सूर्य चिह्न बोकेर कमल थापा मकवानपुर- १ मा डिना र दिपकसँग भिडदै

प्रकाश दाहाल

मकवानपुर क्षेत्र नं. १ मा केन्द्रीय नेताबीच भीडन्त हुने भएको छ । यसक्षेत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा केन्द्रीय सदस्य दिपकबहादुर सिंहबीच भिडन्त हुने भएको हो ।
आम निर्वाचन २०७९ को चर्चासँगै मकवानपुरमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र उहाँ उठेको क्षेत्र पनि चर्चामा रहेको छ । पटक पटक निर्वाचन लडेका थापा यसपटक फेरि मकवानपुर क्षेत्र नम्बर एकबाट प्रतिस्पर्धामा उत्रिनु भएको छ । २०३८ सालदेखि राष्ट्रिय राजनितिमा उम्मेदवार हुन थाल्नु भएका थापा हालसम्म ७ पटक चुनाव लडिसक्नु भएको छ भने उहाँलाई ७ मध्ये २ वटामा मात्र सफलता मिलेको थियो। विगतमा भन्दा यसपटकको अवस्था भने फरक रहेको छ । उहाँसँग ४० वर्षको राजनीतिक यात्रामा सँगै रहेका दिपकबहादुर सिंह उहाँविरुद्ध प्रतिस्पर्धामा हुनुहुन्छ । थापा नेकपा एमालेको चुनाव चिह्न सूर्य लिएर एमालेको साथ लागेर चुनावी मैदानमा हुनुहुन्छ ।
बहुदलीय व्यवस्था अवलम्बन गर्नुअघि २०३८ र २०४३ सालमा कमल थापा मकवानपुरबाटै उम्मेदवार बन्नुभएको थियो। ०३८ सालमा पराजित भए पनि ०४३ सालमा भने उहाँ सफल हुनुभएको थियो । बहुदलीय व्यवस्था आए लगत्तै २०४८ सालमा भएको निर्वाचनमा भने उहाँ पराजित हुनुभयो। त्यतिबेला नेकपा एमालेका कृष्णप्रसाद दाहालसँग कमल थापा पराजित हुनु भएको थियो । बहुदल आएपछि पञ्चहरूको नेतृत्व गर्ने थापालाई करिब ५ हजार मतान्तरले एमालेका नेता कृष्णप्रसाद दाहालले पराजित गर्नुभएको हो।
त्यसैगरी २०५१ सालमा संसद्को मध्यावधि निर्वाचन भयो। त्यो निर्वाचनमा पनि थापा र दाहालसँगै भिड्नुभयो। थापाले त्यो समयमा मकवानपुर एक र दुईबाट उम्मेदवारी दिनुभएको थियो। मकवानपुर एकको थापाको पक्षमा र २ को परिणाम एमालेको पक्षमा गयो। २ बाट थापालाई पराजित गर्दै एमालेका विरोध खतिवडा निर्वाचित हुनुभयो। २०४८ सालमा दाहालले हराएको बदला पूरा गर्दै थापा १६ हजार ७ सय ५३ मतसहित विजयी बन्दा दाहालको १५ हजार ८२ मत मात्र आएको थियो । राप्रपाबाट सांसद भएका थापालाई त्यसपछिका सरकारमा मन्त्रीसम्म हुने अवसर प्राप्त भयो ।
त्यसको ५ वर्षपछि २०५६ सालमा पनि थापा र दाहाल बीच नै भिडन्त हुने निश्चित भयो । दाहाल हारको बदला लिने दाउमा हुनुहुन्थ्यो भने थापा जित कायम राख्न लागि पर्नुभएको थियो । फलत: निर्वाचनको नतिजा पुन: एमालेका दाहालको पक्षमा गयो । मन्त्री पदमा बहाल रहेका थापाको हार हुन गयो । मकवानपुर ३ बाट पनि उठेका थापा एमालेका बीरबहादुर लामासँग करिब २ हजारको मतान्तरले पराजित हुँदै दुबै निर्वाचनमा हार्नुभयो।
२०५६ सालपछि सम्पन्न दुईवटा संविधानसभा निर्वाचनमा एमाले दुबै पटक निकटतम प्रतिद्वन्द्वीका रूपमा चित्त बुझाउन बाध्य भयो ।

यस्तै स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा लडेका राप्रपाका केन्द्रीय सदस्य दिपकबहादुर सिंहसमेत यस क्षेत्रमा उम्मेद्बार हुनुहुन्छ। २०५४ सालमा पहिलोपटक मेयर पदका लागि चुनाव लडेका सिंह एमालेका डोरमणि पौडेलसँग करिब १२०० मतान्तरले पराजित हुनुभयो। २०५६ सालको प्रतिनिधिसभामा निर्वाचनमा मकवानपुर–२ मा चुनाव लडेका उनी विरोध खतिवडासँग पराजित भएका थिए ।
२०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर–३ मा राप्रपा नेपालबाट उम्मेदवार बनेका दिपकबहादुर सिंह एमालेका अनन्तप्रसाद पौडेलसँग पराजित हुनुभयो। २०७९ वैशाख ३० गतेको स्थानीय चुनावमा हेटौडा उपमहानगरपालिकाको मेयरमा पनि उहाँ पराजित हुनुभयो। चार दशकसम्म कमल थापाको हरेक राजनीतिक बाटोमा साथ रहेका सिंह २०७८ फागुनबाट राप्रपामै बस्नुभएको छ। राप्रपाको अध्यक्षमा चुनाव हारेका थापाले राप्रपा नेपालतिर लागेपछि सिंह साथ पाउनु भएन। अहिले थापा र सिंह एक अर्काका प्रतिस्पर्धी हुनुहुन्छ।
४ बाट २ वटा क्षेत्रमा झरेको मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट काँग्रेस सहमहामन्त्री एवम् पूर्व राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिना पनि चुनाव लड्दै हुनुहुन्छ। २०४८ सालमा एमालेका विरोध खतिवडासँग मकवानपुर क्षेत्र नम्बर २ बाट चुनाब लडेर दोस्रो भएकी डिनाले ५१ सालमा भने लज्जास्पद हार व्यहोर्नुपरेको थियो। डिनाको हार मात्र भएको थिएन धरौटी समेत जफत भएको थियो। त्यसपछि निर्वाचन नलडेकी डिना २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा भने समानुपातिकबाट सभासद हुनुभएको थियो ।
कांग्रेस सहमहामन्त्री समेत रहेकी डिना यसपटक सत्ता गठबन्धनका उम्मेदवार हुनुहुन्छ। उहाँले २०४८ सालमै प्रतिनिधिसभाको चुनाव लड्नुभएको थियो। डिना, थाहाका प्रणेता रुपचन्द्र विष्टसहित एमालेका विरोध खतिवडासँग समेत चुनाव लड्नुभएको थियो। त्यसवेला खतिवडाले जित्नुभयो। २३ वर्षपछि २०७४ को चुनावमा खतिवडासँग डिना फेरि प्रत्यक्षतर्फ चुनाव लडनुभयो, र वाम गठबन्धनका उम्मेदवार खतिवडासँग पराजित हुनुभयो।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रकाश दाहाल/हेटौंडा का अन्य पोस्टहरु:
सूर्य चिह्न बोकेर कमल थापा मकवानपुर- १ मा डिना  र दिपकसँग भिडदै
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link