चितवन ३ : मतदाताको अलमल, एमालेको भोट तान्ने रणनीतिमा उम्मेदवार 

प्रतिमा सिलवाल

कांग्रेस पकड क्षेत्र भएर पनि कहिले राष्ट्रिय नेतालाई भोट हाल्नु परेको कारण त कहिले आफ्नै उम्मेदवार उठाउन नपाएका पीडाले कांग्रेसी नेता कार्यकर्ताबाट हुने विरोधले हरेक चुनावमा चर्चामा रहने क्षेत्र हो चितवनको निर्वाचन क्षेत्र नम्बर ३। मंसिर ४ को निर्वाचनको लागि त चितवन ३ मा देशका मुख्य ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका आफ्नो चिन्हबाट मत माग्ने प्रतिनिधिसभा उम्मेदवार नै छैनन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार बन्ने चर्चा भयो, गठबन्धनमा क्षेत्र सुनिश्चित पनि गरियो। तर, अन्तिम समयमा उहाँ गोरखा जानुभयो। उम्मेदवारी दर्ता गराउनु भएका नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी एमाले अध्यक्ष केपी ओली स्वयंले फिर्ता लिइदिनुभयो।

उम्मेदवार नपाएर अलमलमा परेपछि अन्तिम समयमा अभ्यासमै रहेका डाक्टर भोजराज अधिकारीलाई नेकपा माओवादी केन्द्रले उम्मेदवार बनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सदावहार उम्मेदवार बिक्रम पाण्डे प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनुहुन्छ। नेकपा एमाले समेतको सहयोग लिएर नेपाली कांग्रेसका वागी उम्मेदवार दिनेश कोइराला र महानगरमा पनि कांग्रेसबाट बागी बन्नुभएका जगन्नाथ पौडेलको उम्मेदवारी पनि कायमै छ।

रवि लामिछानेको स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिनुभएकी जिता बराल उम्मेदवार भएपनि उहाँको जनमत कमजोर छ। यहाँ ठूला दुई दलका आफ्ना उम्मेदवार छैनन्।  अर्कोतर्फ संसदीय निर्वाचनमा जमेका प्रतिनिधि उम्मेदवार नभएकाले एमाले कांग्रेसका मतदाता भने अलमलमा परेका छन्।

एमालेका कार्यकर्ता गीतानगरका रोमबहादुर खनालले कसलाई मतदान गर्ने निर्क्यौल गरिसक्नुभएको छैन। आफ्नो पार्टीको उम्मेदवार छैनन्। बागी भएपनि घर नजिक भएकाले दिनेश कोइरालालाई दिनुपर्छ कि भन्ने उहाँको सोचाइ छ। उहाँकै हिसाबमा दिनेशले पनि नजित्ने हो कि भनेर मत खेर जाला भन्ने चिन्ता पनि छ।

हरेक दिन गीतानगरको चौतारामा सुस्ताउने खनाल जस्तै ६० वर्ष पार गरेका सबै राजनीतिक दललाई मतदान गरिसकेका प्रौढहरू चुनावी राजनीतिको गरमागरम गफ गर्दै हुनुहुन्थ्यो। नेपाली कांग्रेसका समर्थक ७७ वर्षका तीर्थराज अधिकारी माओवादीका उम्मेदवार डा. भोजराज अधिकारीलाई सघाउन कांग्रेसको केन्द्रीय निर्देशनको विरोधमा हुनुहुन्छ। अधिकारीलाई पार्टीको ह्वीपको मतलब छैन। ‘म कांग्रेसको मान्छे हो, अधिकारीले भन्नुभयो, ‘यसपटक माछालाई भोट दिन्छु’।’ उहाँले कांग्रेस बिग्रिएको टिप्पणी गर्दै आफ्नो उम्मेदवार उठाउन नसक्ने भन्ने तर्क गरे।

