महारानी सुदेष्णाकी सैरन्ध्री

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—४८

हरिविनोद अधिकारी

यसरी पाण्डवहरू र द्रौपदी अज्ञातबासका लागि मत्स्य देशको राजधानी विराटनगरमा प्रवेश गरे र दरबारमा सहजताका साथ भूमिगत हुन सके। तर डर सधैँ के रह्यो भने कसैले थाहा पाउने पो हुन् कि? हस्तिनापुरबाट गुप्तचरहरू आएर पत्ता पो लगाउने हुन् कि? द्रौपदीको प्रत्युत्पन्न मतिको परिणामस्वरूप विराटनगरमा उनीहरू समाहित भए र आपसमा भेटघाट कसरी गर्ने र आवश्यक छलफल गर्ने भन्नेमा भने अन्यौल नै देखिएको थियो ……..

युधिष्ठिर अर्थात् कङ्क जसले महाराज विराटलाई मनोरञ्जन गराउनका लागि पासा खेलाउने जिम्मा लिएका थिए भने पनि उनको रक्षाका लागि भीम सदैव सचेत रहन्थे। अर्जुनको समस्या के थियो भने उनी बृहन्नला भएर रनीबासमा बस्दा अन्य कुरामा चासो लिन समस्या थियो। रनीबासमा उनको खास काम नै राजकुमारी उत्तरालाई सङ्गीतका ६४कला, नृत्यका ६४ कला सिकाउने र नृत्यमा पारङ्गत गराउने जिम्मामा रहेकाले बेलामौकामा सैरन्ध्री बनेकी द्रौपदीसँग आँखा जुधे पनि कुरा गर्ने समय मिल्दैनथ्यो। द्रौपदी अर्थात् सैरन्ध्रीलाई त्यसबेला साह्रै खिन्न लाग्थ्यो, महान धनुर्धर अर्जुन रनीबारमा नृत्य सिकाएर बसेका छन्, महान गदाधर भीम विराट राजाको दरबारमा भात पकाएर बसेका छन्, महाराज युधिष्ठिर कङ्कको भेषमा द्यूतक्रीडा गराएर बसेका छन्, ती अत्यन्त नाजुक शरीरका नकुल र सहदेवमध्ये नकुलचाहिँ घोडाको सयस भई लिदी सोहोरेर बसेका छन् र सहदेवचाहिँ हजारौँ गाईका गोठाला भएर गोबर सोहोरेर बसेका छन्। अर्थात् आफूलाई परिचयविहीन व्यक्तिको रूपमा भूमिगत भएका छन्। अरुलाई के लाग्थ्यो कुन्नि, महारानीका रूपमा इन्द्रप्रस्थमा समय व्यतीत गरेकी द्रौपदी मत्स्य देशकी महारानी सुदेष्णाको कपाल स्याहारेर बस्नु परेको थियो।

