इजरायली सेनाले राहतकर्मी हत्याका आरोपीहरूमाथि मुद्दा नचलाउने निर्णय गरेपछि अस्ट्रेलिया ‘आक्रोशित’

अस्ट्रेलियाकी विदेश मन्त्री पेनी वोङले इजरायली रक्षा बल (आईडीएफ)को हवाई हमलामा मारिएकी सहायताकर्मी जोमी फ्र्याङ्ककमको मृत्युका लागि जिम्मेवार व्यक्तिहरूमाथि मुद्दा नचलाउने इजरायली सरकारको निर्णयप्रति आफू “आक्रोशित” भएको बताएकी छन्।अस्ट्रेलियाली सहायताकर्मी फ्र्याङ्ककम ‘वर्ल्ड सेन्ट्रल किचेन’ मा कार्यरत थिइन्। अप्रिल २०२४ मा गजामा भएको इजरायली हवाई आक्रमणमा उनी र उनका अन्य छ जना सहकर्मीको मृत्यु भएको थियो।

विदेश मन्त्री पेनी वोङले यो निर्णय “हामीले अपेक्षा गरेको जवाफदेहिता भन्दा धेरै टाढा रहेको” भन्दै इजरायली राजदूतलाई मन्त्रालयमा बोलाएर स्पष्टीकरण सोध्ने बताएकी छन्।वर्ल्ड सेन्ट्रल किचेनले इजरायलको यो निर्णय “पूर्ण सत्यसँग मेल नखाने” खालको भएको र सैन्य अनुसन्धानले “विभिन्न समय रेखा र घटनाहरूलाई मिसाएर आईडीएफको गैर कानुनी व्यवहारको दोस्रोमाथि थुपार्ने काम गरेको” जनाएको छ।

“अस्ट्रेलियाले जोमी र उनका सहकर्मीहरूका लागि न्यायको माग गर्दै इजरायलमाथि निरन्तर दबाब दिइरहनेछ,” बिहीबार जारी वक्तव्यमा वोङले भनेकी छन्। उक्त आक्रमणमा तीन जना बेलायती, एक जना प्यालेस्टिनी, एक जना पोल्यान्डका र एक जना अमेरिका-क्यानडाका दोहोरो नागरिकता भएका सहायताकर्मी मारिएका थिए।

आफ्नो वक्तव्यमा आईडीएफले सहायता टोलीसँग हतियारधारी गार्ड रहेको कुरा टोली प्रस्थान गर्नुअघि जानकारी नगराइएको र उनलाई गल्तीले हमासको लडाकु ठानेको दाबी गरेको छ। साथै सहायता टोलीले सेनासँग समन्वय गरिएको मार्ग परिवर्तन गरी अर्कै बाटो प्रयोग गरेको दाबी पनि आईडीएफ ले गरेको छ। हत्याको कारण बनेको प्रक्रियामा “गम्भीर त्रुटिहरू” भए तापनि “कमान्डरहरूको निर्णयले आपराधिक बदमासीको कुनै शङ्का उत्पन्न नगराएको” आईडीएफ ले जनाएको छ।

सोही वक्तव्यमा आईडीएफ ले नोभेम्बर २०२३ र फेब्रुअरी २०२४ मा दुई छुट्टाछुट्टै आक्रमणमा मारिएका मेडेसिन्स सेन्स फ्रन्टियर्सका चार जना कर्मचारीको हत्याको आपराधिक अनुसन्धानका लागि कुनै आधार नभेटिएको पनि बताएको छ।

विदेश मन्त्री वोङले अस्ट्रेलियाली सरकारले इजरायलको यस निर्णयबारे बुधबार अबेर राति जानकारी पाएको बताउँदै विश्व मानवीय दिवसकै दिन यस्तो निर्णय आउनु “विशेष गरी अपमानजनक” भएको टिप्पणी गरेकी छन्। “आईडीएफको कार्यविधि पालना गर्न नसक्नु, गलत पहिचान हुनु र निर्णय लिने क्रममा भएका त्रुटिहरूका कारण जोमी र उनका सहकर्मीहरू सवार गाडीमा आक्रमण भएको इजरायली रक्षा बल स्वयंले स्वीकार गरे तापनि यो निर्णय आएको छ,” उनले भनिन्। “यो निर्णय हामीले अपेक्षा गरेको जवाफदेहिताको स्तरभन्दा धेरै टाढा छ।”

