मत्स्यगन्धाः भाग्यशाली कि भाग्यहीन?

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—२६

हरिविनोद अधिकारी

महाराज शन्तनुको द्विविधा यस्तो थियो कि भर्खरै फिर्ता भएको छोरो युवराज देवब्रतको विवाह गर्ने बेलामा आफू कसरी दाशराजकी छोरी चाहन्छु भन्नु?  तर सदैव आफ्नी पहिलेकी रानीको चाहना गरे पनि ती श्रापित तर मुक्त भएकी गङ्गा फर्केर दरबारमा आउनेवाली थिइनन्। उनी आफ्नो सांसारिक सन्तान देवब्रतको भने चिन्ता लिन्थिन् ……..

आखिर आमाको मन न हो। अरु अप्सराभन्दा गङ्गाको अवस्था फरक देखिन्छ किनभने जबजब देवब्रत अर्थात् भीष्म पितामहलाई कठोर निर्णय लिनु पर्ने हुन्थ्यो या द्विविधाजनक अवस्था आउँथ्यो, उनले तत्कालै आमा गङ्गालाई सम्झन्थे र उनी उनको जेहेनमा तत्काल आउँथिन्। त्यसो त उनको सर्त नै थियो, आठौँ सन्तानलाई राजकीय कार्यको लागि योग्य बनाउने तर यो पृथ्वीमा उसबाट कुनै सन्तानोत्पादन नगराउने। तर त्यो नियतिको लेखालाई यस संसारमा कारण बनाउनका लागि शन्तनुका लागि, या पिताजीका लागि उनको मन परेकी केटी दाशराजकी छोरी योजनागन्धा माग्न जाँदा दाशराजले आफ्नी छोरीको सन्तानले मात्र राज्यको उत्तराधिकारी हुन पाउने सर्त राखेको पाइन्छ। जुन सर्तलाई राजकुमार देवब्रतले मानेको देखिन्छ। अनि देवब्रतकै ढिपीले दाशराज कन्या हस्तिनापुर दरबारमा विवाहित हुन्छिन् र उनलाई नै हामी पछि बडा महारानी सत्यवतीका रुपमा महाभारतमा चिन्छौँ। यति कारण देखिनका लागि पनि पूर्वजन्मका धेरै कारणहरूले काम गरेको पाइन्छ। सायद यही नै हो महाभारतको विशेषता।

महाभारत विशाल ग्रन्थमा वर्णित सबै घटना आफैँमा एउटा गणितको सूत्रजस्तै प्रमाणित ,तथ्यमा आधारित र सबै प्रमाणले पुष्टि भएको अनि अतीतका विभिन्न घटनाको पुञ्जका रुपमा देख्न पाइ्न्छ। त्यहाँ सबै कारणहरूको आधार पाइन्छ। त्यहाँ चराले पुराण भन्छन्, गाईले गोकर्ण नामको मान्छे पाउँछन्, माछाको पेटबाट सकुशल मानवीको जन्म हुन्छ र तिनै मानवी पछि गएर चक्रवर्ती महाराज शन्तनुकी महारानी हुन्छन्। त्यतिमात्र होइन, उनकै अनिच्छित तर बाध्यकारी गर्भबाट महान विद्वान वेदव्यासको जन्म हुन्छ जसले युगान्तकारी राजनीति, साहित्य, अर्थनीति, दण्डनीति, विदेश नीतिको प्रतिपादन गरेका छन् जसले वेदको सामयिक सरलीकरण मात्र गरेनन्, यो संसारलाई लिखित रुपमा ग्रन्थको पनि सुरुवात गराए।

