कुनै बेला यो सिमेन्ट पाउन सोर्सफोर्स लाउनु पर्थ्यो वा कालो बजारमा किन्न पर्थ्यो। यसको गुणस्तरमा शङ्का गर्ने ठाउँ हुन्थेन । निजी कम्पनीका सिमेन्टले यसको ख्याति चोर्नका लागि आफ्नो बोरामा “हेटौंडामा बनेको” समेत लेखे। हेटौंडा सिमेन्टको नामै काफी थियो। त्यो हेटौंडा सिमेन्ट अहिले संकटमा छ। अब बिस्तारै हेटौंडा सिमेन्ट उद्योगको सिमेन्ट देख्न र प्रयोग गर्न नपाइने हो कि भन्ने आशंका बढ्न थालेको छ।
उद्योगमा कार्यरत मजदुरहरूले विभिन्न माग राखेर अल्टिमेटम समेत दिएका छन्। उद्योगको विगत देखिको उद्योग व्यवस्थापन पक्षले उद्योगको समग्र सुधार र उत्पादन वृद्धि लगायतका पक्षमा आवश्यक ध्यान नदिएकाले हालसम्म उद्योग करिब ८० करोड रुपैयाँ सञ्चित नोक्सान (घाटा) मा रहेको उनीहरूको भनाई छ। अल्टिमेटम पत्रमा भनिएको छ “अझै उद्योगले विभिन्न शीर्षकमा करिव २० करोड भुक्तानी गर्न बाँकी रहेको छ भने गत आ.व. ०७८/०७९ मा करिव २३ करोड रुपैयाँ घाटामा गएको अनुमान गरिन्छ। यसका साथै करिव ३ लाख बोरा सिमेन्टको तयारी वस्तु मौज्दात रहेको तर बिक्रीको अवस्था अत्यन्तै नगन्य रहेको अवस्था छ।”
यस्तै हाल अवकाश भएका करिव ६ जना कर्मचारीहरूले उपदान वापतको रकम भुक्तानी नपाएको र कार्यरत कर्मचारीहरूको रोजगारीको सुरक्षा र अवकाश हुने कर्मचारीले नियमानुसार पाउनु पर्ने रकम भुक्तानी पाउन समेत अनिश्चितता बढ्दै गएको उनीहरूको आरोप छ। समग्र ट्रेड उद्योग ट्रेड युनियन नेपाल हेटौंडा सिमेन्ट उद्योग र अखिल नेपाल औद्योगिक मजदुर संघले विभिन्न ११ बुँदे माग समेत प्रस्तुत गरेका छन्।
मजदुर सङ्गठनले हाल कोइला लगायत आवश्यक कच्चा पदार्थ अभावकै कारण बन्द रहेको उद्योग यथाशीघ्र चालु गर्नुपर्ने, सिमेन्ट बिक्रीको वर्तमान अवस्थामा सुधार गर्नुपर्ने ट्रेड युनियनहरूले पेश गरेको संयुक्त ध्यानाकर्षणका सन्दर्भमा छलफल गरी उद्योग व्यवस्थापनबाट कार्यान्वयनको प्रक्रिया थालनी गर्ने लिखित प्रतिबद्धता गर्नुपर्ने, विगत केही महिना अगाडि देखि किल्न, रमिल, क्रसर, सिमेन्ट मिल र प्याकिङमा पटक पटक समस्या आएकोले तुरुन्त सुधार गरी पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, उद्योगका ४ वटै खानीहरू कुनैपनि अवरोध विना सञ्चालन गरि नियमित रुपमा चुनढुंगा आपूर्ति हुने प्रबन्ध गर्नुपर्ने, अतिरिक्त समयमा काम गरेको रकम समेत भुक्तानी गर्नुपर्ने माग गरेका छन्।
