित्वको धन आफ्ना लागि मात्रै सीमित रहेन, समाजले उपभोग गर्न पायो। त्यसैले उहाँ समाजमा दानवीर उपमाले परिचित हुनुहुन्छ।
पछिल्लो समय चितवनको भरतपुर महानगरपालिका ३, स्थित क्षेत्रपुरमा रहेको घरमा अरूको स्याहारमा हुनुहुन्थ्यो। बुढ्यौली लागेसँगै उहाँको स्मरणशक्ति कमजोर भएको थियो। बढ्दो उमेरसँगै शरीरका तन्तुहरूमा आउने कम्पन, नियमित काम गर्न असहज हुने समस्या ( पार्किन्सन्स् रोग) ले उहाँलाई गाँजेको थियो।
पाँच वर्षयता सार्वजनिक कार्यक्रममा पनि उहाँ देखिनुभएको थिएन। कतिपय आफ्नो विगत प्रष्ट सम्झिन पनि गाह्रो हुँदै गएको थियो। उहाँले तीन वर्षअघिको भेटमा भन्नुभएको थियो, ‘चाहिएको सम्पत्ति अरुले पनि उपयोग गर्न नपाए त्यो धनको महत्व के ?’
आफ्ना राजनीतिक तथा सामाजिक जीवनका कतिपय यादहरू स्मृतिबाट मेटिएपछि जीवनको अन्तिम समयमा पनि आफूले गरेको कयौं कर्मबारे स्मृति ताजै थियो। उहाँले त्यस भेटमा थप्नुभएको थियो, –‘दानले कहिल्यै हानी गर्दैन, दुखीको दुख बाँड्नुपर्छ।’
मैयाँदेवीको सहयोग |
क) मैयाँदेवी कन्या कलेजलाई भरतपुरमा १२ कट्ठा जग्गा र भवन बनाउन लागेको सबै खर्च बेहोरेको। |
ख) नारायणगढको बालकुमारी कन्या विद्यालयलाई १० कट्ठा जग्गा दान। |
ग) नेवा: पुच नारायणगढलाई भवन बनाउन एक करोड रुपैयाँ मुल्य बराबरको जग्गा दिएको। |
ङ) चितवन काँग्रेसको घर बनाउन नारायणगढ बजारमा जग्गा दान। |
च) विभिन्न १० जना व्यक्तिहरूलाई चितवनमा लगभग ३० करोड मुल्य बराबरको जग्गा प्रदान |
छ) भरतपुर महानगरपालिका वडा नम्बर ३ को वडा कार्यालय बनाउन जग्गा प्रदान। |
ज) व्यक्तिका नाममा र एक लाखभन्दा तलको नगद दानको लामै विवरण छ, तर हिसाबकिताब नराखेको। |
जन्मिए लगत्तै सिस्नो झाडीमा
मैयाँदेवी जन्मदा नेपाली समाजले छोरीको जन्मलाई खुशीले स्वीकार गर्दैनथ्यो। कतिपय अवस्थामा त्यो मान्यता अझै कायम छ। परिवारमा महिला गर्भवती छिन् भने यदाकदा बाहेकको परिवार छोराकै पर्खाइमा बस्ने चलन अझै छ। झण्डै एक शताब्दी अघि त त्यो स्वभाविक थियो भन्न सकिन्छ। मैयाँदेवी जन्मिएको परिवार यही समाजको एउटा प्रतिनिधि पात्र न थियो।
मैयाँदेवीका बुबा वीरबहादुर श्रेष्ठ डिठ्ठा हुनुहुन्थ्यो। वीरगञ्ज थियो उहाँको जागिरे मुकाम। गर्भवती श्रीमती गणेशकुमारी (मैयाँकी आमा) लाई वीरबहादुरले भन्नुभएको रहेछ, ‘छोरी पाइस् भने अर्को बिहे गर्छु।’ एक छोरालाई जन्माइसकेकी गणेशकुमारीले दोस्रो सन्तानको रुपमा मैयाँदेवीको जन्म भयो।
