हिमपातका कारण खर्कबाट फर्किए यार्सागुम्बा संकलक

यार्सागुम्बा संकलनका लागि मनाङ आएको हो। लेकमा बसेको साढे एक महिना भयो। यार्सा ठेकेदारले लिने र चार जनाको लागि साढे चार लाख खर्च गरेको छ’, तामाङले भन्नुभयो- ‘पिसको चार सयमा ठेकेदारले लिन्छ । पुर्जी र रासनको खर्च पुग्ने गरी संकलन गरेको छु। गतवर्ष भने घाटा भएको  थियो।’

 

मनाङ-औषधीजन्य जडिबुटी यार्सागुम्बा संकलन रोकिएको छ । हिमाली जिल्ला मनाङमा हिमपात हुन थालेपछि यार्सागुम्बा संकलनका लागि खर्कमा पुगेका संकलकहरू फर्किएका छन्।

हिमपातले गर्दा यार्सागुम्बा संकलन गर्न सक्ने अवस्था नभएपछि बेसी फर्किएको धादिङका मिलन तामाङले बताउनुभयो। ‘मनाङमा पानी परेपछि भ्राताङ लेकमा हिउँ पर्दा बेसी झरेको हो। यार्सागुम्बा संकलन गर्न नसकेर बेंसीतर्फ फर्र्किएको हो। ठेक्कामा काम गर्न आएका हौं’- तामाङले भन्नुभयो।

नार्फूको हुलाबाट लेकमा यार्सागुम्बा संकलन गर्ने गरेका धादिङको रिहीका ४६ वर्षीय एक्का तामाङले बताउनुभयो। दैनिक नौ/दश वटा यार्सागुम्बा संकलन गर्न सकिने उहाँले बताउनुभयो।

‘एक दिनको पैदलयात्रा गरी चैतदेखि यार्सागुम्बा संकलनका लागि मनाङ आएको हो। लेकमा बसेको साढे एक महिना भयो। यार्सा ठेकेदारले लिने र चार जनाको लागि साढे चार लाख खर्च गरेको छ’, तामाङले भन्नुभयो- ‘पिसको चार सयमा ठेकेदारले लिन्छ । पुर्जी र रासनको खर्च पुग्ने गरी संकलन गरेको छु। गतवर्ष भने घाटा भएको  थियो।’

डेढ महिनामा २०० यार्सागुम्बा संकलन गरेको उहाँ बताउनुहुन्छ। ठेकेदारले राम्रो प्रकारको यार्सागुम्बा मात्रै खरिद गर्ने उहाँले बताउनुभयो। यार्सागुम्बा टिप्ने समयमा मात्रै मनाङ आउने गरेको तामाङले बताउनुभयो। रासन सकिएपछि लिन आएको र हिउँ परेपछि यार्सागुम्बा संकलन गर्न सकस भएकाले बेसी फर्र्किएको उहाँ बताउनुहुन्छ।

आफैंले खाना बनाएर खाने र ओडारमा बसेर यार्सागुम्बा संकलन गर्ने गरेको तामाङले बताउनुभयो। धादिङका १९ जनाले यार्सागुम्बा संकलन गर्नका लागि ठेकेदारले रु.४२ लाख पुर्जी काटेको सोही ठाउँका ३० वर्षीय एसु तामाङले बताउनुभयो। हालसम्म ५२० यार्सागुम्बा संकलन गरेको उहाँले बताउनुभयो।

ठेकेदारले यार्सागुम्बा संकलकलाई प्रतिगोटा रु.४०० दिने गरेको एसुले बताउनुभयो। यार्सागुम्बा संकलन गरी भएको आम्दानीले घर परिवारको आवश्यकता पूर्ति गर्न उपयोग गर्ने उहाँहरू बताउनुहुन्छ। तान्जो खर्कमा हिउँ पर्नुका साथै खाद्यान्न सकिएपछि सामग्री लिन चामे झरेको सोही ठाउँका रोहित तामाङ बताउनुहुन्छ। ‘ठेकेदारले राम्रो खालको यार्सागुम्बालाई प्रतिगोटा रु.४०० दिन्छ’- रोहितले भन्नुभयो।

