शिखण्डी जति सुरवीर थिए, जति अन्यमनस्क भावमा रहन्थे, त्यति नै भीष्ममा पनि पूर्व जानकारी उनले पाएका थिए भन्ने बुझिन्छ ……
सानैदेखि शिखण्डीमा राज्यको खासै परवाह थिएन। उनको सपना र जपनामा शन्तनु नन्दन देवब्रत मात्र हुन्थे। उनको मृत्यु मात्र हुन्थ्यो। उनलाई पनि थाहा थियो, गाङ्गेयको मृत्यु उत्तरायणमा हुनेछ र उनको इच्छा मरण हुनेछ। चाहेको दिन मात्र मर्नेछन्। र पनि अम्बा हुँदाको प्रतिशोध यति गहिरोसँग जमेको थियो कि कुनै पनि हालतमा उनी बदला लिएरै छोड्नेवाला थिए।
उता महाराज द्रुपदले पनि द्रोणाचार्यसँग बदला लिन भनेर पुत्रेष्टि यज्ञ गरेका थिए। त्यससँग पनि शिखण्डीलाई केही मतलब थिएन। त्यही दरबारमा लगाएको यज्ञबाट पछि यज्ञबाट धृष्टद्युम्न र कृष्णाको जन्म भयो तर उनका त्यसले पनि कुनै प्रभाव पारेको देखिँदैन।
धृष्टद्युम्न र द्रौपदीको लालन पालन पनि पाञ्चालको राजधानी काम्पिल्यको दरबारमा नै भएको थियो। नव युवक धृष्टद्युम्न जुन कारणले जन्मेका थिए, द्रौपदी जसरी यज्ञबाट फुत्त निस्केकी थिइन्, त्यसको पनि शिखण्डीलाई केही मतलब थिएन। राजाको एउटा भित्री उद्देश्य के पनि थियो भने भोलिका दिनमा पाञ्चालको बागडोर सम्हाल्ने चाहिएको थियो। त्यो कामका लागि धृष्टद्युम्न नै जन्मेका थिए।
एकातिर आचार्य द्रोणका एक मात्र छोरो, चिरञ्जीवी छोरो अश्वत्थामा वीर लडाकु र पाञ्चालको आधा राज्य सम्हालेर बसेका थिए भने त्यो चिरञ्जीवी छोरोको पुत्र शोकले मात्र गुरु द्रोण मर्न सक्थे, मार्न सकिन्थ्यो। जटिल थियो परिस्थिति। तर पनि तिनै द्रोणसँग पढ्न भनेर शिखण्डी र धृष्टद्युम्न गएका थिए हस्तिनापुरको गुरुकुलमा। कुरुकुलका पाण्डव तथा दुर्योधनादि युवाहरूमात्र थिए र त्यस्ता धेरै युवाहरूका बारेमा महाभारतले बोल्दैन तर कर्णलाई भने द्रोणले नपढाएको कुरा भने पढ्न पाइन्छ।
द्रौपदीको चाहनाभन्दा उनलाई दरबारले जे भन्थ्यो, त्यही हुन्थ्यो। दरबारले भोलिका दिनमा हुने वाली रानीको रूपमा उनको लालन पालन, शिक्षादीक्षा भएको थियो। उनी अयोनिजा भएकाले पनि उनमा धेरै ज्ञान आफैँमा अन्तर्निहित थियो। त्यो प्रस्फुटन हुन बाँकी थियो। तर अत्यन्त राम्री भएकीले उनको रूपको वर्णन चारैतिर फैलिएको थियो। द्रौपदीलाई धेरैजसो अप्ठेरो पर्नाको कारण उनको रूप पनि हो भन्ने कुरामा उनी आफैँ पनि सहमत थिइन्। दरबारमा जो पनि ऋषि, ब्राह्मण, क्षत्रिय, यक्ष, गन्धर्व आउँथे, तिनले द्रौपदीलाई हेरिरहन्थे। मानौँ उनीहरूका आँखा तृप्ति नै भएका छैनन्।
द्रौपदीको रूपले यति धेरै उनलाई दुःख दिएको उनी मान्थिन् कि भगवानसँग उनको प्रार्थना हुन्थ्यो —हे भगवान, अर्को जुनीमा मेरो पुनर्जन्म हुने भए मलाई रूपवती नबनाउनुस्। जस्तो कि उनको रूपले नै उनको स्वयंवरमा अनेक क्षत्री युवकहरू आएका थिए। धेरैलाई के पनि थाहा थियो कि जुन सर्त महाराज द्रुपदले राखेका छन्, त्यो पूरा गर्न सकिँदैन तर द्रौपदीलाई नजिकैबाट त हेर्न पाइन्छ नि। कतिपय राजकुमार तथा राजाहरूले प्राप्त निमन्त्रणालाई द्रौपदीको दर्शनको अमूल्य समय मान्दै आएका थिए। अङ्ग नरेश कर्ण आफूलाई भन्दा पनि सर्त जितेर राजकुमार दुर्योधनका लागि पाञ्चाली कोसेलीमा दिन चाहन्थे। तर कता कता द्रौपदीको रूपको मोहनी उनमा पनि थियो भन्ने अनुमान गर्न सकिन्छ। पाञ्चाल राजकुमारी पाञ्चालीलाई कर्णका बारेमा थाहा थियो, त्यसै भएर त उनले कर्णलाई सूत पुत्र भनेर दुत्कारिन् र त्यो प्रतिस्पर्धा जिते पनि आफूले स्वयंवर नगर्ने निर्णय भरी सभामा सुनाइन्।
