भारतीय जनता पार्टी (भाजपा) ले शनिबार दिल्ली राज्यको विधानसभा चुनावमा ऐतिहासिक जनादेश प्राप्त गर्दै आम आदमी पार्टीलाई सत्ताच्युत गरेर २७ वर्षपछि सत्तामा फर्किएको छ ।
लगभग तीन दशकदेखि दिल्लीमा चुनावी जितको पर्खाइमा रहेको भाजपाले अन्ततः सत्ताको पासा पल्टाउन सफल भएको छ। यससँगै आम आदमी पार्टी ११ वर्षपछि सत्ताबाट बाहिरिने निश्चित बनेको छ।
दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालसहित आम आदमी पार्टी (आप) का कैयौँ शीर्ष नेताले आफ्नो गढबाट हार बेहोरेका छन् ।
भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले महाराष्ट्रको चुनावमा विजय हासिल गरेको र पार्टीले हरियाणामा विजय हासिल गरेको केही महिनापछि दिल्लीका जनताले भाजपाको पक्षमा दुई तिहाईभन्दा बढी सीटसहित प्रतिनिधित्व गर्ने जिम्मेवारी दिएका छन् ।
दिल्लीमा भाजपाले ७० सिटमध्ये ४८ सिट जितेको छ भने आम आदमी पार्टीले २२ सिट जितेको छ ।
सङ्घीय राजधानी दिल्लीमा आफ्नो पुनरुत्थानको आशामा रहेको काङ्ग्रेसले फेरि कुनै पनि सिट जित्न सकेन। सन् १९९८ देखि १५ वर्षसम्म दिल्लीमा शासन गरेको काङ्ग्रेसले विधानसभा चुनावमा प्रतिनिधित्वविहीन भएको छ ।
सुशासन’को विजयः मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (भाजपा) को विजयको प्रशंसा गर्दै केन्द्र र राज्यमा भाजपाको ‘सुशासन’को विजय भएको बताउनुभएको छ ।
उहाँले दिल्लीको विकास र जनताको समग्र जीवनस्तर उकास्न पार्टीले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । प्रधानमन्त्री मोदीले भन्नुभयो, “जनशक्ति सर्वोपरि छ ! विकासको जित हुन्छ, सुशासनको जित हुन्छ ।”
उहाँले अगाडि थप्नुभयो, “यो शानदार र ऐतिहासिक जनादेशको लागि म दिल्लीका मेरा प्रिय दिदीबहिनी र भाइहरूलाई नमन गर्दछु। यी आशिषहरू प्राप्त गर्न पाउँदा हामी नम्र र गौरवान्वित छौं।”
उहाँले भन्नुभयो, “हामी दिल्लीको विकास गर्न, जनताको समग्र जीवनस्तर सुधार गर्न र विकसित भारत निर्माणमा दिल्लीको प्रमुख भूमिका सुनिश्चित गर्न कुनै कसर बाँकी राख्नेछैनौं। यो हाम्रो प्रतिवद्धता हो।
साथैकेन्द्रीय गृहमन्त्री अमित शाहले दिल्लीका जनताले बारम्बार झूटा वाचा गरेर जनतालाई भ्रमित गर्न सकिँदैन भनेर देखाएको बताएका छन्। शाहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा लेखेका छन्, ‘जनताले फोहोर यमुना, फोहोर पिउने पानी, भत्किएका सडकहरू, भरिएर बग्ने ढल र हरेक सडकमा खुलेका मदिरा पसलहरूलाई आफ्नो मतले प्रतिक्रिया दिएका छन्।’
आपद्वारा हार स्वीकार
दिल्लीका मुख्यमन्त्री आतिशीले कालकाजीबाट जित हासिल गर्नुभएको छ भने आप नेता तथा पूर्व मुख्यमन्त्री केजरीवाल, पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया, दिल्लीका मन्त्री सौरभ भारद्वाज, पूर्वमन्त्रीहरू सोमनाथ भारती र सत्येन्द्र जैन तथा पार्टी नेता अवध ओझा र दुर्गेश पाठकले चुनाव हारेका छन्।
आप नेता केजरीवालले जनादेश स्वीकार गर्दै भाजपालाई विजयको लागि बधाई दिनुभएको छ । “केजरीवालले एक्समा पोस्ट गरिएको भिडियोमा भन्नुभएको छ, “जनताको जनादेशलाई हामी अत्यन्त नम्रताका साथ स्वीकार गर्दछौं । म भाजपालाई यो जीतको लागि बधाई दिन्छु र मलाई आशा छ कि उनीहरूले ती सबै वाचाहरू पूरा गर्नेछन् जसका लागि जनताले उनीहरूलाई मतदान गरेका छन् ।”
उहाँले भन्नुभयो, “विगत १० वर्षमा हामीले स्वास्थ्य, शिक्षा, पूर्वाधारका क्षेत्रमा धेरै काम गरेका छौं । हामी रचनात्मक प्रतिपक्षको भूमिका मात्र निर्वाह गर्ने छैनौं, जनताको बीचमा रहेर जनताको सेवा गरिरहनेछौं । ’हामी सत्ताका लागि राजनीतिमा आएका होइनौं, राजनीतिलाई जनताको सेवा गर्ने माध्यमका रुपमा लिएका छौं ।”
यस हारमा आम आदमी पार्टीका शिर्ष नेताहरुको पनि हार हुनाले यो चुनावी हारले आम आदमी पार्टीमाको नेतृत्वमा कस्तो परिवर्तन आउन सक्ला भन्ने उत्सुकताको विषय बनेको छ ।
एक्जिट पोलले भाजपाको जित हुने देखाएको र पूर्वानुमानअनुसार नै यो नतिजा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- युक्रेन र अमेरिकाबीच समझदारी: ३० दिने अस्थायी युद्धविरामको सहमति
- युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न पेरिसमा सैन्य प्रमुखहरू
- सिस्नो र गुन्द्रुक ‘ब्राण्डिङ’ गर्दै बागलुङका महिला
- सिरियामा सर्वसाधारणको हत्या तुरुन्तै बन्द हुनुपर्छ : संयुक्त राष्ट्रसङ्घ
- सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्यु
- जसलाई महिला दिवसले छोएन…
- अस्ट्रेलियामा समुद्री आँधीका कारण हजारौँ घर अन्धकारमा
- जङ्गल र गोठ गरेर दैनिकी चलाउँदै ८० वर्षीय लिलबहादुर
- आज ११५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइँदै
- सेनाको गुप्तचर सूचना चीनलाई बेचेको आरोपमा अमेरिकी सैनिक पक्राउ