वेदव्यासको जन्मका कारणले पराशरलाई के भन्ने? पराशर ठिक थिए भन्ने कि ठिक बेलामा उनको र मत्स्यगन्धाका बिचमा भेट भएछ भन्ने? झलमल उज्यालोलाई अन्धकार बनाउन सक्ने, तत्कालै बादल र हुस्सू निर्माण गरेर नदीको डुङ्गा देख्न नसक्ने बनाउने, राक्षस सत्र गरेर हजारौँ राक्षसको आहूति दिन सक्ने तर काम वासनाको झन्झावतलाई भने खप्न नसक्ने? कामदेवको वाणलाई समन गर्न असमर्थता देखाउनुले ऋषि परारशको कमजोरी देखाइएको छ। चाहे वैधानिकरुपमा विवाहित नारी हुन् या अचानक भवितव्य परेर आमा हुने सौभाग्य या दुर्भाग्य प्राप्त भएको किन नहोस्, आमाको कोखबाट जन्मेको बच्चाको अधिकार हुन्छ, आफ्नी आमाको स्तनपान गर्ने, आमाको छातीमा सुत्ने र आफ्ना साना साना हात र खुट्टा खेलाउँदै किलकारी भर्ने। तर न मत्स्यगन्धाले आफ्नो अचानक भएको समागमबाट जन्मेको छोरोलाई काखमा लिएर स्तनपान नै गराउन पाइन्, न त भर्खर जन्मेको बच्चा कृष्णले आमाको काखमा किलकारी नै भर्न पाए? स्वयं वेदव्यासले आफ्नो जन्मका बारेमा भनेका छन् कि जन्मँदै उनी वयस्क थिए र जन्मने काम पनि तत्कालै भएको थियो जबकि उनकी माता र पिताका बिचमा सहबास भएको मात्र थियो। अनि पराशर जस्ता महान ऋषिबाट, या भनौँ अल्पकालीन पतिबाट रति सुख पाउनु र वेदव्यासजस्तो छोरो पाउने मत्स्यगन्धालाई भाग्यशाली महिला मान्ने कि विधिको विधानबाट ठगिएकी महिला मान्ने? या कुनै ऋषिको काम वासनाको सिकार हुनु परेको अभागी महिला मान्ने? भाग्यशाली कि भाग्यहीन? यसको निर्क्यौल महाभारतको सृजनादेखि आजसम्म पनि खुट्याउन सकिएको छैन।

त्यसो त माछाको गन्ध आइरहेकी मत्स्यगन्धालाई योजनासुगन्धा बन्ने अवसर पाइन्,लुटिएको कौमार्य फेरि अझ सुन्दरीसमेत भएर फिर्ता पाइन् ताकि पछि कसैले पनि कौमार्य भङ्ग भएकी भनेर लाञ्छित नगरोस्। त्यसैकारणले पछि विवाह नहुने वातावरण नबनोस्। विधिको विधान न हो, उनको अति सुन्दरी रुपवती र सुगन्धाको कारणले नै महाराज शन्तनु आकर्षित भएका थिए। आफ्नी छोरीप्रति आकर्षित राजा शन्तनुलाई दाशराजले सर्तहरूको भारीले किच्ने काम गरेको देखिन्छ तर त्यो अघिल्लो जुनीकै कारणले भएको कुरा महाभारतले हामीलाई बताउँछ।

तत्कालीन हस्तिनापुरका बारेमा महाराज प्रतीपको सामान्य जानकारीबाहेक हामीलाई केही कुराको जानकारी सुरु गराउने भनेको नै सत्यवतीको या मत्स्यगन्धाको जन्मपछि नै पाइन्छ। यक्षराज उपरिचरकी छोरीको रुपमा उनको माछाको पेटमा पालिनु र दाशराजले एकदिन फेला पारेको माछाको पेटबाट सकुशल कुमारीको जन्म हुनु अनि तिनलाई देखेर ऋषि पराशरले आफ्नू संयम गुमाउनु आदि घटनाले महाभारतको रोचकपनलाई थप रहस्यमय र जिज्ञासामूलक गराएको छ।

जब वृद्ध महाराज शन्तनुसँग विवाह हुने भएको थियो, त्यसको कारण र समाधानका लागि युवराज देवब्रतको महान त्यागले काम गरेको थियो। एकातिर महाराज शन्तनु दाशराज धीवरकी कन्या विना बाँच्न पनि नसक्ने अवस्थामा थिए भने दाशराज निषादले पनि मौकामा चौका हान्न भ्याएको थियो र भन्थ्यो – वृद्ध राजाका दरबारमा शूरवीर छोरो, विवाहका लागि तयार भएका देवब्रत छन् अनि मेरी छोरीको हबिगत हुनेछ यदि मेरी छोरीको गर्भबाट जन्मेको सन्तानले राज्य भोग गर्न पाएन भने। त्यसैले म मेरी रुपवती कन्या दिनेछु त्यही सर्तमा कि यदि हस्तिनापुरको राजगद्दीमा मेरी छोरीको छोराले बस्न पाउने भए। सर्वगुण सम्पन्न आफ्नो छोरो युवराज देवब्रत हुँदाहुँदै महाराज शन्तनुले त्यो सर्त कसरी मान्न सक्थे एकातिर भने अर्कोतिर त्यो योजनासुगन्धा पाउन नसके उनी बाँच्न पनि नसक्ने अवस्थामा प्रेममा परिसकेका थिए। एकतर्फी प्रेम।