त्यसो गर्नु त मनासिब थिएन किनभने पहिले नै सर्तमा जसले फनफन घुमिरहेको माछाको आँखामा वाण साध्न सक्छ जसलाई तल रहेको पानीको तलाउमा हेरेर माथिको गतिशील चक्रमा रहेको माछोमा निसाना लगाउन सकोस्। द्रौपदीको स्वयंवरको हल्ला खल्ला धेरै थियो तर त्यहीताक वारणावतमा कुन्तीसहित पाँच पाण्डव जलेर खरानी भएको समाचार फैलिएको थियो। महाराज द्रुपदमा एउटा अव्यक्त अपेक्षा थियो, मेरी छोरीको लागि योग्य वर त आफूलाई हराएर, बाँधेर आचार्य द्रोण सामु पछार्ने त्यो युवा नै फेला परोस्। त्यतिखेरको समयमा त्यसरी वाण साध्न सक्ने मात्र कर्ण र अर्जुन मात्र थिए त्यो भूखण्डमा। जब कर्णलाई वहिष्कारमा पारिन्, अनि कसैले पनि वाण सन्धान नै गर्न सकेनन्। अर्थात् द्रौपदीको विवाह नै नहुने जस्तो अवस्था थियो। सर्त पनि त त्यस्तै थियो। द्रुपदले अर्जुनलाई सम्झेर नै त्यो सर्त राखेका थिए र स्वयंवरका लागि हस्तिनापुरलाई निमन्त्रणा दिइएको थियो। पाँच पाण्डव त हस्तिनापुरका अङ्ग नै थिए। युधिष्ठिर त हस्तिनापुरका युवराज नै थिए भने अर्जुन युधिष्ठिरका मुख्य लडाकु योद्धा नै त थिए। जो कोहीले पनि त्यो प्रतिस्पर्धामा भाग लिन पाउने बुझिन्थ्यो तर द्रौपदीले नियम बाहिर गएर सूत पुत्र कर्णलाई प्रतिस्पर्धाबाटै अलग्गाइन्। अर्को पनि छल भएको हुनसक्छ, कर्णले पहिले सन्धान गरेको भए उनले बाध्य भएर कर्णलाई वरमाला पहिर्याउनु नै पर्थ्यो। यसमा हुनसक्छ, भर्खरै जस्तो चिनजान भएका तर अत्यन्त कूटनीतिज्ञ र अप्रतिस्पर्धी पाहुना श्रीकृष्णको पनि हात थियो कि ? त्यही अनुमान गर्न सकिन्छ किनभने कृष्णलाई मात्र थाहा थियो, त्यो स्वयंवर मण्डपमा ब्राह्मण कुमारका रूपमा पाँच भाइ पाण्डव उपस्थित थिए दर्शकका रूपमा। उनीहरूले थाहा त पाएका थिए काम्पल्यमा स्वयंवर छ भन्ने कुरा तर अर्जुनले अरूलाई सुइँको पनि दिएका थिएनन्, किन उनीहरू एकचक्रा नगरीबाट काम्पल्य जाँदैछन् ? अरू त अरू, माता कुन्तीसम्मलाई पनि थाहा थिएन कि उनका छोराहरू ब्राह्मण कुमारहरूको भेषमा द्रुपद महाराजको दरबारमा जाँदैछन्।
क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
- द्रौपदीलाई आफ्नै रूपको चिन्ता
- ब्राह्मण कुमारले विश्व सुन्दरीमाथि जमाए अधिकार
- शिखण्डीलाई लिङ्ग प्रदान, यक्ष स्थूणाकर्ण बने स्त्री
- यसरी भयो शिखण्डीको लिङ्ग परिवर्तन
- दिगो शान्तिका लागि गान्धीको पथप्रदर्शन
- किन आयो शिखण्डीमा मर्ने चाहना?
- शिखण्डीको नियति
- जब अम्बाको तपस्याले शिवजी प्रसन्न भए…
- अम्बाका कारण परशुराम र भीष्म बिच युद्ध
- राजकुमारी अम्बाको पीडा