आज गणतन्त्र दिवस

नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा मङ्गलबार राष्ट्रिय दिवस मनाइँदैछ।  तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात संसद्वादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गर्नुभएको थियो भने त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो।

सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा यही जेठ १ गते सिंहदरबारमा बसेको बैठकले उहाँको अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ गठन गरेको थियो।

देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ। यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रमहरू गर्ने निर्णय भएको छ।

ऐतिहासिक दायित्व सम्झाउने दिन: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गर्नुभएको छ।  गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर दिएको बताउनुभएको छ। राष्ट्रपति पौडेलले गणतन्त्र दिवसका उपलक्ष्यमा सबै नेपालीमा शुभकामना र बधाई दिँदै नेपाल र नेपालीका लागि ऐतिहासिक र गौरवमय दिन भएको बताउनुभएको हो। “१७ वर्षअघि आजकै दिन हामीले स्वतन्त्रतासहित गणतन्त्र प्राप्त गरेका थियौँ। यही दिनबाट नेपाली नागरिकले सर्वोच्चता प्राप्त गरेका थियौँ र एउटा उदार, सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र नेपालको जग बसाएका थियौँ”, उहाँको सन्देशमा उल्लेख छ।

राष्ट्रपति पौडेलले गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्नुहुने सहिदहरूप्रति श्रद्धाञ्जली  अर्पण गर्दै यहाँसम्म आइपुग्न ठूलो त्याग र बलिदान गर्ने अग्रज नेताहरूप्रति सम्मान गर्नुभएको छ। साथै उहाँले लोकतान्त्रिक आन्दोलनका लागि जेल, नेल र यातना सहने नेपाली दाजुभाइ तथा दिदीबहिनी, परिवर्तनका सारथी राजनीतिक दल सबैलाई अभिनन्दन गर्नुभएको छ।

उहाँले सन्देशमार्फत भन्नुभएको छ, “म यति बेला गणतन्त्र घोषणा भएको त्यो गौरवमय क्षण सम्झिरहेको छु। त्यो क्षण हामीले सहिदहरूलाई सम्झिएर भनेका थियौँ अब सामाजिक न्याय, स्वाधीनता र समृद्धि सुनिश्चित हुनेछ। त्यो दिन हामीले भनेका थियौँ हाम्रो देशको झण्डा अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रतीक चिह्न बनेर विश्व समुदायमा गर्वका साथ फहराउनेछ।”

सम्पूर्ण नागरिकलाई लोकतान्त्रिक संस्कृतिको आलोकमा समुन्नत र अधिकार सम्पन्न बनाउने तथा नागरिकलाई खुसी दिन गरिएको सङ्कल्पका बारेमा उल्लेख गर्दै उहाँले उक्त सङ्कल्पलाई पूरा गर्न आजको दिनले अझ धेरै प्रतिबद्ध बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

गणतन्त्रले खोजेको सबैभन्दा ठूलो विषय जनताको जीवनस्तरमाथि उठाउनु रहेकाले राष्ट्रपति पौडेलले त्यसका लागि उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवर्द्धन एवं सुशासन कायम गर्नुपर्ने बताउनुभएको छ।

“जबसम्म प्रत्येक नेपाली नागरिकको अनुहार र आँगनमा खुसी र उज्यालो पुग्दैन, त्यो बेलासम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पूरा हुँदैन। यस अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ। म आशा गर्छु, हामी यो दायित्वलाई बिर्सने छैनौँ। किनभने यो दायित्व पूरा नगरी हामी स्वाधीनता र समृद्धिको लक्ष्य कसैगरी हासिल गर्न सक्दैनौँ”, उहाँले भन्नुभएको छ।

आजको पुस्तालाई बलियो अर्थतन्त्रसहितको समृद्धि सुनिश्चित गर्नुपर्ने, आउने पुस्तालाई सबल, एकताबद्ध, मौलिक चरित्रसहितको उदार राज्य र उच्चतम लोकतान्त्रिक संस्कृति दिने सङ्कल्प पनि आजैबाट गर्नुपर्ने राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ।

नागरिकका आम समस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्य गर्नुपर्ने तथा विश्वमञ्चमा हाम्रो प्रतिष्ठालाई उँचो बनाउनुपर्ने उहाँले उल्लेख गर्नुभएको छ।

