सोसियल मिडियाको ‘नाउ दिस’ कसरी बन्यो समाचारको पावरहाउस

टिकटकमा लगभग ९० लाख फलोअर्स भएको नाउ दिसका भिडियोहरूमा सन् २०२२ को जुन महिनामा इन्स्टाग्राममा १९ करोड भ्युहरू भएको थियो

सोसियल मिडियालाई लक्षित गरेर सन् २०१२ मा  स्थापना गरिएको समाचार संस्था नाउ दिसका अध्यक्ष एथन स्टेफानोपौलोसले  समाचार र राजनीति विषयका लागि फेसबुक, युट्युब र ट्विटरमा अमेरिकामा सबैभन्दा बढी हेरिने ब्रान्ड कसरी बन्यो भनेर रहस्य खोल्नु भएको छ।

एथन स्टेफानोपौलोसले सोसल मिडिया केन्द्रित भएर समाचार रिपोर्टिङ गर्ने नाउ दिसले टेलिभिजनकै स्तरको गुणस्तरीय  समाचार सामग्री दिने मात्र होइन यसले त आफूलाई टिभी कार्यक्रम उत्पादन गर्न सक्ने ब्रान्डका रूपमा स्थापित गरेको छ।

डेमोक्रेटिक पार्टीतर्फ झुकाव भएको दस वर्ष पुरानो यो ब्रान्डको बेलायतमा पनि धेरै फलोअर्स छन्। टिकटकमा लगभग ९० लाख फलोअर्स भएको यसको एपलाई त्यसमा सबैभन्दा ठूलो समाचार माध्यमको ब्रान्ड मानिन्छ। सन् २०२२ को जुन महिनामा इन्स्टाग्राममा यसका भिडियोहरूमा १९ करोड भ्युहरू भएको थियो अर्थात १९ करोड पटक हेरिएको थियो।

एथनका अनुसार, यसको सफलता पछाडिको रहस्यचाहिँ सोसियल मिडियाका युवा प्रयोगकर्तालाई आकर्षित गर्ने विषय र शैलीको पहिचान गर्ने खुबीमा नै हो।  “युवाहरू माझ पुग्न चाहन्छौ भनेर सबैले भन्छन्, तर हामीले हाम्रो ब्रान्डको शुरुदेखि नै युवाका बीचमा पुग्ने काम गम्भीरताका साथ गर्‍यौ,” एथनले भन्नुभयो।

“हामी कहाँ छौ र को को सम्म पुगेका छौ भनेर हामीले गरेका केही अध्ययनहरूले के देखाउँछ भने संयुक्त राज्य अमेरिकाका हुन वा त्यसबाहिर संसारभरिका जेनेरेसन जेड अर्थात सन् १९९० अन्त्यतिर देखि सन् २०१० का बीचमा जन्मेकाहरू र त्यसअघि जन्मिएका मिलेनियम दर्शकहरूलाई हामीतिर तानिसकेका छौ। सायद आजको दिनमा अन्य समाचार ब्रान्डभन्दा बढी दर्शकका बीचमा हामी पुगिसकेका छौ,” एथनले भन्नुभयो।

उहाँले भन्नुभयो, “सबैभन्दा पहिला कतै पुग्नु भनेको सफल हुन हो भनिन्छ नि। तर होइन त्यो त चक्रव्यूहको पहिलो पङ्क्तिमा पुगेर समाधान खोज्ने मौका पाउनु मात्र हो। त्यसपछि थाहा पाइन्छ चक्रव्यूहको रचनाको दोश्रो पङ्क्तिमा के कुरा हुँदैछ भन्ने थाहा पाइन्छ। त्यहाँ अनेकन कुरा हुन सक्छन् जलवायु संकट र दिगोपन होस्, चाहे त्यो समानता होस्, वा (अमेरिकामा) बन्दुकसम्बन्धी सुरक्षाको बहसका कुराहरू। अनि बल्ल तेश्रो पङ्क्तिमा पुग्दा थाहा हुन्छ तथ्याङ्क र त्यसभित्रका रहस्यको ठूलो भूमिका हुन्छ। यो कुरा हामीले सुरुमै बुझ्यौ।

एथनका अनुसार भिडियो कतिञ्जेल हेरिन्छ, भिडियोले कस्ता विषयहरू समेटेको छ त्यो भिडियोलाई कसरी सम्पादन गरियो र त्यसो गर्दा मानिसहरूले भिडियो कतिञ्जेल हेरे भन्ने तथ्याङ्कमा नाउ दिसको टोलीको काम अगाडि बढ्छ।

कयौं पटक त साह्रै कम हेरिएका भिडियोहरूलाई पहिलेका आकर्षक शैलीबाट पुन: सम्पादन गरिएको पनि उहाँले बताउनुभयो।

नाउ दिस ग्रुप नाइनको स्वामित्वमा थियो। गत फेब्रुअरीमा ग्रुप नाइन भोक्स मिडियामा मर्ज भयो।