वोङले सरकारले जोमी र उनका सहकर्मीहरूका लागि न्यायको माग गर्दै इजरायललाई दबाब दिन नछाड्ने बताइन्। “म अस्ट्रेलियाका लागि इजरायली राजदूत हिलेल नुम्यानलाई मन्त्रालयमा बोलाउने छु र अस्ट्रेलियाली सरकारले आगामी कदमबारे विचार गरिरहेका बेला इजरायलका लागि हाम्रा अस्ट्रेलियाली राजदूतलाई हाम्रा धारणाहरू सिधै इजरायलसमक्ष राख्न निर्देशन दिएकी छु।”

वर्ल्ड सेन्ट्रल किचेनले इजरायली निर्णय “पूर्ण सत्यसँग मेल नखाने र गहिरो अपमानजनक” भएको बताएको छ। उसले निष्पक्ष अनुसन्धानको माग गर्दै “आईडीएफ ले आफ्नै आचरणको अनुसन्धान गर्न नसक्ने” टिप्पणी गरेको छ।

“घातक आक्रमणका बेला आईडीएफलाई गजामा रहेको हाम्रो टोली निहत्था थियो र कसैका लागि खतरा थिएन भन्ने थाहा थियो,” वर्ल्ड सेन्ट्रल किचेन ले आफ्नो वक्तव्यमा भनेको छ। “लामो समयसम्म गरिएका बहुविध हवाई आक्रमणका क्रममा स्पष्ट रूपमा चिह्न लगाइएका हाम्रा मानवीय सहायता सवारी साधनहरूमा उनीहरूको पूर्ण नजर थियो। उसलाई हाम्रो टोलीको आवतजावत, पहिचान र गतिविधिबारे पूर्व जानकारी थियो।”

“सैन्य अनुसन्धानले विभिन्न समय रेखा र घटनाहरूलाई मिसाएर तथ्यलाई अस्पष्ट बनाएको छ र आईडीएफको गैर कानुनी व्यवहारको दोष अरूमाथि सार्ने काम गरेको छ।”

वोङको यो अभिव्यक्ति गजा युद्ध सुरु भएयता अस्ट्रेलियाद्वारा इजरायली सेनाको गरिएको अहिलेसम्मकै सबैभन्दा कडा आलोचना हो, जसले वर्ल्ड सेन्ट्रल किचेन आक्रमणप्रति विश्वव्यापी रूपमा भइरहेको भर्त्सनालाई प्रतिबिम्बित गर्दछ।

अस्ट्रेलियाका पूर्व रक्षा प्रमुख मार्क बिन्स्किनले अगस्ट २०२४ मा बुझाएको प्रतिवेदनमा आईडीएफको कार्यविधिमा भएका “गम्भीर त्रुटिहरू” का कारण फ्र्याङ्ककम र उनका सहकर्मीहरूको हत्या भएको निष्कर्ष निकालिएको थियो।

त्यति बेला आईडीएफले सहायता टोलीमाथिको आक्रमणलाई “गम्भीर गल्ती” भनेको थियो।

फ्र्याङ्ककमको विषयमा गरिएको निर्णय आईडीएफले सोही वक्तव्यमा सन् २०२४ मा गजामा इजरायली फौजद्वारा मारिएकी पाँच वर्षीय प्यालेस्टिनी बालिका हिन्द रजबको हत्याबारे आपराधिक अनुसन्धान गर्ने घोषणासँग बाझिएको छ।

इजरायली सेनासँग समन्वय गरेरै उनलाई उद्धार गर्न पठाइएको एम्बुलेन्समाथि पनि गोलाबारी गर्दा दुई जना प्यारामेडिक्स (स्वास्थ्यकर्मी) को मृत्यु भएको थियो।

आईडीएफले मार्च २०२५ मा १५ जना प्यालेस्टिनीहरूको हत्याको पनि अनुसन्धान गर्ने बताएको छ, जसमा स्वास्थ्यकर्मी र एक जना युएन (UN) कर्मचारी थिए। उनीहरूको शव एक हप्तापछि किचिएका सवारी साधननजिकै पुरेको अवस्थामा भेटिएको थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link