द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१८
कृष्णा र शिखण्डी । द्रुपद राजाको पहिलो सन्तानको रूपमा जन्मिएकी शिखण्डिनी वा शिखण्डी । छोराको रूपमा ग्रहण गरे शिखण्डी, छोरीको रूपमा ग्रहण गरे शिखण्डिनी । पहिलो दाजु र बहिनी या जेठी दिदी र बहिनी । तर पाञ्चाल राज्यले उनको जन्मदेखि नै राजकुमार जन्मिएको भनेर प्रचार गरेकोले मान्नै पर्छ, उनलाई पुरुषको रूपमा आफूलाई चिनाउन जहिले पनि उद्यत थिए राज्य, राज्य संयन्त्र तथा स्वयं आफैँ । उनी मात्र होइन, त्यो समयको शक्तिशाली राज्य ( हस्तिनापुरको समकक्षी त होइन तर महाभारतले पाञ्चाल राज्यलाई हस्तिनापुरको अधीन देखाउँदैन )का रूपमा पाञ्चाल राज्यलाई लिएको पाइन्छ । तर जब पाञ्चाल राज्यको आधा भाग गुरु द्रोणाचार्यको अधीनमा आयो अर्थात् उत्तरी पाञ्चाल राज्यलाई गुरु द्रोणको अधीनमा ल्याइयो, त्यसलाई द्रोणाचार्यले कुरु राज्यअन्तर्गतको राज्यको रूपमा गाभेका थिए र त्यसको राज्य सञ्चालन गर्ने अभिभारा आफ्नो प्रतिनिधिको रूपमा आफ्ना एक मात्र सक्षम छोरा या गुरु पुत्र अश्वत्थामाको जिम्मामा थियो । अश्वत्थामा स्वयं महारथी थिए , ब्रह्मास्त्र सञ्चालन गर्न जान्ने थोरै मात्र योद्धा या सिद्धि प्राप्त व्यक्ति थिए । उनको सम्पूर्ण लालन पालन तथा शिक्षादीक्षा स्वयं गुरु द्रोणाचार्य र आचार्य पत्नी कृपीले गरेका थिए ।
खासगरी पाञ्चाल राज्य प्राकृतिक खजानाको रूपमा तत्कालीन भारत वर्षमा प्रख्यात रहेको देखिन्थ्यो । हस्तिनापुर बाहेक स्वतन्त्ररुपमा राज्य सञ्चालन गरेका विनयशील महाराज पृषतको उत्तराधिकारीका रूपमा द्रुपद राजा भएका थिए । द्रौपदीलाई कतै कतै पर्षता वा पृषता पनि भनिएको कारण पनि महाराज पृषतकी नातिनीका रूपमा द्रुपद राजाको परिवारमा जन्मेकीका कारणले भनिएको पाइन्थ्यो । तर राजा द्रुपद भने राजामा हुनुपर्ने केही दुर्गुणहरु बोकेर बसेका पाइन्थे । राजामा हुनुपर्ने अरूलाई सम्मान गर्ने , बुझेर मात्र न्याय गर्ने र पछि सम्मको ध्यान दिने भन्दा तत्कालका लागि आफ्नो अहम् पूरा गर्न लाग्ने खालका देखिन्थे । त्यसैले अलि अहङ्कारी, अरूलाई सम्मान नगर्ने र आफूmले चाहेको कुरामा जसरी हुन्छ प्राप्त गरेरै छाड्ने स्वभाव देखिन्थ्यो । आफू सम्मान दिन नसक्ने तर अरूबाट सम्मानको अपेक्षा गर्ने अनपेक्षित स्वभावले धृष्टद्युम्न सँगै कृष्णाको जन्म भएको बुझ्न सकिन्छ । त्यसको कारणमा आफ्ना गुरुकुलीय सहपाठी अनि अति मिल्ने ब्राह्मण पुत्र द्रोणलाई महाराजा भएपछि आफ्ना प्रिय मित्र राजा द्रुपदलाई भेट्न आएका विद्वान द्रोणलाई राजसभामा नचिनेको र आफू यस्ता दरिद्र ब्राह्मणको साथी, सहपाठी हुनै नसक्ने भनेर अपमान गरेपछि द्रोणाचार्यले पनि कसरी राजा द्रुपदसँग उनको राज्य नै प्राप्त गरी उनीसँग प्रतिशोध लिने विषयमा नयाँ रणनीति लिएका थिए । मात्र एउटा दुधालु गाईको माग राखेर गएका आफ्ना मित्र द्रोणाचार्यको अपमान द्रुपदका लागि महँगो प¥यो भने राजा द्रुपद पनि अपमानित मात्र भएनन्, आफ्नो सम्पूर्ण राज्यबाट वञ्चित भएको बेलामा द्रोणाचार्यकै कृपामा दक्षिणी पाञ्चाल फिर्ता पाएका हुन् र उत्तरी पाञ्चालको राज्यारोहण गरी आफैँले राज्य सञ्चालन गरेका थिए गुरु द्रोणले । राजदरबारमा नै गुरुकुल चलाएर बसेका र राजसभाको वरिष्ठ सदस्य भए पनि महाभारतको युद्धमा भने उत्तरी पाञ्चालको तर्फबाट सहभागिता जनाएको हुनुपर्छ ।
