तनहुँमा चितुवा आतङ्कः बरन्डाबाटै बच्चा तान्न थाल्यो

पाँच वर्षमा चितुवाले १२ बालबालिका मारिसकेको छ भने यसै समयमा ३४ वटा चितुवा मरे वा मारिए र १९ वटालाई अन्यत्र लगिएको छ।

नारायण खड्का

तनहुँमा विगत पाँच वर्षदेखि देखिएको मानव वन्यजन्तु बीचको द्वन्द्व अझै अन्त्य हुन सकेको छैन्। द्वन्द्वका कारण ठूलो मात्रमा जनधनसँगै ३४ चितुवा पनि मारिएको छ। अनेकन प्रयास भएपनि चितुवा आतङ्क रोकिन सकेको छैन।

चितुवा आतङ्क रोकिनुको सट्टा झन बढ्न थालेको छ। घरघरमै चितुवा आएर विशेष गरी बालबालिकालाई आक्रमण गर्न थालेको छ। आइतबार राती करिब १२:३० बजेको समयमा घरको बरन्डामा सुतिरहेका आमा छोरालाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ।

तनहुँको व्यास नगरपालिका –११ राम्चे स्थित पातीघारीमा घरको बरन्डामा सुतिरहेका आमाछोरालाई चितुवाले आक्रमण गरेको हो। आमाको काखमा सुतिरहेको ९ वर्षीय छोरालाई चितुवाले टाउकोमा पञ्जाले हिर्काएर घाइते बनाएको ४९ वर्षीय आमा दिलमाया गुरुङले बताउनुभयो।

हामी आमा छोरा गर्मी भएर नयाँ बन्दै गरेको घरको बरन्डामा सुतेका थियौं। झुपुक्क निदाएको मात्र के थियौं छोराले मेरो टाउकोमा केले टोक्यो भन्दै रुन थाल्यो। त्यसपछि के हो भन्दै मैले निद्रामै हात हल्लाउँदा चितुवाले मेरो हातमा समेत टोक्यो’, आमा दिलमायाले भन्नुभयो, ‘त्यसपछि कराउँदै उठेर चितुवालाई हान्न खोज्दा चितुवा उम्केर भाग्यो। घरको भुइँतलामा सुतेका श्रीमान लगायत घरका अन्य सदस्यहरू उठेर बत्ती बाली कराउँदा चितुवा भागिसकेको थियो।’

घरमा आफ्नै काखमा च्यापेर सुतेको छोरा समेत चितुवाले खोस्न आएपछि स्थानीय आतङ्कित भएका छन्। नयाँ बन्दै गरेको घरमा आमाछोरा सुतिरहेका थिए। घरमा झ्यालढोका राख्न बाँकी रहेकाले उनीहरू घरकै बरन्डामा सुतेका थिए।

छोराको बायाँ कानमाथि टाउकोमा ४ वटा नङ्ग्रा गढेको घाउ छ भने आमाको बायाँ हात र हत्केलामा चितुवाले दाँत गाडेको दमौली अस्पतालका इमर्जेन्सी वार्डका अहेव महेन्द्र गौतमले बताउनुभयो। आमाछोराको अवस्था सामान्य रहेको र दमौली अस्पतालमा प्राथमिक उपचार गरी घर फर्किएका छन्।

उपचारका क्रममा चितुवाको आक्रमणमा परेका बालक

यस्तै, गत बुधबार (भदौ ८ गते) साँझ करिब ५:३० बजेको समयमा घरको आँगनमा खेल्दै गरेका बन्दिपुर गाउँपालिका–१ उपल्लोफाँटका ३ वर्षीय बालक सुलभ परियारलाई चितुवाले आक्रमण गरी गम्भिर घाइते बनाएको छ।

आमा घर भित्र खाना बनाउँदै गरेकी र छोरा घरको पीढी र आँगनमा खेलिरहेको अवस्थामा चितुवाले बालकलाई आक्रमण गरी जङ्गल तर्फ लगेको थियो। तत्काल आमाले थाहा पाएपछि हारगुहार गर्दै खेदेपछि चितुवाले बालक छोडेर भागेको थियो।

चितुवाले घरको आँगनबाट करिब ५० मिटर माथि जङ्गल तर्फ पुर्‍याएको छोरालाई २६ वर्षीय आमा लक्ष्मी परियारले ढुंगामुढा गरेर खोस्नु भएको हो। चितुवाको आक्रमणबाट गम्भिर घाइते भएका बालकको स्वास्थ्य स्थितिमा अहिले सुधार आएको छ।

