नवलपुर १ : डा.शशांकलाई कांग्रेसी भोट जोगाउने चुनौती

प्रतिमा सिलवाल

गैँडाकोट नगरपालिका २ का विवेक ओझा आउँदो निर्वाचनमा पहिलो पटक मतदान गर्दैछन्। उहाँ मतदाता रहेको क्षेत्र नवलपुरको १ नम्बर निर्वाचन क्षेत्र हो। स्नातक तहमा अध्ययनरत ओझाका परिवार नेपाली काँग्रेस निकट भएपनि उहाँले आफ्नो मत कसलाई दिने निर्णय गरिसक्नुभएको छैन।

स्थानीय नेताको रुपमा जनताका घरघर नआएका तर १५ वर्षदेखि लगातार जित्दै आएका नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. सशांक कोइराला सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुनुहुन्छ।

नवलपुरकै मतदाता समेत रहेका स्थानीय कृष्ण पौडेल नेकपा एमालेबाट उम्मेदवार हुनुहुन्छ। नलवरपुर १ मा यी दुई प्रमुख दुई राजनीतिक दलका मात्रै होइनन् स्वतन्त्र सहित हाम्रो नेपाली पार्टीका पनि उम्मेदवार छन्।

तर, ओझालाई लाग्छ प्रतिस्पर्धा पौडेल र कोइरालाबीच नै हुन्छ। विवेक नयाँ मतदाता हुन्। ‘हुन त मेरो पारिवार सबै काँग्रेस हुन्, विवेकले भन्नुभयो, ‘देशको नेता भएपनि हाम्रो समस्याहरूका बारेमा परिचित नभएकोले शंशाकलाई भोट दिने नदिने अझै अन्यौलमा छु।’

पहिलो पटक मतदानको अनुभव गर्न लागेका विवेक मात्रै होइन नवलपुरका काँग्रेसकै मतदाताले १५ वर्षदेखि जिताएर पठाए पनि स्थानीय सवालमा डा. कोइरालाको बारेमा प्रश्न उठाउने गरेका छन्।

यसअघिको तीन वटा निर्वाचनमा डा. कोइरालाले जित्नु भएको हो। यो पटक त झन् सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा नेपाली काँग्रेसको पूर्वमहामन्त्री समेत रहेका कोइराला उम्मेदवार हुनुहुन्छ। अझ काँग्रेसको एउटा समूहले त डा. शशांकलाई भावी प्रधानमन्त्रीको रुपमा समेत आँकलन गरिरहेका छन्।

तर समस्या भने डा. कोइराला आफ्नै कारणले काँग्रेसकै मत जोगाउन हम्मे पर्ने अवस्थामा छन्। नवलपुरका जनता कालिगण्डकी कोरिडोर, रंगशाला, स्थानीय सडक सञ्जाल, खानेपानी लगायतका विकास योजनामा डा. कोइरालाले स्थानीयको सवाल सम्बोधन गर्न चुकेको बताउँछन्।

स्थानीय शिक्षक माधव सिग्देल भावी प्रधानमन्त्रीको रुपमा हेरिएको र अन्तर्राष्ट्रिय सम्बन्ध बलियो भएका नेता भएकोले डा. कोइरालालाई मत दिनुपर्ने धारणा राख्नुहुन्छ। जनताको घरदैलोमा कम पुग्ने गुनासो भएपनि गठबन्धनसहितको मत भएकोले उहाँको जीत सहज हुने सिग्देलको दाबी छ।

एमालेका पौडेलको चुनौती

एमालेका उम्मेदवार कृष्ण पौडेल

डा. कोइरालाका मुख्य प्रतिष्पर्धीको रुपमा रहेका नेकपा एमालेका उम्मेदवार कृष्ण पौडेल नवलपुरमा शालिन नेताका रुपमा चिनिनुहुन्छ। उहाँ २०३४ सालमा बाग्लुङबाट चितवन आउनुभएको हो। २०४६ सालदेखि नै विद्यार्थीसंगठन हुँदै जिल्ला नेतृत्व सम्हालिसक्नुभएका पौडेल अहिले नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ।

