दबाबमा चितवन कांग्रेस: ससाना असन्तुष्टि पनि सतहमा आउँदै

प्रतिमा सिलवाल

केन्द्रबाटै गठबन्धन बनाएर स्थानीय तहदेखि निर्वाचनमा गएको मुख्य दल नेपाली कांग्रेस चितवनको विवाद संघीय निर्वाचनको मुखैमा आइसक्दासम्म घट्नुको साटो अझ बढ्दै गएको छ।

चितवनको कांग्रेस कार्यकर्ता बढी भएको मानिने निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको संघीय संसद्को लागि उम्मेदवार नभएपछि यहाँका नेतादेखि कार्यकर्ताले विरोध जनाउँदै आएका थिए।

केन्द्रीय सदस्य दिनेश कोइराला गठबन्धन विरुद्ध एमालेसहित समर्थन लिएर माछा चिन्हबाट उम्मेदवार बन्नुभएको छ। स्थानीय तह निर्वाचनमा महानगरको मेयर उम्मेदवार बन्नुभएका जगन्नाथ पौडेलको पनि बागी उम्मेदवारी छँदैछन्।

उम्मेदवारी मात्रै होइन, ससाना विषयमा पनि कांग्रेस जिल्ला नेतृत्वले निर्देशनात्मक विज्ञप्ति जारी गर्न थालेपछि कांग्रेस चितवनको विवाद फेरि सतहमा आएको हो।

१५ गते मंगलबार कांग्रेस चितवनका पूर्व सभापति विकास कोइरालाले जिल्लामा चियापान कार्यक्रमको आह्वान गर्नुभएको थियो। उहाँले आफ्नो सामाजिक सञ्जाल मार्फत जिल्लावासीमा आफू दसैँ तिहारको बेला देश बाहिर रहेको भन्दै चियापानमा आमन्त्रण गर्नुभयो।

उक्त आमन्त्रण देखेपछि कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले पूर्व सभापतिहरू मध्येमा दुई सभापतिको नाम जिल्ला पार्टीको विवरणमा नै नरहेको भन्दै विज्ञप्ति सार्वजनिक गर्नुभयो।

त्यसपछि कांग्रेस चितवनका नेता तथा कार्यकर्ता थप रुष्ट भएका हुन्। नेपाली कांग्रेस चितवनका पूर्व सभापति विकास कोइरालाले मंगलबार बोलाएका चियापानमा चितवनका कांग्रेसका नेतादेखि कार्यकर्तासम्मको भिड थियो।

उहाँले पूर्व सभापतिको हैसियतमा बोलाएको कार्यक्रममा एकल सम्बोधन गर्दै इतिहास व्यक्तिको इच्छाले मेटाउन नसकिने भन्दै जिल्ला नेतृत्वको लामो आलोचना पनि गर्नुभयो।

चितवन कांग्रेसका सभापतिहरू

मंगलबार दिउँसो सभापति खनालले विज्ञप्तिमा निकालेको विज्ञप्तिमा पार्टी संगठनमा र निर्वाचनमा असर पर्ने भन्दै पूर्व सभापतिको नाममा कुनै किसिमको भेला नगर्न निर्देशन थियो। उक्त विज्ञप्तिमा पार्टी कार्यालयको रेकर्डमा भएका भन्दै ८ जना मात्रै पूर्व सभापतिहरूको मात्रै नाम उल्लेख गरिएको थियो। जबकी नेपाली कांग्रेस चितवनको स्थापनादेखि हालसम्म १६ जना सभापति भइसकेका छन्। पूर्व सभापतिहरूमध्ये ४ जनाको मृत्यु भइसकेको छ। ११ जना मध्ये केही पार्टी जीवनमै क्रियाशील छन् भने केही व्यक्तिगत जीवनमा छन् ।

सभापति खनालले स्थानीय निर्वाचनमा गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलका समर्थक कृष्णलाल सापकोटा, तीर्थ भुसाल र विकास कोइरालाको नाम नै पार्टी रेकर्डमा नभएको उल्लेख गर्नुभयो। जबकी सापकोटा त अझै पनि पार्टी जीवनमा नै क्रियाशील हुनुहुन्छ।