१९८५ साल असोज ४ गते दसैँको फूलपातीको दिन थियो। गणेशकुमारीलाई प्रसव व्यथा लाग्दा एक्लै हुनुहुन्थ्यो। माइतीघरमै बसेकी गणेशकुमारीकी आमा (हजुरआमा) कामले घर बाहिर जानुभएको थियो।। त्यही बेला जन्मनुभयो मैयाँदेवी। गणेशकुमारी छोरी जन्मिए सौता ल्याउने भनेको सम्झिदै छोरी जन्मिएको श्रीमान्लाई समेत भन्न सक्नुभएन। बरु श्रीमान् खुशी पार्न जन्मिएकी छोरी फाल्ने सोच आयो। श्रीमानले भनेको कुरा सम्झिदै गणेशकुमारीले सुसारे (त्यतिबेला घरमा काम गर्न राखिएको मान्छे) लाई जन्मिएकी छोरी (मैयाँदेवी) लाई घर नजिकै सिस्नो झाडीमा फ्याँक्न लगाउनुभयो। हजुरआमाले भनेको सम्झिदै मैयाँदेवीले तीन वर्षअघिको अन्तर्वार्तामा भन्नुभएको थियो, “हजुरआमा घर आइपुगेपछि सुत्केरी भएको थाहा पाउनुभयो र बच्चा खोज्दा भेट्नुभएन रे।”
छोरीको कुरापछि हतार हतार झाडीमा पुग्दा रोइरहेकी नातिनी (मैयाँदेवी) लाई हजुरआमाले टिपेर ल्याउनुभयो र छोरीलाई बालिका शिशुलाई दुध चुसाउन लगाउनुभयो। सरसफाइ गरिदिनुभयो। अनि आफैले च्यापेर बालिका सुताउनु भयो। अनि छोरीलाई सम्झाउन पनि थाल्नुभयो। अन्तत: विस्तारै बच्चाप्रति आमाको माया बस्न थाल्यो र मैयादेवी आमा गणेशकुमारीकै काखमा हुर्किनुभयो।
आमा गणेशकुमारीले राम्रोसँग आमाको जिम्मेवारी पुरा गर्नुभयो। बुझ्न थालेपछि भने आमाले कहिल्यै नराम्रो नगरेको मैयाँदेवी सम्झिनुहुन्छ। अन्तत: आमाकै प्रयासले उहाँले पढ्न पनि पाउनुभयो।
उहाँको बुबाको जागिर वीरगञ्जमा थियो। बुबा सँधै जसो घरबाहिर हुने भएकाले परिवारको सम्पूर्ण जिम्मेवारी मैयाँदेवीकी आमा गणेशकुमारीले नै सम्हाल्नुहुन्थ्यो। गणेशकुमारी ३० वर्ष पुग्दै गर्दा मैयाँदेवीका बुबा वीरबहादुरको निधन भयो। त्यसपछि एकजना दाइ र मैयाँदेवीको रेखदेख झन् आमाको एकल जिम्मेवारी भयो। उहाँले तत्कालिन समयमा भन्नुभएअनुसार दाइ कमलप्रसादले पनि तीन वर्ष डिठ्ठा काम गर्नुभयो।
मैयादेवीको परिवार कपडाको व्यापार पनि गर्थे। बुबा जागिरमा छँदा आमाले व्यवसाय सम्हाल्न थाल्नुभयो। देवघाटमा हुने मेलामा बन्दिपुरबाट मैयादेवीकी आमा कपडाको व्यापार गर्न आउजाउ गर्नुहुन्थ्यो। व्यापार देवघाटमा नै हुने भएपछि परिवारले चितवनमै बस्ने सोच बनाए। अहिलेको नारायणगढ क्षेत्र त्यतिबेला जंगल थियो। घरहरू छँदै थिएनन् भनेपनि हुन्छ। त्यो समय जग्गा फाँड्यो त्यती आफ्नो हुन्थ्यो।
अलि अलि स्मृति पल्टाउँदै मैयाँदेवीले त्यतिबेला बताए अनुसार २००३ सालको आसपासमा नारायणगढमा जम्मा चारवटा घर थिए।’ त्यो बेला उनीहरूको घरमा सयवटा भैँसी हुन्थे। बाघ भालुको डरले दिउँसै भाला लिएर हिँड्नु पथ्र्यो। चित्री, हरिण त दिउँसो आँगनमै आउँथे।
माइजूले खोलेको स्कूलमा पढाइ
घरमा आम्दानीको स्रोत व्यापार र बुबाको जागिर भएका कारण घरमा धन सम्पत्तिको अभाव महसुस गर्नुपरेन मैयाँदेवीले। भएको सम्पत्तिको पनि उहाँलाई लोभ मोह लागेन। बाबा कहिले कहाँ कहिले कहाँ हुने भएका कारण आमाले पनि घर व्यवहार र कारोबार सम्हालेको देखेकी मैयाँदेवी लाई त्यो बेलामा पनि शिक्षाको अवसर मिल्यो।
