बजारको फोहोर खोला र जंगलमा

फोहोरमैला व्यवस्थापनको नारा दिएर चुनाव जितेका जनप्रतिनिधिले समस्याको दीर्घकालीन समाधान निकाल्न सकेका छैनन्।

नारायण खड्का

तनहुँका पालिकाहरूमा फोहोरमैला व्यवस्थापनको पाटो जटिल बन्दै गएको छ। बढ्दो बजारीकरणसँगै बजार क्षेत्रबाट निस्केको फोहोरमैला व्यवस्थापनको पाटो स्थानीय सरकारका अगाडि चुनौतीको पहाड जस्तै बन्न थालेको छ।

तनहुँका १० वटै पालिकाले व्यवस्थित ल्याण्डफिल्ड साइटको टुंगो लगाउन सकेका छैनन्। बजार क्षेत्रका घर, तरकारी पसल, होटल तथा रेष्टुरेन्टबाट निस्कने कुहिने र नकुहिने दुवै फोहोर व्यवस्थापन गर्न स्थायी फोहोर व्यवस्थापनको उपाय नहुँदा पालिकाले सबै फोहोर खोला, नदी किनार र जंगलमा फ्याल्दै आएका छन्। जथाभावि फोहोर फ्याल्दा वातावरण प्रदूषण हुनुका साथै फोहोरको गन्ध नजिकका वस्तिसम्म पुग्ने गरेको छ।

मुलुक संघीय संरचनामा गएसँगै फोहोरमैला व्यवस्थापनलाई नै मुख्य एजेण्डा बनाउँदै स्थानीय तहको निर्वाचनमा होमिएर निर्वाचित जनप्रतिनिधिहरूले यो समस्याको दीर्घकालीन समाधान निकाल्न सकेका छैनन्। बजारबाट निस्कने फोहोर उठाएर खोला किनार तथा जंगलमा फाल्नेबाहेक केही हुन सकेको छैन। समय–समयमा फोहोर मैला व्यवस्थापन अध्ययन अवलोकनका नाममा लाखौं रुपैयाँ खर्च गर्ने गरिए पनि उपलब्धि शून्य छ।

तनहुँको सदरमुकाममा रहेको व्यास नगरपालिका जिल्लाकै पुरानो नगरपालिका हो। दमौली यस नगरपालिकाको मुख्य आवादी भएको क्षेत्र पनि हो। नगरपालिकाले दमौली बजार क्षेत्रबाट दैनिक निस्कने फोहोर मैला व्यवस्थापनको स्थायी समाधान निकाल्न अझै सकेको छैन। फोहोरमैला व्यवस्थापनको पाटो व्यवस्थित गर्ने भन्दै विभिन्न जिल्लामा रहेका नमुनायोग्य ल्याण्डफिल्ड साइटको स्थलगत अध्ययन अवलोकन गरे पनि अहिलेसम्म स्थायी ल्याण्डफिल्ड साइट भने बनाउन सकेको छैन।

नगरपालिकाले ल्याण्डफिल्ड साइट अध्ययन भ्रमणका नाममा करिब २ लाख २० हजार र ल्याण्डफिल्ड साइट र ट्रस्ट निर्माण भनेर करिब ९ लाख रुपैयाँ खर्च गरिसकेको छ। नगरपालिकाभित्र व्यवस्थित र स्थायी ल्याण्डफिल्ड साइट स्थापनाका लागि जनप्रतिनिधि र वन, वातावरण तथा सरसफाइ शाखाका कार्मचारीहरू संयुक्त रूपमा तीन पटक विभिन्न स्थानको फोहोर व्यवस्थापन केन्द्रको भ्रमण तथा अवलोकन गर्न गइसकेका छन्। हालसम्म पनि स्थायी ल्याण्डफिल्ड साइट निर्माण गर्न नसक्दा ५ वर्षको अवधिमा फोहोर व्यवस्थापनका लागि ३ वटा ठाउँ फेरिसकेको शाखाका प्रमुख कृष्णराज घिमिरेले बताउनुभयो।

शाखाका प्रमुख कृष्णराजका अनुसार ०७४ पुस ४ गते ६४ जनाको सहभागितामा वालिङ भ्रमणमा ४९ हजार ५ सय, ०६५ असार २९ र ३० गते ३४ जनाको सहभागितामा हेटौडा भ्रमणमा एक लाख ३६ हजार ८ सय र ०७८ माघ ४ गते १६ जनाको सहभागितामा पुन: वलिङ भ्रमणमा ३२ हजार ५ सय रुपैयाँ खर्च गरेका छन्। नगरपालिका स्थापना भए यता फोहोर मैला व्यवस्थापनको अध्ययन अवलोकनका नाममा लाखौं रुपैयाँ खर्च भए पनि उपलब्धि केही भएको छैन।