गम्भिर घाइते सुलभलाई डुम्रे स्थित मोती मेडिकलमा प्राथमिक उपचार पश्चात चितवन मेडिकल कलेज पुर्‍याइएको छ। कलेजमा शल्यक्रिया गरी उपचार अगाडि बढेकोले बालकको जीवन रक्षा भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बालकको सफल शल्यक्रियापछि हाल अवस्था सुधार हुँदै गएको बताउनुभयो। ‘बालकको घाँटीमा गम्भीर चोट लागेको रहेछ’, डा. दयारामले भन्नुभयो, ‘श्वासनली र रगत बग्ने मुख्य नशामा क्षति हुन नपाएका कारण बालकलाई बचाउन सकियो। चितुवाको आक्रमणबाट बालकको आँखा, नाक, मुखजस्ता महत्वपूर्ण अङ्ग क्षति हुनबाट जोगिएको रहेछ, श्वासनली र घाँटी हुँदै रगत बग्ने मुख्य नशामा क्षति हुन नपाएका कारण शल्यक्रिया सफल भएको हो।’

उपचारमा संलग्न चिकित्सकका अनुसार बालकको घाँटीमा मल्टिपलपञ्चर (ठाउँठाउँमा गहिरो चोट परेको र मासुसमेत च्यातिएको) थियो। देब्रे कान र अनुहारमा समेत चोट रहेका कारण टाँका लगाइएको छ भने घाँटीको शल्यक्रिया गरिएको छ। बच्चालाई सघन उपचारकक्षबाट साधारण कक्षमा सारिएको छ।

चितुवाको निसानामा बालबालिका

आफ्नै घर आँगनमा खेल्दै गरेका बालबालिका असुरक्षित बन्न थालेका छन्। तनहुँमा मानव र वन्यजन्तु बिच बढेको द्वन्द्वको चपेटामा बालबालिका पर्ने गरेका छन्। बन्यजन्तु चितुवाले घरआँगनमै आई खेल्दै गरेका तथा आमाको काखमा बसेका बालबालिकालाई समेत आक्रमण गरी आफ्नो सिकार बनाउन थालेको छ।

बन्दिपुर गाउँपालिका –१ बडीस्वाँरामा गत जेठ ३१ गते मंगलबार दिउँसो करिव ४:४५ बजेको समयमा चितुवाले आँगनमै खेल्दै गरेका एक बालकलाई आक्रमण गरी प्रेम बगाले मगरका ४ वर्षीय छोरा सुप्रिमलाई चितुवाले आक्रमण गरी ज्यान लियो।

उनीसँगै खेल्दै गरेकी ६ वर्षीय दिदी अचानक रुन कराउन थालेपछि नजिकै रहेकी आमा दौड्दै आउँदा चितुवाले छोरो च्यापेर जङ्गलतर्फ उक्लँदै गरेको देखिन्। तत्काल हारगुहार गरी पिछा गर्दा घरदेखि दुई सय मिटर माथि छपेली सामुदायिक वनमा बालक मृत अवस्थामा भेटिएका थिए।

बन्दिपुरको वडा नम्बर १ र ४ क्षेत्रमा चितुवा आतङ्क बढेको छ। चितुवाकै आक्रमणबाट स्थानीय ८ वर्षीया रियाना थापा घाइते भइन्। सो घटनाको ६ घण्टा बित्न नपाउँदै घरको पीढीमा सुतिरहेका ३५ वर्षीय भीमलाल गरञ्जालाई चितुवाले आक्रमण गरी घाइते बनायो।

तनहुँमा केही समय रोकिएको चितुवा आतङ्क पुन: बढेपछि त्रास बढेको बन्दिपुर–१ का सुकबहादुर सुमे मगर बताउनुहुन्छ। सुकबहादुर भन्नुहुन्छ, ‘घरघरमै आएर चितुवाले आक्रमण गर्न थाल्यो। ससाना केटाकेटीलाई मात्रै होइन यो चितुवाले ठूलालाई पनि छाड्दैन।’

सुकबहादुर भन्नुहुन्छ, ‘विद्यालय जाने समयमा सालघारी हुँदै रोडमा निस्कनु पर्छ, अब त बच्चाहरूलाई एक्लै विद्यालय पठाउन पनि डर हुने भयो।’

तीन वर्ष अगाडि छिमेकी भानु नगरपालिकाका बासिन्दा साँझ नपर्दै घरको झ्यालढोका लगाएर बसेको स्मरण गर्दै सुकबहादुरले भन्नुभयो, ‘तीन दिनभित्र चितुवाले तीन वटा घटना गराइसक्यो। चितुवाले यसरी नै आतङ्क मच्चाउन थाल्यो भने हामी पनि साँझ नपर्दै घरमा थुनिएर बस्नुपर्ने अवस्था नआउला भन्न सकिदैन।’

