चितवनमा यौन दुर्व्यवहार: २० दिनमा चार शिक्षक पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले बाल यौन दुर्व्यवहारको आरोपमा विगत २० दिनमा समातेका  पाँच जना पुरुष मध्ये चार जना  शिक्षक छन्।

बिहीबार मात्रै दुई जना शिक्षक विद्यालय भित्रै बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेपछि प्रहरी हिरासतमा पुग्ने शिक्षकको चार जना पुगेका हुन्।

यी चार घटना यहि चैत महिनाको २० दिन यताको हो। जहाँ विद्यार्थीहरूले शिक्षक अभिभावक सहित विद्यालय पोशाकमै प्रहरी कार्यालय पुगेर आफूमाथि भएको दुर्व्यवहार सुनाए।

कहिले पास गरिदिने बाहनामा, कहिले माया गरेको तरिकाले उनीहरूका सवेदनशिल अंगमा छुने, सुम्सुम्याउने अनि सामाजिक सञ्जाल मार्फत अश्लिल भिडियो, सन्देश पठाएको आरोप ती शिक्षकहरूमाथि छ।

सबै घटना शिक्षकहरूले गरेका दुर्व्यवहार विद्यालयमा नै पटक पटक भन्दा पनि सुनुवाइ नभएपछि परिवार हुँदै प्रहरीसम्म आइपुगेका हुन्।

बिहीबार भरतपुरको वडा नम्बर १३ मा रहेको श्री माध्यमिक विद्यालय गंगानगरका १२ र १३ वर्षका दुई बालिकाले आफूलाई पढाउने दुई शिक्षकले लगातार यौन दुर्व्यवहार गर्दै आएको घटना प्रहरी कार्यालयमा पुगेर सुनाए।

अभिभावसहित प्रहरी कार्यालय पुगेका उनीहरूले कक्षा ४ र कक्षा छ मा एउटै विद्यालयमा पढ्ने दुई बालिकाले आफ्नै शिक्षकले कक्षा १ देखि नै यौन दुर्व्यवहार गर्दै आएको जाहेरी दिए।

कक्षा ४ मा पढ्ने बालिकाले ५८ वर्षका श्क्षिक फणीन्द्र भट्टराईले यौन दुर्व्यवहार गर्दै आएको बताइन्। सोही विद्यालयमा कक्षा ६ मा पढ्ने १२ वर्षकी बालिकाले सोही विद्यालयका ५२ वर्षका शिक्षक विमलप्रसाद देवकोटाले विभिन्न बाहनामा संवेदनशिल अंग छुने, पाइन्टको चेन नै खोलिदिने लगायतका व्यवहार गरेको उजुरी जिल्ला प्रहरी कार्यालय चितवनमा दिइन्।

प्रहरीले बिहीबार नै दुबैजनालाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनमा प्रवक्ता डिएसपी नरहरि अधिकारीले उनीहरूलाई अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको जानकारी दिए। चैतकै १४ गते यौन दुर्व्यवहारकै उजुरीमा चितवनको वडा नम्बर १९ को सर्वोदय बोर्डिङ स्कूलमा शिक्षक कृष्ण गुरुङ प्रहरी हिरासतमा नै छन्।

उनमाथि कक्षा ७ मा पढ्ने बालिकालाई फेसबुकबाट अश्लिल म्यासेज पठाउने, संवेदनशिल अंगमा छुने, सुम्सुम्याउने लगायतको आरोपसहितको उजुरी पीडितले गरेकी छिन्। प्रहरीले अनुसन्धान अघि बढाइरहेको जानकारी दिएको छ।

यहि चैतको ४ गते माडीको सोमेश्वर माध्यमिक विद्यालयका शिक्षक सुरज लामिछानेले कक्षा ९ मा पढ्ने बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो।

उक्त घटना त गाउँमै मिलाउन प्रहरीकै रोहबरमा सर्वदलीय छलफल समेत भएको थियो। पीडितले घटना मिलाउन नमानेपछि उनलाई पनि प्रहरी हिरासतमा राखियो। २० दिनअघि पक्राउ परेका उनी प्रहरी हिरासतमा नै छन्।

चितवनका प्रहरी प्रवक्ता डिएसपी अधिकारीले लामिछानेको आरोपको अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिए। अनुसन्धान सकिएपछि आरोपी शिक्षकलाई अदालत पेश गर्ने प्रहरीको तयारी छ।

 

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिमा सिलवाल/ चितवन का अन्य पोस्टहरु:
चितवनमा यौन दुर्व्यवहार: २० दिनमा चार शिक्षक पक्राउ
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link