थाइल्यान्डमा १४ वर्षीय किशोरद्वारा अन्धाधुन्ध गोली प्रहार: ८ जनाको मृत्युपछि हतियार कानुन कडा बनाइँदै

थाइल्यान्डको राजधानी बैङ्कक नजिकै एक १४ वर्षीय किशोरले गरेको अन्धाधुन्ध गोली प्रहारबाट आठ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन्। यस विभत्स घटनापछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चानविराकुलले देशमा हातहतियारसम्बन्धी कानुन थप कडा बनाउने प्रतिबद्धता जनाएका छन्।

थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चानविराकुल

गैर सैनिक व्यक्तिहरूले सार्वजनिक स्थानमा हतियार बोक्न नपाउने गरी नयाँ कानुन ल्याउने तयारी भइरहेको र नयाँ व्यवस्था लागू भएपछि कर्तव्यपालनमा खटिएका सरकारी अधिकारीहरूले मात्र हतियार बोक्न पाउने प्रधानमन्त्री अनुतिनले बताएका छन्।

यसरी भयो घटना

नोनथाबुरीस्थित ‘देबसिरिन स्कुल’मा अध्ययनरत १४ वर्षीय ती किशोरले सर्वप्रथम शुक्रबार बिहान करिब ५:०० बजे आफ्नै घरमा रहेका ७३ वर्षीय हजुरबुबा र ७४ वर्षीय हजुरआमाको टाउकोमा गोली हानेर हत्या गरेका थिए। त्यसपछि हतियार र दर्जनौँ गोली बोकेर उनी विद्यालयको बस चढी स्कुल पुगेका थिए।

बिहान ८:३० र ९:२० का दुई वटा कक्षा लिएपछि उनले विद्यालयको छैटौँ तलामा पुगेर अन्धाधुन्ध गोली चलाउन सुरु गरे। त्यहाँ तीन जना शिक्षकको घटनास्थलमै मृत्यु भयो। त्यसपछि तल झर्दै गर्दा स्थिति अवलोकन गर्न आउँदै गरेका विद्यालयका उपनिर्देशक र निर्देशकका सचिवलाई पनि उनले सिडीमै गोली हानेर हत्या गरे।

पछि थप एक विद्यार्थीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या आठ पुगेको हो। घटना लगत्तै प्रहरी परिचालन भए पनि ती किशोरले बिहान १०:४० बजेतिर आफैँलाई गोली हानेर आत्महत्या गरिसकेका थिए।

वैध हतियारको दुरुपयोग र हिंस्रक भिडियोको प्रभाव

प्रहरीका अनुसार आक्रमणमा प्रयोग गरिएको हतियार र गोली किशोरका हजुरबुबाको नाममा कानुनी रूपमा दर्ता (वैध) थियो, जुन उनले हजुरबुबाको कोठाबाट चोरेका थिए।

अनुसन्धानका क्रममा ती किशोरको डिजिटल उपकरणहरूमा अमेरिकामा भएका स्कुल सुटिङ (अन्धाधुन्ध गोली काण्ड) सँग सम्बन्धित भिडियोहरू भेटिएका छन्। परिवारका सदस्यहरूका अनुसार उनी घरभित्रै धेरै समय बिताउने, हिंस्रक भिडियो गेमहरू खेल्ने र शान्त स्वभावका थिए।

दक्षिण पूर्वी एसियामा थाइल्यान्ड सर्वसाधारणसँग सबैभन्दा धेरै हतियार रहेको देश मानिन्छ। यहाँ करिब १ करोड ३ लाख हतियार सर्वसाधारणको पहुँचमा छन्, जसमध्ये करिब ४० लाख अवैध रहेको अनुमान छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link