सडकभरि छाडा चौपाया, झण्डै आधा करोडमा बनाइएको गौशाला उपयोगविहीन

राजेन्द्र भट्ट/महेन्द्रनगर

भीमदत्त नगरपालिकाले छाडा चौपाया न्यूनीकरणका निम्ति करिब आधा करोड लगानीमा निर्माण गरेको गौशाला अहिले बाँझो अवस्थामा रहेको छ। सम्झौता भएको केही समयमा ठेकेदार सम्पर्कविहीन भएपछि गौशाला नगरपालिकाका लागि घाँडो झै भएको छ। त्यतिमात्र होइन, भीमदत्त नगरपालिकाले गौशालास्थल बनाउन लिएको जग्गाको वार्षिक भाडासमेत तिर्नुपरिरहेको छ।

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाले छाडा चौपायाको समस्या विकराल बनेपछि त्यसको न्यूनीकरण गर्न गौशाला निर्माण गर्‍यो। जग्गा भाडामा लिएर गौशाला निर्माण गरियो र गौशाला सञ्चालनका लागि ठेक्का दिने काम पनि भयो। ठेक्का सम्झौता लगत्तै सम्बन्धित व्यक्ति फरार भएपछि अहिले झण्डै आधा करोडमा निर्माण गरिएका संरचना प्रयोगविहीन र लथालिङ्ग अवस्थामा छन्। उता छाडा चौपायाको समस्या भने ज्युँको त्युँ रहेको छ। त्यतिमात्रै नभई नगरपालिकाले वार्षिक डेढलाख बढी बाँझो गौशाला स्थलको जग्गा भाडा तिर्दै आएको छ।

भीमदत्त नगरपालिका– १९ बागफाँटामा २०७५ सालमा गौशाला निर्माण गरिएको हो। स्थानीय सात/आठ जनाको आठ बिगाह जमिन भाडामा लिएर ४८ लाख लागतमा गौशाला निर्माण गरिएको भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी हरिसिंह धामीले जानकारी गराउनु भयो। ‘छाडा चौपाया व्यवस्थापन गर्ने उद्देश्यले बागफाँटामा गौशाला निर्माण गरिएको हो। सोही वर्ष मंसिरमा निजी क्षेत्रलाई खुला प्रतिस्पर्धाका आधारमा ठेक्का दिने काम पनि भयो।’ नगरपालिकाका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी धामीले भन्नुभयो।

झापा नमुना गैरिगाउँ भीनपा– १९ को नाममा दर्ता फर्मबाट जंगबहादुर विकले गौशालाको ठेक्का पाएका थिए। ठेक्का वापत विकले नगरपालिकालाई वार्षिक एकलाख एघार हजार एक सय ११ रूपैयाँ दिने सम्झौता भएको थियो। ठेक्का लिएको केही महिना पछि ठेकेदार विक सम्पर्कविहीन भए। अन्यत्रबाट छाडा चौपाया गौशालामा लग्दा स्थानीयबाट असहयोग हुन थालेपछि ठेकेदारले काम छोडेको भनाइ छ। ‘स्थानीयले काम गर्न दिएनन्, बाटोमा अवरोध गरे।’ गौशाला  सञ्चालन नहुनु र ठेकेदारले काम छाड्नुका पछाडिको कारण औल्याउँदै नगरपालिकाका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी धामीले भन्नुभयो– ‘यहाँ गाईगोरू संकलन गरी अन्य जिल्लामा लग्ने ठेकेदारको योजना थियो। पटक–पटक अवरोध सिर्जना भएपछि छाडेर गए।’

बागफाँटाको चौधर नदी किनारमा रहेको नन्दलाल चटौत, श्रीराम चटौत लगायतका स्थानीयको आठ बिगाह जमिन नगरपालिकाले भाडामा लिएको हो। वार्षिक प्रति विघा २० हजार रूपैयाँ भाडा तिर्ने सम्झौतामा गौशाला, घाँस/चरन लगायतका प्रयोजनका लागि भाडामा लिइएको थियो। यस वापत नगरपालिकाले वर्सेनि एकलाख ६० हजार भाडा तिर्दै आएको छ। चार वर्षको अवधिमा नगरपालिकाले ‘बाँझो गौशाला’को भाडा मात्रै छ लाख ४० हजार जग्गाधनिलाई तिरिसकेको छ।

