संरक्षणकर्मीको दुखेको मन

अमेरिकाका ब्रोटन कोबर्नले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई कसरी चलाउने भनेर नेपालका प्रख्यात संरक्षणकर्मी डा. चन्द्रप्रसाद गुरुङ र डा. मिङ्मा नोर्बु शेर्पासँग मिलेर अपरेशन प्लान बनाउनु भयो। आज तिनै ब्रोटन कोबर्नलाई अन्नपूर्ण संरक्षण क्षेत्रमा हिँड्दा मन दुखिरहेको थियो। चामेमा आईएनएससँग कुरा गर्दै प्रख्यात संरक्षणकर्मी तथा लेखक ब्रोटन कोबर्नले भन्नुभयो, ‘एक्याप (अन्नपूर्ण संरक्षण क्षेत्र) का केही कुराले त खुशी दिन्छ नै । तर धेरै कुराले भने निराश बनाएको छ। फोहोर जताततै बढेको छ। बाटोमा फोहोर फाल्ने भाडो राखिएको त छ तर त्यसबाट फोहोर झिकेर कसैले तह लगाउँदैन। ‘

ब्रोटन कोबर्न झण्डै तीस वर्ष अगाडि डा. चन्द्र र डा. मिङ्मासँग अन्नपूर्ण संरक्षण क्षेत्र घुमेर अनुसन्धान गर्नु भएको थियो। त्यसपछि तीन जना मिलेर एक्यापको अपरेशन प्लान बनाउनु भयो। अहिले एक्याप घुम्दाचाहिँ एक जना पनि रेन्जर भेट्न नपाएकोमा उहाँलाई दुःख लागेको छ। ब्रोटन कोबर्न भन्नुहुन्छ, ‘प्रकृति संरक्षणको काम त राम्रो भएको छ तर बाटो हेर्नुस् रबर जस्तो तन्काएको छ, तन्काएको छ। प्रकृतिको एकदमै संवेदनशिल क्षेत्रमा समेत अन्धाधुन्ध बाटो पुर्‍याएको छ।’

ब्रोटन कोबर्न

सन् १९७४ मा ब्रोटन कोबर्न पदयात्रा गर्दै स्याङ्जाको पूर्वी छेउमा रहेको विकट गुरुङ गाउँ कोल्माको माध्यमिक विद्यालयमा पढाउन पिस कर्प स्वयंसेवकको रूपमा खटिनु भएको थियो। त्यहाँ उहाँलाई माया गरेर घरमा राख्ने आमाका बारेमा तयार गर्नुभएको ब्रोटन कोबर्नको ‘नेपाली आमाः लाइफ लेसन्स् अफ हिमालयन वुमन’ र  ‘आमा इन अमेरिकाः अ पिलग्रिमेज अफ द हार्ट’ प्रसिद्ध पुस्तक हुन। यसबाहेक उहाँका अन्य पाँच पुस्तक पनि प्रख्यात छन्।

मनाङमा पाँच हजार पर्यटक

हिमाली जिल्ला मनाङमा ६ महिनाको अन्तरालमा रु. चार लाख ५२ हजार राजश्व संकलन भएको छ । सन् २०२२ जनवरीदेखि जुन १४ सम्म जिल्लामा पर्यटक प्रवेश गर्दा सो परिमाणको राजश्व संकलन भएको हो । विश्व पर्यटन बजारका महत्वपूर्णमध्ये एक यस अन्नपूर्ण पदमार्ग मानिन्छ ।

जनवरीदेखि १४ जुनसम्म मनाङमा कूल पाँच हजार ५६ पर्यटकले प्रवेश गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँ अनुसार ती पर्यटकले प्रवेश शुल्कबापत तिरेर उक्त राजश्व संकलन भएको हो ।

एक हजार ६६२ जना मनास्लु र अन्नपूर्णतिरबाट फर्किने गरेको गुरुङले बताउनुभयो । छ महिनाभित्र १०२ पर्यटक अनुमति बिना जिल्लामा प्रवेश गरेको उहाँले बताउनुभयो । सार्क राष्ट्रका ४० जना र अन्य ६२ जना गरी १०२ पर्यटक अनुमति बिना नै मनाङ प्रवेश गरेको पाइएको पर्यटन सहायक गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीमा चेकजाँचको अनुमति बिना प्रवेश गरेको पाइएको हो ।

सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु. दुई हजार र अन्य राष्ट्रबाट आएका पर्यटकलाई प्रतिव्यक्ति रु. छ हजार जरिवाना लिएर प्रवेश गर्न दिइएको उहाँले बताउनुभयो । अनुमति बिना मनाङ प्रवेश गर्ने बाह्य पर्यटकलाई जरिवाना गराइएको उहाँले बताउनुभयो । सार्क राष्ट्रका पर्यटकलाई रु. एक हजार र अन्य मुलुकका पर्यटकलाई रु. तीन हजार मनाङ प्रवेशका लागि शुल्क तोकिएको एक्यापले जनाएको छ ।

सोही अवधिमा मनाङमा पर्यटक आएका थिएनन् । कोरोनाको पहिलो, दोस्रोबाट प्रभावित भएपछि दोस्रो कोरोना सङ्क्रमण जोखिम कम भएसँगै बिस्तारै चहलपहल हुन थालेको पनि पुनः कोरोनाको तेस्रो लहरले पदमार्ग सुनसान भएको थियो ।

कोरोनाले थला परेर माथि उठ्दै गरेको यस क्षेत्र अब फेरि थला पर्न थालेको छ । वर्षायाम सुरु हुन लागेसँगै पर्यटक घट्दा अझै केही महिनासम्म पदमार्ग सुनसान हुने देखिएको छ । यस पदमार्गमा सबैभन्दा बढी फ्रान्स, जर्मनी, इटलीलगायतका देशका नागरिक आउने गरेको उक्त केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अब बर्खायाम सकिएपछि आगामी भदौ १५ गतेदेखि पर्यटक बढ्न थाल्नेछन् ।

पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्ला पास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका– ७ मनाङ्गे चौतारामा रहेको छ ।

अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकन सहित यात्राको सुरुवात गर्दछन् ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नवीन लामिछाने/मनाङ का अन्य पोस्टहरु:
संरक्षणकर्मीको दुखेको मन
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link