हुन त महाराज द्रुपदलाई हराउने हस्तिनापुरका धनुर्धारी राजकुमार अर्जुन थिए तर उनको प्रतिशोधको केन्द्रमा गुरु द्रोणाचार्य नै रहे । त्यसैले उनले द्रोणाचार्यको मृत्युका लागि क्षमतावान् पुत्रको अभिलाषा राखे, अभिलाषा मात्र राखेनन्, त्यसका लागि द्रोणलाई मार्न सक्ने पुत्र प्राप्तिका लागि पुत्रेष्टि यज्ञ गरे जसबाट वयस्क युवक धृृष्टद्युम्नको उत्पत्ति भएको थियो । त्यस बेलामा प्रख्यात गुरुकुलको रूपमा हस्तिनापुर दरबारभित्रको सरकारले सम्पूर्ण खर्च बेहोरेको द्रोणको गुरुकुल थियो जसको अभिभावकत्व स्वयं पितामह भीष्मको अधीनमा थियो । त्यही गुरुकुलमा महिलाबाट पुरुष हुन पुगेका राजकुमार शिखण्डी पनि विद्यार्थीको रूपमा प्रशिक्षित हुँदै थिए भने धृष्टद्युम्न पनि आफ्नो लक्ष्यप्रति अडित रहँदै पितामहकै अधीनको गुरुकुलमा प्रशिक्षित हुँदै थिए । धृष्टद्युम्न पनि आफ्ना गुरु द्रोणहन्ता लक्ष्य पूरा गर्नका लागि लक्ष्य भेदन गर्न गुरु द्रोणसँग शिक्षा लिइरहेका थिए ।
एकातिर शिखण्डी क्लीवका रूपमा विकसित हुनु, क्लीबलाई राज्यको बागडोर समाल्न वैदिक नीतिले नदिनू र राज परिवारले क्लीबलाई नै छोरोको रूपमा , राज्यको उत्तराधिकारीको रूपमा मान्यता दिनु पनि त्यो बेलाको बाध्यता नै थियो होला भन्ने अनुमान गर्न सकिन्छ । सायद त्यही भएर होला, राजा द्रुपद अर्को वैध ज्येष्ठ सन्तानका रूपमा छोरो नै चाहन्थे । त्यसो त महाराजा द्रुपदका शिखण्डी, धृष्टद्युम्नसहित ११ भाइ छोराहरू थिए । ती सबै महाभारतको युद्धमा मारिएको बुझिन्छ । शिखण्डिनीको जन्म छोरीको रूपमा भएको भए पनि स्थूणाकर्ण यक्षसँग उनले पुंस्त्व सापटी लिएर ससुरालीको आरोपलाई गलत साबित गरिसकेका थिए । महाराजका पुत्रहरू सबैले महान् योद्धा थिए महाराज द्रुपद जस्तै, धृष्टद्युम्न जस्तै , शिखण्डी जस्तै । उनीहरूको नाम थियो —सत्य जीत, उत्तमौजा, कुमार, युधामन्यु, वृक, पाञ्चाल्य, सुरथ, शत्रुञ्जय र जन्मेजय ।
अत्यन्त धार्मिक, न्याय प्रेमी राजा पृषतको मृत्युपछि युवराज द्रुपद पाञ्चालका राजा भएका थिए । उनलाई के थाहा, काशी नरेशकी छोरी अम्बाले शन्तनु पुत्र देवब्रतसँग प्रतिशोध लिनका लागि र उनको इच्छा मरणको कवचभित्र पर्ने गरी उनको मृत्युको कारक हुनका लागि आफू प्रयोग हुन पुनर्जन्म लिने वरदान पाएकी थिइन् । छोरीको रूपमा जन्मेर पनि छोरोको प्रचार गर्ने, युवराजको रूपमा पाञ्चाल दरबारमा सम्मानित हुने, युवराजको रूपमा शिक्षादीक्षा ग्रहण गर्ने र कुशल रथीको रूपमा आफूलाई प्रशिक्षित गरी भावी हुने महान् युद्धमा भीष्म पितामहको मृत्युको कारक हुने यी सबै कुराको जानकार को को थिए भन्ने कुराको रहस्य पनि रहस्यमय नै देखिन्छ । महाभारतका लागि मुख्य पात्रहरूमध्ये तीन ओटा महत्त्वपूर्ण पात्रहरू द्रुपद परिवारमा नै हुर्किएका थिए उनका सन्तानका रूपमा कृष्णा, धृष्टद्युम्न तथा शिखण्डी ।
ती थिए—कुरुकुल वधुका रूपमा विश्व सुन्दरी , रुप र गुणकी खानी कृष्णा जो पछि कुरुवंशीहरुको विरासतमा रहेको भारत वर्षकी बडामहारानीका रूपमा रहिन्, गुरु द्रोणाचार्यको मृत्युको कारक राजकुमार धृष्टद्युम्न( जो महाभारत युद्धमा पाण्डवतर्फका ७ अक्षौहिणी सेनाका सेनापति समेत थिए), भीष्म पितामहको मृत्युको कारक बनेका महारथी शिखण्डी थिए । सम्भवतः अरु सबै पुत्रहरू सहित आफू पनि युद्धमा वीरगति पाएका महाराज द्रुपद पछि संयुक्त पाञ्चालको राजाको रूपमा राजकुमार सत्यजीतले समालेको देखिन्छ । सकेसम्म एउटै परिवारका सबै जना युद्धमा सरिक नहुने प्राचीन चलन थियो जसले पछि राज्य समाल्ने कोही त रहोस् भन्ने मनोविज्ञानले काम गरेको पाइन्थ्यो । क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन
- किन आयो शिखण्डीमा मर्ने चाहना?
- शिखण्डीको नियति
- जब अम्बाको तपस्याले शिवजी प्रसन्न भए…
- अम्बाका कारण परशुराम र भीष्म बिच युद्ध
- राजकुमारी अम्बाको पीडा
- भीष्मको अन्यायको सिकार
- भीष्म प्रतिज्ञा र भावी उत्तराधिकारीको सङ्कट
- सत्यवतीको अपराध बोध