तनहुँ बन्दिपुरको खड्ग देउता भन्ने ठाउँमा माइजुले खोलेको स्कुलमा उहाँको पढाइ सुरु भयो। आमाले उहाँलाई पढाउन त्यहीं लैजानुभयो। उहाँले पढ्ने बेलासम्म कहिले नारायणगढ कहिले बन्दिपुर गर्नुपरेको थियो। एसएलसी पास भएपछि भने उहाँ थप पढ्नको लागि बम्बै जानुभयो। तर आइए पढ्दापढ्दै आमा बिरामी भएर फर्किएकी उनी पुन: पढाइ अघि बढाउन मुम्बई जान पाउनुभएन।
विहे बिद्रोह
मैयाँदेवीकै अनुसार उहाँलाई बिहे गर्ने विचार कहिल्यै आएन। परिवारका सदस्य र आफन्तले मात्र होइन उमेरमा चिनेजानेका सबैले बिहे गर्ने बेला भएन? बिहे कहिले गर्ने जस्ता प्रश्नको सामना निरन्तर गरिरहन पर्यो। तर उहाँलाई भने पटक्कै मन लाग्दैनथ्यो। यतिसम्मकी बिहे गरिदिने भए खोलामा हाम फालेर मर्छु भन्दा पनि आमाले केटाको कुरा गर्नुहुन्थ्यो। तर, उहाँकै जित भयो, बिहे कहिल्यै स्वीकार्नु भएन। रजस्वला पूर्व नै छोरी अन्माउँदा पूण्य मिल्छ भन्ने तत्कालिन मान्यतालाई उहाँको दृढ शक्तिले जित्यो। त्यो आफूले पाएको अर्को सफलता ठान्नुहुन्थ्यो मैयाँदेवी। राजनीतिक विचारधारा, सामाजिक सेवाभावले उहाँलाई घरजम बसाउनुभन्दा त्यत्तिकै ठिक लाग्यो। जवानीलाई सम्झिदै त्यतिबेला उहाँले भन्नुभयो, “राजनीतिमा लागेपछि जेलनेल सहनुपर्छ। आफ्नो जीवन नै समाज र राजनीतिमा होमिएको व्यक्तिले घरपरिवार सन्तानको जिम्मेवारी कसरी बहन गर्नु ?”
उहाँको अनुभवमा बिहे नगरी बस्नु ठूलो युद्ध जित्नु जस्तै हो रहेछ। देशभित्र मात्रै उहाँलाई बिहेका लागि भारतबाट समेत कुरा आउँथे। नाता कुटुम्ब, घरगाउँले त भइहाले उहाँलाई बिहे गर भन्नेमा पार्टीकै मान्छे पनि त्यत्तिकै निस्किए। विपी कोइराला, गणेशमान सिंहले समेत मेरा लागि केटा खोजेर ल्याइदिनुहुन्थ्यो । ‘मेरो जिद्धि देखेर आजित भएर गणेशमान जीले भो यसको बिहेको कुरा नगरौं भन्नु हुन्थ्यो रे तर बिपीले त मैयाँदेवी अब तिमीले बिहे गर्नुपर्छ भनेर पछिसम्म पनि भनेको उहाँको पछिल्लो स्मृतिमा ताजै थियो।
उहाँको अनुभवमा बिहे नगरी बस्नु ठूलो युद्ध जित्नु जस्तै हो रहेछ। देशभित्र मात्रै उहाँलाई बिहेका लागि भारतबाट समेत कुरा आउँथे। नाता कुटुम्ब, घरगाउँले त भइहाले उहाँलाई बिहे गर भन्नेमा पार्टीकै मान्छे पनि त्यत्तिकै निस्किए। विपी कोइराला, गणेशमान सिंहले समेत मेरा लागि केटा खोजेर ल्याइदिनुहुन्थ्यो । ‘मेरो जिद्दी देखेर आजित भएर गणेशमानजीले भो यसको बिहेको कुरा नगरौँ भन्नु हुन्थ्यो रे तर बिपीले त मैयाँदेवी अब तिमीले बिहे गर्नुपर्छ भनेर पछिसम्म पनि भनेको उहाँको पछिल्लो स्मृतिमा ताजै थियो।
‘एक पटक बम्बैबाट इन्जिनियर आएर बिपीसँग गएर मैयाँदेवीसँग बिहे गर्छु कुरा गर्दिनू भनेछन्। बिपीले फेरि बिहेको कुरा राख्नुभयो। तर उहाँले यसैगरी बिहेको कुरा गर्ने हो भने काँग्रेसमा पनि बस्दिनँ भनेर जवाफ दिएको बताउनुभएको थियो।
