पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) मा फैलिएको हिंसाले गत महिनादेखि ‘सात हजारभन्दा बढी देशवासी’ मारिएको र तीमध्ये धेरै सर्वसाधारण रहेको कङ्गोका प्रधानमन्त्रीले सोमबार बताउनुभएको छ ।
रुवान्डा समर्थित एम२३ सशस्त्र समूहले कङ्गोली सेनाको सीमित प्रतिरोधको सामना गर्दै गोमा र बुकाभुका मुख्य सहरहरूसहित खनिज–समृद्ध पूर्वी डिआरसीको ठूलो भाग कब्जा गरेको छ ।
“पूर्वी डिआरसीको सुरक्षा अवस्था चिन्ताजनक स्तरमा पुगेको छ”, प्रधानमन्त्री जुडिथ सुमिनवा तुलुकाले जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई भन्नुभयो । उहाँले जनवरीदेखि ‘सात हजारभन्दा बढी देशवासीको मृत्यु’ दर्ता गरिएको जानकारी दिनुभयो ।
“तिनीहरूमा दुई हजार पाँच सयभन्दा बढी शव पहिचान नगरी गाडिएका छन्”, उहाँले थप एक हजार पाँच सय शव अझै शवगृहमा रहेको जानकारी दिँदै भन्नुभयो ।
परिषद्को साइडलाइनमा आयोजित एक पत्रकार सम्मेलनमा मृतकहरू सर्वसाधारण वा सैनिक थिए भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “हाललाई… हामी यी सबै मानिसको पहिचान गर्न अझै सक्षम भएका छैनौँ ।”
तर उहाँले यी मृतकमध्ये उल्लेखनीय सङ्ख्यामा सर्वसाधारणहरू रहेकामा जोड दिनुभयो ।
संयुक्त राष्ट्र विशेषज्ञहरूका अनुसार करिब चार हजार रुवान्डाली सैनिकद्वारा समर्थित एम२३ आन्दोलनले अब प्राकृतिक स्रोतहरूले समृद्ध, समस्याग्रस्त क्षेत्र पूर्वी डिआरसीको ठूलो भू–भाग नियन्त्रण गरेको छ । यसको द्रुत अग्रसरताले हजारौँलाई भाग्न बाध्य पारेको छ ।
गत महिना उत्तर किवुको राजधानी र देशको पूर्वको मुख्य सहर गोमा कब्जा गरेपछि लडाकूहरूले दक्षिण किवु प्रान्तीय राजधानी बुकावुमाथि नियन्त्रण लिएका थिए ।
गोमामा मात्रै तीन हजारभन्दा बढी मानिस मारिएको प्रधानमन्त्रीले बताउनुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
