द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—२५
बादल या हुस्सूको बाक्लो पर्दाले कसैले पनि देखेनन्, ऋषिले आफ्नो तपस्याको बलले उनमा झन राम्री झन राम्री हुने आशीर्वाद दिए र चारकोशसम्मको माछाको गन्ध अब अत्तरको जस्तो बास्ना आउने बनाए। अचानक समागम भयो, बच्चा जन्मियो, झन राम्री भएर देखिई, शरीरमा माछाको गन्धको साटो अत्तरको बास्ना पो आउन थाल्यो।
वास्तवमा यो कुराको वर्णन गर्ने व्यक्ति तिनै योजनागन्धाका छोरा हुन् जो नदीको छेउमा रहेको टापुमा जन्मेका थिए, द्वीपमा जन्मेका थिए कृष्णवर्णका वयस्क ऋषिपुत्र जसलाई पराशर पुत्र भएकाले पाराशर कृष्ण भनियो र पछि उनले वेदको विन्यास गरेपछि वेदव्यास भनिएको हो। व्यासले पटक्कै ढाँटेका छैनन्। आफ्नी आमाका बारेमा पनि कत्ति नढाँटी महाभारत ग्रन्थलाई विश्वसनीय बनाएका हुन्। कृष्ण द्वैपायन जन्मदै ज्ञानी थिए र भनिन्थ्यो, हातमा चारवटै वेद लिएर पाठगर्दै जन्मेका थिए। अर्थात् शिवजीको वरदानले जन्मेका भए पनि उनी पछि वासुदेव कृष्णका भक्त भएका थिए र उनले अठार पुराणको सन्दर्भमा र इतिहासको लागि जय नामक ग्रन्थको भागभन्दा भक्तिभावको पूर्णताका लागि श्रीमद्भागवतको रचना गरेका थिए।
वशिष्ठ ऋषिका नाति, शक्ति ऋषिका छोरा पछि व्यासको रुपमा निर्वाचित भएपछि उनी २८औँ व्यास भएका हुन्। यसभन्दा पहिले स्वयं वशिष्ठ ऋषि पनि व्यासका पदमा आसीन भएका थिए भने उनका विद्वान छोरा शक्ति पनि व्यासमा निर्वाचित भएका थिए। निर्वाचित भन्नुको अर्थ हो, त्यसबेलाका ऋषिहरूका बिचमा हुने बौद्धिक तथा प्राज्ञिक प्रतिस्पर्धामा जो तीक्ष्ण बुद्धिको हुन्छ र समाजलाई बाटो देखाउने क्षमता राख्थ्यो, धेरै गुरुकुल, अध्येता र शोधकर्ताहरूमध्येबाट व्यासको चयन गरिन्थ्यो। पराशर स्वयं पनि व्यास थिए। पछि ज्ञान र गुणका आधारमा कृष्ण द्वैपायन पनि व्यासको पदवी पाउन समर्थ भएका थिए। ती कृष्ण द्वैपायन नै ती मत्स्यगन्धाका छोरा हुन् जसले पछि हस्तिनापुरमा परेको सन्तानको खडेरी पूरा गर्न विचित्रवीर्य राजाका क्षेत्रमा रहेका रानीहरू अम्बिका, अम्बालिका र उनीहरूकी कामगर्ने सहयोगी परिश्रमीबाट धृतराष्ट्र, पाण्डु र विदुरको जन्म भएको थियो। ती कुमारहरूको जन्म नियोग विधिबाट भएको थियो जसका लागि आदेश चाहिन्थ्यो सम्बन्धित पतिको तर विचित्रवीर्यको निधन भएकाले त्यो आदेश राजमाताको हैसियतले सत्यवतीले आफ्ना पुत्र वेदव्यासलाई दिएकी थिइन् हस्तिनापुरको सुरक्षा अभिभावक देवब्रतको सल्लाहमा। जब राजमाताले देवब्रतलाई या त विवाह गरेर राज्यका लागि राजकुमारको जन्म गराऊ, नभए बुहारीहरूमार्फत् नियोग विधिद्वारा सन्तान उत्पादन गर भनेर कर गर्दा