नगरपालिकाले स्थापना भएदेखि व्यास–३ स्थित मादी नदी किनारको भतेरीमा फोहोर व्यवस्थापन गर्दै आएको थियो। मादी नदीमा आएको बाढीले भतेरीनै कटान गरी लगेपछि व्यास–१ खकौलीमा व्यक्तिको जग्गा भाडामा लिएर फोहोर व्यवस्थापन गरिएको थियो। शाखाका प्रमुख कृष्णराज भन्नुहुन्छ, ‘५/६ महिनामा त्यो ठाउँ पनि भरियो अहिले व्यास–१३ सोढेंस्थित मादी किनारलाई नै अस्थायी ल्याण्डफिल्ड साइट बनाएको छ र त्यही फोहोरको व्यवस्थापन गर्ने गरेका छौं।’ उक्त ल्याण्डफिल्ड साइट निर्माणका लागि नगरपालिकाले ७ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ। सोही स्थानमा ट्रस्ट पनि निर्माण गरिएको र उक्त ट्रस्ट निर्माणको स्वीकृत रकम ३ लाख ४२ हजार रहेकोमा पहिलो किस्ता अन्तरगत २ लाख २९ हजार भुक्तानी भएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाबाट दैनिक करिब १२ टन फोहोर निस्कने गर्छ। जसमध्ये हप्तामा तीन टन कुहिने फोहोर निस्कन्छ। प्रमुख कृष्णराज भन्नुहुन्छ ‘बढ्दो सहरीकरणका कारण पछिल्लो समय नगरपालिकाबाट धेरै फोहोर उत्पादन हुँदा यसको व्यवस्थापनको पाटो जटिल बन्दै गएको छ।’

यस्तै, पृथ्वीराजमार्गको विकल्पको रूपमा विकास गर्न लागिएको बुद्धसिं मार्गमा जथाभावी फोहर फालिँदा यो क्षेत्र दुर्गन्धित बन्दै गएको छ। नगरपालिकाले सोढेंमा जथाभावी फोहर फालिदिँदा यो क्षेत्र दुर्गन्धित बन्नुका साथै यो मार्ग भएर यात्रा गर्ने सर्वसाधारणलाईसमेत सास्ती भएको छ। स्थापनाको ३० वर्षसम्म पनि नगरपालिकाले सरसफाइ केन्द्र बनाउन सकेको छैन। व्यास–१० स्थित मंगलीगैह्रामा सरसफाइ केन्द्र बनाउने तयारी गरिए पनि स्थानीयले विरोध गरेपछि नगरपालिका त्यसबाट पछि हटेको छ।

फोहोर मैला व्यवस्थापनका लागि खाल्डो खोज्दै हिँड्दा आजसम्म फोहोर मैला व्यवस्थापनका लागि स्थायी ल्याण्डफिल्ड साइट बनाउन नसकिएको व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपाने बताउँछन्। ‘ल्याण्डफिल्ड साइट निर्माण गर्न नसके  पनि नगरक्षेत्रबाट निस्कने फोहोर कुहिने र नकुहिने गरी वर्गीकरण गर्न सफल भयौं’, नगरप्रमुख बैकुण्ठ न्यौपानेले भन्नुभयो, ‘व्यास–१० भतेरीमा कुहिने फोहोरबाट बायोग्यास पनि निकालिसकेका छौं। अब छिट्टै स्थायी ल्याण्डफिल्ड साइट पनि निर्माण गर्ने छौं।’

नगरपालिकाले कुहिने फोहोर व्यवस्थापनका लागि २०७७/०७८ मा करिब ५ लाख १२ हजार रुपैया“ लागतमा बायो ग्यास प्लान्ट निर्माण गरेको छ। उक्त प्लान्टबाट बायो ग्यास निकालेर सोही स्थानमा रहेको गौ संरक्षण केन्द्र (गौशाला) मा प्रयोग गरिएको छ। कुहिने फोहोर व्यवस्थापनकै लागि गत आर्थिक वर्षमा व्यास–३ स्थित मिनि बधशालामा पनि करिब ४ लाख २० हजार रुपैया“को लागतमा अर्को बायोग्यास प्लान्ट निर्माण गरिएको छ।

यस्तै, बन्दिपुर गाउँपालिकाको बजार क्षेत्रबाट निस्कने फोहोर वडा नम्बर १ कुखुरीपानीस्थित जंगल क्षेत्रमा लगेर व्यवस्थित गर्ने गरेको फोहोरमैला व्यवस्थापन शाखाका कर्मचारी काशिनाथ भट्टराईले बताउनुभयो। बजारक्षेत्रबाट फोहोर उठाउन एउटा ट्याक्टर र ५ जना कर्मचारी राखिएको काशिनाथ भट्टराईले बताउनुभयो। ‘दैनिकजसो ३ देखि ४ ट्याक्टर फोहोर गाउँपालिकाबाट निस्कन्छ’, काशिनाथले भन्नुभयो– ‘फोहोर व्यवस्थापन जंगल र सार्वजनिक जग्गामा गर्ने हुँदा त्यहाँसम्म पुग्ने सडक अझै कालोपत्रे गर्न सकिएको छैन। त्यसैले पानी परेको समयमा त्यहाँ फोहोर व्यवस्थापन गर्न मुस्किल हुन्छ।’ गाउँपालिकाले फोहोर नउठाएको समयमा स्थानीयले चुँदी खोला किनारामा फोहोर फ्याँक्दै आएका छन्।