तीन/चार महिनामै ठेकेदार भागेपछि नगरपालिका कार्यसमितिले गौशालाको ठेक्का सम्झौता भंग गर्‍यो। नगरपालिकाका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी धामीले भन्नुभयो– ‘गौशालाको सम्झौता गर्ने पक्ष नै सम्पर्कविहीन भएपछि सम्झौता भंग गरियो। पुन: सञ्चालनका  लागि पटक–पटक सूचना प्रकाशित गरेपनि कोही आएनन्। जसले गर्दा गौशाला निर्माणको उद्देश्य पूरा हुन सकेको छैन। अहिले बाँझो अवस्थामा रहेको छ।’

छाडा चौपाया राख्न नगरपालिकाले बनाएकाे उपयाेगविहीन स‌ंरचना

करिब पाँच सय छाडा चौपाया व्यवस्थापन गर्ने क्षमता रहेको गौशाला अहिले सुनसान छ। सञ्चालनमा आउँदा एक सय बढी चौपाया गौशाला परिसरमा रहेको स्थानीय बताउँछन्। त्यहाँ भएका गाई ब्याउने भएपछि लगेर जाने क्रम चलेपछि अहिले सुनसान छ।

गौशाला क्षेत्रमा फलामका पाईपमाथि टीनको छाना लगाएर गोठ, त्यसभित्र बाँध्ने र आहारा खुवाउने व्यवस्था, चरन र घाँसका लागि खुलाठाँउ, पानीका  लागि बोरिङ र हेरचाह गर्नेका लागि बस्ने घर निर्माण गरिएको थियो। अहिले सबैथोक जीर्ण बन्दै गएका छन्। गौशाला छेउको बोरिङ पनि चालु अवस्थामा छैन।

गौशालाको जमिन मौखिकमा भोगचलन

ठेकेदारसँग सम्झौता भंग भएपछि नगरपालिकाले पुन: सूचना आह्वान गर्दा पनि कसैले ठेक्का लिएनन्। करिब दुई वर्ष यता भने भीमदत्त नगरपालिका– २ का निरज धामीले गौशालाको जमिन भोगचलन गर्दै आएका छन्। धामीले पारिश्रमिकमा एक जनालाई हेरालु राखेर गौशालाको जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। उनले अहिले बोडी, करेला लगायतका बर्खे तरकारी लगाएका छन्।

मुक्त हलिया स्थानीय दीपेन्द्र दमाइलाई मासिक तलब दिएर धामीले गौशाला र तरकारीबारीको हेरचाह गर्न राखेका हुन्। करिब आठ महिनादेखि काम गरिरहेका दमाईले भन्नुभयो– ‘सुरूमा गाईगोरू थिए। ब्याउँने भएपछि वरपरका स्थानीय आएर लान थाले। केही बुढो भएर मरे। केही जंगलका बाघ चितुवाले खाए।’ गौशाला परिसरसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोडिएको छ।

उनका अनुसार आफू आउँदा दश वटा र अहिले तीन वटा गाई मात्रै गौशालामा छन्। ती पनि बाहिर जाने  आउने गर्छन्। गौशाला नजिकै नदी भएकाले पानी पिउन सजिलो होला भनि खुला छोड्ने गरिएको दमाईले जानकारी गराउनु भयो। नगरपालिकाले भाडा तिर्दै आएको जमिनमा उत्पादन हुने तरकारी र अन्य अन्नबाली सदरमुकाम महेन्द्रनगर बजार र अन्यत्र बिक्री गर्ने गरिन्छ। धामीले त्यहाँबाट आम्दानी लिने गरेको भए पनि नगरपालिकासँग कुनै आर्थिक हरहिसाब गर्ने गरेका छैनन्।

‘वेवारिसे अवस्थामा थियो। नगरपालिकाका मेयरले मौखिक रूपमा भनेपछि हेरचाह गरिरहेको छु।’ यसअघिका मेयर सुरेन्द्र बिष्टले मौखिक रूपमा आफूलाई गौशालाको जमिन चलनभोग गर्ने अनुमती दिएको जानकारी गराउँदै धामीले भन्नुभयो, ‘दुई/तीन विघामा तरकारी खेती गरेको छु। हेरचाह र संरक्षण गरिदिन भनेका हुन्।’ यसवापत आफूले नगरपालिकालाई केही पनि नदिएको उहाँको भनाइ छ।

