जब अभिभावक तथा शिक्षक नै आफू “भाइरल” हुन बालबालिकाको दुरुपयोग गर्छन्

प्रकाश दाहाल

हेटौंडाकी एक बालिकालाई साउथ इण्डियन हिरोइन रश्मिका मन्दनाले भेट्न खोजेको भन्ने विषय केही दिन अघिदेखि  भाइरल भइरहेको छ। युकेजीमा पढ्ने हेटौंडाकी ५ वर्षकी बालिका अहिले नेपालसँगै भारत अनि अन्य देशमा समेत भाइरल  भएकी छन्।

केही समयअघि हिट भएको दक्षिण भारतीय चलचित्र पुष्पाको ‘सामे सामे’ बोलको गीतमा सामूहिक नृत्य गर्दा ती बालिका पनि संलग्न थिइन्। त्यसैक्रममा लिइएको भिडियो अहिले भाइरल भएको हो। सामाजिक सञ्जालमा भाइरल भएपछि उनको घरमा गएर अन्तर्वार्ता लिनेहरूको भीड लागेको छ भने विद्यालयमा पनि पुगेका छन्। ती बालिकाको उमेर सानै भएकाले नकारात्मक असर पर्न सक्ने भएको हुँदा उनलाई भेट्न नआइदिन समेत परिवारले अनुरोध गरेको छ। तर त्यो कुरो युट्युबर, पत्रकारले मात्र होइन नेताजीहरूले पनि टेरेका छैनन्।

त्यसो त अहिले उनलाई राजनीतिक दलका उमेदवारलेसमेत प्रचार गर्ने माध्यम बनाएका छन्।

राप्रपाका उमेदवार दिपक सिंहले उनको विद्यालयमै  गएर कुराकानी गरेको भिडियो र नाचेको बेलासँगै उभिएको भिडियो पनि भाइरल भएको छ।

एउटा केही कुरालाई पायो भने त्यसलाई बढाइ चढाइ गर्न केही युटुब च्यानल काफी छन्। युटुबसँगै उनको समाचार मूलधारका सञ्चार माध्यमले पनि प्राथमिकता दिएर छापे। मूलधारका टीभीहरूले पनि उनी र उनलाई भेट्न खोज्ने सेलिब्रेटीको भनाइ राखेर रिपोर्ट बनाएका छन्।

हो उनको प्रतिभा छ, सम्मान गर्नुपर्छ। भारतीय नायिकालाई समेत मन पर्यो र उनले पनि भेट्छु भनिछन्। यहाँ बालिकाप्रतिको संवेदनशीलतालाई कत्तिको ख्याल गरिएको छ भन्ने कुरा त्यत्तिकै महत्त्वपूर्ण छ।

अहिले भाइरल भएको समयमा सबैले अन्तर्वार्ता लिन अनि भेट्न आउँछ्न्। केही समयपछि अन्य मानिस भाइरल भएर ओझेल परेजस्तै हुन सक्छिन्– उनी पनि।  त्यतिबेला ती बालिकाको मनोविज्ञान कसले बुझ्छ ? त्यसवेला बाल मनोविज्ञानमा पर्ने असर ख्याल गर्नेतर्फ कसैको ध्यान पुगेको देखिँदैन। सबै आफूलाई आवश्यक सामग्री तयार गर्ने ध्याउन्नमा मात्र रहेका देखिन्छन्।

विगतमा ‘के छ हजुर’ भन्ने थेगो भएका पश्चिम तिरका एक बालकले केही गीत पनि गाएका कारण भाइरल भएका थिए। धेरैले धेरै कुरा गरे, अन्तर्वार्ता लिए, संभाव्य सबै प्रयोग गरे तर पछि ती बालकको अवस्था बारे कसैले वास्ता गरेन। केही समय अगाडि माग्दै हिँडेको उनको भिडियो पो भाइरल भयो। यद्यपि उनी अहिले परिवारकै सदस्यको रेखदेखमा रहेका छन्।

यी र यस्ता प्रतिनिधि उदाहरण धेरै छन्। भाइरल भएका र पछि हाराएकाको सूची लामै छ। अभिभावकले उनीहरूलाई सहजरूपमा अगाडि बढाउन पाए वा सके भने त असल नै होला तर त्यसो हुन सकेन भने के होला ?