“हामीले कुनै पनि कार्यक्रम बनाउँदा त्यससम्बन्धी मुद्दा वा घटनाले मानिसहरूलाई कसरी असर गरिरहेको छ भन्ने लेन्स मार्फत कथाहरू भन्न थाल्छौ,” एथन भन्नुहुन्छ, “सन् २०१८ को पार्कल्यान्ड, फ्लोरिडा स्कुलमा गोलीकाण्डमा नाउ दिस सबैजसो पीडित विद्यार्थीहरूको विशेष अन्तर्वार्ता गर्न सफल भयो। त्यसकै आधारमा अन्तत: जेनेरेसन कोलम्बाइन नामक लामो वृत्तचित्र बनाइयो। अनि त्यो मौलिक सामग्रीले नाउ दिसको उज्ज्वल भविष्यको अर्को आधार स्तम्भ बन्यो।”

अहिले नाउ दिसले साझेदारी, प्रत्यक्ष विज्ञापन र टेक प्लेटफर्महरूमार्फत जाने अप्रत्यक्ष विज्ञापनबापत पैसा उठाउँछ। उत्पादकहरूलाई सामाजिक सञ्जाल प्लेटफर्महरूले दिने पैसा साह्रै अनिश्चित हुन्छ। त्यसमाथि अधिकांश प्लेटफर्महरूले मनिटाइजेशन (कुनै सामाग्रीलाई निश्चित सङ्ख्यामा प्राप्त गरिने पैसा) प्रस्ताव गर्दैनन् र तिनीहरू छिटोछिटो एल्गोरिदम परिवर्तन गरिरहन्छन्।

तर एथनका अनुसार सोसल मिडिया अझै पनि दर्शकहरू बढाउन, त्यसबाट पैसा उठाउन र परम्परागत मिडियालाई पछाडि  पारेर अगाडि बढ्न सक्छ। नाउ दिसले नेटफ्लिक्स, हुलु वा प्यारामाउन्ट प्लस जस्ता स्ट्रिमिङ जाइन्ट (डिजिटल माध्यमबाट भिडियो प्रसारण गर्ने ठूला कम्पनी) लाई कार्यक्रम तथा फिल्महरू उत्पादन गरेर दिएको छ। यसमा फिल्म टु डिस्ट्यान्ट स्ट्रेंजर्स पनि समावेश छ, जसले २०२१ एकेडेमी अवार्डमा सर्वश्रेष्ठ लाइभ एक्सन सर्ट फिल्मको लागि ओस्कार जितेको थियो।

एथन भन्नुहुन्छ,: “धेरै मानिसहरू उस्तै हामी पनि टिकटक जस्तो प्लेटफर्मका माध्यमबाट अगाडि बढ्न हिचकिचाइरहेका थियौ, अरूले जस्तै हामी पनि त्यसबाट कसरी पैसा कमाउने होला भनेर सोच्थ्यौँ। मानिसहरूले फेसबुकको बारेमा केही वर्ष अगाडिसम्म यस्तै सोच्थ्ये नि ।

उहाँ भन्नुहुन्छ, “तर डिजिटल मिडियाको मामिलामा, जुन तपाईंलाई पनि थाहा छ, विशेष गरी धेरै ठूलो सङ्ख्यामा दर्शकको भएको प्लेटफर्महरू अरू कसैद्वारा नियन्त्रण गरिन्छ भन्ने हामी जस्ता उत्पादकलाई पनि थाहा छ। तर हामीले आफूलाई उनीहरूमा धेरै निर्भर हुन दिनुहुन्न भन्ने सुनिश्चित गर्न महत्वपूर्ण छ ।”

उहाँ भन्नुहुन्छ, “मलाई थाहा छ हामीलाई छोटो सामग्री सोसियल मिडियामा फिड गर्नेहरूका रूपमा चिनिन्छ। म त्यसलाई भालाको टुप्पो ठान्छु जसको घोचाइबाट दर्शकले हाम्रो ब्रान्डका बारेमा थाहा पाउँछन्। अनि उनीहरू हाम्रो ब्रान्डको हिस्सा बन्छन्।”

सामाजिक सञ्जालका समाचार रिपोर्टिङलाई  प्राय: परम्परागत मिडियाजस्तो कडा रुपमा प्रस्तुत नभएको भनेर आलोचना गरिदै आएको छ । बीबीसी न्यूजले पनि पहिले आफू टिकटकमा सामेल नहुने बताएको थियो। बीबीसीको भनाई टिकटक साह्रै हल्का समाचारका लागि हो भन्ने थियो। तर गत मार्चमा आफ्नो अडान छाडेर बीबीसी टिकटकमा सामेल भयो।

“सोसियल मिडियाको छोटो फरम्याटका रिपोर्टिङहरू खोजमूलक र गहिरो हुन सक्छ,” एथन भन्नुहुन्छ, “यहाँ अमेरिकामा, धेरै अमेरिकीहरूका लागि समाचार प्रमुख स्रोत मानिएको साँझको समाचार हेर्नुभयो भने त्यो ३० मिनेटमा समाचार बन्ने अधिकांश समाचार एक वा दुई मिनेट लामा हुन्छन्, अर्कोतर्फ धेरै सामाजिक सञ्जाल सामग्री बनाउँदा हामीले एक मिनेटदेखि तीन मिनेटको औसत लम्बाइमा बनाउँछौँ।”

बेलायतबाट प्रकाशित हुने प्रेस ग्याजेटमा प्रकाशित सामाग्रीको भावानुवाद।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap