मकवानपुर २: गुरुचेलाको भिडन्त

प्रकाश दाहाल

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ पनि तातेको छ । पहिले एउटै पार्टीमा रहँदा हरेक गतिविधिमा यो क्षेत्रमा साझेदारी गरेका, ४ पटक संसद् एवम् एकपटक मन्त्री भैसकेका बिरोध खतिवडा र खतिवडा पार्टीका ठूला नेता हुँदा विद्यार्थी राजनीति सुरु गरेका युवा नेता महेश बर्तौला बीच भिडन्त हुँदैछ ।

विद्यार्थी कालमा कम्युनिस्ट राजनीतिबारे प्रशिक्षण दिने खतिवडा र प्रशिक्षण लिने बर्तौलाको भिडन्त रोचक हुने  छ । गठबन्धनबाट यो क्षेत्र एकीकृत समाजवादीको भागमा परेपछि खतिवडा उम्मेद्वार बन्नुभएको हो । यस्तै विद्यार्थी राजनीतिमा केन्द्रीय छबि बनाउदै अनेरास्ववियुको कार्यबाहक अध्यक्ष समेत भएका बर्तौलालाई एमालेले अगाडि सारेको हो ।

त्यसो त यस क्षेत्रमा कांग्रेसका पुराना नेता भरत पराजुली अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट, राजन मैनाली राप्रपाबाट र स्वतन्त्र राजनीति भन्दै धिरज विक्रम न्यौपाने मैदानमा हुनुहुन्छ । पहिले एउटै पृष्ठिभूमिमा राजनीतिक छवि बनाएकाको प्रतिस्पर्धा तीव्र हुन सक्ने देखिएको छ ।

गएको प्रतिनिधिसभामा कांग्रेस केन्द्रीय सहमहामन्त्री एवम् पूर्व राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिना र तत्कालीन एमालेका खतिवडाबीच भिडन्त भएको थियो । सो निर्वाचनमा दुई जना २३ वर्षपछि आमने सामने भएका थिए । अहिले डिना आफ्नो निर्वाचन क्षेत्र छोडेर मकवानपुर १ तिर निर्वाचन लड्ने भनेर लाग्नुभएको छ भने खतिवडा पनि आफ्नो गृहक्षेत्र छोड्नेमा पर्नुहुन्छ ।

२०७४ को निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार बन्नुभएका खतिवडाले ४४ हजार ७ सय ४४ मत ल्याउँदा डिनाले ३२ हजार ६ सय ८१ मत मात्र ल्याउनुभएको  थियो । अहिले आफ्नै कार्यकर्ताको मतले मात्र खतिवडाले जित्ने आधार देखिदैन उहाँलाई गठबन्धनको भर पर्नुपर्ने भएको छ ।

मकवानपुर–२ मा हेटौंडा उपमहानगरका १, ३, ११ र १९ वडा र मकवानपुरगढी गाउँपालिकाका ५, ६, ७ र ८ वडा पर्छ भने मनहरी, कैलाश, राक्सिराङ, भीमफेदी र इन्द्रसरोवर गाउँपालिका तथा थाहा नगरपालिका पर्छन् । गएको स्थानीय तह निर्वाचनमा गठबन्धनबाट मनहरी, राक्सिराङ, कैलाश, मकवानपुरगढी गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसले र थाहा माओवादीले जितेको थियो भने एमालेले भीमफेदी र इन्द्रसरोवरमा मात्र जितेको छ ।

२०१७ सालमा जन्मिएका खतिवडा ४ वटा संसदीय निर्वाचनको प्रतिस्पर्धामा कुनै पनि निर्वाचनमा हार बेहोर्नुपरेको छैन भने २०४३ को जनपक्षीय उमेद्वार हुँदा भने पराजय व्यहोर्नु परेको थियो ।

२०४८ मा थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्ट, २०५१ मा राप्रपाका कमल थापा, ०५६ मा मालेका हिरण्यलाल श्रेष्ठलाई पराजित गर्नुभयो । खतिवडाको राजनीतिक यात्रा २०२८ सालमा हेटौंडाको भुटनदेवी माविमा विद्यार्थी संगठनको उपसचिवको जिम्मेवारीबाट सुरु भएको थियो ।  २०३५ सालमा अनेरास्ववियु काठमाडौं जिल्ला अध्यक्ष भएका खतिवडा २०३७ देखि २०४० सालसम्म अनेरास्ववियुको केन्द्रीय सदस्य हुनुभयो ।  नेपाल ल क्याम्पसको स्ववियु सचिवको जिम्मेवारी समेत उहाँले निर्वाह गर्नुभएको थियो ।