बालप्रतिभाका कारण केहीले केही समय छोटो अवधिको लागि प्रगति गरेको पनि देखिएको छ तर उनीहरूको भविष्य त सुरक्षित भएको उदाहरण छैन।

अहिलेको ट्रेण्ड हेर्दा सम्बन्धित बालिकासँग अन्तर्वार्ता गर्न नपाए बुवा आमा, नजिकका आफन्त, टाढाका आफन्त, अलि टाढाका आफन्त, छिमेकी, त्यो पनि नभए उखानमा भनेजस्तै गोरु बेचेको साइनो भएकोमा पुगेर पनि अन्तर्वार्ता लिन पछि पर्दैनन्। शीर्षक हुन्छ– ‘ल हेर्नुहोस्, फलानोको छिमेकीले के भने? फलानोको बारेमा एक्स्क्लुसिभ भिडियो’ आदि इत्यादि।

बालबालिकाको उमेर अनुसार के गर्न हुने, के गर्न नहुने भन्ने परिधी खिच्न जरूरी रहेको तर्क छ– अधिवक्ता मदन दाहालको। भाइरल बालबालिकाको वृत्ति विकास भन्दा पनि आफ्नो स्वार्थ पूर्ति गर्न लाग्नेहरूको जमात बढी भएको उहाँले बताउनुभयो। यस्ता बालबालिकाको हित भन्दा उनीहरूलाई प्रयोग गर्ने र आफू प्राचारित हुने गरी कुनै पनि बालबालिकाको प्रयोग गर्न नहुने उहाँको भनाइ छ। यो कुरा बालबालिकाको सर्वोत्तम हित विपरीत रहेको टीप्प्णी उहाँले गर्नुभयो।

बाल मनोविज्ञानका कारण उनीहरूमा खुशी र कौतुहलता हुनु स्वभाविक छ तर कतिसम्म एक्स्पोज गर्ने, कतिसम्म गरियो भने उनीहरूमा असर पर्दैन भन्ने हेक्का राख्नु जरुरी छ।

अङ्ग्रेजीमा भाइरस भनेको जिवाणु हो, शरीरमा जिवाणु (भाइरस) लाग्नुलाई भाइरल भनिन्छ। भाइरसको वृद्धि साह्रै द्रुत गतिमा हुने भएकाले भाइरसको संक्रमणपछि मानिस बिरामी हुन्छ।

अहिले चलेको भाइरल शब्दले भने भाइरस सरह समाजमा सामाजिक सञ्जालका माध्यमले छिटो फैलिनु भन्ने अर्थ बोकेको छ। साधारण भाषामा भन्दा भाइरल हुनु भनेको सबैले थाहा पाउनु, चिन्नु, धेरै सकारात्मक वा नकारात्मक रूपमा चर्चित हुनु पनि हो।

वयस्क मानिसहरू भाइरल भए त उनीहरूले आफ्नो व्यवस्थापन गर्लान् तर बालबालिकाले कसरी गर्ने ? यसतर्फ अधिकांशको ध्यान गएको देखिदैन।

अहिले हरेक दिन कुनै न कुनै समाचार, गीत वा कुनै घटना भाइरल हुने गरेका छन्।

अहिलेको ट्रेण्ड भनेको सकारात्मक होस वा नकारात्मक रातारात हरेकले हरेक ठाउँबाट सामाजिक सञ्जालमा भाइरल गराइरहेका पनि हुन्छन्।

बालबालिकाको हकमा यही खालको लोकप्रियता कायम नरहन सक्छ। त्यही खालको प्रतिभा नरहन पनि सक्छ। त्यस्तो नहुँदाको अवस्थामा भने उनीहरूमा विचलन आउन पनि सक्छ। पहिले राम्रो थियो अहिले बिग्रियो भनेर बालबालिकामाथि दवाव पर्छ।

सामाजिक सञ्जालमार्फत प्राप्त हुने स्टारडम त क्षणिक  समयका लागि मात्र हो। यसले भोलिका दिनमा निरन्तरता पाइरहन वा नपाउन पनि सक्छ। निरन्तरता नपाएपछि उनीहरूमा विचलन आउन सक्ने जोखिमलाई हामीले कम आँक्न हुँदैन। स्टारडमलाई कायम  राख्न चुनौती हुन्छ, आफूले आफैंलाई दबाब दिने त छँदैछ त्यसमाथि परिवार, आफन्त अनि छिमेकीको समेत दबाब झेल्नुपर्ने हुनसक्छ। स्टारडममा केन्द्रित हुँदा उनीहरूले आफ्नो पढाइ बिगार्ने सम्भावना पनि उच्च रहन्छ। अस्वाभाविक चर्चाका कारण उनीहरू हौसिने र घमण्डी बानिव्यहोरा विकास हुने सम्भावनालाई पनि नकार्न सकिन्न।

अहिले घरका सदस्यहरूले नै टिकटक भिडियो जबर्जस्ती बनाउने गरेका पनि छन्। अभिनय गर्न जानेन मानेन भने गाली गलौज र कुटपिट गर्न पछि नपर्ने भएका छन्। यो सब गरेर हामीले बाल अधिकार हनन गर्ने मात्र होइन उनीहरूको स्वतन्त्रतामा समेत अंकुश लगाइरहेका छौँ।

भाइरल भएका कारण त्यसले दीर्घकालीन रूपमा फाइदा हुने  भए त भलो नै हुन सक्छ तर  बाल मनोविज्ञानलाई असर पुगे के होला ? यस्तो कार्य समाजका कसैले पनि गर्नु उचित छैन। समाजले त हरेक बालबालिकालाई उत्तरोत्तर प्रगति हुनेदिशातर्फ लाग्न प्रेरित गर्न सक्नुचाहिँ बढी उपयोगी हुन्छ।

बाल मनोविज्ञानमा भाइरल हुँदा र त्यसपछि गुमनाम हुँदा के असर पर्छ भनेर खासै अध्ययन भएको छैन। तर पश्चिमी देशहरूमा बालबालिकालाई भाइरल बनाइदिदा उनीहरूको आर्थिक तथा शारीरिक शोषण हुन सक्ने भएकाले त्यससम्बन्धी कानुनको माग हुन थालिसकेको छ।

अमेरिका बाल तथा किशोरकिशोरीको मनोविज्ञानका विशेषज्ञ डा. पाउल वेगलेको सामाजिक सञ्जालमा बालबालिकाको बढी संलग्नता उनीहरूको स्वास्थ्यका लागि खतरनाक हुन सक्छ। डा. पाउल भन्नुहुन्छ, “सामाजिक सञ्जालले सबैभन्दा बढी असर गर्ने बालबालिकाको निद्रामा हो र राम्रो निद्रा उनीहरूको मानसिक तथा शारीरिक स्वास्थ्यका लागि अत्यावश्यक छ।” डा. पाउलको भनाईमा सामाजिक सञ्जालमा बालबालिकाको बढी संलग्नता र बालबालिकाको बढ्दो गम्भीर सामाजिक व्यग्रता (एन्जाइटी) तथा अवसाद (डिप्रेशन) जस्ता मानसिक समस्याका बीचमा गहिरो सम्बन्ध छ।

त्यसैले पश्चिमि देशहरूमा सामाजिक सञ्जालमा दुरूपयोग हुनबाट बालबालिकालाई कसरी जोगाउने भने अभिभावक तथा शिक्षकलाई सिकाउन थालिएको छ । तर हाम्रो दुर्भाग्य, यहाँ त अभिभावक तथा शिक्षक नै आफू “भाइरल” हुन बालबालिकाको दुरुपयोग गर्छन्।

आवरणः परिचय लुकाउन बालबालिकाको तस्बिर ब्लर गरिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रकाश दाहाल/हेटौंडा का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link