मैयाँदेवी जीवनभर अविवाहित रहनुभयो। तर, उहाँका चार छोरा छन्। विवाह नभए पनि आमा बन्नुभयो। आफूले नजन्माएका छोराहरूको मातृत्व ग्रहण गर्नुभयो। चार जना छोरालाई धर्म छोरा बनाएर पुरै अविभावकको जिम्मेवारी लिनुभयो। अन्तिम समयमा तीनै चार मध्ये टङ्क पौडेलसँगै बसिरहनुभएको थियो मैयाँदेवी।
‘त्यो बेला बन्दिपुरमा गोली नै चल्यो। हामी सातजना थियौ। एकजनालाई त गोली लागेर ढल्यो। लोग्नेलाई सेनाले गोली ताक्दा मलाई मार भन्दै अगाडि सर्ने महिलाहरू पनि थिए। महिलाहरूमा त्यो बेला त्यस्तो हिम्मत देख्दा एकदम खुशी लाग्थ्यो। गोली चलाइ रहेको सेनाको हातबाट बन्दुक खोस्ने महिलाहरू पनि भेटे’, उहाँले भन्नुभएको थियो।
विपीले जगाएको राजनीतिक चेत
मैयाँदेवीमा राजनीतिक चेत जगाउने व्यक्ति बिपी हुन्। काँग्रेस भूमिगत भएकै बेला वि.सं. २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसमा उहाँ प्रवेश गर्नुभयो। त्यो समय उहाँको घरमा बिपी, गणेशमान, कृष्णप्रसाद आउजाउ गर्थे। उहाँकै घरमा बस्थे, खानपान गर्थे। मैयाँदेवीले सम्झनुभएको थियो, ‘मलाई सान्दाजु (बिपी) ले नै तिमी राजनीतिमा आउ भन्नुभएको हो।’ उहाँले तीन वर्षअघि यसरी स्मृति सुनाउनुभएको थियो, –एक दिन खाना खाएर बसेका बेलामा बिपी बोलाएर ए मैयाँ एउटा काम गर है भन्नु भयो। के काम हो र सान्दाइ भनेर सोधेको त काँग्रेसमा लाग भन्नुभयो। मैले आनाकानी गरेँ। अनि उहाँले नै यतिको चलाख मान्छे राजनीतिमा आउनुपर्छ भन्नुभयो।
जीवनका कयौँ महत्वपूर्ण घटना मेटिसक्दा पनि उहाँको स्मृतिमा बिपीसँगको सम्झना गडेर बसेको थियो। उहाँले भन्नुभएको थियो, विपीको अगाडि कापीमा रगतको औठा छाप हानेर पार्टीमा लाग्ने बाचा गरेको थिएँ। बिपीले महिलाको स्थिति बोध गराएको उहाँले सम्झनुभएको थियो। उहाँका अनुसार त्यसपछि झन् राजनीतिक लगाव बढ्दै गयो। २००७ सालको क्रान्ति हुँदा उहाँ जन्म थलो बन्दिपुरमै हुनुहुन्थ्यो।
‘त्यो बेला बन्दिपुरमा गोली नै चल्यो। हामी सातजना थियौ। एकजनालाई त गोली लागेर ढल्यो। लोग्नेलाई सेनाले गोली ताक्दा मलाई मार भन्दै अगाडि सर्ने महिलाहरू पनि थिए। महिलाहरूमा त्यो बेला त्यस्तो हिम्मत देख्दा एकदम खुशी लाग्थ्यो। गोली चलाइ रहेको सेनाको हातबाट बन्दुक खोस्ने महिलाहरू पनि भेटे’, उहाँले भन्नुभएको थियो।
प्रत्यक्षमा चुनाव लडेर जित्ने महिला
आज पनि राजनीतिक लडाइँमा महिलाहरू पछाडि नै छन्। हामी संघीय निर्वाचनको मुखैमा छौँ। मुस्किलले १० प्रतिशत पनि महिला प्रत्यक्ष निर्वाचनमा उम्मेदवार छैनन्। तर, मैयादेवी यस्तो महिला हुन् जसले सात सालको आन्दोलन, २०१७ सालमा प्रजातन्त्रको बर्खास्तीपछि प्रजातन्त्र पुनर्बहालीको आन्दोलनमा पनि मैयाँदेवी सरिक हुनुभयो।