कहाँ महाराज द्रुपदको दरबारको सुख सयल, कहाँ इन्द्रप्रस्थमा महारानीको धाक रबाफ अनि कहाँ वन वन भट्किँदै आफ्नो परिचयसमेत गुमनाम बनाएर मत्स्यदेशकी महारानीको सैरन्ध्री बनेर बस्नु परेको यथार्थ। बेला मौकामा महारानी सुदेष्णा सोध्ने गर्थिन्, हे सैरन्ध्री म राम्री कि द्रौपदी? कसरी भनून् कि म नै द्रौपदी हुँ तर आफूलाई काबुमा राख्थिन् र कूटनीतिक पारामा भन्थिन्, —हजुर हजुर नै हो र द्रौपदी द्रौपदी नै। मैले त त्यति सुन्दरी महिला त देखेकै थिएन र सायद उनको रूपले नै उनीहरूले दुःख पाएका हुन् कि जस्तो पनि लाग्छ महारानी? अनि सोध्थिन् सुदेष्णा, —साँच्चै पाँचवटा पतिसँग कसरी सामञ्जस्य कायम गर्थिन् त द्रौपदीले? र कसलाई बढी माया गर्थिन् पाँचमध्ये? त्यहाँचाहिँ द्रौपदीलाई समस्या त पर्थ्यो तर भन्थिन्, —उनको पालो लगाएको थियो पाँचजना पतिसँग र सबैको माया उत्तिकै पाउँथिन् र सबैलाई बराबर माया गर्न सिपालु थिइन्। तर मनमा खोट त थियो द्रौपदीको किनभने उनलाई सबैभन्दा बढी चासो अर्जुनको हुन्थ्यो तर पछि पछि त भीमको महत्व उनले बुझेकी थिइन्। अनि सम्झनामा हराउँथिन् र इन्द्रप्रस्थको राज्याभिषेकको समय अनि द्यूतक्रीडामा उनको चीरहरण भएको समय। सबै अन्यमनस्क भएको बेलामा भीमको गर्जन यसरी सुनिएको थियो, —हे दुर्योधन, हे दुःशासन तिमीहरूलाई नमारी मेरो मनमा सन्तोष हुने छैन र दुःशासनको छातीको रगतले द्रौपदीको फिँजाएको कपालमा रगतको तेल लगाएरमात्र मेरो मनमा सन्तोष आउने छ। तर गाण्डीवका धनी अर्जुन मौन थिए, भालाका शिरोमणि युधिष्ठिर नतमस्तक थिए अनि विचरा नकुल र सहदेव दाजुहरूको अनुहार हेर्थे अनि चीरहरणबा बच्न सफल तर रिसले चुर भएकी बघिनीजस्ती द्रौपदीतर्फ हेर्थे। झल्झली सम्झँदा उनका आँखामा आँसु कतिबेर आएछन्, थाहै भएन। महारानी सुदेष्णाले जब रुमाल दिइन् आँसु पुछ्न अनि बल्ल होसमा आइन् र भनिन्,—महारानी कहाँ कुन बनमा होलिन् ती मेरी महारानी द्रौपदी जसका पाँच पाँच पतिले पनि न त चीरहरण रोक्न सके, न त गुमेको राज्य तत्काल फिर्ता लिन सके। ती पतिब्रता नारी महाराज युधिष्ठिरका पछि पछि यसरी गइन् कि जसरी बाछाका पछि पछि गाई जान्छ। उनको सभ्झनाले मेरा आँखा रसाए र थाम्न सकिन त्यो समयको विह्वलता। फेरि कहिले भेट होला ती पतिब्रता नारीसँग?

महारानी सुदेष्णा छक्क परिन् सैरन्ध्रीको भाव विह्वलता देखेर। अनि बिस्तारै सोधिन्, सैरन्ध्री पाँच पतिकी पत्नी कसरी पतिब्रता हुन सकिन् र? अनि आँसु पुछेर द्रौपदीले भनिन् —महारानी, द्रौपदीको के दोष थियो र? उनले महाराज युधिष्ठिरको आज्ञा पालना गरिन्। अहिले महाराज विराटले तपाईँलाई कसैसँग जानका लागि आदेश दिए के गर्नु हुन्छ? जानु हुन्छ या त मृत्युदण्ड पाउन तयारी हुनुपर्छ। तर द्रौपदीको कुरा फरक रहेछ महारानी, उनको अघिल्लो जुनीमै त्यस्तो लेखेको रहेछ रे भनेर मैले महर्षि वेदव्यासले भनेको सुनेकी। त्यसो त मेरा पनि पाँचवटा यक्षहरू पति छन् र पनि म पतिब्रता हुँ नि। मलाई कसैले यसो नराम्रो आँखाले सम्म हेरेमा ती यक्षहरू तत्काल आई पुग्छन् र त्यस्तासँग बदला लिएर काम तमाम पार्छन्।