राजकुमार देवब्रतले बरु राजमाताका छोरा वेदव्यासमार्फत् नियोग विधिद्वारा भावी राजाको उत्पादन गरियोस् भन्ने आदेशात्मक सल्लाह दिए पछि नियोग विधिमार्फत् ती कुमारहरूको जन्म भएको हो विचित्रवीर्यको क्षेत्रमा। त्यसैले वास्तविक पिता वेदव्यास भए पनि लौकिकरुपमा धृतराष्ट्र, पाण्डु र विदुर विचित्रवीर्यका सन्तान मानिए र हस्तिनापुरका राजा र महामन्त्री हुने हैसियत पाए राजमाताको कृपाबाट। देवब्रत र वेदव्यासको सल्लाहले।
वेदव्यासको जन्मका बारेमा एकपटक ध्यान दिउँ —वशिष्ठ ऋषिकी पत्नी अरुन्धतीका छोरा शक्तिसहित अरु सय भाइ छोराहरूसमेतलाई राक्षसहरूले मारेका थिए। त्यसको बदलामा ऋषि पराशर सक्षम भई राक्षससबैलाई भष्म गराउनका लागि राक्षस सत्र चलाउन थाले र कतिपय राक्षसहरू मारिन थालेका बेलामा ऋषि वशिष्ठले त्यसो नगर्न रोकेका थिए। ऋषि वशिष्ठले रिस, द्वेष र प्रतिशोधले शान्ति कायम हुँदैन र एउटा अध्येता ऋषिले त्यस्तो सत्रको आयोजना गर्न सुहाउँदैन भन्न थालेपछि उनले त्यो राक्षससत्रको अन्त्य गरेर राक्षसहरूलाई जीवन अभय दान दिएका थिए। त्यस्ता स्वर्ग, पाताल, मत्र्यलोकमा पूजित ऋषिमा पनि काम वासनाले दपेटेको थियो। जब नव यौवना, सोह्रबर्से युवतीको शरीरमा उनको आँखा गाडियो, उनमा कामदेवले वाण हाने। संसारलाई धर्म, अर्थ, कामरहित र मोक्षको पाठ पढाउँदै हिँडेका गुरु पराशरमा त्यो भावना किन आएको थियो होला भने उनलाई नियतिलाई वेदव्यासको जन्म गराउने कार्यभारको जिम्मा दिएका थिए। संसारमा वेदको नयाँ भाष्य तयार गर्न, श्रुति तथा स्मृतिको नयाँ व्याखय गर्न र महाभारतको युद्धका लागि कार्यको शुभारम्भ गर्नका लागि नै दाशराजकी छोरीका रुपमा माछाको गर्भबाट जन्मेकी पितृलोककी अच्छोदा अप्सराको अवतार भएको थियो जसको गर्भबाट उनी जन्मनु जरुरी थियो, जसका लागि ऋषि पराशर निमित्त नायकका रुपमा ती मत्स्यगन्धाका पति हुनु आवश्यक थियो। अनि नियतिको लेखाइलाई मेट्न संसारका सृष्टिकर्ता ब्रह्माजीको त केही लाग्दैन, देवाधिदेव शिवजीको त लेखान्त मेट्ने क्षमता छैन भने ऋषि पराशरमा त्यो भावना आउनु जरुरी थियो किनभने त्यो हुनै पर्ने थियो र भयो। तर कतै पराशरले त्यस अघि या पछि विवाह गरेको देखिँदैन र सन्तानोत्पत्ति भएको पनि देखिँदैन। तर देवाधिदेव महादेवबाट महर्षि पराशरले वरदान पाएका थिए कि उनको छोरो उनी जस्तै महर्षि हुनेछ, अझ संसारलाई मार्ग निर्देशक बन्नेछ तर कोसँग विवाह हुने छ भन्ने कुनै सङ्केत गरेका थिएनन्। वरदानचाहिँ ऋषि पराशरसँग थाती थियो। प्रकृतिको नियमलाई त्यही डुङ्गामा प्रकट हुनु थियो। राक्षस सत्र जस्तो कठिन तर त्रासदीपूर्ण कार्य गर्न सक्ने, वरदान र श्राप दिन सधैँ तयारी रहने ऋषिका बारेमा सबैतिर चर्चा थियो। आम मानिसहरू डर र भर दुवै राख्थे ऋषि पराशरसँग।
