मनाङमा सङ्कलन भयो ४० लाखको जडीबुटी राजश्व

नवीन लामिछाने

विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९मा जङ्गली जडीबुटीबाट ४० लाख १६ हजार ६४ रूपैयाँ राजश्व सङ्कलन भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वन लसुन, गुची च्याउ, निगालो, यार्सागुम्बा जस्ता जङ्गली जडीबुटी सङ्कलन र टिम्बर काठ बिक्रीबाट पनि उक्त राजश्व सङ्कलन भएको हो।

यस आवमा जिम्बु सङ्कलनबाट रु.३९ हजार ९८, वन लसुनबाट रु. ४ हजार ५१२, गुची च्याउबाट रु. १७ हजार २३३, निगालोबाट २२१, यार्सागुम्बाबाट रु.३६ लाख २९ हजार ५०१ र टिम्बरबाट रु. दुई लाख ९५ हजार ४९९ राजश्व सङ्कलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो।

उहाँका अनुसार जिम्बु २३०६.५ किलोग्राम, वन लसुन १०१७.६५ किलोग्राम, गुची च्याउ ३०.५ किलोग्राम, निगालो १३०० फिस, यार्सागुम्बा १०७.०५२ किलोग्राम, टिम्बर १८६७.५८ क्युफिट बिक्री भएको छ।

गतवर्ष कोभिड १९ का कारण जङ्गली जडीबुटी तथा काठ बिक्री गर्न समस्या भएको थियो। गतवर्षको तुलनामा यसवर्ष भने सहज भएकाले राजश्वमा पनि वृद्धि भएको गौतमले बताउनुभयो। कुनै पनि रोगको संक्रमण नहुँदा सहज रुपमा मनाङ बाहेक अर्को जिल्लाबाट जडीबुटी सङ्कलनमा आउनेको सङ्ख्या बढेपछि राजश्वमा वृद्धि भएको हो।

गत आर्थिक वर्ष मनाङमा ४०.५ किलोग्राम जडीबुटी सङ्कलनबाट रु.१३ लाख ९७ हजार २५० राजश्व सङ्कलन भएको थियो। संकलित राजश्व संघीय सरकार अन्तर्गत वितीय आयोगमा पठाइनेछ। वित्तिय आयोगले ५० प्रतिशत संघ सरकारमा राखी प्रदेश सरकार र स्थानीय सरकारमा २५/२५ प्रतिशत राजश्व पठाइने प्रावधान रहेको गौतमले बताउनुभयो।

मनाङमा जडीबुटी सङ्कलनबाट हुने आम्दानी स्थानीय तह मातहत राख्न सकिएमा आन्तरिक आय बृद्धि हुने स्थानीय तहको अनुमान छ। स्थानीय तहलाई आन्तरिक रूपमै सबल बनाउने उद्देश्य अनुरूप अगाडि बढ्ने लक्ष्य पूर्ति गर्न सहयोग पुग्ने स्थानीय तहको बुझाई छ। धेरै आय स्रोत स्थानीय सरकारमा भएको अवस्थामा पनि संघ सरकारलाई पठाउनुपर्ने प्रावधानले आय कम भएको स्थानीय तहहरूको गुनासो छ।

जिल्लाका चार वटा स्थानीय तहमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन भएको उहाँले बताउनुभयो। सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन भएको एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो।

मनाङ ङिस्याङको खाङ्सार, पिसाङ लेक, आइस लेक, याकखर्क, भ्राका लेक, छोङ्कर लगायतका स्थानबाट जङ्गली जडीबुटी सङ्कलन गरिन्छ। चामे गाउँपालिकामा गुची च्याउ, वन लसुन लगायत पाइन्छन्।

नासों गाउँपालिकामा नाम्गे, भिमताङ क्षेत्र, ड्रोना ताल, तिलिचे भिमथाङ क्षेत्र र नार्पाभूमि गाउँपालिकामा फु, नार, काङला, हुलाकी ओडार लगायतका क्षेत्रबाट जङ्गली जडीबुटी सङ्कलन गरिन्छन्।

ठेकेदारले जङ्गली जडीबुटी सङ्कलनका लागि ठेक्का लिने र बाहिरबाट सङ्कलनकर्ता ल्याएर टिपिने गरिन्छ। ठेकेदारले कममा रु.३० हजारदेखि ४० हजारसम्म पुर्जी काटेर ठेक्का लिने गरेका गर्दछन्। करिब दुई महिना खर्कमा बसेर जङ्गली जडीबुटी सङ्कलन गर्ने गर्दछन्।

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नवीन लामिछाने/मनाङ का अन्य पोस्टहरु:
मनाङमा सङ्कलन भयो ४० लाखको जडीबुटी राजश्व
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link