त्यो समस्याले राज्य अन्यौलमा पर्न सक्ने अवस्था थियो किनभने महाराज शन्तनु त्यो योजनासुगन्धाका लागि राज्य पनि छोड्न सक्थे तर दाशराज भने छोरीको हात त्यो बेलामा मात्र दिन तयार थियो जब राजाले दाशराजकी छोरीबाट जन्मेको छोरालाई राज्यको उत्तराधिकारी मान्नु पर्ने हुन्थ्यो। धीवर कन्यालाई महारानी मान्नु पर्ने अर्को सर्त स्वाभाविक थियो किनभने उनीबाट जन्मेको सन्तान राज्यको उत्तराधिकारी बन्नु जो थियो। राजा शन्तनु न त दाशराजको सर्त मान्न सक्थे, न त धीवरकन्यासँग विवाह नगरी बस्न सक्थे। त्यसको लागि या त महाराजले धीवरकन्यासँग विवाह गर्ने विचार त्याग्नु पर्ने हुन्थ्यो, या त युवराज देवब्रतले पिताजीको लागि राज्यको उत्तराधिकार छोड्ने कडा निर्णय लिनसक्नु पथ्र्यो या भनौँ कडा ब्रत लिन सक्नुपथ्र्यो। नाम पनि त देवब्रत थियो। भीष्म ब्रत लिनु पर्ने बेला भएकाले युवराज देवब्रतले दाशराजसँग प्रतिज्ञा गरे कि उनी राज्यको उत्तराधिकार छोड्ने छन् र भविष्यमा शङ्का नबढोस् र दाशराजले पिताजीलाई आफ्नी छोरी दिन अरु सर्त नराखोस् भन्ने लागेर आफू जीवनभर विवाह नगर्ने र सन्तान उत्पादन नगर्ने भीष्म प्रतिज्ञा गरे। त्यसो भए पछि कुनै विवाद हुने छैन भावी उत्तराधिकारका लागि भन्ने धारणा युवराज देवब्रतको। र योजनागन्धाको गर्भबाट जन्मने पहिलो छोरो सन्तान जन्मने बित्तिकै उही नै युवराज हुने र देवब्रत हस्तिनापुरको रक्षकका रुपमा मात्र भूमिका निर्बाह गर्ने प्रण गरे। यसरी यक्ष उपरिचरकी छोरीको रुपमा माछाको पेटबाट जन्मेकी, दाशराज धीवरले पाली हुर्काएकी कन्या विवाह हुँदा नै दुईओटा वयस्क सन्तानका आमा हुने सौभाग्य पाइन्। पहिलो सन्तान वेदव्यास कृष्ण थिए भने विवाह हुने बित्तिकै गङ्गा पुत्र गाङ्गेय देवब्रत पनि शन्तनु महाराजका छोरा भएकाले नयाँ रानी योजनासुगन्धाको छोरा स्वतः भए। त्यसपछि उनको परिवर्तित नाम सत्यवती भयो।

महाराज शन्तनुको विवाह भयो र महारानीका रुपमा दाशराजकी पालित कन्या सत्यवती हस्तिनापुर नगरकी बडामहारानी भइन्। त्यसका लागि युवराज देवब्रतले यस्तो त्याग गरे कि आज पनि हामी प्रतिज्ञाको पालना गर्ने कुराको उदाहरण दिनु पर्दा तिनै देवब्रत जस्तो हुनुपर्छ भनिँदैछ।

तर महाभारतले यसरी भवितव्यले भएका घटनाहरूको अतीतको स्वरुपले के देखाउँछ भने यी सबै पहिले नै स्थापित भएका थिए, कसैले श्राप पाएर त कसैले वरदान पाएर। कोही पनि स्वतन्त्ररुपमा जन्मेको थिएन। सबैको अतीतमा केही न केही घटना थिए।

तिनै सत्यवती महाभारतको जगमा गाडिएकी पत्थर जस्तै भएर हस्तिनापुरको भविष्यप्रति चिन्तित रहेकी राजमाताको रुपमा देखिन्छिन्। उनकै गर्भबाट पछि हस्तिनापुरका उत्तराधिकारीहरू जन्मेका हुन् चित्राङ्गद र विचित्रवीर्य नामका दुई राजकुमारहरू। पछि तिनै दुई राजकुमारहरू क्रमशः हस्तिनापुरका राजा भए जुन सर्त दाशराजले महाराज शन्तनुसँग राखेका थिए। क्रमशः

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link