पुरुषको हातमा महिलाको भोट

प्रतिमा सिलवाल

सुनमाया विश्वकर्मा भरतपुर ८ को सुकुम्बासी बस्तीमा बस्नुहुन्छ। उहाँ ७६ वर्षको भइसक्नुभयो। ५० वर्षयता बीसहजारी ताल आडैको सुकुम्बासी बस्ती उहाँको बसोबासस्थल हो।

उहाँको हिसाबमा चितवन झरे यता भएका सबैजसो निर्वाचनमा उहाँले भोट हाल्नुभएको छ। घर नजिकैको विद्यालयमा हुने मतदान केन्द्रमा हरेक निर्वाचनमा मत दिन पुग्ने उहाँलाई कुन वर्ष कसकसलाई भोट दिएँ भन्ने यकिन भने छैन।

किनकी उहाँ स्वयंले आजसम्म आफ्नो निर्णयमा मतदान गर्नुभएको छैन। सुनमायालाई सजिलो हुनेगरि उहाँका श्रीमान रामबहादुरले भन्नुभयो, ‘हामी सँधै सल्लाह गरेर भोट हाल्छौँ।’

रामबहादुरले भन्नुभएको एकदम सही हो। परिवारका ११ जना सदस्यको मत हरेक वर्ष सल्लाहमा नै एउटै चिन्हमा खस्छ। कहिले माओवादी, कहिले एमाले त कहिले काँग्रेस फरक फरक पार्टीलाई उहाँहरूले मतदान गर्दै आउनुभएको छ।

त्यो मत कुन दलमा हाल्ने भन्नेचाहिँ रामबहादुरकै निर्णयमा भर पर्छ। अघिल्लो निर्वाचनमा वडामा नेपाली कांग्रेसलाई मत दिनुभएको उहाँले यसपटक के मा भोट दिने टुंगो लगाउनुभएको छैन। ‘बुढीले पनि मैले जे मा दिएँ त्यसैमा भोट दिने हो, उहाँले भन्नुभयो, ‘म एकसरो निर्णय गरेपछि परिवारका सबै बसेर सल्लाह गरेर एउटैमा भोट हाल्छौँ।’

रामबहादुरको परिवार होइन चितवनका अधिकांश महिला मतदाताले आफ्नो एकल निर्णयमा मतदान गर्दैनन्। हुन त यहाँ मतदाताको संख्या पुरुषको भन्दा महिलाको बढी छ। तर, निर्णय श्रीमान्, बुबा वा छोराले गर्ने गरेका छन्।

शारदा न्यौपाने चितवन ३ नम्बर क्षेत्रको मतदाता हुनुहुन्छ। उहाँ पनि आउँदो निर्वाचनको मतदाता। यसअघिको निर्वाचनमा परिवारका सबैजनाले एमालेमा भोट दिने निधो भयो। उहाँले पनि सोही अनुसार गर्नुभयो।

‘छोराले एमालेमा भोट दिने भन्यो, न्यौपानेले भन्नुभयो, ‘अहिले पनि उसले जे भन्छ त्यसैमा भोट दिने हो।’ उहाँलाई आफ्नो क्षेत्रमा कुन उम्मेदवार उठेका छन्। कसको एजेण्डा के छ भन्ने थाहा छैन। न त चासो नै राख्नुहुन्छ। एक दिन नेता जिताइदिन आफूले भोट दिने भन्ने उहाँको बुझाई छ।

शारदाले थप्नुभयो, ‘हामीले भोट दिएपछि उनीहरु नेता बन्छन्, हामी कहाँ फर्किएर आउने हैन। त्यै पनि छोराले भनेको ठाउँमा भोट दिनैपर्यो।’

चितवनको २ को मतदाता हुन् मीना लामा। उनको क्षेत्रमा स्वतन्त्र पार्टीको नाममा रवि लामिछाने सहित नेकपा एमाले, गठबन्धनका उम्मेदवार छन्। तर, उहाँलाई कुनै दलको चासो छैन। घरकै काममा व्यस्त हुने मीना कसलाई भोट दिने अहिले नै निक्र्यौलमा पुग्नुभएको छैन।

‘यो पटक नयाँ आएका छन् रे। छोरा त नयाँतिरै भोट दिनुपर्छ भन्छ। तर बुढा काँग्रेस पार्टीमै हुनुहुन्छ, लामाले भन्नुभयो, ‘बुढाले जे मा भन्नुहुन्छ त्यसैमा दिनुपर्ला भोट।’

देशकै सचेत मध्येको एक जिल्ला मानिने चितवनमा मंसिर ४ गतेको निर्वाचनमा मतदान गर्न योग्य चितवनका मतदाताको संख्या ३ लाख ९७ हजार ६ सय ८५ जना छन्। तिमध्ये ५१ दशमलव ४६ प्रतिशत अर्थात्, २ लाख ४ हजार ६६६ जना महिला मतदाता छन्।

मतदाता धेरै महिला भएपनि न त प्रत्यक्ष उम्मेदवारीमा यहाँका महिलालाई पत्याइयो न मताधिकार नै आफ्नो निर्णयमा गर्ने भन्नेमा अधिकांश महिलालाई सचेत बनाइएको छ।

जिल्लामा प्रतिनिधि सभामा पनि ठूला दलको सबै पुरुष उम्मेदवार छन्। सांगठनिक रुपमा बलियो भएका दलले प्रदेशमा पनि महिलालाई पत्याएका छैनन्। नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचनमा निर्वाचन क्षेत्र ३ (ख) मा सरस्वती विष्ट र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोही निर्वाचन क्षेत्रमा रीना गुरुङ उम्मेदवार छन्। सात दलीय गठबन्धनबाट यहाँबाट प्रत्यक्ष निर्वाचनमा एक जना पनि महिला छैनन्।

आवरणः शांकेतिक तस्बिर

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिमा सिलवाल/ चितवन का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link