अन्धविश्वास र विश्वास दुवैको जग वस्तुगत हुँदैन। दुबै कुरा विषयगत हुन्। भौतिक विज्ञानमा दुवै विषय स्वीकार्य विषय होइनन्। भौतिक विज्ञानले पदार्थको सत्ता वा वस्तुगत जगबाहेकका सबै विषयहरूलाई अवैज्ञानिक मान्दछ।
समाजशास्त्र पनि विज्ञान हो, विषयगत विज्ञान। समाजशास्त्रमा अन्धविश्वास र विश्वास दुवै स्वीकार्य विषय हुन्। दुवैलाई दृष्टिकोण मानिन्छ। दुवैलाई सिद्ध वा असिद्ध गर्न तर्क, तथ्य एवं तथ्याङ्क भए पुग्छ। एउटा व्यक्ति वा समूहलाई कुनै अभ्यास (विषय) तर्क, तथ्य र तथ्याङ्कको आधारमा अन्धविश्वास लाग्नसक्छ भने त्यही अभ्यास (विषय) अर्को तर्क, तथ्य र तथ्याङ्कको आधारमा विश्वास हुनसक्छ। तसर्थ अन्धविश्वास र विश्वास दुवै वैयक्तिक एवं विषयगत विषय मात्र नभएर सापेक्षित विषय पनि हुन्।
हाम्रो समाजमा प्राचीनकालदेखि नै अभ्यासमा रहेको (दैवव्यापश्र) झारफुक चिकित्सा यस्तै विषयगत अभ्यासहरू मध्येको एक हो। विश्वास लाग्नेले निरन्तर यसको अभ्यास गरिरहेको छ। सेवा लिनेले निरन्तर सेवा लिएर लाभ पाइरहेको छ। अविश्वास लाग्नेहरू यसलाई निरन्तर तिरस्कार गरिरहेका छन्। साथै उनीहरूले धामीझाँक्रीहरूको निरन्तर संगठित रूपमा दुष्प्रचार एवं विरोध गरिरहेका छन्।
आयुर्वेदको कार्यक्षेत्र शरीर, इन्द्रिय, मन र आत्मा यी ४ हुन्। दैवव्यापश्रय चिकित्साको कार्यक्षेत्र विशेषरूपमा मन (मानसिक) र आत्मा (आत्मिक) हुन्छ। दैवव्यापश्रय भनेको नै साधारण शब्दमा झारफुक चिकित्सा हो। यही झारफुकको अभ्यास गर्ने व्यक्तिहरूलाई आम रूपमा धामी एवं झाँक्री भनिन्छ।
आयुर्वेद वेदहरूमध्येकै अथर्ववेदको शाखा मानिन्छ। चरकसंहितामा मुलभूत रूपमा ३ प्रकारको चिकित्सा उपदेश गरिएको छ: युक्तिव्यापश्रय, दैवव्यापश्रय र सत्वावजय चिकित्सा। चरकसंहिताका टिप्पणीकर्ता आचार्य डलहणले दैवव्यापश्रय चिकित्सालाई प्रथम स्थान दिएका छन्। किनभने यस चिकित्साको प्रभाव तत्कालै हुन्छ। साथै यसको सम्प्राप्ति पनि अज्ञात हुन्छ। त्यसैगरी भैषज्य रत्नावली ग्रन्थमा पनि दैवी (श्रेष्ठ), आसुरी एवं मानुसी गरी ३ प्रकारका अभ्यासहरूको व्याख्या उल्लेख गरिएको छ। दैवव्यापश्रयमा ‘दैव’ भनेको अदृष्य वस्तु वा पूर्वमर्कहरू र त्यसको प्रभाव मानिन्छ।
हाम्रो समाज धेरैले दैवव्यापश्रय चिकित्सालाई धर्मसँग जोडेर हेर्छन्– जुन गलत हो। दैवव्यापश्रयलाई अध्यात्मसँग जोडिन्छ– त्यो पनि सही होइन। धर्म र अध्यात्म दुवैको उदेश्य जीवन मुक्ति हो तर दैवव्यापश्रय चिकित्साको उद्देश्य केवल आरोग्यता प्रदान गर्नु मात्र हो। दैवव्यापश्रय चिकित्सा विज्ञान हो तर यसको विज्ञान बुझ्न नसक्नेहरूले यसलाई सधैं अन्धविश्वासको आवरणले ढाकिरहेका छन्। पश्चिमाहरूको प्रभाव पूर्वको सबै विधाहरूमा परेको छ, हरेक चिजलाई पश्चिमाहरू वस्तुवादी बनाउन चाहन्छन् तर दैवव्यापश्रयलाई वस्तुवादी बनाउन सम्भव छैन। किनभने दैवव्यापश्रय कार्यकारण सिद्धान्तमा आधारित हुँदैन। दैवव्यापश्रयले अचिन्तय “प्रभाव” घटकले कार्य गर्ने गर्दछ।
आयुर्वेदको कार्यक्षेत्र शरीर, इन्द्रिय, मन र आत्मा यी ४ हुन्। दैवव्यापश्रय चिकित्साको कार्यक्षेत्र विशेषरूपमा मन (मानसिक) र आत्मा (आत्मिक) हुन्छ। दैवव्यापश्रय भनेको नै साधारण शब्दमा झारफुक चिकित्सा हो। यही झारफुकको अभ्यास गर्ने व्यक्तिहरूलाई आम रूपमा धामी एवं झाँक्री भनिन्छ। वस्तुत: झारफुक पनि चिकित्सा पद्धति नै हो एवं धामीझाँक्री पनि चिकित्सक (सामाजिक डाक्टर) हुन्। मानसिक रोगहरूमा विशेषत: दैवव्यापश्रय चिकित्साको प्रयोग प्रभावकारी निर्देश गरिएको छ।