त्यस्तै, राजमार्गसँगै जोडिएको अर्को नगरपालिका शुक्लागण्डकीले पनि हालसम्म व्यवस्थित स्थायी ल्याण्डफिल्डसाइड बनाउन सकेको छैन। यस पालिकाको वडा नम्बर २ देखि ८सम्मका वडाबाट दैनिक करिब ८ टन फोहोर निस्कन्छ। बजार क्षेत्रबाट निस्किएको फोहोर वडा नम्बर २ स्थित सेती नदी नजिकै रहेको सार्वजनिक जग्गा र वडा नम्बर ५ स्थित सानो खोल्सामा व्यवस्थित गर्दै आएको नगरपालिकाका वन, वातावरण तथा फोहोर मैला व्यवस्थापन शाखाका प्रमुख राजेन्द्र सोतीले बताउनुभयो।

नगरपालिका क्षेत्रभित्रबाट निस्कने फोहोरको स्थायी व्यवस्थापनका लागि वडा नम्बर ५ झरौटामा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गरिएको उहाँले बताउनुभयो। प्रमुख राजेन्द्र सोतीले भन्नुभयो, ‘करिब ३ वर्ष भयो झरौटामा केन्द्र स्थापना गरेको तर अझै सञ्चालनमा आउन सकेको छैन। उक्त केन्द्रमा भवन र त्यहाँसम्म पुग्ने बाटो निर्माण गरिएको छ। अब छिट्टै केन्द्र सञ्चालनमा ल्याउने छौं।’ फोहोरमैला व्यवस्थापनका लागि स्थान पहिचान, अध्ययन, भवन निर्माण लगायतका कामका लागि २ करोड रुपैयाँ बजेट खर्च भएको उहाँले बताउनुभयो।

यस्तै, गण्डकी प्रदेशको नाका आँबुखैरेनी गाउँपालिकाले फोहोर मैला व्यवस्थापनको लागि स्वच्छ वातावरण नेपालसँग सम्झौता गरेको थियो। गत असार मसान्तबाट सम्झौता सकिएपछि भने नवीकरण गर्ने सोचमा नरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमनले बताउनुभयो। उहाँले भन्नुभयो, ‘स्वच्छ वातावरण नेपालले फोहोरबाट ग्यास, मल उत्पादन गर्ने, त्यहाँको बगैंचाको संरक्षण गर्ने लगायतका सम्झौता भएकोमा सम्झौता अनुसारको काम नभएका कारण अब गाउँपालिकाले आफैं फोहोर व्यवस्थापन गरी फोहोरबाट मोहर कमाउने विषयमा छलफल हुँदैछ।’ चुमनका अनुसार फोहोरबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्ने योजना गाउँपालिकाले तयार गर्दै छ।

गाउँपालिकाले वडा नम्बर ३ मा व्यक्तिको ६ रोपनी जग्गा भाडामा लिएर फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गरेको छ। गाउँपालिकाले उक्त जग्गा वार्षिक ६२ हजार रुपैयाँमा भाँडामा लिएको हो। पालिकाबाट प्रत्येक दिन साढे २ टनको हाराहारीमा फोहोर निस्कने गर्छ।

यता, भिमाद नगरपालिकाले समेत हालसम्म कुनै पनि स्थायी ल्याण्डफिल्ड साइट निर्माण गर्न सकेको छैन। उपयुक्त जग्गा नपाउँदा स्थायी रूपमा फोहोर व्यवस्थापन गर्न नसकिएको नगरपालिकाकी उपप्रमुख शारदा खनालले बताउनुभयो। नगरपालिका भित्रबाट निस्कने फोहोर भिमाद–६ साढेहुलस्थित सेती खोला किनारको जग्गामा व्यवस्थित गर्ने गरेको उहाँले बताउनुभयो। ‘बजारबाट निस्कने फोहोरका कारण उक्त स्थान भरिइसकेको छ। बढ्दो बजारीकरण र जनसंख्याका कारण बजार क्षेत्रबाट निस्कने फोहर अब त्यस ठाउँमा व्यवस्थापन गर्न सकिदैन’, उपप्रमुख शारदा खनालले भन्नुभयो– ‘स्थायी रूपमा फोहोर व्यवस्थापनका उपायहरूका विषयमा छलफल भइरहेको छ।’

आवरणः तनहुँको व्यास नगरपालिकाले वडा नं. १३ सोढें स्थित बुद्धसिं मार्ग र सेती नदी किनारमा फालेको फोहोर। तस्बिर : नारायण खड्का/तनहुँ

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

नारायण खड्का/तनहुँ का अन्य पोस्टहरु:
बजारको फोहोर खोला र जंगलमा
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link