तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको विकल्प तयार हुँदै गएको छ। उत्पादन भएको फूललाई लामो समयसम्म ताजा राख्ने भण्डारण सुविधाको अभावले भने किसानलाई चिन्तित बनाएको छ।
भिमाद नगरपालिका–५ र ६ का विभिन्न स्थानमा किसान तिहारलाई लक्षित गरी सयपत्री फूलखेतीमा जुटेका छन्। स्थानीय माटोमा फुलेका पहेँला र सुन्तला रङका सयपत्रीले उनीहरूका बारीमात्रै सजाएका छैनन्, स्थानीय उत्पादनबाटै चाडपर्वको माग पूरा गर्न सकिने सम्भावना देखाएका छन्।
भिमाद नगरपालिका–६ अन्तर्गत बाग्टारको बाँघकुनामा रेनु थापा, सिमबोट जलौदीमा जानुका थापा र बद्रिनाथ गैह्रे तथा ऋषिङ पाटनमा बालकृष्ण गैह्रेले सयपत्री फूलखेती गरेका छन्। उनीहरूले दुई–दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेका हुन्।
स्थानीय किसानलाई फूलखेतीतर्फ आकर्षित गर्न भिमाद नगरपालिकाले प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको छ। नगरपालिकाको कृषि विकास शाखामार्फत प्राप्त सहयोगले किसानलाई फूलखेती विस्तार गर्न प्रोत्साहन मिलेको कृषक रेनु थापाले बताइन्।
स्थानीयस्तरमा उत्पादन भएको फूलको प्रयोग बढाउन सके बाहिरबाट आयात हुने फूलमा निर्भरता घट्नुका साथै स्थानीय किसानको आम्दानी बढाउन सकिने अपेक्षा गरिएको उनको भनाइ छ।
फूलखेतीमा आकर्षण बढे पनि उत्पादित फूलको व्यवस्थापन भने चुनौतीपूर्ण बन्दै गएको किसान बालकृष्ण गैह्रेले बताए। चाडपर्वलाई लक्षित गरी उत्पादन गरिएको फूल समयमै बिक्री हुन नसके खेर जाने जोखिम हुने र फूल टिप्ने समय नजिकिँदै जाँदा त्यसलाई ताजा राख्ने उचित व्यवस्था नहुँदा लगानी र मिहिनेत खेर जाने चिन्ता थपिएको उनको भनाइ छ।
सयपत्री फूल लामो समयसम्म ताजा राख्न आवश्यक चिस्यानयुक्त भण्डारण सुविधा नहुँदा बजारमा माग र आपूर्तिबिचको तालमेल मिलाउन कठिन हुन भएको किसान बद्रीनाथ गैह्रेले बताए। उनले भने, “यहाँ उत्पादन भएका सयपत्री फूललाई स्थानीय बजारमा प्राथमिकता दिनसके किसानको मिहिनेतको सम्मान हुनुका साथै आगामी वर्षमा थप क्षेत्रफलमा फूलखेती गर्न प्रेरणा मिल्नेछ।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा ठूलो क्षति, तिहारलगत्तै पुनर्निर्माण सुरु गरिने
- हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल पार्वतीकुण्ड
- एनपीएल २०२६: लुम्बिनी र काठमाडौँको जित, आज सुदूरपश्चिम र कर्णाली भिड्दै
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम पूर्वानुमान: हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा
- क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
- तरकारीभन्दा फूल खेतीमै बढी आम्दानी
- च्याम्पियन्स लिग: भल्भेर्डेको निर्णायक गोलमा एएके एथेन्समाथि रियल मड्रिडको रोमाञ्चक जित
- आजदेखि राष्ट्र बैंकले सुन-चाँदीका सिक्का बेच्ने
- आजको लागि विदेशी मुद्राको विनिमय दर