यस्तै हाल उद्योगमा नियमित अवकाश र स्वैच्छिक राजीनामाको कारणले कर्मचारी कम भएकोले कर्मचारी पदपूर्ति प्रक्रिया तुरुन्त अगाडि बढाउनुपर्ने, कर्मचारीहरू अवकाश हुँदा पूर्ववत् खाईपाई आएको व्यवस्थामा असर नपर्ने गरी आर्थिक प्रशासन विनियमावली तत्काल संसोधन गराई स्वीकृत गर्नु पर्ने, सेवा सुविधा कटौती नहुने गरी वर्तमान कर्मचारी सेवा शर्त विनियमावली तुरुन्त संशोधन गरिनुपर्ने, उद्योग भित्रको अनावश्यक कबाडी सामान लिलाम बिक्री र हाल प्रयोगमा नरहेको उद्योगको रोप वे बिक्री गरी प्राप्त आम्दानी नागरिक लगानी कोषमा जम्माका साथै १० गाडी सिमेन्ट बिक्री भए पश्चात १ गाडी सिमेन्ट बिक्री वापतको रकम नागरिक लगानी कोषमा जम्मा गर्ने गरी विगतमा उद्योग व्यवस्थापन र ट्रेड युनियनसँग भएको समझदारी लाई तुरुन्त कार्यान्वयन गर्नुपर्ने, दोहोरो जिम्मेवारी नहुने गरी योग्यता पुगेका अधिकृतहरूलाई नेपाल सरकारको तथा उद्योगको पूर्व निर्णय बमोजिमको आधारमा यथाशीघ्र जिम्मेवारी दिइनुपर्ने लगायतका माग राखेका छन्।
मजदुरहरूको मागप्रति उद्योग सकारात्मक नै रहेको हेटौंडा सिमेन्ट उद्योगका महाप्रबन्धक बसन्तकुमार पाण्डेले बताउनुभयो। उहाँले भन्नुभयो “कतिपय मागहरू नीतिगत छन्, आर्थिक छन्, नीतिगत मागलाई मन्त्रालयमा समन्वय गरी प्रक्रिया अगाडि बढाउने, आर्थिक अवस्थाले धाने आर्थिक पाटोको माग पनि पूरा गर्न सकिन्छ।” अहिले उद्योगको अवस्था राम्रो नभएको भन्दै पाण्डेले आर्थिक माग पूरा गर्न कठिनाइ भएको उहाँको भनाई छ। आर्थिक अवस्था सुदृढ भएमा आफै हुने प्रक्रिया रहेको उहाँको भनाई छ। शाखा मातहतलाई छलफल गरेर ‘वर्कप्लान’ बनाउन आदेश दिएको पाण्डेले बताउनुभयो। यथाशीघ्र यो मजदुर संगठनसंग छलफल गरी निष्कर्षमा पुर्याउने बताउनुभयो।
गत साउन ३ गतेबाट उद्योग बन्द अवस्थामा रहेको छ। क्लिङ्कर बनाउने मेसिन बिग्रिएकोले मर्मत भइरहेको छ। यो मेसिन बन्न एक हप्ता लाग्ने उद्योगले जनाएको छ। आर्थिक अवस्था नाजुक भएकोले कच्चा सामग्री आपूर्तिकर्ताले उद्योगमा चाहिने सामग्री पठाउन छोडेका कारण पनि उद्योग चल्न समस्या भएको छ। समयमा भुक्तानी नभएपछि अनुनय विनय गरेर बल्लबल्ल सीमित मात्रामा कोइला प्राप्त गरेकोले मेसिन मर्मत सकिएपछि उद्योग सञ्चालन हुने महाप्रबन्धक पाण्डेको भनाई छ।
विगतमा पनि यो उद्योगमा समस्या नआएका भने होइनन् तर पनि जसोतसो उद्योग चलिरहेको थियो। यति विश्वासिलो उद्योगले गति भने सोचेजस्तो कहिले पनि लिन सकेन। पुरानो भवन, पुरानै प्रविधि पनि यसको मुख्य अवरोध हो। ‘ बूढा थोत्रो गाडी चलाएजस्तै छन् उद्योगका मेसिनहरू, यता बनाए उता बिग्रन्छ, उता बनाए यता बिग्रन्छ।’ पाण्डेले भन्नुभयो। ‘साढे ३ महिना भयो आएको आएको दिनदेखि समस्या भएको छ, तरपनि समस्या हल गर्न सकेको कोशिश गरेका छौं।’
यी सबै समस्या भएपनि सरकारी सिमेन्ट उद्योग भएर यसले गुणस्तरलाई ध्यान भने दिइरहेको पाण्डेको भनाई छ। थोरै रासायनिक वा गुणस्तर मापदण्ड नपुगेका सिमेन्टलाई ल्याबले अनुमति दिदैन र उद्योगले यसलाई बजारमा पठाउँदैन। यही कारण हालसम्म गुणस्तरहीन हेटौंडा सिमेन्ट बजारमा पुग्न पनि पाएको छैन। उद्योगको कुनै पनि आफ्नो भण्डारण केन्द्र नभएकोले उत्पादन हुनेबित्तिकै ताजा सिमेन्ट नै बजार पुग्छ।