बागफाँटाको गौशाला बाँझो भए पनि भीमदत्तकै वार्डनम्बर ९ ब्रह्मदेवमा नगरपालिकाले नै निर्माण गरेको गौशाला भने सञ्चालनमा छ। २६ लाख रूपैयाँको लागतमा निर्माण गरिएको गौशाला स्थानीयले समितिमार्फत सञ्चालन गरिरहेको नगरपालिकाका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी धामीले जानकारी दिनुभयो।

बागफाँटाको गौशाला निर्माणको मूल उद्देश्य पूरा हुन नसकेको र त्यहाँ रहेका संरचना के गर्ने भन्ने बारे अबको कार्यपालिकाले निर्णय गर्ने बताउनुभयो।

दिगो र वैज्ञानिक व्यवस्थापन गर्छौ: प्रवक्ता खड्का

छाडा चौपाया व्यवस्थापन अहिलेको ठूलो चुनौतिका रूपमा रहेकाले यसको दिगो र वैज्ञानिक व्यवस्थापन आवश्यक भएको भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खडका बताउनु हुन्छ।

जग्गा भाडामा लिने नगरपालिका नि:शुल्क खेती गर्ने अरु नै

‘अहिलेसम्म छाडा चौपायालाई घेराबार गरी राख्ने काम मात्रै भयो। यसमा खर्च पनि धेरै भएको छ तर  पनि समस्या ज्युँका त्युँ छ। गौशालामा राखेर पालनपोषण गरेर मात्रै यस समस्याको समाधान हुन्छ जस्तो लाग्दैन। यसलाई निरन्तरता दिनु उचित देखिदैन।’ भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खडकाले भन्नुभयो– ‘अब दिगो र वैज्ञानिक व्यवस्थापनतर्फ लाग्नु जरूरी छ। छाडाचौपाया व्यवस्थापन सँगसँगै मल र ग्यास प्रयोगमा ल्याउन सकिन्छ। त्यसका लागि विज्ञहरूसँग छलफल गर्छौं। प्रभावकारी पनि होस् र त्यसबाट ‘आउट पुट’ पनि ल्याउने योजना बनाउँछौं।

स्थानीयले आफ्ना गाईगोरू छोड्दै जाने प्रवृत्तिका कारण समस्या झन्झन् विकराल बन्दै आएको छ। यसअघिको कार्यपालिकाले भीमदत्तमा गाईगोरू सडकमा छोड्ने व्यक्तिलाई कानूनी कारबाही गर्ने नियम बनाएको थियो। छाडा चौपाया नियमन कार्य विधि लागु गरे  पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

नगरपालिकाले घरमा पालेका गाईगोरूको कानमा ट्याग लगाउने र त्यस्ता गाईगोरू सडकमा छाडा रूपमा छोडिएको पाइएमा पशुधनीलाई कानुनी कारबाही गर्ने नियम बनाएको थियो। त्यति बेला करिब दश हजार बढी घरपालुवा गाईगोरूको कानमा ट्याग लगाइएको थियो। करिब चारवर्ष जनशक्ति परिचालन गरी नगरपालिकाका १९ वटै वडामा ट्याग लगाउने काम भएको थियो। जसमा सात लाख बढी खर्च भएको नगरपालिकाले जनाएको छ।

जनप्रतिनिधिको टाउको दुखाइ

कञ्चनपुर जिल्लामा भीमदत्त मात्रै नभई नौवटै पालिकामा छाडा चौपायाको आतंक नै छ। विकराल समस्याका रूपमा रहेको छाडा चौपायाको समस्या समाधान गर्ने प्रतिबद्धता गरेका नवनिर्वाचित जनप्रतिनिधिका लागि यही विषय अहिले टाउको दुखाइको बनेको छ।

जिल्लाका प्राय: स्थानीय तहले आफ्नो वार्षिक बजेटबाट छाडा पशु चौपाया व्यवस्थापनका लागि अहिलेसम्म करोडौं रकम खर्च गरिसकेका छन् तर समस्या भने यथावत छ। पूर्वपश्चिम राजमार्ग, बजार तथा मुख्य सडकहरूमा जताततै छाडा पशुचौपायाको बथान देखिन्छ। छाडा पशुचौपायाका कारण किसानको बालिनाली नोक्सानी सँगसँगै समय–समयमा सवारी दुर्घटना समेत हुने गरेका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

राजेन्द्र भट्ट/ महेन्द्रनगर का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap