युधिष्ठिरको जुवाको दाउमा लागेकी पत्नी

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—५०

महाभारतमा ठाउँ ठाउँमा शकुनि जसरी हुन्छ युद्ध होस् र बहिनीको बदला समयले लिओस् भन्ने उल्लेख पाइन्छ। त्यसैले युद्धका पक्षमा मात्र शकुनि देखिन्छन्। तर यथार्थमा युद्ध त सबैलाई चाहिएको थियो ……..

हरिविनोद अधिकारी

भावी युद्धको तयारी भनेको नै दोहोर्‍याएर गरिएको द्यूतक्रीडा थियो। यदि पाण्डवहरू तातेनन् भने युद्ध अवश्यम्भावी थिएन। तर नियतिको खेल कस्तो रह्यो भने विश्व प्रसिद्ध लडाकु पाण्डवहरू मत्स्य देशमा लुकेर बस्नु परेको अवस्था थियो। भोलिको दिनमा हुनसक्ने युद्धका बारेमा सोच्दासोच्दै सैरन्ध्रीलाई चीरहरणको प्रसङ्ग झल्याँस्स सम्झेकी हुन् र उनले कसरी बिर्सिन्थिन् र त्यो कालो क्षण जसले उनको अहममा चोट पुर्‍याएको थियो र कौरवहरूको सत्यानास गर्ने भीमको प्रतिज्ञाले राजसभा गुन्जिएको थियो—म धृतराष्ट्रका सय भाइ छोराहरूको हत्या गर्नेछु, द्रौपदीको कपाल  समाएर घिसार्ने दुःशासनको रगतले द्रौपदीको कपालमा तेलजस्तै गरी मालिस गर्नेछु अनि मेरो तिघ्रामा बस भनेर तिघ्रा देखाउने अनि द्रौपदीलाई घिसारेर भने पनि सभामा ल्याउने आदेश दिने दुर्योधनको तिघ्रा नै तोडेर मार्नेछु। तन्द्रामा ती क्षणहरू सम्झिँदै थिइन् द्रौपदी ……

इन्द्रप्रस्थका महाराज युधिष्ठिर द्यूतक्रीडामा यति तल्लिन थिए कि उनले आफूमात्रलाई दाउमा हारेका थिएनन्, आफूसहित आफ्ना शूरवीर भाइहरू भीम, अर्जुन, नकुल तथा सहदेवसमेतलाई बाजीमा हारेका थिए। अनि दुर्योधनका समूहमा रहेका भित्रियाहरू शकुनि, कर्ण, दुःशासनले द्रौपदीलाई समेत बाजीमा राख्न उक्साए। दाउमा हार्नु युधिष्ठिरको नियति थियो र द्रौपदीसमेतलाई हारे। युधिष्ठिरले द्रौपदीलाई पनि बाजीमा हारे पछि दुर्योधनका भित्रियाहरूमा ठुलो हर्षबढाइँ भयो। इन्द्रप्रस्थ जितेको भन्दा पनि, पाँच भाइहरूलाई बाजीमा जितेर दास बनाएको भन्दा पनि द्रौपदीलाई जित्दा जुन खुसी उनीहरूमा देखियो, त्यसले उनीहरूको नियत बुझिन्थ्यो, द्रौपदी जित्नु नै उनीहरूको प्रमुख उद्देश्य थियो।

दुर्योधनादिहरूमा देखिएको खुसीसँगै महाराज धृतराष्ट्र अलमलमा परेको जस्तो देखिन्थ्यो किनभने के भइरहेको छ भन्ने उनले राम्रोसँग बुझेकै थिएनन्। तर त्यो चर्तिकला देखेर अलमलमा परेका पितामह भीष्म, कुलगुरु कृपाचार्य, महान गुरु द्रोणाचार्य केही बोलिरहेका थिएनन् र यो अन्याय भइरहेको टुलुटुलु हेरिरहेका थिए। अनि दुर्योधनले महामन्त्री विदुरलाई द्रौपदीलाई बोलाउन आदेश दिएको के थियो, विदुरले कड्किएर सबै सभासदलाई सम्बोधन गर्दै भनेका थिए —यो के भइरहेको छ? कुलबधू महारानी द्रौपदी कसरी बाजीमा परिन्? बाजी राख्ने र बाजीमा हराउने दुवैले धर्मप्रति अन्याय गरेको देखिन्छ। अनि यही कारणले नै भविष्यमा कुरुवंशको सत्यानास भएको म अहिले नै देखिरहेको छु। यो घोर अन्याय हो र मैले महारानी द्रौपदीलाई गएर तिमी बाजीमा हार्‍यौ भनेर भन्न जान्न। यी सबै द्यूतक्रीडाको प्रक्रिया रद्द हुनुपर्छ र कोही हारेको छैन, कसैले जितेको छैन भन्ने आदेश आवश्यक छ। यसमा अरु नबोले हुन्छ, तर महाराज धृतराष्ट्रले कुरुवंशको सत्यानास हुनबाट जोगाउन सक्नुपर्छ र यी नाटकहरू बन्द हुनुपर्छ। एकपटकको नाटक समाप्त गराएर फेरि दोहोर्‍याएर बोलाउँदै पाण्डवहरूको धर्मभीरूपन र क्षत्रियपनको बेफाइदा उठाउन पाइँदैन। अहिले यो सामान्य  जस्तो लाग्ला तर सुदूर भविष्यमा यसले पार्ने परिणाम भनेको विश्वयुद्धसमेत हुनसक्छ। कोही बच्न सक्नेवाला छैन।

जब विदुरले भविष्यको परिणामभन्दा पनि भइरहेको नाटक बन्द गर्न खुलस्त पारे, अनि धृतराष्ट्र भित्रभित्रै खुसी भए र भने —महामन्त्री, यो खेल क्षत्रियहरूको स्वाभाविक खेल हो र आफ्ना बन्धुहरूको सम्पत्ति आफैँमा रहने खेल जस्तो लाग्यो। मैले सुने अनुसार र यहाँ बुझे अनुसार सर्त मान्दै द्यूतक्रीडा सुरु भएको हो। विदुरको धारणामा युधिष्ठिरको विचार के हो? के उनलाई दुर्योधनहरूबाट बलजफ्ती गरिएको हो या युधिष्ठिरले राजीखुसी द्यूतक्रीडामा आफूलाई समर्पित गरेका हुन्? उहिले पनि द्यूतक्रीडा हुन्थ्यो र त्यसलाई क्षत्रिय क्रीडाको रूपमा मानिन्थ्यो। म त देख्दिन, यो खेलका बारेमा मलाई न त युधिष्ठिरले जानकारी गराए, न त दुर्योधनले जानकारी गराए। पहिले त मैले आममाफी दिएर पाण्डवलाई इन्द्रप्रस्थ तिर पठाएकै हुँ। पाण्डवले संयमता अपनाए भने परिवारमा कुनै विवाद आउने छैन भन्ने मलाई लाग्छ। अब यसमा पितामहको के धारणा छ? कुलगुरु, महान गुरुहरूको के धारणा छ? विदुर बेलामौकामा भावावेशमा आउँछ र कुरुवंशकै सत्यानासको भविष्यवाणी गर्छ जुनकुरा यो राजसभामा सुहाएन जस्तो लाग्छ।

महाराज र महामन्त्रीका बिचको बहसमा कोही पनि बोल्न चाहेनन्। महाराजाको आदेश जस्तै थियो अर्थात् जबाफ तयारी थियो किनभने राजसभामा हुने कुनै पनि अधर्मको विरोध गर्नु विदुरको कर्तव्य थियो र बारम्बार दुर्योधनहरूलाई पुलपुल्याउने बानीको विरोध एक्लै या सभामा विदुरले गर्ने गरेकै थिए। त्यो राजसभामा पनि द्रौपदीलाई महाराज युधिष्ठिरले हारेकोमा विदुरमात्र विरोधमा उभिएका थिए या भनौँ उभिने हिम्मत गरेका थिए। महाराज धृतराष्ट्रका कपटी र छोराहरूको पक्षधरता देखेपछि विदुर त्यहाँबाट रिसाउँदै हिँडे। महाराजले नै बोलेपछि अरु कसैले त्यसमा विरोध पनि गरेन र खुसी पनि व्यक्त गरेन। तर दुर्योधनले भने यो विवाद सुनेपछि र महामन्त्री त्यहाँबाट राजसभा छोडेर गएपछि आफ्नो सहयोगी अंगरक्षकलाई द्रौपदीलाई बोलाएर ल्याउन अह्रायो र भन्यो —भन्दिनू त्यो ढिट द्रौपदीलाई कि तँ आफ्ना महाराज पति युधिष्ठिरको जुवामा हारेकी छेस् र अब दासी हुने पालो तेरो पनि आएको छ। तेरा पतिहरू त हस्तिनापुरका दास भए नै, सँग तँ पनि दासीका रूपमा रहनेछेस्।

भित्र रनीबासमा बाहिर खेलिएको द्यूतक्रीडाको कुनै हल्ल खल्ल पुगेको थिएन। कसले जित्यो या कसले हार्‍यो भन्ने बारेमा पनि भित्र कुनै छलफल भएको थिएन। जब सुरक्षाको जबान बोलाउन आयो र सबै कुरा खोलेर भन्यो अनि महारानीलाई सभामा बोलाइएको कुरा भन्यो। जसरी पनि आउनै पर्छ किनभने महाराजले हारेको वस्तुको रूपमा महारानीको गणना भएको छ र सभामा दासीको रूपमा प्रस्तुत हुनु अनिवार्य ठानिएको छ। जब एउटै कुरा बारम्बार सूचकले भन्यो, अनि महारानी द्रौपदीले पनि सोधिन् —मलाई कसले बाजीमा राख्यो? सूचकले भन्यो —महाराज युधिष्ठिरले। अनि एउटा प्रश्न सोधिन् द्रौपदीले —महाराजले आफूलाई बाजीमा हारेपछि मलाई हार्नु भयो कि आफ्नो पालो भन्दा पहिले मलाई हार्नुभयो?

