हेटौडामा बढे डेङ्गु संक्रमित; मेयर साब मलेसियामा

प्रकाश दाहाल

बागमती प्रदेशको राजधानी हेटौडामा पनि डेङ्गु सङ्क्रमित बढेका छन् । बुधबार २४ घण्टामा मात्रै मकवानपुरमा १४८ जना संक्रमित भइसकेका छन् । जसमा हेटौडा उपमहानगरपालिकाका मात्र १४४ जना रहेका छन् । यसैगरी मकवानपुरगढी गाउँपालिकामा २ जना, मनहरी र भीमफेदी गाउँपालिकामा २/२ जना फेला परेका छन् । डेङ्गुकै कारण हेटौडा उपमहानगरपालिकामा एकजनाको मृत्युसमेत भैसकेको छ ।
अहिले हेटौडा अस्पतालमा डेङ्गुको उपचार पाउनसमेत समस्या भएको छ । डेङ्गुका बिरामीको चापका कारण हेटौडा अस्पतालको इमर्जेन्सी कक्षको एउटै बेडमा २ जनालाई राखेर समेत उपचार भैरहेको छ । हेटौडा अस्पतालमा डेङ्गुका बिरामीको चाप बढेपछि बिरामीहरू उपचारका लागि छिमेकी जिल्ला चितवन तथा काठमाडौं जान थालेका छ्न् ।
यस्तै २०७९ साउनदेखि हालसम्म हेटौडामा मात्रै १०५० पुरुष, र ८०२ जना महिला गरी १ हजार ८५२ जना डेङ्गुको संक्रमणमा परिसकेका छन् । यसैगरी यस अवधिमा थाहा नगरपालिकामा ३७ जना, मकवानपुरगढीमा ३४ जना, बागमतीमा ३ जना, मनहरीमा २७ जना, कैलाशमा १ जना, भीमफेदीमा १४ जना, बकैयामा ८ जना र राक्सिराङमा एकजना डेङ्गुका बिरामी फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार इन्द्रसरोबर गाउँपालिकामा डेङ्गुका बिरामी फेला परेका छैनन् ।
डेङ्गु संक्रमण निकै तीव्र गतिमा बढेपछि यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) ले डेङ्गु महामारी घोषणा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रस्ताव समेत पेश गरेको अवस्था छ ।
हेटौडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामा भने विदेश उड्नुभएको छ । मेयरले उपमहानगरमा डेङ्गुको प्रकोप बढेका वेला त्यसको रोकथामलाई भन्दा मलेसिया भ्रमणलाई प्राथमिकता दिनु उचित नभएको गुनासो स्थानीय नागरिकले गरिरहेका छन् ।

मानव बस्ती व्यवस्थापनको लागि सहरी सरोकारवालाहरूको संस्था ‘सिटिनेट’ को नेपाल च्याप्टरको अध्यक्ष हेटौडा उपमहानगरपालिका भएको कारणले जानैपर्ने भएर गएको उपमहानगरपालिकाका १ नम्बर वडाका अध्यक्ष तथा प्रवक्ता सबिन न्यौपानेले बताए । मेयर आफैंले गर्ने भन्दा पनि सिस्टमले काम गर्ने भन्दै उहाँले डेङ्गु नियन्त्रणका लागि काम भैरहेको बताउनुभयो । नगरभित्र रहेको हेटौडा अस्पताललाई डेङ्गु परीक्षणका कीट उपलब्ध गराइरहेको पनि जानकारी पनि उहाँले दिनुभयो । उपमेयर, वडाध्यक्षहरू, नगरपालिकाका शाखाहरू सक्रिय रहेकाले मेयर नभए पनि कुनै अप्ठ्यारो नपरेको भन्दै मेयरको बचाउ गर्नुभयो ।
मलेसियाको राजधानी क्वालालाम्पुरमा हुने मानव बस्ती व्यवस्थापनको लागि सहरी सरोकारवालाहरूको संस्था ‘सिटिनेट’ को अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुनका लागि नगर प्रमुख लामा मलेसिया पुग्नुभएको हो ।
मेयर लामा १३५ भन्दा बढी मुलुकका नगरपालिका, गैरसरकारी संस्था निजी कम्पनी र अनुसन्धान केन्द्रहरूको साझा संस्था सिटिनेटको नवौं सभामा सहभागि समेत हुने बताइएको छ ।
सिटिनेटको नेपाल च्याप्टरको अध्यक्ष रहेको हेटौंडा उपमहानगरपालिका सहित १६ वटा स्थानीय तह र विभिन्न संस्थाको नेतृत्व गर्दै जानुपर्ने भएकाले नगरप्रमुख लामा मलेसिया जानुभएको प्रवक्ता न्यौपानेको भनाइ छ। सभा असोजको ४ गते देखि ७ गतेसम्म सञ्चालन हुने कार्यतालिका रहेको छ ।

आवरण तस्बिर: हेटौंडा अस्पतालमा उपचारत बिरामी

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रकाश दाहाल/हेटौंडा का अन्य पोस्टहरु:
हेटौडामा बढे डेङ्गु संक्रमित; मेयर साब मलेसियामा
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link