नेकपा एमालेको लेखा आयोगको सदस्य, उद्योग विभागको सदस्य समेत रहिसक्नुभएका खतिवडा एमाले र तत्कालीन नेकपाको केन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो । पञ्चायतविरुद्धको राजनीतिक आन्दोलन र राजतन्त्रविरुद्धको आन्दोलनका क्रममा मन्त्री खतिवडा जेल तथा हिरासतमा समेत पर्नुभएको थियो ।

यता २०४० सालमा जन्मिएका बर्तौलाले २०५३ सालमा श्री कालिका मा.वि. नामटारमा कक्षा ७  मा अध्ययनरत रहँदा अनेरास्ववियु प्रारम्भिक कमिटीको अध्यक्षको जिम्मेवारी सहित राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको हो । २०५४, ०५५ सालमा अनेरास्ववियु इलाका  कमिटी तथा निर्वाचन क्षेत्रीय कमिटीको पदाधिकारी हुनुभयो । बर्तौला २०५८ सालमा जिल्ला कमिटी सचिव र २०६० र  ०६२ मा अनेरास्ववियु मकवानपुरको दुई पटक जिल्ला अध्यक्ष हनुभएको थियो ।

अनेरास्ववियु नारायणी अञ्चल कमिटी सदस्य हुँदै उपाध्यक्ष, मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य हुँदै २०६२ र ०६५ मा गरी दुई पटक स्वतन्त्र विद्यार्थी युनियनको सभापतिको जिम्मेवारी प्राप्त गर्नुभएको थियो । बर्तौला स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपालको केन्द्रीय संयोजक, अनेरास्ववियुको मध्यमाञ्चल विकास क्षेत्रीय प्रमुख, दुई पटक केन्द्रीय सचिवालय सदस्य, केन्द्रीय सचिव, केन्द्रीय उपाध्यक्ष र केन्द्रीय कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी बहन गरिसक्नुभएका व्यक्ति हुनुहुन्छ ।

नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटी सदस्य, २०७८ मै नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य र अहिले नेकपा एमाले बागमती प्रदेश कमिटी उपसचिवका रुपमा क्रियाशील हुनुहुन्छ । लोकतन्त्रको पक्षमा आन्दोलन गर्दा  पटक पटक गिरफ्तारी समेत पर्नुभएको छ  । बर्तौला अहिले स्नातकोत्तर अध्ययन सकेर विद्यावारिधिको तयारी गरिरहनुभएको छ । जनप्रतिनिधि नभए पनि अनेरास्ववियु र स्वतन्त्र विद्यार्थी युनियनमा पटक पटक निर्वाचन लडेको अनुभव बर्तौलासँग पनि रहेको छ ।

विगतमा एमालेले सांसद बनाएका खतिवडालाई यसपटक एमालेलाई नै हराएर सांसद बन्नुपर्ने चुनौती छ भने विगतका चुनावमा जिताउन खटिएका बर्तौला यस पटक उनैलाई हराएर सांसद बन्नुपर्ने अवस्था छ ।

४ पटक निर्वाचन लडेर चारै पटक सांसद भइसक्नुभएका ६२ वर्षीय खतिवडा र संसदीय निर्वाचन पहिलो पटक लड्दै गर्नुभएका ३९ वर्षका बर्तौलाको भिडन्त धेरैका लागि पर्खाइको विषय बनेको छ । सशक्ततवरले बोल्दै मुसुक्क हाँसेर सबैलाई आफूप्रति आकर्षित गर्ने बर्तौला र प्रखर वक्ताको रूपमा परिचय बनाएका खतिवडामध्ये कसले बाजी मार्ने हो भन्ने निर्णयको लागि मंसिर ४ को निर्वाचनको परिणाम नै कुर्नुपर्ने भएको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रकाश दाहाल/हेटौंडा का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link