उपलब्धिहरूको रक्षाका लागि एकजुटः उपराष्ट्रपति

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले  १७औँ गणतन्त्र दिवस, २०८१ को अवसरमा आम नागरिकको अधिकारप्रति अटुट आस्था राख्दै अघि बढ्न सबैलाई प्रेरित गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ।

 उपराष्ट्रपति यादवले गणतन्त्र दिवसका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा  शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो।

 “सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका लागि विगतमा भएका जनआन्दोलन, जनसङ्घर्ष र मधेस जनविद्रोहका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् सहिदको स्मरण गर्दै उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,” सन्देशमा भनिएको छ, “साथै, त्यस क्रममा अङ्गभङ्ग भएका र बेपत्ता पारिएकाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु।”

 नेपालको समृद्ध परम्परा, सांस्कृतिक विरासत, देशको प्रगति र उपलब्धिहरूलाई प्रदर्शन गर्न सक्ने गरी गणतन्त्र दिवसलाई एउटा ऐना झैँ मनाउन सक्नुपर्ने सन्देशमा उल्लेख छ। “यो दिवसलाई लोकतन्त्रको पोषकका रुपमा स्थापित गर्न पनि उत्तिकै आवश्यक छ, यसका लागि दृढ सङ्कल्प र बलियो मनमस्तिष्कका साथ हामी सबैलाई आ–आफ्नो भूमिका निर्वाह गर्दै अघि बढ्न गणतन्त्र दिवसले उत्प्रेरणा प्रदान गरोस्,” सन्देशमा भनिएको छ, “यो दिवसले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशिता, राष्ट्रहित र संविधानसहितको महान् उपलब्धिहरूको रक्षाका लागि एकजुट भई अग्रसर हुन र आम नागरिकको अधिकारप्रति अटुट आस्था राख्दै अघि बढ्न सबैलाई प्रेरित पनि गर्न सकोस् भन्दै गणतन्त्र दिवसको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।”

 ‘गणतन्त्र’ को अर्थ- ‘गण’ को ‘तन्त्र’, अर्थात् ‘आम नागरिकको शासन प्रणाली’ भएको र गणतन्त्र दिवस, ‘तन्त्र’ र ‘गण’ बीच हामीले विगतमा परिकल्पना गरेको/सोचेको वा जनअपेक्षाअनुरुप सहज र संवेदनशील सम्बन्ध कायम राख्न सक्यौँ वा सकेनौँ त्यसको समीक्षा गर्ने अवसर भएको सन्देशमा उल्लेख छ।

 “जनअपेक्षा र जनभावनाअनुरुप चल्नु नै गणतान्त्रिक संविधानको मूल भावना हो, यो भावनाबाट कोही पनि किञ्चित विचलित हुनु हुँदैन, किनभने जुन तबका हरेक किसिमले वञ्चित भएर पनि शेषनाग झैँ नेपालको राष्ट्रियता, अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता र एकतालाई टिकाई राखेका छन्,” शुभकामना सन्देशमा भनिएको छ, “तिनीहरूको स्वेच्छिक सहभागिता बिना कुनै पनि गणतन्त्र बलियो, सुदृढ र सफल हुन सक्दैन, यो अति मननीय र सारगर्भित भावलाई सम्मान गर्दै अघि बढ्नु निर्विकल्प छ।”

 राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना नेपाली वीर सपुतहरूको असाधारण सङ्घर्ष, त्याग र बलिदानबाटै सम्भव भएको र यो व्यवस्थासँग जोडिएका जनअपेक्षाहरूको सम्बोधन गर्दै आम नागरिकलाई आशावादी बनाउन सबै आ-आफ्नो स्तरबाट जिम्मेवार भई अघि बढ्नु आजको आवश्यकता भएको सन्देशमा भनिएको छ।

  “गणतन्त्र शासकीय शक्ति जनताको हातमा हुने महत्वपूर्ण राजनीतिक प्रणाली हो, जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरू सरकारको नेतृत्व गर्दै जनताप्रति आफ्नो जिम्मेवारीहरू निर्वाह गर्नु नै गणतन्त्रको मूल मर्म हो,” सन्देशमा भनिएको छ, “जनादेश, मतादेश र संविधानप्रदत्त व्यवस्थाअनुरुप हामी एक ढिक्का र एकीकृत भई अघि बढ्न सके मात्र नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सबल, सुदृढ र बलियो हुन सक्दछ।”