यसो भनेर सैरन्ध्रीले यस्तो सन्देश दिएकी थिइन् कि यो सन्देश विराटनगरको दरबारमा फैलियोस् र अनुपम सुन्दरी सैरन्ध्रीमाथि कसैले पनि आँखा लगाउन नपाऊन्। तर महारानी सुदेष्णा भने आफ्नै राजा विराटका आँखाबाट सैरन्ध्रीलाई कसरी जोगाउने अनि आफ्ना दाजु कीचकसँगबाट भावी दिनमा कसरी जोगाउने? कारण थियो त्यही मनोवैज्ञानिक त्रासको जुन सैरन्ध्रीले रानीलाई केशविन्यासको बेलामा भनेकी थिइन्। रानी सुदेष्णा बारम्बार पाण्डवहरूका बारेमा, द्रौपदीका बारेमा सोधिरहन्थिन् किनभने त्यस्ता पाण्डवहरू किन दुर्योधनका जालमा परेका हुन्? जुन पासोमा पाण्डवहरू परेका थिए, त्यही पासोमा स्वयं द्रौपदी परेकी थिइन् जुनकुरा रानी सुदेष्णालाई कथा बनाएर सैरन्ध्रीले भन्ने गर्थिन्, —महारानी सुदेष्णा, महाराज युधिष्ठिर बचनका पक्का, उनका भाइहरू दाजु महाराजका भक्त, उनकी साझा महारानी पतिब्रता जो महाराजको बचनलाई नाघ्न नसक्ने। दाजुले द्यूतक्रीडामा भाइहरू र महारानीलाई हारेपछि रजस्वला भएर बसेकी महारानी द्रौपदीलाई बोलाउन गए तर उनी आउन मानिनन्। दुःशासनले घिसारेर ल्यायो, चीर हरण गर्न खोज्यो अनि तारणहारले उनको लाज बचाएका थिए रे। तत्काल सुदेष्णाले छक्क मान्दै सोधिन्, यी सबैकुरा तिमीले कसरी थाहा पायौ त? अनि को हो त्यो तारणहार?

उनले भावावेशमा भनेका कुराको तत्कालै नयाँ प्रमाणसहित पत्याउने गरी कुरा बनाउनु पर्ने भयो र भनिन्, —मेरो भेट पछि पनि भयो वनमा। म पनि यक्षहरूसँग घुम्दै फिर्दै जाँदै थिई, जोगिनीको भेषमा महारानी भेटिनु भयो र यी सबैकुरा भन्नु भयो । तारणहारको कुरा भनेको अदृश्य शक्तिले उनको लाज बचाएको रहेछ। अनि एउटा कथा भन्नु भएको थियो महारानी कसरी उहाँको चीरहरणमा सारीको संख्या थपिएर लाज बचेको थियो।

सैरन्ध्रीले भनेको कथा यस्तो थियो, —पाञ्चाल नरेश द्रुपदकी प्यारी छोरी एकदिन नदीमा स्नान गर्न गएको बेलामा एकजना तपस्वी जोगी पनि नुहाउँदै हुनुहुन्थ्यो रे। त्यही बेलामा ती तपस्वी मुनिको लगौँटी नदीको किनारामा थियो, त्यो हावाले उडायो। विचरा मुनिको लगाएको लगौँटी पनि पुरानो थियो र लाज ढाक्न मिल्ने थिएन। मुनि, राजकुमारी र उनकी सहेलीहरू स्नान गरेको ठाउँबाट किनारामा जानु पर्ने थियो अनि कसरी बाहिर जानु र? त्यो ध्यान दिएर देखेकी राजकुमारी पाञ्चालीले आफ्नो सारी च्यातेर मुनिलाई दिन्थिन्, हावाले उडाउँथ्यो, फेरि च्यातेर दिन्थिन्, हावाले उडाउँथ्यो किनभने मुनि लाजले नजिकै आएका थिएनन्, राजकुमारीले पनि उडाएको देखेपछि च्यात्दै दिँदै गरेकोमा अन्तमा एउटा टुक्रा मुनिको हातमा पर्‍यो र उनले लगौँटीको रूपमा त्यो सारीको टुक्रालाई लगाए अनि आशीर्वाद दिएछन्, तिमीलाई कुनै पनि बेलामा नाङ्गै पानै कसैले खोजेमा तिम्रो शरीरबाट लुगा कहिल्यै नसिद्धियोस्। अनि उनले तारणहार भनेर श्री भगवानको नाम लिइछन् र त्यो आशीर्वाद सम्झने बित्तिकै भगवानले उनको शरीरमा लुगाको कमी हुन नदिएर चीरहरण असफल बनाएका थिए रे। त्यही लुगाको व्याज स्याजसमेत गरेर लुगा यति धेरै भएको रहेछ रे कि दुःशासनले जति लुगा ताने पनि उनको शरीरको सारी सिद्धिएन रे। यसपटक पनि सैरन्ध्रीको आँखामा आँसुको भेल बग्यो र सुदेष्णाले सोचिन्, पुरानी मालिक्नीको कति माया रहेछ, भोलि मकहाँबाट यिनी जालिन् र मलाई पनि यस्तै सम्झना गर्लिन् कि नगर्लिन्? अनि भनिन् भैगो, सैरन्ध्री आजलाई आराम गर्न जाऊ र आफ्नो ख्याल गर है। अनि उनले पनि द्रौपदीको रूप निहारिन् र भनिन् मनमनै कति राम्री हो यो सैरन्ध्री? कुनै राजकुमारी जस्ती पनि छे। तर सोचिन्, यदि कुनै राजकुमारी भएकी भए मेरो दरबारमा किन मेरी दासीको रूपमा काम गर्न आउँथी र?