आथर्ववेद र कौशिक सुत्र दैवव्यापश्रय चिकित्साको प्रमुख ग्रन्थ मानिन्छ। वैदिक समाजमा कुनैबेला दैवव्यापश्रयको अध्ययन, प्रशिक्षण र अभ्यास व्यापक रूपमा हुने गर्थ्यो तर त्यसको संस्थागत पुस्तान्तरण एवं अनुशासित प्रयोग हुन नसक्दा विस्तारै यो विद्याको अहिले अवशेषहरू मात्र बाँकी छ। भौतिकवादी आधुनिक समाजले पनि यस विद्यालाई देखी सहेन। फलत: धामीझाँक्री र झारफुक चिकित्सा कर्मलाई कानुनले पनि गैरकानुनी घोषित गरिदिएको छ। यो पूर्वीय समाजको विमार्गगमन हो। समृद्ध वैदिक सभ्यता र ज्ञानको स्खलन हो। सँगै यसलाई वैदिक ज्ञान माथिको बाह्य आक्रमणको रूपमा पनि अथ्र्याउन मिल्छ। यो अपमान हो।
गतिशील मानव समाज यस्तो मैदान हो जहाँ फेक (अन्धविश्वासपूर्ण) अभ्यास कालखण्डसँगै स्वत: हराएर जान्छ। जस्तै दासप्रथा, सतीप्रथा, जातीय छुवाछुत, आदि। त्यस्तो अभ्यास जसले निरन्तर परिणाम दिइराखेको र मानवजगतलाई फाइदा भइरहेको छ तर ती अभ्यासहरू तर्कसङ्गत बनिसकेको छैन भने त्यस्ता अभ्यासलाई अवैज्ञानिक मान्नु हतारको निर्णय हुनसक्छ। अन्धविश्वास भनि हाल्नु गलत हुनेछ।
दैवव्यापश्रय चिकित्सा विश्वमा सबैतिर अभ्यासमा भेटिन्छ। हिन्दु, बौद्ध, इसाई, ईस्लाम, आदि धार्मिक अभ्यासहरूमा पनि दैवव्यापश्रय चिकित्साको अंश पाइन्छ। स्थान विशेषमा केवल स्वरूप, विधि र सामग्री मात्र फरक हुन्छन्। पश्चिमा जगत्मा सामानिजम् विधाको रूपमा संस्थागत भएको विद्या हो– दैवव्यापश्रय। धार्मिक एवं आध्यात्मिक गतिविधिहरू बीच नै धामीझाँक्रीहरूले झारफूक अभ्यास गर्ने भए पनि यसको उद्देश्य फरक भएकाले धर्म एवं अध्यात्मभन्दा यो स्वतन्त्र विधा हो।
आयुर्वेदीय दैवव्यापश्रयको अभ्यासमा निम्न साधनहरूको प्रयोग गरिन्छ :
क्र.सं. | साधन | अर्थ |
१ | मन्त्र | विशेष शब्द उच्चारण |
२ | औषधी | जडीबुटी प्रयोग वा सेवन |
३ | मणि | जडीबुटी वा धातु आदि धारण |
४ | मंगल | शुभकार्य |
५ | बली | बलि |
६ | उपहार | दान |
७ | होम | हवन |
८ | नियम | सामाजिक अनुशासन |
९ | प्रायश्चित्त | क्षमायाचना |
१० | उपवास | व्रत |
११ | स्वस्तिवाचन | पवित्र वा शान्ति मन्त्रको पाठ |
१२ | प्रणिपात | भगवान्लाई समर्पण |
१३ | गमन | तीर्थयात्रा |
दैवव्यापश्रयलाई अन्धविश्वास मान्नेहरू के बुझिदिनुपर्यो भने विज्ञानको जन्म भएपछि विश्व ब्रह्माण्डलाई वैज्ञानिक दृष्टिकोणबाट हेर्न थालियो। त्यसैले विज्ञान भनेको एउटा हेर्ने उत्तम शैलीको नाम हो। विज्ञान मानव मस्तिष्को उपज हो जसर्थ विज्ञानको पनि धेरै दृष्टि दोष छन्। विज्ञान भन्दा पर केही छैन भन्ने बुझाइ अल्पज्ञान हो।
विज्ञानले विश्वको सृष्टि गरेको होइन। पहिलेदेखि अस्तित्वमा रहेको सृष्टिलाई एउटा विधिबाट अध्ययन मात्र गरेको। विज्ञानको अस्तित्व भन्दा पहिले पनि सौर्यमण्डल थियो। अहिले पनि छ। भोलि पनि रहला। कुनै बेला सूर्यले पृथ्वीलाई घुम्छ भन्ने तथ्य वैज्ञानिक मानिन्थ्यो। त्यसपछि पृथ्वीले सूर्यलाई घुम्छ भन्ने तथ्य वैज्ञानिक ठहरियो। केही समयपछि दुवैले एक अर्कालाई घुम्दैन भन्ने तथ्य पनि वैज्ञानिक नबन्ला भन्न सकिन्छ ?
