मनाङः यसै त कम विद्यार्थी, ती पनि अन्यत्र जाँदै

नवीन लामिछाने

देशैभरमा सबैभन्दा कम विद्यार्थी भएको मनाङमा गत वर्ष बाढीपहिरोले धेरै क्षति भएको छ। बाढीपहिरोको असर यस वर्ष अझ बढी असर प्रत्यक्ष रुपमा देखिएको छ। बाढीपहिरोको असरले प्रत्यक्ष रुपमा विद्यालय र विद्यार्थीमा परेको छ। बाढीपहिरोको जोखिमको त्रासले अभिभावकले बालबालिका अन्यत्र सार्न थालेपछि समस्या सिर्जना भएको छ।

बाढीपहिरोका कारण अभिभावकले विद्यार्थी आफन्तकोमा राखेर विद्यालय परिवर्तनको समस्या रहेको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताउनुभयो। साथै पाठ्यपुस्तक अभावले पठनपाठनमा अझ समस्या थपिएर पठनपाठन सकस भएको उहाँ बताउनुहुन्छ।

“बाढीपहिरोको जोखिम अझै पनि छ। कतिपय निजी आवास निर्माण हुन सकेका छैनन्। अभिभावकले बाढीपहिरो आए आफू भागौंला तर बालबालिका भाग्न सक्दैनन् भनेर आफन्तकोमा राखेर पढाउने भएकाले विद्यार्थीहरू घट्दो अवस्थामा रहेका छन्,” प्रअ कोइरालाले भन्नुभयो।

मनाङमा शैक्षिक सत्र आधा सकिन लागेको छ। तर, विद्यार्थीको पठनपाठन राम्रोसँग हुन सकेको छैन। विद्यार्थीहरू विद्यालय आए पनि पुस्तक जिल्लामा आइनपुग्दा पठनपाठनमा सकस भएको कोइरालाले बताउनुभयो।

उहाँका अनुसार पुस्तकका पाठहरू डाउनलोड गरी सम्भव भएसम्म विद्यार्थीलाई प्रिन्ट गरेर दिएर पठनपाठन हुँदै आएको छ। “पाठहरू डाउनलोड गर्ने र फोटोकपी गरेर पठनपाठनलाई अगाडि बढाएका छौं, महाविपत्तिले त्रास नै त्रासमा पठनपाठन गराइरहेको अवस्थामा पाठ्यपुस्तकको अभावले समस्या थपिएको छ,” कोइरालाले भन्नुभयो।

लोकप्रिय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा सरिता गुरुङ पाठ्यपुस्तक नपाउँदा पुस्तक हेरेर होमवर्क गर्न समस्या भएको बताउनुहुन्छ। शिक्षकले सकेको सहज बनाउन खोजे पनि पुस्तकमा हेरेर पठनपाठन गर्न नपाउँदा अध्ययनमा समस्या थपिएको सरिता बताउनुहुन्छ। “शिक्षकले दिएका होमवर्क गर्दा पुस्तक हेर्न नपाउँदा समस्या हुन्छ। शिक्षकले पढाएका तर घरमा पठनपाठन गर्दा पुस्तक हेर्न नपाउँदा होमवर्क गर्न समस्या हुन्छ”, उहाँले भन्नुभयो।

लोकप्रिय मावि कक्षा १० मा अध्ययनरत छात्र जयराम थापाले नयाँ शैक्षिक सत्र शुरु भए पनि पुस्तक अभावमा शिक्षकले विभिन्न माध्यमबाट पठनपाठन अगाडि बढिरहेको बताउनुभयो। शिक्षकले पुस्तकको फोटोकपी दिने गरेकाले पठनपाठनमा समस्या खासै नभएको उहाँको भनाई छ।

प्रकाश ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक जगराम विश्वकर्माले गतवर्षको बाढीपहिरोले विद्यालयको क्षतविक्षत भएको र दुई शौचालय, एउटा हल क्षति भएपछि हालसम्म पनि त्रास रहेको बताउनुभयो। प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणका लागि लागिरहेको भएपनि अभिभावकले विद्यार्थी अन्यत्र लैजाने क्रम जारी रहेको विश्वकर्माले बताउनुभयो।

“अभिभावकले बालबालिकालाई जोखिममा पढाउन नसक्ने भन्दै अन्यत्र लैजाने प्रक्रियाका लागि आउने गर्नुभएको छ। जोखिमपूर्ण अवस्थाबाट जोगाउँदै विद्यार्थीलाई सहज बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्छ। तर, बाढीपहिरोको जोखिमले विद्यार्थी घट्दो अवस्थामा रहेको छ,” उहाँले भन्नुभयो।

नासों गाउँपालिका –१ तालगाउँस्थित भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम पन्थीले गत वर्षको बाढीले मनाङवासीलाई त्रसित बनाएको बताउनुभयो। “बाढीपहिरोले क्षति पुगेको निजी आवास अभिभावकले बनाउन सकेका छैनन्। यसवर्ष पनि बाढीपहिरोले त्रास हुने हो कि भन्ने अवस्था रहेको छ। अभिभावकहरू बाढीको त्रासले बालबालिकालाई अन्यत्र सार्ने गरेका छन्,” पन्थीले भन्नुभयो।

विद्यालयमा बालबालिकाको सङ्ख्या घट्दो अवस्था रहेको उहाँ बताउनुहुन्छ। “विद्यालय क्षेत्रमा तटबन्धन नगरिएको अवस्था रहेको छ। विद्यालयका तीन वटा कक्षा यस शैक्षिक सत्रमा तीन वटा कक्षा खाली भएको छ। अभिभावकले आफ्ना आफन्तको राखेर पढाउनका लागि लैजाने भएकाले विद्यालय नै शून्य हुने अवस्थामा पुगेको छ,” प्रधानाध्यापक पन्थी भन्नुहुन्छ, “बाढीको त्रासलाई न्यूनीकरण गर्नुपर्ने देखिन्छ। सम्बन्धित निकायले चासो दिनुपर्छ। विद्यालय परिसरको संरक्षण र सुरक्षित बनाउनका लागि संघ, प्रदेश र स्थानीय सरकारले प्राथमिकता दिन सके विद्यालयमा विद्यार्थी फर्काउन सकिन्छ।”

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईले नयाँ शैक्षिक सत्र सुरु भइसक्दासम्म पनि जिल्लामा आवश्यक पाठ्यपुस्तक आइनपुगेको बताउनुभयो। आंशिक पाठ्यपुस्तक मनाङका लागि जनक शिक्षा सामग्री केन्द्रले पठाएको खबर भने पाएको उहाँ बताउनुहुन्छ।

“आंशिक पाठ्यपुस्तकले पनि विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने अपेक्षा गरेका छौं,” उहाँले भन्नुभयो। विकट क्षेत्रमा बाढीपहिरोको जोखिम र पाठ्यपुस्तक समयमा पुग्न नसक्नुले शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थी अन्यत्र सर्ने प्रक्रियाले जिल्लामा विद्यार्थी घट्ने क्रममा छ।

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नवीन लामिछाने/मनाङ का अन्य पोस्टहरु:
मनाङः यसै त कम विद्यार्थी, ती पनि अन्यत्र जाँदै
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link