महाभारतकालीन नियममा अविवाहित नारीबाट जन्मेको सन्तान कसको हुन्छ भन्दा पछि जोसँग विवाह हुन्थ्यो, त्यसैको छोरो या छोरी मानिएको हुन्थ्यो। वेदव्यास महर्षि पराशरका छोरा हुन् भन्ने विषयमा विवाद नभए पनि पराशरले विवाह गरेकी कन्याबाट जन्मेका होइनन्। पराशरले उनलाई वैवाहिक पत्नीका रुपमा स्वीकार गरेको पनि कतै भनिएन। बरु मत्स्यगन्धाले आफ्नू कौमार्य नष्ट भएकोले कसरी अब परिवारमा, समाजमा मुख देखाउनु ? भन्ने चिन्ता व्यक्त गर्दा ऋषिले उनको कुमारीत्व फिर्ता मात्र गरेनन्, बरु अझ निख्खर बनाएको, कुमारीत्व जस्ताको तस्तै कायम गरिएको र माछाको गन्धलाई शरीरबाट बास्ना आउने गरी वरदान दिएको प्रसङ्ग यहाँ स्मरणीय हुन जान्छ।
अब स्वयं पराशर र मत्स्यगन्धा पुत्र कृष्णले पनि आफ्ना पिता पराशरले मत्स्यगन्धासँग विवाह नै गरेको, पत्नीका रुपमा आधिकारिक रुपमा स्वीकार गरेको कतै भनेनन् र आफू महाराज शन्तनुको सन्तानका रुपमा पनि गणना गरेनन् जवकि महाभारतकालीन नियममा उनी शन्तनुका सन्तानका रुपमा मान्य हुन सक्थे।
मत्स्यगन्धा नै कृष्ण द्वैपायनकी आमा भएपछि सत्यवती भएकी हुन् र झन रुपवती देखिएकी हुन्। निषाद दाशराजजी रुपवती छोरीका रुपमा त्यसबेलाकी सबैभन्दा रुपवती कन्याका रुपमा रहेकी मानिन्थिन्। पछि हस्तिनापुरका चक्रवर्ती महाराज शन्तनुका आँखामा परिन्, अनि राजालाई त्यो कन्या नभई नहुने भयो। पहिलेकी महारानी गङ्गाले हस्तिनापुरको दरबार छोडेर जाँदा उनले आठौँ छोरो देवब्रतलाई पनि सँगै लिएर गएकी थिइन् र पछि महाराजलाई उनको युवराजका रुपमा फिर्ता गरेकी थिइन्। जब युवक देवब्रत फिर्ता भएर दरबारमा आए, महाराजलाई भावी राजाको चिन्ता भएन तर दाशराजकी छोरी देखेपछि भने उनलाई त्यो कन्या नभई नहुने भएको थियो। महाराज शन्तनुको द्विविधा यस्तो थियो कि भर्खरै फिर्ता भएको छोरो युवराज देवब्रतको विवाह गर्ने बेलामा आफू कसरी दाशराजकी छोरी चाहन्छु भन्नु ? तर सदैव आफ्नी पहिलेकी रानीको चाहना गरे पनि ती श्रापित तर मुक्त भएकी गङ्गा फर्केर दरबारमा आउनेवाली थिइनन्। उनी आफ्नो सांसारिक सन्तान देवब्रतको भने चिन्ता लिन्थिन्। क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- शकुनिको कूटनीतिक क्षमता
- वैश्विक तापक्रम वृद्धिको दुष्परिणाम र हाम्रो भविष्य
- हिडिम्बाको मोह
- द्रौपदीलाई आफ्नै रूपको चिन्ता
- ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार
- द्रौपदीको छल
- शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन
- किन आयो शिखण्डीमा मर्ने चाहना?