त्यसको जबाफ त अंगरक्षकले दिनसक्ने कुरा थिएन र द्रौपदीले त्यही प्रश्नको उत्तर लिएर आउन उसलाई अह्राइन्। तत्कालै दुःशासन पो आयो उनको कपालमा समाएर घिसारेर लान सभामा र दासीको रूपमा यौनदासीसमेत बनाउने घोषणा गरे दुर्योधन र दुःशासनले अनि वेश्यासमेत भने कर्णले। त्यो बेलामा विदुरपछि विरोध गर्नेमा विकर्ण थियो जसलाई सभाबाट लखेटियो। सत्यको पक्षमा बोल्ने विदुरका कुरा सुनिएन, विकर्णका कुरा सुनिएन अनि सर्त सुनाइयो, राज्य त गयो गयो। दिव्य वाह्रवर्ष सन्यासीको भेषमा पाण्डवहरू र सन्यासिनीको भेषमा द्रौपदीले वन वन चाहारेर बिताउनु पर्नेछ र एकवर्ष गुप्तबास बस्नु पर्नेछ। गुप्तबास पनि यस्तो हुनुपर्नेछ कि कसैले पहिचान गर्न नसकोस्। यदि पहिचान भएमा, या हस्तिनापुरले  जानकारी राखेमा फेरि १२वर्ष वनबास र एकवर्ष गुप्तबास जानु पर्नेछ। त्यही एकवर्षको गुप्तबासमा पाण्डवहरू पहिचान विनाको जिन्दगी बाँचेका हुन्। अनि त्यसपछि के? त्यसैले सैरन्ध्रीरूपी द्रौपदीलाई सताएको थियो। ….

कुरुवंशका आदि पुरुष पुरुरवाकी रानी भइसकेकी स्वर्गकी अप्सरा उर्वशीको श्रापले महान धनुर्धर अर्जुन केही समयका लागि नपुंसक हुने अवस्था थियो र त्यो समय अर्जुनको इच्छामा छोडिएको थियो। अर्जुनले त्यही गुप्तबासको समयलाई आफ्नो अर्धनारीपुरुषको अवतारलाई प्रयाोग गरे। ठिक एकवर्षका लागि श्राप घटाइएकोले मत्स्य देश प्रवेशपछि उनमा क्लीवको अवतार देखिएको थियो र त्यो दिनसम्म क्लीबको स्वरूपमा थिए जुनदिनसम्म एकवर्ष पुग्दैन थियो। हरण गरिएको राज्य फिर्ता लिन पाण्डवहरूको मुख्य आधार भनेको नै अर्जुन थिए र त्यसपछि भीमको भर थियो। कारण हो दुर्योधन प्रख्यात गदाधर थिए र भीमले मात्र ऊसँग गदायुद्ध गर्न बराबरी गर्नसक्थे। त्यो युगमा जरासन्ध,भीम, बलराम र दुर्योधनमात्र गदाधर थिए। बलराम युद्धमा प्रवेश गर्न चाहेनन् र उनको प्रिय शिष्य दुर्योधनका विरुद्धमा लड्ने चाहना उनको थिएन। तर फुपुका छोराहरू धर्मका पक्षमा भएकाले कसैको पक्षधरता नलिन उनी तीर्थ गर्न हानिएका थिए युद्ध छल्नका लागि। जरासन्धलाई भीमले नै मारेका थिए। त्यसैले गदाधर भीम र दुर्योधनका बिचमा नै गदायुद्ध सम्भव थियो।

पीडित महाराज युधिष्ठिरको आदेशविना युद्ध सम्भव थिएन तर युधिष्ठिरको मनमा भाइ भाइ लडेर अनि मारेर प्राप्त भएको राज्य किन चाहियो भन्ने बोली वनबासको बेलामा बेलाबेलामा आउँथ्यो। त्यो भनाइको जमेर विरोध गर्नेमा भीम र द्रौपदीमात्र हुन्थे। अर्जुनको सम्पूर्ण ध्यान हतियार बटुल्नेमा थियो अर्थात् अर्जुन जसरी पनि युद्ध गर्ने र जित्ने दाउमा थिए। यसकुरासँग द्रौपदी परिचित थिइन् तर उनलाई आडभरोस भीमको बढी लाग्थ्यो किनभने वनबासमा पनि परिवारको सुरक्षाको जिम्मा भीमको नै थियो। भीममा द्रौपदीको दुःख देख्न सक्ने धैर्यता नै थिएन र द्रौपदीमा पनि भीमप्रतिको चाहना आन्तरिकरूपमा बढेको द्रौपदीले महसुस गरेकी थिइन्। क्रमशः

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

हरिविनोद अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link