एशियाली विकास बैंक (एडीबी) को सहयोगमा स्थापित यो उद्योगको उद्घाटन राजा वीरेन्द्रले गर्नुभएको थियो। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ को लामसुरेमा रहेको यो उद्योग २०३२ सालमा स्थापना भएको हो। यो उद्योगले व्यवसायिक उत्पादन भने २०४२ बाट मात्रै सुरु गर्यो। हेटौंडा सिमेन्ट उद्योग भन्दा धेरै पछि आएका उद्योगले आर्थिकरूपमा धेरै प्रगति गर्दा हेटौंडा सिमेन्टको अवस्था थप सङ्कटग्रस्त बन्दै गएको छ।
२०४२ सालदेखि सिमेन्ट उत्पादनमा जडान गरिएका धेरै मेसिनहरू नचल्ने अवस्थामा पुगिसकेका छन्। पुरानो मेसिन बिग्रिने र बनाउने क्रम निरन्तर चलिरहेको छ अहिले। नयाँ नयाँ प्रविधिका मेसिनहरू आइसके तर हेटौंडा सिमेन्टले यसलाई भित्र्याउन सकेको छैन। मेसिन बिग्रे वा नयाँ किन्न जे गरेपनि उद्योग मन्त्रालयको सहमति लिएर गर्नु यसको झन्झट प्रक्रिया हो, खरिद ऐन अनुसार काम गर्नुपर्ने कारण धेरै काम ढिला हुन्छन्।
हेटौंडा सिमेन्ट उद्योग चुनढुंगा खानीको धनी छ। उद्योगका धादिङको जोगिमारा, मकवानपुरको ओखरे, मजुवा, र भैँसे खानी छन्। सिमेन्ट उद्योगलाई चाहिने रातोमाटो भने उद्योग परिसरकै डाँडामा यथेष्ट रहेको छ। खानी क्षेत्र तथा उद्योग क्षेत्रमा स्थानीय जनताको अवरोध बेलाबेलामा हुने गरेको छ। जसले गर्दा बेलाबेलामा उत्पादनमा असर गर्छ।
आर्थिक बर्ष २०७४/०७५ मा उद्योगले १६ करोड ३६ लाख नाफा कमाएको थियो। त्यसपछि २०७५/०७६ मा उद्योगले एक करोड पाँच लाख नोक्सान, २०७६/०७७ मा २३ करोड ८२ लाख, आव २०७७/०७८ मा १७ करोड चार लाख नोक्सान भएको छ। गत आर्थिक वर्षमा २३ करोड नोक्सान भएको देखिएको हेटौंडा सिमेन्ट उद्योगका महाप्रबन्धक पाण्डेले जानकारी दिनुभयो।
आर्थिक वर्ष २०७७/०७८ मा उद्योगले ८९ हजार दुई सय मेट्रिकटन उत्पादन र २०७८/०७९ मा ८५ हजार दुई सय मेट्रिक टन उत्पादन गरेर सोही अनुसार बिक्री पनि गरेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
प्रकाश दाहाल/हेटौंडा का अन्य पोस्टहरु:
- बिमाको पैसा नपाउँदा हेटौंडाको आँखा अस्पताललाई समस्या
- ऐतिहासिक रौनक ब्युँताउँदै भीमफेदी गाउँपालिका
- मकवानपुर १(क): पूर्व सांसद र पूर्व गाविस अध्यक्ष बीचको रोचक भिडन्त
- कमल थापाको निर्वाचन क्षेत्रमा राजेन्द्र लिङ्देनको धावा
- मकवानपुर २: गुरुचेलाको भिडन्त
- सूर्य चिह्न बोकेर कमल थापा मकवानपुर- १ मा डिना र दिपकसँग भिडदै
- हेटौडाको मत्स्य प्रवर्द्धन केन्द्र पर्यटकीय आकर्षणको केन्द्र बन्दै
- हेटौडामा बढे डेङ्गु संक्रमित; मेयर साब मलेसियामा
- जब अभिभावक तथा शिक्षक नै आफू “भाइरल” हुन बालबालिकाको दुरुपयोग गर्छन्
- हाम्रा गाउँ मर्दै गएका हुन्?