यसअघिका निर्वाचनमा यसैगरी चौतारीमा बसेर फरक फरक दलका प्रौढहरू राजनीतिक दलका विचारका आधारमा चुनाव कस्ले जित्छ भनेर आँकलन गर्थे। तर, यसपटक कसैले चितवन ३ को मतपरिणामको आँकलन गर्न सकेका छैनन्।

नरबहादुर कुँवर, ६८ वर्षका हुनुभयो। चितवनको गीतानगरका बासिन्दा उहाँ वर्षौँदेखि हरेक निर्वाचनमा मतदान गरिरहनुभएको छ। उहाँको अनुभवमा ३ नम्बर क्षेत्रमा अहिलेजस्तो अलमलको चुनाव कहिल्यै थिएन।

हुन त उहाँ माओवादीलाई समर्थन गर्नुहुन्छ। मतदान पनि गठबन्धनकै उम्मेदवारलाई आफूले गर्ने उहाँको निर्णय छ। तर, छरछिमेकमा त्यस्तो अवस्था छैन। ‘यो पटक बिक्रम पाण्डेलाई फाइदा होला जस्तो छ, पाको दिमाग प्रयोग गर्दै कुँवरले निर्वाचन विश्लेषण गर्नुभयो,, ‘मेरो छिमेक तिरका एमाले कांग्रेसले बरु बिक्रम पाण्डेलाई नै भोट दिने भन्छन्।’

कुँवरले भनेजस्तै भरतपुर ८ का भवानी पन्त नेकपा एमालेका यस क्षेत्रका पुराना अगुवा हुनुहुन्छ। यसअघि एमालेका हरेक कार्यक्रममा देखिने उहाँले पार्टी परिवर्तन गर्नुभएको छैन। तर, प्रत्यक्ष तर्फको भोट भने बिक्रम पाण्डेलाई दिने निर्णय गर्नुभएको छ। पन्त भन्नुहुन्छ, ‘एमालेले गल्ती गर्यो, अब भोट पुरानो नेता भएकोले बिक्रम पाण्डेलाई नै दिने हो।’

चोकबजारकी विष्णुमाया परियार नेपाली कांग्रेसको प्रतिवद्ध कार्यकर्ता हुनुहुन्छ। गाउँठाउँको भएकोले विद्रोही नै भएपनि दिनेश कोइरालालाई आफ्नो भोट दिनुपर्छ भन्ने उहाँलाई लागेको छ। तर, कोइरालाले अरुबाट भोट पाउनेमा विश्वस्त चाहिँ हुनुहुन्न।

‘दाइ उठ्नुभयो छिमेकी भएपछि हामीले त दिनैपर्यो’ उहाँले भन्नुभयो, ‘तर उहाँसँगै हिँड्नेले नै दिन्छन् जस्तो लाग्दैन मलाई।’

एमालेको भोट निर्णायक

चितवनको २०७४ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा राजनीतिक दलले समानुपातिकतर्फ पाएको मत हेर्दा सबैभन्दा अगाडि नेपाली कांग्रेस छ। कांग्रेसले समानुपातिकमा २८ हजार मत ल्याएको थियो। तर, स्थानीय निर्वाचनदेखि प्रतिनिधिसभासम्म आफ्नो उम्मेदवार नहुँदा कांग्रेसका कार्यकर्ता रुष्ट छन्। जिल्ला नेतृत्वबाट पनि विवादास्पद निर्णयहरू सार्वजनिक भएका कारण नेपाली कांग्रेसले संगठन सुदृढ गर्न सकेको देखिँदैन। उल्टो जिल्ला पार्टी नेतृत्वबाट कार्यकर्ता रुष्ट छन्।

नेकपा एमालेले चाहिँ २६ हजार समानुपातिक मत २०७४ को संसदीय निर्वाचनमा ल्याएको थियो। उक्त समयमा प्रचण्ड वाम गठबन्धनबाट चुनावी मैदानमा थिए। स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमालेले मतदाता बढाएको कारण आफू बलियो रहेको तर्क गर्दै आएको छ। तर, प्रतिनिधिसभाका उम्मेदवार नै नहुँदा यसपटक एमालेका मतदाता पनि खुलेर आएका छैनन्।