२०६४ सालमा तत्कालिन नवलपरासी ३ बाट उम्मेदवार बन्नुभएको उहाँले अहिलेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई पाराजित गर्नुभएको थियो। संघीय विभाजनपछि उक्त क्षेत्र नवलपरासी पश्चिम १ मा परेको छ।

कोइरालाले जनभावना बुझ्न नसकेको गुनासोकोबीच एमालेले भने जनताको सुख दु:खमा नजिकै भेटिने नेता खोजौँ भन्ने अभियानसहित घरदैलोलाई तीब्र बनाएको छ। जसले गर्दा जनतासँग खुल्न पौडेललाई सहज भएको छ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने नेता स्थानीय नहुँदा नवलपुर क्षेत्र विकासमा पछि परेको दाबी नेकपा एमाले नवलपुरका अध्यक्ष मुक्तिमा पाण्डेको छ। एमालेको उम्मेदवार पौडेलले राजनीतिक यात्रा नै नवलपुरबाट गरेकाले उनलाई यहाँको भुगोल र जनताको हरेक समस्या थाहा भएकोले उनलाई स्थानीयले मतदान गर्ने पाण्डेले दाबी गर्नुभयो।

नवलपुर १ मा कुल मतदाता १ लाख ३१ हजार १८१ जना छन्। तिमध्ये ६२ हजार ५ सय ९६ जना पुरुष र ६८ हजार ५ सय ८४ जना महिला छन्। नवलपुर १ मा गैँडाकोट नगरपालिकाको १८ वटा वडा, देवचुलीको १७ वटा वडा, बुलिङटार गाउँपालिकाको ६ वटै वडा र कावासोतीको ११ वटा वडा पर्दछ। यहाँ २०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट ३६ हजार ५ सय ९६ मत ल्याएका नेकपा एमालेको भविश्वरलाई डा.कोइरालाले ४० हजार ६ सय २० अर्थात् ४ हजार २४ मतको अन्तरले हराउनुभएको थियो। साझा विवेकशील पार्टीबाट हरिप्रसाद गौतमले  १०८२ मत ल्याउनुभएको थियो।

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतअनुसार  कांग्रेसको ४० हजार ५११, एमालको ३९ हजार ९५१, राप्रपाको २ हजार ३७३, माओवादीको १ हजार ९२१, जसपाका १८८ मत रहेको छ।

स्थानीय निर्वाचनको परिणाम हेर्दा पाँचदलीय गठबन्धनबाट साझा उम्मेदवार बन्दा मतदाता इमान्दार बने भने यो क्षेत्रमा कोइरालालाई सहज देखिन्छ। तर, कार्यकर्ता मात्रै होइन स्थानीय नेताहरू नै अहिले नवलपुरका नेतृत्व परिवर्तन गर्नुपर्ने धारणामा देखिन्छन्।

बुलिङटार गाउँपालिकाका स्थानीय काँग्रेस अगुवाले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘अहिले हामी काँग्रेसको मत जोगाउन सक्ने अवस्थामा छैनौँ। यहाँ माओवादी छैनौँ, १५ वर्ष अघि भर्खर जन्मेका बालबालिका मतदाता भइसके। हाम्रो अवस्था परिवर्तन भएन भन्ने उनीहरूको ठूलो आवाज छ।’

सत्ता गठबन्धनमा भएपनि काँग्रेसबाहेक अरु दलका मतदाता कम रहेकोले नेपाली काँग्रेसकै मत जोगाउन सकेको अवस्थामा मात्रै नवलपुरबाट डा. कोइरालालाई जित निकाल्न सहज हुने देखिन्छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिमा सिलवाल/ चितवन का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link