राजनीतिक निरन्तरता र लगावकै कारण २०४८ सालको संसदीय निर्वाचनमा मैयाँदेवीले गोरखाबाट प्रत्यक्ष टिकट पाएर चुनाव लड्नुभयो र जनताबाट निर्वाचित पनि।
मैयाँदेवीलाई काँग्रेसले २०५८ सालमा राष्ट्रिय सभाको सासंद् बनायो। ६२/६३ को आन्दोलनपछि पुर्नस्थापित व्यवस्थापिका संसदको सदस्य बन्नुभयो। ०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा उहाँ चितवनको तत्कालिन क्षेत्र नं. ३ मा उम्मेदवार भए पनि पराजित हुनुभयो। राजनीतिक हार र बुढ्यौली बढ्दै जाँदा उहाँको सक्रिय राजनीतिले विश्राम लिएको थियो।
छोरीहरूले सम्पत्तिमा हक पाउने कानूनले नै स्थापित नगरेको समयमा मैयाँदेवीले पनि दाजुसरह सम्पत्ति पाउनुभयो। आफूजस्तै सबै महिलाले दाजुभाइ सरह सम्पत्ति पाउनुपर्छ भन्ने आवाज सँधै दह्रो गरि उठाउनु पनि भयो। अहिले कानूनले नै सम्पत्तिमा छोराछोरीको समान हक भनेको छ। तर, कार्यान्वयन भएको छैन। यस्तो कुराले उहाँलाई पछिल्ला दिनहरूमा चिन्तित बनाउँथ्यो।
छोरीहरूले सम्पत्तिमा हक पाउने कानूनले नै स्थापित नगरेको समयमा मैयाँदेवीले पनि दाजुसरह सम्पत्ति पाउनुभयो। आफूजस्तै सबै महिलाले दाजुभाइ सरह सम्पत्ति पाउनुपर्छ भन्ने आवाज सँधै दह्रो गरि उठाउनु पनि भयो। अहिले कानूनले नै सम्पत्तिमा छोराछोरीको समान हक भनेको छ। तर, कार्यान्वयन भएको छैन। यस्तो कुराले उहाँलाई पछिल्ला दिनहरूमा चिन्तित बनाउँथ्यो।
सम्पत्ति दानको सिलसिला
मैयाँदेवीलाई चितवनवासीले ‘महादानी’ नै मान्छन्। तनहुँ, गोरखा, काठमाडौंका शैक्षिक, राजनीतिक, धार्मिक र व्यक्तिलाई पनि उत्तिकै दान (सहयोग) गर्नुभयो। एक लाख मुनिको उहाँले गरेको दान त हिसाब किताब नै नराखेको धर्मछोरा टङ्क पौडेलले बताउनुभयो। मन लागेजति दान गर्न पुग्ने सम्पत्ति चाहिँ कति थियो ?
मैयाँदेवीले ३ वर्ष अघिको प्रश्नमा मैयाँदेवी स्मरण गर्नुभएको थियो, ‘यो नारायणगढ सेरोफेरो सबै हाम्रो थियो। यी सबै जग्गाको रेखदेख आमाले नै गर्नुहुन्थ्यो। मामाहरूले आमालाई किन चाहियो बेच भन्नु भएछ। एक हातको एक रुपैयाँ लिँदै आमाले बेचेको जग्गामा नै अहिले नारायणगढ बजार बसेको हो।’
आमाको गरगहना पनि घरमै थिए। तर कोही आफन्त चिनेजानेकाले बिहे गर्न समस्या पर्दा दिनुभयो त केही त्यस्तै गुनासो लिएर आउनेलाई सुन टुक्रा पार्दै दान गर्नुहुन्थ्यो उहाँ। मैयादेवीमा दु:ख बाँड्ने चेत सानैदेखि थियो। उहाँ दान गर्छु भन्ने आँटले भन्दा पनि दु:ख बाँड्ने चाहनाले दानवीर हुन पुगेको बताउनुहुन्थ्यो। उहाँमा सम्पत्तिको औधी माया छैन। आखिर जीवनमा खुशि हुन सक्यो भने सम्पत्ति त्यही हो। उहाँले भन्नुभएको थियो, मलाई सम्पत्ति के का लागि ? जीवनलाई आनन्दमय बनाउने सुत्र हो एउटा।
