कमल थापाको निर्वाचन क्षेत्रमा राजेन्द्र लिङ्देनको धावा

प्रकाश दाहाल

राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापा उठेको मकवानपुर क्षेत्र नम्बर १ विशेष चासोको विषय बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन कमल थापा उठेको क्षेत्र मकवानपुरमा धावाको शैलीमा उत्रनुभएको छ । गत बिहीवार मकवानपुर आएर भाषण गरेर जानुभएको लिङ्देन एक हप्तापनि नपुग्दै उहाँ पुनः सोमबार मकवानपुर आउनुभएको छ ।  बिहीवार दिउँसो मकवानपुरको बकैया गाउँपालिका–४ जुरेली फूटबल मैदानमा पार्टीले आयोजना गरेको आमसभामा सहभागी हुनुभएको अध्यक्ष लिङ्देनले मकवानपुर “फोकस” गर्नुका कारण पनि यसले विशेष महत्त्व राखेको छ । उहाँ सँगै राप्रपाको अध्यक्षमा निर्वाचन लडेर पराजित बनेका थापालाई संसदीय निर्वाचनमा पनि हराउने अभियानमा लागिरहनुभएको छ । अन्तिम चुनाव भनेर राप्रपा नेपाल अध्यक्ष थापा आक्रामक प्रचारमा लाग्नुभएको छ भने राप्रपा अध्यक्ष लिङ्देन थापालाई हराउने धावा बोल्दै मकवानपुर धाउनु भएको छ । राप्रपाले मकवानपुरका सबै क्षेत्रमा उम्मेदवार उठाए पनि कमल थापालाई हराउनकै लागि यो क्षेत्रलाई बढि निशानामा पारेको देखिन्छ ।
उम्मेदवार दर्ता गर्दा देखि नै राप्रपाका उम्मेदवारी दीपक सिंहसँग दैनिक कुराकानीमा रहनु भएका लिङ्देनलाई मकवानपुरको निर्वाचनलाई प्रतिष्ठाको विषय समेत बनाएको राप्रपाका नेता बताउँछन् । गएको बिहीवार कमल थापाले निर्वाचन लड्न लागेको क्षेत्र मकवानपुर १ को बकैया ४ मा सम्बोधन गरेर जानुभएको थियो । सोही दिन सुप्रसिद्ध नायिका मनिषा कोइराला आउने भनेपनि अन्तिम अवस्थामा आउनुभएको थिएन । तर सोमबार भने हेलिकप्टर लिएर मनिषा कोइरालासहित लिङ्देन हेटौंडा उपमहानगरपालिकाको १३ नम्बर वडामा आउनुभयो । स्मरण रहोस् यो स्थान पनि कमल थापा उम्मेदवार रहेको क्षेत्र हो । यो दुवैपटक नै उहाँ कमल थापाको निर्वाचन क्षेत्र मकवानपुर १ मा नै आउनुभयो । अघिल्ला समयमा करिब ४ दशक सँगै रहेर नेतृत्व गरेका कमल थापा कै विरुद्धमा राप्रपाका केन्द्रीय सदस्य एवं मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा  दीपकबहादुर सिंह उम्मेदवार बन्नुभएको छ । आफ्नो पार्टीमा अध्यक्ष हार्ने बित्तिकै पूर्व राजाले आफूलाई हराउन सहयोग गरेको भन्दै थापा राप्रपा नेपाल पुनर्गठन गरि अध्यक्ष हुनुभएको थियो । त्यसपछि थापाले राजतन्त्रको एजेन्डा हटाउँदै  हिन्दु राष्ट्रको मात्र एजेन्डा बोकेर हिँड्नुभएको छ भने लिङ्देन हिन्दुराष्ट्र सहित राजतन्त्रको पक्षमा हुनुहुन्छ। अध्यक्षबाट पराजित भए पश्चात थापाले लिङ्देन सँग पूर्वराजाको हस्तक्षेप भएकोले छानबिन गर्न समेत माग गर्नुभएको थियो ।
मकवानपुरमा वैकल्पिक शक्तिका रुपमा राप्रपाको गतिविधि बढेपछि यहाँ दुईजना पुराना सहकर्मीकै बीच प्रमुख प्रतिस्पर्धा हुने हो कि भन्ने अनुमान हुन थालेका छन् । कमल थापाले आफ्नो भोट बढाउन र एमालेको भोट टिकाउन सके जित सहज देखिन्छ भने गठबन्धनलाई आफ्नो भोट सुरक्षित गर्नुपर्ने चुनौती छ । यता हेटौंडा उपमहानगरपालिकाको मेयरको निर्वाचनमा तेस्रो स्थानमा रहँदै लोकप्रिय मत ल्याएका सिंहलाई एमाले र गठबन्धनको मत चोरेर निर्वाचन जित्नुपर्ने बाध्यता छ ।
यस अघि प्रतिनिधि सभामा संसद् एक्लै रहेको स्मरण गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले मकवानपुरमा आएर साथीको लागि दीपक सिंहलाई पठाईदिन आग्रह गर्दै भाषण गरीरहनुभएको छ ।  उहाँले भन्नुभयो ” म एक्लै थिएँ, साथी माग्न मकवानपुर आएको छु, सिंहसहित राप्रपाका उम्मेदवारहरूलाई जिताएर पठाउन अनुरोध गर्दछु ।”
मकवानपुरको दुईवटा प्रतिनिधिसभा क्षेत्रमा आफ्ना उम्मेदवार भए पनि राप्रपाले १ नम्बर क्षेत्रमा दीपकबहादुर सिंहलाई प्राथमिकतामा राखेको छ ।
कमल थापा यसअघि निरन्तर एमाले सँग पराजित बनेको भएपनि यसपटक एमालेकै चुनाव चिह्न र एमालेकै टिकट लिएर मैदानमा हुनुहुन्छ । हालसम्म २०३८ सालदेखि ७ पटक चुनाव लड्नुभएको थापाले २०४३ र २०५१ मा मात्र सफलता पाउनुभएको छ  । यस्तै सिंहले २०५४ सालदेखि ४ पटक चुनाव लड्नुभएको थापाले एकपटक पनि सफलता हात पार्नुभएको छैन । यो निर्वाचन सिंहका लागि मात्र हैन राप्रपा नेपालका अध्यक्ष लिङ्देनको प्रतिष्ठासँग पनि गाँसिएकोले यसको चासो सर्वत्र छ ।
२ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर १ तर्फ हेटौंडा उपमहानगरपालिकाका १५ वडासहित बागमती गाउँपालिका, बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडा पर्छन् । सो क्षेत्रको प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डीना), नेकपा एमाले र एमालेको सुर्य चिन्हबाट राप्रपा नेपालका अध्यक्ष थापा, राप्रपाका सिंहसँगै केही सना दल र स्वतन्त्र उम्मेदवारहरु प्रतिस्पर्धामा छन् ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रकाश दाहाल/हेटौंडा का अन्य पोस्टहरु:
कमल थापाको निर्वाचन क्षेत्रमा राजेन्द्र लिङ्देनको धावा
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link