कांग्रेसको सभापति भएर पार्टी सञ्चालन गरिसकेका पूर्व सभापतिको नाम नै रेकर्डबाट हटाएको विषयमा कार्यकर्ताबाट सार्वजनिक रुपमै असन्तुष्टि आउन थालेपछि जिल्ला सचिव ध्रुवराज पोखरेलले मंगलबार ढिलोगरी विज्ञप्ति निकाली विकास कोइरालाप्रति बहालवाला सभापतिले गरेको आग्रहपूर्ण व्यवहारले कार्यकर्तामा नैराश्यता ल्याएको उल्लेख गर्नुभएको थियो।

उहाँले पार्टी सभापतिले सल्लाह नै नगरी आग्रहपूर्ण तरिकाले विज्ञप्ति निकालेका पनि आरोप लगाउनुभयो। यद्यपि पार्टीभित्र अन्य विषयमा कुनै विवाद नभएको सचिव पोखरेलको दावी छ।

पूर्व सभापति कोइराला २०७० सालको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला उम्मेदवार बनेपछि बिद्रोह गरेर बागी उम्मेदवार बन्नुभएको थियो।

त्यही कारण उहाँलाई पार्टीले निलम्बन गरेको थियो। कांग्रेसको विधान अनुसार उहाँको तीन वर्षको कारबाही अवधी सकिइसकेको छ। जिल्ला पार्टी समितले समेत २०७६ साल चैत ६ गते कोइरालाको निलम्बन फुकुवा र सदस्यता नविकरणको सिफारिस गरिसकेको थियो।

पार्टीले गरिसकेको सोही फुकुवालाई स्मरण गराउँदै जिल्ला सचिव पोखरेलले विज्ञप्तिमा भन्नुभयो, ‘पार्टीले कारबाही फुकुवा गरिसकेको अवस्थामा सभापति स्वयंले दोहोरो मापदण्ड अंगीकार नगर्न र व्यक्तिको स्वतन्त्रता एवं मर्यादालाई ध्यानमा राख्न अनुरोध गर्दछु।’

तर, सचिव पोखरेलको विज्ञप्तिमा कृष्णलाल सापकोटाको बारेमा भने केही उल्लेख छैन। उहाँले सापकोटा पार्टी कारबाहीमा नै रहेको र पार्टी सभापतिको विज्ञप्ती कोइराला लक्षित भएकोले उहाँको बारेमा नबोलेको बताउनुभयो।

चितवन कांग्रेसमा युवा नेतृत्वको सुरुआत कोइराला सभापति भएपछि भएको थियो। उहाँले स्थानीय नेताले नै निर्वाचनमा उसको क्षेत्रमा टिकट पाउनुपर्ने मान्यता राख्दै आउनुभएको छ। त्यसैले पनि चितवन कांग्रेसको युवाहरूमा कोइरालाको राम्रो प्रभाव रहेको छ। यसलाई मंगलबारको चियापानले अझ पुष्टि गर्को थियो।

मंगलबारको चियापान कार्यक्रममा पुगेका एक कांग्रेस कार्यकर्ताले भने, ‘कांग्रेस जिल्ला नेतृत्वको अपरिपक्व व्यवहारले बागी उम्मेदवार दिनेश कोइलालाई अझ फाइदा हुने देखिएको छ।’

मंसिर ४ को संघीय निर्वाचनमा क्षेत्र नम्बर ३ मा गठबन्धन गरेको असन्तुष्टि कांग्रेस कार्यकर्तामा र बहालवाला केन्द्रीय सदस्य दिनेश कोइराला बागी उम्मेदवार रहेको कारण कांग्रेस चितवनलाई अरु क्षेत्रमा पनि कार्यकर्ताको मत जोगाउनुपर्ने दबाबमा छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिमा सिलवाल/ चितवन का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link