नेकपा माओवादी केन्द्रले भने अघिल्लो प्रतिनिधि सभामा पाएको २२ हजार समानुपातिक मत थियो। त्यसमा स्थानीय निर्वाचनमा रेनुलाई जिताउन र प्रचण्ड उठ्ने तयारी गरेका कारण जिल्लाभरमै ३ नम्बर क्षेत्रमा मतदाता बढाउन ध्यान केन्द्रित गरेको थियो। माओवादीले आफ्नो मतदाता बढेको दाबी गर्दै आउने कारण उसको निर्वाचन तयारी पनि हो।

राप्रपाले भने देखाउन सक्ने गरि संगठनात्मक सुधार र मतदाता बढाउन सकेको देखिँदैन। पहिलाका निर्वाचनहरूदेखि नै बिक्रम पाण्डेको व्यक्तिगत मत आउने कारणले उनीहरु स्वयं आफ्नो मत कति भन्ने आँकलन गर्दैनन्। राप्रपा चितवनका प्रवक्त राजु भण्डारीले यसअघिका निर्वाचनमा राप्रपा एक्लै चुनाव नलडेकोले कति मतदाता भन्ने भन्न नसक्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘यसपटक बल्ल हामी एक्लै उठेका छौँ, अब मतदाता कति थाहा हुन्छ।’

एमालेका मतदाता तान्ने कसरतमा उम्मेदवार

नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएपछि अधिकांश एमालेका कार्यकर्ता रुष्ट भएका थिए। दिनेश कोइरालालाई चिन्दै नचिनेको र उहाँलाई सघाउँदा एमालेलाई सांगठनिक रुपमा कतैबाट फाइदा नहुने भएकोले यसपटक पार्टीको ह्वीपमा भन्दा पनि आफ्नो विवेकले मतदान गर्ने मनोविज्ञानमा क्षेत्र नम्बर ३ का एमाले मतदाता देखिन्छ।

नेकपा एमालेका मतदाताको यही मनोविज्ञानलाई आफ्नो पक्षमा पार्न गठबन्धनका डा. अधिकारी र राप्रपाका उम्मेदवार पाण्डेको कसरत देखिन्छ। कांग्रेस भित्रै फुट रहेको र माओवादीको माडी क्षेत्रमा पनि आन्तरिक विवाद रहेकोले गठबन्धनबाट ढुक्क हुने अवस्थामा डा. भोजराज हुनुहुन्न।

डा. अधिकारी  गठबन्धनको उम्मेदवार भएपनि राजनीतिक व्यक्ति होइन। गठबन्धन भएपनि मतदाता बढी भएको कांग्रेस तीनतिर हुँदा निर्णायक मत एमालेको हुने माओवादीको पनि निष्कर्ष छ। त्यसैले माओवादी एमालेका सचेत मतदातालाई आश्वस्त पार्ने रणनीतिमा माओवादी देखिन्छन्।

उता बिक्रम पाण्डेको आफ्नो मत बलियो नहुँदा उनी पनि यसपटक पाण्डे एमालेकै मतदाता तान्ने सुरमा हुनुहुन्छ। यसअघि पनि संगठन भन्दा व्यक्तिसँगको सम्पर्क नै उहाँको चुनाव जित्ने रणनीति हुन्थ्यो। तर एमालेका कार्यकर्ता बाक्लो रहेका क्षेत्रमा पाण्डेले यसपटकको चुनावी अभियानलाई केन्द्रीत गरिरहनु भएको छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिमा सिलवाल/ चितवन का अन्य पोस्टहरु:
चितवन ३ : मतदाताको अलमल, एमालेको भोट तान्ने रणनीतिमा उम्मेदवार 
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link