आमाको व्यापारको कारण बाल्यकालदेखि नै देवघाटसँग जोडिएकी उहाँमा अध्यात्मप्रति लगाव थियो। योग ध्यान तपस्यामा पनि लामो समय बिताउनुभयो। मनलाई शुद्ध बनाउन सके लोभ मोह स्वत: हट्ने उहाँको भनाइ थियो।
मैयाँदेवी कन्या कलेज
भरतपुरको चौबिसकोठी नजिक मैयाँदेवीकै पहलमा स्थापना भएको कलेज छ। करिब हजार बढी विद्यार्थी रहेका छन्। मैयाँदेवीकै नामबाट २०५७ सालमा स्थापित सो कलेज १२ कठ्ठा जमिनमा बनेको छ। चितवनमा महिला शिक्षाका लागि नमुना कलेज हो मैयाँदेवी कन्या कलेज।
सो कलेजको जग्गा किन्न र भवन बनाउने सबै खर्च उहाँले नै बेहोर्नुभएको हो। नारायणगढ बजारको मुख्य क्षेत्र सहिद चोकबाट केही भित्र बालकुमारी कन्या स्कुल छ। उक्त स्कुललाई श्रेष्ठले १० कठ्ठा जग्गा आमाको नाममा दान दिनुभएको हो।
शिक्षण संस्था मात्रै होइन आफू क्रियाशील राजनीतिक पार्टीको लागि पनि सम्पत्ति दान गर्नुभएको छ। नेपाली काँग्रेसको राजनीतिमा सक्रिय श्रेष्ठले दिएकै जग्गामा नारायणगढमा चितवन काँग्रेसको भव्य भवन बनेको छ। नेपाली काँग्रेस केन्द्रीय कार्यालयका लागि २०५६ सालमा काठमाडौंको रवि भवनमा रहेको लगभग सवा करोड रुपैयाँ बराबरको घर जग्गा पनि प्रदान गरिन्।
नारायणगढ बजारमा आफु बस्दै आएको लगभग आठ करोड रुपैयाँ मूल्य पर्ने घर जग्गा उहाँले समाजिक कामका लागि ट्रष्ट बनाएर सोही ट्रष्टलाई हस्तान्तरण गर्नुभयो। मैयाँदेवी ट्रष्ट बनाएर आफु बस्दै आएको नारायणगढ मेन रोड पुतली बजार चोकको तीन तले घरसमेत सोही ट्रष्टलाई हस्तान्तरण गरिसक्नुभयो। घर बाहेक उहाँले ट्रष्टका लागि भनेर थप दुई करोड रुपैयाँ नगद पनि दान गर्नुभएको थियो।
ट्रष्टका महासचिवसमेत रहेका मैयाँदेवीका धर्म छोरा टङ्क पौडेल मैयाँदेवीले गरेको सामाजिक योगदानका कामलाई जिवन्त राख्न ट्रष्ट सक्रिय रहने बताउनुभयो। महिला, बालबालिका, खानेपानी, स्वास्थ्यका योजना बनाउन, अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्न ट्रष्टले योजना बनाएर काम गर्दै आएको उहाँले बताउनुभयो। संस्थाका महासचिव पौडेलले भन्नुभयो, ‘आमाको कामलाई हामी निरन्तरता दिन्छौं।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
प्रतिमा सिलवाल/ चितवन का अन्य पोस्टहरु:
- चितवन: वर्षदिनमा दोब्बर बढ्यो अपराध
- पुरुषको हातमा महिलाको भोट
- चितवन ३ : मतदाताको अलमल, एमालेको भोट तान्ने रणनीतिमा उम्मेदवार
- शहरका ठालुहरूलाई सेवक आपूर्ति गर्ने बस्तीको कथा
- नवलपुर १ : डा.शशांकलाई कांग्रेसी भोट जोगाउने चुनौती
- दबाबमा चितवन कांग्रेस: ससाना असन्तुष्टि पनि सतहमा आउँदै
- चितवन: प्रत्यक्ष उम्मेदवारीमा महिलालाई नपत्याइएको जिल्ला
- आमाको संघर्ष: घारो तिरेको समाज र हामी हिँडेको बाटो
- बाह्र वर्षसम्म जग्गा पाउन नसकेको विश्वविद्यालय
- बाँडेरै सकियो चितवन जिससको १५ बिगाहा जमिन