हरेक परम्परागत सामाजिक अभ्यासहरूको सैद्धान्तिक जग अनिवार्य रुपमै हुने गर्दछ। विना सैद्धान्तिक जग ती अभ्यासहरूको प्रचलन समाजमा हावामा कदापि बसेको हुँदैन। ती सैद्धान्तिक जग या त शास्त्रीय चिन्तनधाराहरूसँग जोडिएको हुन्छ या त्यसै समाजको ऐतिहासिक सामाजिक विकासक्रमसँग संस्थागत रूपमा जोडिएको हुन्छ। जसलाई आजको आधुनिक विज्ञान र समाजशास्त्रका धेरै थरी सिद्धान्तको आलोकमा वैज्ञानिक एवं तर्कसङ्गत बनाउन सकिन्छ।
गतिशील मानव समाज यस्तो मैदान हो जहाँ फेक (अन्धविश्वासपूर्ण) अभ्यास कालखण्डसँगै स्वत: हराएर जान्छ। जस्तै दासप्रथा, सतीप्रथा, जातीय छुवाछुत, आदि। त्यस्तो अभ्यास जसले निरन्तर परिणाम दिइराखेको र मानवजगतलाई फाइदा भइरहेको छ तर ती अभ्यासहरू तर्कसङ्गत बनिसकेको छैन भने त्यस्ता अभ्यासलाई अवैज्ञानिक मान्नु हतारको निर्णय हुनसक्छ। अन्धविश्वास भनि हाल्नु गलत हुनेछ।
आँखाले नदेख्ने भएपछि वस्तुको अस्तित्व छैन भनी हाल्नु कत्तिको जायज कुरा होला। माईक्रोस्कोपको अभावमा सूक्ष्म जीवाणुहरू देखिँदैनथ्यो। के तिनीहरू अस्तित्वमा थिएनन् त ? आज इलेक्ट्रोन माईक्रोस्कोपको आविष्कार भइसकेपछि पनि परमाणुरूपी धेरै सूक्ष्म तत्त्वहरू देखिएका छैनन्। यसको मतलव पदार्थको अस्तित्व नै अवैज्ञानिक भन्न कदापि मिल्दैन। भौतिक विज्ञान आफैंमा पूर्ण छैन। तसर्थ भौतिक विज्ञानको दृष्टिलाई सम्पूर्ण मान्नु भ्रम हो।
गैरकानुनी घोषित दैवव्यापश्रय चिकित्सा, कानुनी रूपमा बैध रक्सी, चुरोट, गुटखाको बिक्री वितरण भन्दा निसन्देह कम हानी कारक हो। दैवव्यापश्रय सामाजिक विकृति किमार्थ होइन। यसको अभ्यासलाई गैरकानुनी घोषण गर्नु विदेशी षड्यन्त्र हो, वैदिक संस्कृतिको बदनामी हो। दैवव्यापश्रयको विज्ञान सूक्ष्म छ जसलाई भौतिक विज्ञानको चस्माले मात्र पुष्टि गर्न सकिँदैन। दैवव्यापश्रयले तत्काल कार्य गर्छ, लाखौं व्यक्तिले लाभ पाएका छन्। यो कारगर छ। समाजमा कुनै पनि अन्धविश्वासको अस्तित्व यति लामो समयसम्म टिक्न सक्दैन।
विश्वमा अहिले मानसिक र आत्मिक समस्याहरू बढी रहेको परिवेशमा दैवव्यापश्रयको नियन्त्रण र निस्तेज होइन यसलाई व्यवस्थित रूपमा संस्थागत गरिनुपर्छ। तिरस्कार होइन संयोजन गर्नसके फलदायी नै हुने छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
डा. रामदेव पण्डित, (आयुर्वेद चिकित्सक) का अन्य पोस्टहरु:
- भात स्वस्थकर कि रोटी ?
- हानिकारक प्रशोधित खानाको लतमा नेपाली
- बढ्दो ‘केक कल्चर’को दुष्प्रभाव
- आयुर्वेदिक औषधिको ‘एक्सपाइरी डेट’ हुन्छ ?
- रक्सीसित मासुकै सितन किन ?
- डेंगु रोगः मेवा–पातको रस र विज्ञान
- दशैंको स्वास्थ्य सुत्र
- बढी मसला हाले मिठो हुन्छ भन्ने बुझाइ नै गलत
- डेंगु रोगको उपचारमा मेवा–पात रसको वैज्ञानिक प्रामाणिकता
- लसुन र प्याज रोक्नु पछाडिको विज्ञान