 वर्तमान शासन व्यवस्थाले विगतका वंश परम्परालाई निस्तेज गर्दै सत्ता र शक्तिको दुरुपयोगलाई पूर्णतः निषेध गरेको अवस्थामा फेरि पुरानै शासकीय पद्धतिलाई दोहो-याउन खोज्नुले अन्ततः लोकतन्त्र, सङ्घीयता र गणतन्त्रलाई कमजोर बनाउने सन्देशमा उल्लेख छ।

 “लोकतन्त्र उदारवादी आदर्शहरूको उपज हो, यसलाई विगतकै जस्तो व्यक्तिवादी र केन्द्रीकृत मानसिकताबाट जोगाउन सक्नुपर्दछ,” सन्देशमा भनिएको छ, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत लोकतन्त्रलाई थप जीवन्त र वास्तविक बनाउनका लागि हामी सबै दृढ विश्वास र सङ्कल्पका साथ अघि बढ्न अति आवश्यक छ।”

गणतन्त्र जीवनशैलीसमेत हो :  प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएको बताउनुभएको छ। गणतन्त्र दिवस–२०८१ का अवसरमा आज शुभकामना दिँदै उहाँले समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको बताउनुभयो।

 गणतन्त्र अरूका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग गर्ने जीवन पद्धति पनि भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सन्देशमा भन्नुभएको छ, “अझ, त्यसभन्दा माथि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थानीय स्वायत्तता र आधारभूत विषयमा स्वनिर्णयको अधिकारसमेत हो। तसर्थ, यसका लाभलाई आम नागरिकमा पुर्‍याउन सरकारले दृढतापूर्वक प्रयास गरिरहेको छ।”

गणतन्त्रको उपलब्धिका रूपमा जनताका प्रतिनिधिले संविधानसभाबाट निर्माण गरेको नेपालको संविधानबमोजिम सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा रहेको जनाउँदै उहाँले यस व्यवस्थाले नेपालको संविधानबमोजिम समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माणका लागि दिशानिर्देश गरेको बताउनुभएको छ।

 प्रधानमन्त्रीले संविधानसभाबाट जारी संविधानले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यतालाई संस्थागत गरेको स्पष्ट पार्नुभएको छ।

  प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तनको लाभ तल्लो तहका जनतासम्म पु¥याउन सरकारले नीतिगत, कानुनी तथा संरचनागत व्यवस्थामा समयानुकूल परिमार्जन गरी कार्यसम्पादन गरिरहेको बताउनुभयो।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका लागि विभिन्न समयमा भएका राजनीतिक आन्दोलन, जनयुद्ध, २०६२/६३ को ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनसहितका आन्दोलन तथा सङ्घर्षका सहिदहरूको स्मरण गर्दै प्रधानमन्त्रीले उहाँहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। गणतन्त्र प्राप्तिको आन्दोलनका घाइते तथा अपाङ्तगता भएका व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँले बेपत्ता दिदीबहिनी दाजुभाइप्रति सम्मान प्रकट गर्नुभएको छ।

 प्रधानमन्त्री दाहालले गणतन्त्र दिवसले सबैलाई सहिदले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न प्रेरित गरोस् भन्ने कामनासमेत गर्नुभएको छ। “नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनको जगमा संविधानसभाले २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको दिनका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा बधाइसहित शुभकामना व्यक्त गर्दछु”, सन्देशमा उहाँले भन्नुभएको छ।

शासन व्यवस्थाहरूमध्ये सबैभन्दा उत्तम गणतन्त्र: सभामुख घिमिरे

सभामुख देवराज घिमिरले गणतन्त्र दिवसले लोकतन्त्रलाई केन्द्रमा राखेर जनमुखी विकासका लागि प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ।

सभामुख घिमिरले १७औँ गणतन्त्र दिवस-२०८१ को अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

 “शासन व्यवस्थाहरूमध्ये सबैभन्दा उत्तम गणतन्त्रमा जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका पक्षमा एकाकार हुन आह्वान गर्दछु”, सन्देशमा भनिएको छ, “यसै कुरालाई हृदयङ्गम गरेर सम्पूर्ण राजनीतिक शक्तिहरू विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता देखेको छु।”

