मनाङ छिर्ने डरलाग्दो बाटो

नवीन लामिछाने

यदि तपाईँलाई एडभेन्चर वा साहसी खेल रमाइलो लाग्छ भनेचाहिँ यो मौसममा मनाङ आइ हाल्नुहोस् तपाईँँले दक्षिणी अमेरिकी देश बोलिभियाको संसार प्रसिद्ध डेथ रोड वा मृत्यु सडकलाई मात दिने मजा पाउनु हुनेछ। बाटोको बीच बीचमा भेटिने दुर्घटनाग्रस्त गाडीहरूले तपाईँँको “एडभेन्चर” लाई दोब्बर गरिदिने छ।

तर मुटु कमजोर भएका मानिसले अब मनाङ जाने आँट नगरे हुन्छ। मर्मत तथा सम्भार नगरेकाले मनाङ जाने एकमात्र बेसीशहर–चामे सडक यति डरलाग्दो छ की हरेक घुम्ती तपाईँँको आङ सिरिङ्ग हुन्छ, डरले म किन आएछु जस्तो पनि हुन्छ।

भौगोलिक रूपमा विकट हिमाली जिल्ला मनाङको मेरूदण्डको सडकखण्ड बेसीशहर–चामे मर्मत तथा सम्भार गर्न समस्या भएपछि जोखिम बढ्दै गएको छ। सडक निर्माण तथा मर्मत गर्ने अत्यन्त कम समय उपलब्ध हुने भएकाले बाढीपहिरोले क्षति पुर्‍याएको सडक खण्डमा जोखिम बढ्दै गएको हो।

उक्त सडकखण्डमा वैकल्पिक मार्ग नहुँदा पनि मर्मत तथा सम्भार ढिलाइ र समयले पनि अवरोध हुने गरेको छ। सडक मर्मत सम्भारका क्रममा वैकल्पिक सडक नहुँदा मनाङमा सामग्री ढुवानीमा समस्या हुने गरेको छ।

भुलभुले, निगालो घारी, बगरछाप, दानाक्यु, एक्लोभट्टी लगायतका बढी जोखिम भएको क्षेत्रमा सडक मर्मतको काम गरिरहेको अवस्थामा वर्षामा समस्या भएको डुम्रे–बेसीशहर–चामे सडक योजना कार्यालयका प्रमुख इन्जिनियर अच्युत विलास पन्तले बताउनुभयो।

 “वर्षाको समय छ। वर्षाको क्रम जारी नै छ। यतिबेला माटो खुकुलो हुन्छ। सुरक्षित तवरबाट सडक मर्मत सम्भार गर्नुपर्छ। सबैभन्दा जोखिम क्षेत्रमा पनि मर्मत सम्भारको काम गर्न सकेका छैनौँ,” उहाँले भन्नुभयो, “काम गर्ने प्रयास भइरहेको छ।” वैकल्पिक बाटो नहुँदा पनि मर्मत सम्भारमा अवरोध हुने गरेको उहाँले बताउनुभयो।

बेसीशहर–चामे सडक खण्डको मर्मत सम्भार गर्ने सम्झौताको अवधि बाँकी रहेको पन्तले बताउनुभयो। उहाँका अनुसार आगामी असार मसान्तसम्म सडक मर्मत सम्भार गर्ने अवधि रहेको छ। उक्त सडक खण्डको जोखिम क्षेत्रमा सडक मर्मत सम्भारका लागि तीन वटा ठेक्का परेको र समयानुकूल अवस्थामा मर्मतको काम भइरहेको उहाँले बताउनुभयो।

जोखिमयुक्त सडकको मर्मत गर्न वैकल्पिक बाटो नहुँदा रोकेर नै गर्ने गरेको भएपनि मनाङमा सवारीसाधन आवतजावत अवरोध गर्न बाध्य भएको उहाँ बताउनुहुन्छ। उक्त सडक खण्डको जोखिमयुक्त क्षेत्रमा मर्मत सम्भार गर्न नाना कन्सल्टेन्सी प्रा.लि.ले ठेक्का पाएको छ। उक्त सडक खण्डअन्तर्गतको जोखिम क्षेत्रको मर्मत सम्भारका लागि  छ/छ करोड रूपैयाँमा नाना कन्सल्टेन्सीले ठेक्का लिएको डुम्रे–बेसीशहर–चामे सडक योजना कार्यालयले जनाएको छ।

जिल्ला समन्वय समिति मनाङका प्रमुख चिन घलेले उक्त सडकखण्डको जोखिमयुक्त क्षेत्रको सडक मर्मत भए दुर्घटना जस्ता कार्य न्यूनीकरण हुने बताउनुभयो। सडक सहज बनाउन सडक कार्यालयले समयमा मर्मत तथा सम्भार गर्नुपर्ने उहाँले बताउनुभयो।

उक्त सडक खण्डअन्तर्गत स्यागेमा बढी जोखिम छ। त्यही स्थानमा मर्मत तथा सम्भार समयमा नहुँदा दुर्घटना बढेको आभाष हुन्छ। यस्ता जोखिमयुक्त क्षेत्रमा सडक कार्यालयले छिटो भन्दा छिटो मर्मत गर्नुपर्छ। मनाङवासीलाई सहज बनाउने कार्यमा सडकले भूमिका खेल्नुपर्छ,” प्रमुख घलेले भन्नुभयो।

हुन त नयाँ परियोजनाको रूपमा डुम्रे–बेसीशहर–चामे सडक खण्ड चार लेन बनाउने योजना परेको छ। डुम्रे–बेसीशहर–चामे सडकखण्डको पक्की र दीर्घकालीन बनाउन पूर्व राज्यमन्त्री टेक बहादुर गुरूङको पहलमा संघ सरकारले कूल रू. ६० करोड विनियोजन भएको छ। बहुवर्षीय रूपमा मनाङको मेरूदण्डको विकासका लागि बजेट छुट्याइएको छ।

आगामी ५ वर्षको अवधिमा डुम्रे–बेसीशहर–चामे सडकखण्डलाई चौडा, कालोपत्र, पक्की नाला सहित सुरक्षित बनाउने योजना सहित बजेट विनियोजन भएको डुम्रे–बेसीशहर–चामे सडक योजना कार्यालयका प्रमुख पन्तले बताउनुभयो।

गतवर्ष यस सडकखण्डका अधिकांश भागमा बाढीपहिरोले क्षति पुर्‍याएको थियो। बाढीपहिरोले क्षति पुर्‍याएको सडक खुलाउन समस्या भएपछि हवाई यातायातलाई मात्र सहारा लिनुपर्ने भएको थियो।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नवीन लामिछाने/मनाङ का अन्य पोस्टहरु:
मनाङ छिर्ने डरलाग्दो बाटो
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link