म्हारानी सुदेष्णासँग भएको वार्तालापले उनको घाउ चहर्‍यायो र आफ्ना स्वामीहरूको पहिचान कुनै पनि तरिकाले कतै पनि नखुलास् भनेर भगवतीसँग प्रार्थना गरिन् र आफ्ना तारणहार श्रीकृष्णलाई सम्झिइन्। उनलाई सबैभन्दा डर थियो युधिष्ठिरको किनभने उनी सत्यवादी थिए र प्रसङ्गमा आफू युधिष्ठिर भएको बताए भने यो कुरा हस्तिनापुर पुग्ने छ र फेरि १२ वर्षको वनबास थपिने छ। अर्थात् यो जीवनमा कौरवहरूसँग बदला लिन सकिने छैन, राज्य फिर्ता पनि पाइने छैन र आफ्ना पाँच भाइ छोराहरूसँग फेरि कहिल्यै भेट हुनेछैन। अनि दुर्योधनका भाइहरूको कसरी हत्या गर्न सकिएला? कसरी द्रौपदीलाई यहाँ बस् भनेको ठाउँमा दुर्योधनको तिघ्रामा भीमले गदा प्रहार गरेर उसलाई हिंड्न नसक्ने बनाउन सकिएला र? कसरी दुःशासनको छातीको रगतले मेरो कपाल भिजाउने होला?

कता कता द्रौपदीको सम्पूर्ण ध्यान भीमप्रति समर्पित भएको ठानिन् किनभने पाण्डवहरूको रक्षामा सधैँ खट्ने भीम त थिए अनि द्रौपदीको सबैभन्दा बढी माया गर्ने र चाहना पुर्‍याउन सदैव तत्पर पनि त भीममात्र थिए। माता कुन्तीको पनि उनलाई त्यो बेलामा याद आयो जो छोराहरू विजयको माला पहिरेर हस्तिनापुर आउलान् भनेर विदुरको झुपडीमा पर्खेर बसेकी थिइन् अर्थात् हस्तिनापुरमा बसेर आफ्ना छोराहरूका शत्रु किल्लामा झण्डा गाडेर बसेकी थिइन्। अनि सम्झिइन् यदि उनी पनि हतास भइन् भने विराटनगरको गुप्तबासको के अर्थ? छन् नि पाञ्चालमा माइतीहरू र द्वारकामा श्रीकृष्ण स्वयं उनीहरूको रक्षकबचका रूपमा जो समयक्रममा सासुको पनि माइती र आफ्नो पनि माइतीको नातामा। सुभद्राका कारणले जुन सुभद्रा किशोर छोरो अभिमन्यु र उनका पाँचभाइ युवा छोराहरू लिएर बसेकी थिइन् एकदिन हस्तिनापुरको राज्य फिर्ता होला भन्ने अपेक्षाका साथ। क्रमशः

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link