लोकतान्त्रिक गणतन्त्रको जगमा लामो समयसम्मको राजनैतिक अस्थिरता एवं सङ्क्रमणपश्चात् मुलुकमा लोकतान्त्रिक पद्धतिबाट संविधान निर्माण भई कार्यान्वयनमा आइसकेको उल्लेख गर्दै सन्देशमा भनिएको छ, “संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका र कानूनी राज्यको अवधारणासहित सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, एकता र राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्ने उद्देश्यलाई आत्मसात गरेको छ।”

नयाँ संविधान बमोजिम २०७४ र २०७९ सालमा तीनवटै तहका निर्वाचन सम्पन्न भएको, गणतन्त्रले नेपालको राजनीतिक प्रणाली र शासन व्यवस्थामा धेरै परिवर्तन ल्याएको भएपनि जनताको जीवनमा भने अझै गुणात्मक अन्तर ल्याउन अझै बाँकी रहेको सन्देशमा उल्लेख छ।

वंशीय तन्त्रलाई जनताले जितेको उत्सव: राष्ट्रियसभा अध्यक्ष दाहाल

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस, २०८१ को अवसरमा नेपालीले देखेको सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माणको चाहनालाई साकार पार्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ। अध्यक्ष दाहालले शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीमा शुभकामना व्यक्त  गर्नुभएको हो।

“गणतन्त्र दिवस वंशीय तन्त्रलाई जनताले जितेको उत्सव हो, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानको इमान्दारीपूर्वक कार्यान्वयन गर्ने, जनतालाई अपनत्व हुने गरी समानुपातिक/समावेशी शासन प्रणाली र सङ्घीयताको अभ्यास गर्नुपर्ने यतिबेला हाम्रासामु चुनौती रहेका छन्,” सन्देशमा भनिएको छ, “गणतान्त्रिक व्यवस्थामा शासन गर्ने पद्धति मात्रै नभई आम जनताको जीवनमा पनि परिवर्तनको अनुभूति हुनु पर्दछ, देशको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गर्दै देशलाई आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढाउन सके मात्रै गणतन्त्र दिवस मनाउनुको सार्थकता हुनेछ।”

अध्यक्ष दाहालले संविधानले निर्दिष्ट गरेअनुरुप समाजवादोन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु अहिलेको आवश्यकता बनेको बताउनुभएको छ।

“गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनसङ्घर्ष, जनयुद्ध तथा जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु,” सन्देशमा भनिएको छ, “यस क्रममा बेपत्ता तथा घाइते अपाङ्ग भएकाहरूसहित गणतन्त्र प्राप्तिको आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज, पत्रकारलगायत आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गर्दछु।”

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु ऐतिहासिक राजनीतिक परिघटना भएको र वर्षौंदेखि जरा गाडेर बसेको वंशीय परम्परामा आधारित निरङ्कुश व्यवस्थालाई हटाएर जनताबाट चुनिएर राज्यको सर्वोच्च तहमा पु-याउने गणतान्त्रिक व्यवस्था स्थापना गर्नु चानचुने परिवर्तन नभएको सन्देशमा भनिएको छ।

गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि: सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै मुलुकलाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तरण गर्न सकिने उल्लेख गर्नुभएको छ।

उहाँले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ। सभापति देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आआफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेकामा जोड दिनुभएको छ।

उहाँले लोकतन्त्रको स्थापना र पुनःस्थापनाका ऐतिहासिक जनआन्दोलनहरूमा देशका थुप्रै होनहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेका उल्लेख गर्नुभएको छ। आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सबै वीर सहिदप्रति गणतन्त्र दिवसका अवसरमा उहाँहरूको समर्पण, साहस र बलिदानको स्मरण गर्दै सभापति देउवाले उच्च सम्मान साथ श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/६३ सफल भएको थियो। आन्दोलनपश्चात् कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन सम्पन्न गरेको थियो। गणतन्त्र कार्यान्वयनका लागि विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकमा पेस गरेको प्रस्ताव पारित भई नेपालमा राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो। यो दिनलाई स्मरण गर्दै हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ।

सभापति देउवाले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link