केही खर्कमा चैत्र पहिलो सातादेखि जेठको तेस्रो हप्तासम्म यार्सागुम्बा संकलन गर्ने समय हो भने केही स्थानमा असारको पहिलो हप्तासम्म यार्सागुम्बा संकलन गर्न सकिन्छ। यार्सागुम्बा पाउने समय अझै रहेकाले हिमपात र खाद्यान्न लिएर पुनः खर्कतर्फ जाने उहाँहरू बताउनु हुन्छ।

यस मौसमलाई औषधीजन्य जडिबुटी संकलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समयको रूपमा लिइन्छ। औषधीजन्य जडिबुटी संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा संकलन गर्न इजाजत प्राप्त भएपछि समितिमार्फत पूर्जी दिने निर्णय भएको थियो।

बैठकको निर्णय बमोजिम नै यार्सागुम्बा संकलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो छ। जडीबुटी संकलन मनाङवासीको मुख्य आयस्रोत मानिन्छ। यार्सा सङ्कलनका लागि जिल्लावासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गर्दछन्।

नाम्केखर्कबाट शुरु हुन्छ भने नारफु र माथिल्लो मनाङको खाङ्सार खर्कमा यार्सा सङ्कलन कार्य टुङ्गिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार असारको पहिलो हप्तासम्म औषधीजन्य जडिबुटी संकलन गर्न सकिने समय हो। वैशाख १५ देखि असारको पहिलो सातासम्म औषधीजन्य जडिबुटी संकलन गरी बेसीतर्फ यार्सागुम्बा संकलक फर्किनेछन्।

मनाङवासीले यहाँको नागरिकता वा बसाइसराइ भए बसाइसराइको प्रमाणपत्र संलग्न राखी समितिमा निवेदन दिए उनीहरूलाई यार्सा सङ्कलन  गर्ने पूर्जी दिइने गरेको छ। संस्थामार्फत यार्सा सङ्कलन गरिदै छ भने आर्थिक वर्ष २०७७/०७८ मा दिइएको सङ्कलन पूर्जी हेरी पुन: संकलन पूर्जी उपलब्ध गराउने गरिएको उहाँले बताउनुभयो। यार्सा सङ्कलन अवधिभर नेपाल प्रहरीद्वारा आवश्यकता अनुसार नार, फु लगायतका अन्य स्थानमा सुरक्षा प्रबन्ध मिलाउने र अन्य सुरक्षा निकायले सहयोग गर्ने उहाँले बताउनुभयो।

यार्सा गुम्बा संकलन गरेको परिचय पत्र सम्बन्धित संरक्षण क्षेत्र, सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिको सिफारिस तथा दस्तुर तिरेको रसिद र सम्बन्धित गाउँपालिकाको दस्तुर तिरेको रसिद लिएर आएमा मात्र छोडपूर्जी दिन अनुरोध गरिएको गौतमले बताउनुभयो। उहाँका अनुसार यार्सागुम्बा पाइने क्षेत्रमा संकलन गर्न जाने संकलकहरूले १० वटा यार्सागुम्बामा एउटा यार्सागुम्बा छोड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ।

मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडिबुटी संकलकहरू र खरिद गर्न आउने व्यक्तिहरूले अनिवार्य रूपमा कोभिड १९ विरुद्धको खोप लगाएको परिचय पत्र (मोबाइलमा भए पनि खोपकार्ड) लिएर आउनुपर्ने र प्रहरी कर्मचारीले माग गरेको अवस्थामा देखाउनुपर्ने व्यवस्था गरिएको छ। यार्सागुम्बा तथा अन्य जडिबुटी संकलक तथा खरिदकर्ताले आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरिएको छ।

गत दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन र खरिद बिक्री गर्न नसक्दा जिल्लाको राजस्व पनि घटेको थियो। यसवर्ष जडीबुटी संकलन भएकाले राजस्व बृद्धि हुने अपेक्षा गरिएको छ। विगतमा जेठ अन्तिम सातासम्म यार्सागुम्बा संकलन गर्ने समय तोकिएको भए पनि यस वर्ष निर्वाचनका लागि केही समय रोक लगाइएको हुँदा असारको पहिलो हप्तासम्म संकलन गर्न दिने निर्णय भएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नवीन लामिछाने/मनाङ का अन्य पोस्टहरु:
हिमपातका कारण खर्कबाट फर्किए यार्सागुम्बा संकलक
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link