अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग तय गरिएको संयुक्त सैन्य अभ्यासलाई व्यापक रूपमा कटौती गर्न पेन्टागनलाई निर्देशन दिएको कुरा बाहिर आएको छ।
यसै क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा एक पोस्ट शेयर गर्दै दक्षिण कोरियाले हालै इरानलाई “निरस्त्रीकरण” गर्ने अमेरिकी प्रयासमा सहभागी हुन अस्वीकार गरेको विषयलाई पनि उल्लेख गरेका छन्।
ट्रम्पका अनुसार संयुक्त सैन्य अभ्यास निकै खर्चिलो हुनुका साथै यसको धेरै भाग अमेरिकाले नै बेहोर्दै आएको छ। उनले यस्ता अभ्यासहरूले अनावश्यक र शत्रुतापूर्ण सन्देश दिने धारणा व्यक्त गरेका छन्। अमेरिका र दक्षिण कोरियाबिच सोमबारदेखि वार्षिक सैन्य अभ्यास सुरु हुने तालिका रहेकाले यसलाई पूर्ण रूपमा रद्द गर्न ढिला भइसकेको तर यसको आकार भने घटाइने उनले स्पष्ट पारे। प्रमुख अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पको यो अभिव्यक्ति सार्वजनिक हुनुभन्दा २४ घण्टाभन्दा कम समयअघि उनले नेता किमसँग सन् २०१८ मा खिचिएको एउटा पुरानो तस्बिर पोस्ट गर्दै आफूहरूबिच सुमधुर सम्बन्ध रहेको दाबी गरेका थिए।
ट्रम्पले दक्षिण कोरियासँगको आफ्नो असमझदारीबारे लेख्दै भनेका छन्, “केही हदसम्म असम्बन्धित भए पनि, मैले हालै दक्षिण कोरियाका राष्ट्रपतिलाई इरानको आणविक निरस्त्रीकरणमा हामीसँग जोडिन आग्रह गरेको थिएँ, तर उहाँहरूले ‘धन्यवाद, पर्दैन’ भनेर अस्वीकार गर्नुभयो।” इरानसँगको अमेरिकी तनावमा सीधा सैन्य वा प्राविधिक सहयोग नगरेका कारण ट्रम्प दक्षिण कोरियाप्रति असन्तुष्ट रहेको सङ्केत उनको भनाइले दिएको छ। यसअघि उनले बेलायत, फ्रान्स र जापानजस्ता अन्य मित्रराष्ट्रहरूप्रति पनि उस्तै असन्तुष्टि पोखेका थिए।
अर्कोतर्फ द जेरुसलेम पोस्टमा प्रकाशित विवरण अनुसार दक्षिण कोरियाको रक्षा मन्त्रालयले भने अमेरिकासँगको संयुक्त सैन्य अभ्यास पूर्व निर्धारित तालिकाअनुसार नै अघि बढ्ने प्रतिक्रिया दिएको छ। ‘उल्ची फ्रिडम सिल्ड’ नाम दिइएको ११ दिने यस सैन्य अभ्यासमा करिब १८,००० दक्षिण कोरियाली सैनिक सहभागी हुने र यसको आकार विगतका वर्षहरूजस्तै रहने अमेरिकी र दक्षिण कोरियाली सैन्य अधिकारीहरूले जनाएका छन्। उत्तर कोरियाली सेना रसिया-युक्रेन युद्धमा खटिएर फर्किए पछिको परिस्थिति र त्यसबाट उत्पन्न सम्भावित खतराबारे ध्यान दिँदै यो सैन्य अभ्यासको तयारी गरिएको अमेरिकी सैन्य प्रवक्ता रायन डोनाल्डले बताएका थिए।
उत्तर कोरियाले भने संयुक्त सैन्य अभ्यासको तीव्र आलोचना गर्दै यसलाई “आक्रमणको पूर्व अभ्यास” को संज्ञा दिएको छ। केही दिनअघि मात्र उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध विपरीत ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो।
उत्तर कोरियासँग सन् २०१९ मा भएको कूटनीतिक प्रयास विफल भएपछि प्योङयाङले आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई थप विस्तार गरेको छ। उत्तर कोरियाली नेता किमसँग वार्ताको ढोका खोल्न ट्रम्पले यसअघि सन् २०१८ मा पनि संयुक्त सैन्य अभ्यास रोकेका थिए भने सन् २०२० मा कोभिड-१९ महामारीका कारण अभ्यासको आकार घटाइएको थियो।
दक्षिण कोरियामा हाल करिब २८,५०० अमेरिकी सैनिक तैनाथ छन्। दुवै कोरियाली देशबिच सन् १९५३ मा युद्धविराम सम्झौता भए पनि औपचारिक शान्ति सम्झौता नभएकाले प्राविधिक रूपमा युद्ध अझै समाप्त भएको छैन। दक्षिण कोरियाका राष्ट्रपतिले उत्तर कोरियासँग औपचारिक रूपमा युद्ध अन्त्यको वार्ताका लागि प्रस्ताव अघि सारेकै समयमा ट्रम्पको यो पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
एजेन्सी का अन्य पोस्टहरु:
- अमेरिका–हुथी द्वन्द्व र ट्याङ्कर आक्रमणपछि कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर पुग्यो
- ठुला प्रविधि कम्पनीहरूलाई नियन्त्रण गर्न अदालतलाई धौ-धौ !
- तुकाराम मुण्डे: सामाजिक सञ्जालमा भाइरल बनेका भारतको महाराष्ट्रका खाद्य सुरक्षा अधिकारी
- प्रतीकात्मकताले भरिएको शान्ति वार्ता: रुस र युक्रेनबिचका आधारभूत मतभेद अझै कायम
- रुस-युक्रेन युद्ध: शान्ति वार्ताका लागि अमेरिकी टोलीले भेट्यो पुटिनलाई
- रसिया-युक्रेन युद्ध रोक्ने अमेरिकी प्रयास: ट्रम्पका दूत कुश्नर र विटकाफ मस्को र किभ भ्रमण गर्दै
- इरान युद्धमा सहयोग नगरेको भन्दै फकल्यान्ड टापु विवादमा बेलायतलाई साथ नदिने ट्रम्पको सङ्केत
- जर्मनीको लाइपजिगमा ‘विस्फोटक ड्रोन’ आक्रमणको प्रयासपछि रुसविरुद्ध कडा कदम चाल्न युरोपेली सङ्घ र नेटो प्रतिबद्ध
- अमेरिकाद्वारा इरानमा बमबारी, जवाफमा मध्यपूर्वका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार
- रसियाद्वारा तीव्र गतिको जेट-ड्रोन प्रहार: किभमा घण्टौँसम्म हवाई आक्रमणको चेतावनी, ३८ को मृत्यु