तनहुँमा पहिलो पटक २०७४ फागुन १ गते भानु नगरपालिका –३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठलाई चितुवाले आक्रमण गरी ज्यान लिएको थियो। त्यसयता जिल्लामा चितुवा आतङ्क बढ्दो छ। त्यस अगाडि चितुवाले घरपालुवा जनवारलाई आक्रमण गरेपनि मानिसलाई आक्रमण गरेको थाहा नपाएको स्थानीयहरू बताउँछन्।

करिव पाँच वर्षको अवधिमा चितुवाको आक्रमणबाट जिल्लामा १२ जना बालबालिकाले ज्यान गुमाएका छन् भने १५ जना घाइते भएका छन्। जिल्लाको भानु नगरपालिकाको वडा नम्बर १, , ३ र ४ क्षेत्रमा चितुवाको आतङ्क बढि थियो। यस क्षेत्रमा केही कम भएपनि अहिले आँबुखैरेनी, बन्दिपुर, व्यास र शुक्लागण्डकी क्षेत्रमा चितुवा आतङ्क देखिन थालेको छ।

चितुवाको आक्रमणबाट २०७४ यता भानुमा ६, आँबुखैरेनीमा १, बन्दिपुरमा ३ र शुक्लागण्डकीमा २ गरी १२ जना बालबालिकाको ज्यान गएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। यही समयमा तनहुँमा मानव र वन्यजन्तु बीचको द्वन्द्व बढेपछि ३४ वटा चितुवा मृत अवस्थामा भेटिएका छन् भने १९ वटा चितुवा सुरक्षित नियन्त्रणमा लिई स्थानान्तरण गरिएको छ।

द्वन्द्व रोक्ने प्रयास

मानव र वन्यजन्तु बीचको द्वन्द्व रोक्नका लागि डिभिजन वन कार्यालय तनहुँ र सम्बन्धित पालिकाको समन्वयमा विभिन्न कामहरू भएपनि प्रभावकारी बन्न सकेका छैनन्। कार्यालयले चितुवा प्रभावित क्षेत्रका सामुदायिक वन लगायतका क्षेत्रमा फलाम तथा परम्परागत काठको खोरमा पासो थापेर चितुवा नियन्त्रणमा लिई  स्थानान्तरण गर्ने, वन्यजन्तुलाई वनमै भुलाउन खानेपानीको श्रोत संरक्षण, पोखरी निर्माण फलफूलका बिरुवा रोपन लगायतका कार्य पनि गरेको छ। तर, चितुवा आतङ्क भने नियन्त्रणमा आउन नसकेको डिभिजन वन अधिकृत कोमलराज काफ्ले बताउनुहुन्छ।

जिल्लामा पुन: चितुवा आतङ्क देखिन थालेपछि स्थानीयबासीलाई बालबालिका एक्लै नछोड्न, घरवरीपरीका झाडी सरसफाई गर्न र वन जंगलमा घाँसदाउरा गर्न जाँदा समूहमा जान अनुरोध गर्दै आएको प्रमुख काफ्लेले बताउनुभयो।

कोमलराज भन्नुहुन्छ, ‘चितुवा निकै चनाखो प्राणी हो। साँझ र बिहान घरवरिपरी झाडीमा लुकेर सिकार गर्ने गर्छ। त्यसैले घर वरपरका झाडी सफा राख्न, एक्लै बालबालिका नछोड्न आग्रह गरेका छौं।’

चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, बनकुखुरा आदि लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिका माथि आक्रमण गर्न थालेको डिभिजन वन अधिकृत काफ्ले बताउनुहुन्छ।

चितुवा संरक्षणले पर्यावरण सन्तुलन राख्न मद्दत पुग्ने हुँदा एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्नु मात्रै समस्याको समाधान होइन’, कोमलराज भन्नुहुन्छ, ‘चितुवा आतङ्क रोक्नका लागि चितुवालाई आवश्यक पर्ने खाना, पानी, चितुवाको आहार प्रजातिका खानेकुराको जंगलमै व्यवस्था गर्दै चितुवाको संरक्षण गर्ने कार्यक्रम अगाडि बढाइएको छ।’

नेपाल सरकारले चितुवाको आक्रमणमा परी मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ र घाइतेलाई २ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने व्यवस्था गरेको छ। सो बमोजिम पीडित भएका परिवारलाई करिब एक करोड १६ लाख ६३ हजार ३६६ रुपैयाँ बढि राहत रकम वितरण गरेको डिभिजन वन कार्यालयले जनाएको छ।

आवरण तस्बिर सौजन्यः राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नारायण खड्का/तनहुँ का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link