मकवानपुर १(क): पूर्व सांसद र पूर्व गाविस अध्यक्ष बीचको रोचक भिडन्त

प्रकाश दाहाल

निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूको चुनावी रणनीति बनाउँदै अगाडि बढिरहेका छन्। जनताको घरदैलोमा नेता कार्यकर्ताको दौडधुप चलिरहेको छ।
मकवानपुरको क्षेत्र नम्बर १ (क) मा संविधान सभा सदस्य तथा पूर्व सांसद प्रेमबहादुर पुलामी र पूर्व गाउँ विकास समितिका अध्यक्ष कमल बिष्ट बीच प्रतिस्पर्धा हुँदैछ।
२०६४ को संविधानसभा सदस्यमा विजयी भएका पुलामी नेकपा माओवादीका २०७४ सालमा यही क्षेत्रबाट प्रतिनिधित्व गरी वाम गठबन्धनबाट निर्वाचित हुनुहुन्थ्यो। यसैगरी साबिक हटिया गाउँ विकास समितिमा दुईपटक अध्यक्ष भएका बिष्ट पनि नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएको छ। नेपाली काङ्ग्रेस नेतृत्वको गठबन्धनबाट माओवादीबाट पुलामीले टिकट पाउनुभयो भने एमालेबाट बिष्ट मैदानमा हुनुहुन्छ।
पुलामीले बागमती गाउँपालिका वडा नम्बर ६ ठाडीखोलाका पुलामीले २०४८ सालबाट राजनीतिक यात्राको सुरु गर्नुभएको हो । २०४९ सालदेखि २०५२ सम्म जनमुक्ति सांस्कृतिक संघमा आवद्ध रहि काम गर्नुभयो। नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट जनयुद्धको घोषणा गरेपछि पुलामी छापामार हुनुभयो।
२०५५ सालमा प्रहरीले पक्राउ गरेपछि ३ महिनासम्म जेल जीवन बिताउनुभएको छ। भूमिगत कालमा नै २०५६ मा मकवानपुर जिल्लाको छापामार दलको कमान्डर समेत बन्नुभयो।
२०५८ सालमा मकवानपुरको पूर्वी इलाका जनसरकार प्रमुख , २०५९ मा जनमुक्ति सेनाको कमिसार, २०६० मा रसुवा-नुवाकोट-सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी हुनुभयो। २०६१ मा जनमुक्ति सेनाको बटालियन कमिसार बन्दै २०६२/६३ मा जनआन्दोलनमा सहभागी  हुनुभयो। जनआन्दोलनले पूर्णता पाएसँगै घोषणा भएको २०६८ सालदेखि पार्टी केन्द्रिय सदस्य, मकवानपुर जिल्ला अध्यक्ष पनि हुनुभयो। हाल उहाँ नेकपा माओवादी केन्द्र बागमती प्रदेशको उपाध्यक्ष हुनुहुन्छ।
यस्तै मकवानपुरको क्षेत्र नम्बर– १ को प्रदेशसभा सदस्य ‘क’ नेकपा एमालेतर्फका उम्मेदवार  कमल विष्ट चुनावी मैदानमा हुनुहुन्छ। गठबन्धन विरुद्धको एमालेतर्फका उम्मेद्वार विष्टले गाविस अध्यक्ष देखि विभिन्न सामाजिक अभियन्ताका रुपमा अनुभव प्रयोग गरेर प्रदेशसभाको नेतृत्व लिने दौडमा हुनुहुन्छ। विष्टले २०३४ सालबाट  राजनीतिमा यात्रा सुरु गरेर २०३६ सालको आन्दोलनमा सक्रिय रहदा भारत निर्वासित समेत हुनुपरेको थियो। २०४६ सालको आन्दोलनमा  नेतृत्व गर्दै आन्दोलनमा  सक्रिय रहेका विष्टले २०४९ देखि २०७८ सम्म  एमालेका गाउ कमिटी, इलाका कमिटी, जिल्ला कमिटी सदस्यको जिम्मेवारी सम्हाल्नुभएको छ।
विष्ट २०४९ र २०५४  साबिक हटिया गा.वि.स.अध्यक्षमा निर्वाचित भएर जिम्मेवारी बहन गरीसक्नुभएको छ। खानेपानी महासङ्घ, विधालय व्यवस्थापन, विभिन्न सहकारी, सामाजिक संघ–संस्था मा समेत नेतृत्व सम्हालेको अनुभव बिष्टसङ्ग छ।
विशेषत: मकवानपुरको पुर्वी क्षेत्र यो यो प्रदेश निर्वाचन क्षेत्रमा पर्दछ। यसमा बागमती गाउँपालिका, बकैया गाउँ पालिका, मकवानपुर गढी गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडा तथा हेटौंडा उपमहानगरपालिकाको १६, १७ र १८ नम्बर वडा पर्दछ।
गएको स्थानीय तह निर्वाचनमा बागमती गाउँपालिका नेकपा माओवादी केन्द्र बकैया र मकवानपुर गढी गाउँ पालिका नेपाली काङ्ग्रेस  र हेटौंडा उपमहानगरपालिका नेकपा एसले जितेका छन्।
यो पटकको निर्वाचनमा यो प्रदेशमा नेपाली काङ्ग्रेस र नेकपा एकीकृत समाजवादीको उम्मेदवार नभएकोले नेकपा एमालेले उनीहरुको भोट तान्ने रणनीति लिएको छ। यस्तै माओवादीले गठबन्धनको भोट जोगाएको खण्डमा पनि जित सहज हुन सक्ने देखिन्छ। पुराना एमाले नेता बिष्ट जनतामाझ लोकप्रिय छबिका कारण अन्य मतदाताको भोट तान्ने स्थानीय बताउन थालेका छन्। पुलामी पनि दुई दुई पटक संसदमा उपस्थिति जनाएकोले उनी पनि कम छैनन्।
पहिलोपटक संसद हुने दाउमा लागेका बिष्ट र संसदमा ह्याट्रिक गर्ने दाउमा लागेका पुलामीको प्रतिस्पर्धा कडा हुन सक्ने अनुमान छ। यो प्रदेशमा जम्मा कुल मतदाता ७७ हजार ९८९ रहेका छन्। जसमा पुरुष ४० हजार १११ र महिला ३७ हजार ८७७ र अन्य मतदाताको सङ्ख्या १ जना रहेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रकाश दाहाल/हेटौंडा का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link