यो साउन,  यी शिवजी,  नेपाली महिला  अनि भारतीय नक्कल

रोशनी अधिकारी

देशको आर्थिक अवस्था जतिनै जर्जर भएपनि बजारमा साउन महिनाको तयारी सुरु भइसकेको छ। जताततै हरियो, पहेँलो र रातो चुरापोते अनि कपडाको किनमेल देखिदैछ। यी रङ्ग लगाउनुको पनि आफ्नै अर्थ छ। हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ। यसैले त साउन महिनामा हरियो, पहेँलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको होला।

चुरापोते र कपडासँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ। हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने विश्वास गर्नेहरू पनि उत्तिकै पाइन्छ। तर यथार्थमा चाहिँ रसायन हालेका मेहन्दीका कारण गाढा मेहन्दीको रङ्गले श्रीमान्‌को माया भन्दा पनि हानिकारक पो हुन्छ। हानिकारक किन हो भने मेहन्दीको रङ हातमा जति गाढा बस्छ, त्यसमा त्यति नै धेरै खतरनाक रसायन वा केमिकल हालिएको हुन्छ। नेपाल र भारतमा गरिएका कतिपय अध्ययनले मेहन्दीलाई गाढा बनाउनका लागि छोटकरीमा पीपीडी भनिने पाराफेनीलेनीडाइमाइन नामक खतरनाक रसायन मिसाइएको हुन्छ। पीपीडीले मेहन्दी लगाएको ठाउँमा मात्र होइन शरिर भरिनै एलर्जी गराउन सक्छ। त्यसैले बजारमा मेहन्दीका कोन किन्न भन्दा घरमा नै बनाउनु उपयुक्त हुन्छ।

साउन आउने वित्तिकै महिला तथा युवतीहरूले हातमा हरियो चुरा र मेहन्दी लगाउने एकखालको परम्परा नै बनिसकेको छ। पहिला पहिला श्रीमान्‌को दीर्घायुको कामनाको लागि साउनमा महिलाले हरियो चुरा र मेहन्दी लगाउने चलन थियो भने आजकल हरियो चुरा र मेहन्दी फेसन बनेको देख्न पाइन्छ। विवाहित तथा अविवाहिताहरूले साउनमा हरियो चुरा र मेहन्दी लगाउनुका साथै भगवान शिवझीको आराधना गर्दै आए पनि आजभोलि हरियो चुरा श्रद्धा भन्दा बेसी फेसनको रुपमा लगाउने गरिएको छ। धार्मिक आस्था र विश्वासलाई छोडेर रहर र फेसनले वास्तविक अर्थको महत्वलाई ओझेलमा पारेको छ। प्रत्येक वर्ष साउन महिना सुरु हुनुभन्दा अगाडि नै बजारमा हरिया र पहेँला पोते, चुरा, सिउँदोमा सिन्दूर, निधारमा टीका र हत्केलामा मेहन्दी लगाउने मात्र होइन एक आपसमा उपहार दिएर अनावश्यक आडम्बरलाई प्रोत्साहित गरिएको छ। यो वास्तवमा नेपालमा हेरिने भारतीय टीभी च्यानलका सिरियलहरूको एकदमै नराम्रो प्रभाव हो। भारतीय देखासिखीले परिवारमा आर्थिक भार मात्र बढाएको होइन् नेपाल भारतबीचको व्यापार घाटामा योगदान पो दिइरहेको छ।

यो संस्कृति आयातित हो र भारतीय संस्कृतिमा मेहन्दी र हरियो चुरालाई प्रेम र सुहागको प्रतीकका रूपमा हेर्छन्। नेपालको मधेशमा मेहन्दी पाइए पनि पहाडमा त त्यसको विकल्प तिउरी नै हुने गरेको थियो। तिउरीलगायतका जडिबुटीबाट मेहन्दीकै रङको रुपमा आफ्नो हातखुट्टा रङ्गाइन्थ्यो। मेहन्दीको सुलभताले तिउरी बिस्थापित भइसक्यो।

साउनमा शिवजीको पूजाआराधना गर्दा व्यापार राम्रो हुने एवं किसानको खेतीपाती सप्रने विश्वास छ। साउनमा बढी वर्षा हुने भएकाले रोगको संक्रमण हुने गरेको मान्यता छ।  यो समयमा रोगहरू लाग्ने बढी सम्भावना भएकाले मासु, लसुनलगायत खानेकुरा खान नहुने जस्तो बर्खायाममा हाम्रो स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालका खानेकुरालाई यो महिनामा नखाने चलन पनि स्वास्थ्यको दृष्टिकोणले महत्वपूर्ण नै छ।

यस्तै वैज्ञानिक दृष्टिकोणले पनि श्रावण महिनामा निरन्तर वर्षा हुने जताततै हिलाम्मे हुने र फोहोर बढ्नाले रोगव्याधी बढ्न सक्छ। त्यसैकारण यो महिनाभर माछामासु नखाई सात्विक भोजन गर्दै सातामा एक पटक व्रत बस्नु स्वास्थ्यका लागि उपयुक्त मानिन्छ। साउन महिना महिलाहरूका लागि एक महत्वपूर्ण महिना हो। यो महिना पालुवा पलाउनाले प्राकृतिक रुपमा पनि हरियो महिना भएकोले गाउँघरतिर साउनलाई खेतीपाती सकेर सफा बन्ने महिनाको रुपमा लिने गरेको छ। हाम्रो सांस्कृतिक परम्परा अनुसार साउन १ गते बाट खेती/किसानीको काम सकेर हिलो मैलो सकिएको भन्ने बुझिन्छ भने बर्खाभरिका कामले शरीरको सरसफाइ गर्न नुवाइधुवाई गर्ने गरिन्छ।

साउन महिना धार्मिक हिसाबले पनि हिन्दु नारीहरूको लागी अर्को महत्वको विशेष महिना हो। नेपाली महिला अझ विशेषत  मधेस मूलका महिलाहरूले सोमवार व्रत बस्ने गर्दछन्। विवाहित महिलाले आफ्नो पतिको दीर्घजीवनको कामनाका लागि र अविवाहित युवतीहरूले असल वरको कामनाका लागि साउनको प्रत्येक सोमवार व्रत बस्ने प्रचलन रहिआएको छ।

समय परिस्थिति र आधुनिकतासँगै हाम्रो संस्कृतिमा पनि परिवर्तन आएको छ। महिलाले केहीपनि नखाई व्रत बस्ने चलन छ। वैज्ञानिक दृष्टिकोणले पनि व्रत बस्नु केही हदसम्म राम्रो छ तर व्रत बस्दा आफ्नो शारीरिक क्षमता र मानसिक शक्तिको आँकलन गदै मूल्यांकन गर्दै व्रत बस्दा उपयुक्त हुन्छ। त्यसका साथै हामीले हाम्रो संस्कृति र परम्पराको जगेर्ना गर्नुपर्छ तर विकृति र विसंगति भित्र्याएर होइन। हाम्रा परम्परालाई हाम्रै हिसाबले जगेर्ना गरौं।  हामीसँग जे छ त्यसैमा सन्तुष्ट हुन सक्नुपर्दछ। तबमात्र हाम्रा परम्पर धर्म संस्कृतिका मुल्य र मान्यताको महत्व रहन्छ। हाम्रो परम्पराले समाजको विकास र  सद्भावलाई कायम राख्ने खालका हुनुपर्छ। भारतीय सिरियल हेरेर अनावश्यक नक्कल गर्दा हाम्रो आफ्नो संस्कृतिको क्षय त हुन्छ नै फुजुल खर्च बढाउँदै जादा परिवार, समाज र राष्ट्रलाई नै घाटा छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

रोशनी अधिकारी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link