राजमार्गले असुरक्षित पर्सा निकुञ्ज

राजमार्गकै कारण पर्सा राष्ट्रिय निकुञ्ज वन्यजन्तुका लागि असुरक्षित हुन थालेको छ। हरेक वर्षे ठूलो सङ्ख्यामा वन्यजन्तु सडक दुर्घटनामा परेर मर्ने गरेका छन्।

निकुञ्जको आधाभार कार्यालयको तथ्यांक अनुसार निकुञ्ज भएर पछिल्लो आर्थिक वर्षमा १३ वन्यजन्तु परेका छन्। पछिल्लो ६ वर्षको तथ्यांक सार्वजनिक गरेकामा आर्थिक वर्ष २०७३/०७४ मा २४, २०७४/०७५ मा ३५, ०७५/०७६ मा ४२, ०७६/०७७ मा २२, २०७७/०७८ मा ८ र आर्थिक वर्ष २०७८/०७९ मा १३ वन्यजन्तु मरेका छन्। उक्त क्षेत्र भएर २ वटा राष्ट्रिय राजमार्ग जाने भएकाले विशेषगरी त्रिभुवन राजपथको पथलैयादेखि अमलेखगन्ज सडक खण्ड, महेन्द्र राजमार्गको पथलैयादेखि निजगढ सडक खण्ड र महेन्द्र राजमार्गकै हेटौंडा–लोथर सडक खण्डमा बाटो काट्ने क्रममा वन्यजन्तु सवारी साधनसँग ठोक्किएर मर्ने गरेको पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका सूचना अधिकारी सूर्य खड्काले बताउनुभयो।

तथ्यांक अनुसार दुर्घटनामा परी मर्ने वन्यजन्तुमा बढी चित्तल, बँदेल, बाँदर, जरायो छन्। आर्थिक वर्ष २०७३/०७४ मा १५, ०७५/०७६ मा १८ र ०७६/०७७ मा ७ चित्तल सडक दुर्घटनामा मरेका थिए। आर्थिक वर्ष २०७४/०७५ मा सर्वाधिक बढी १३ बाँदर मरेका थिए। त्यसैगरी, आर्थिक वर्ष २०७५/०७६ मा १५ बँदेल मरेका थिए। आर्थिक वर्ष २०७४/०७५ मा २ रतुवा, आर्थिक वर्ष २०७३/०७४ र २०७५/०७६ मा १/१ गरी २ वटा निलगाई मरेका छन्। आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७६/०७७ सम्म निरन्तर ३ वर्ष १/१ वटा इनडेन सिभेट सडक दुर्घटनामा परी मरेका छन्। आर्थिक वर्ष २०७३/०७४ मा १/१ अजिंगर र सुन गोहोरो पनि सडक दुर्घटनामा मरेका थिए। आर्थिक वर्ष २०७५/०७६ मा राजमार्गमा गुडी रहेको कारले ठोकेर एउटा बाघ घाइते भएको थियो। तर उक्त बाघ पछि फेला परेन।

निकुञ्जका पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका सूचना अधिकारी सूर्य खड्का राजमार्गमा तीब्र गतिमा सवारी चलाउने प्रवृत्तिले वर्षेनी ठूलो सङ्ख्यामा वन्यजन्तु सडक दुर्घटनामा मर्ने गरेको बताउनुहुन्छ।

 ‘निकुञ्ज भएर गुज्रिने दुबै राजमार्ग मुलुककै अति व्यस्त राजमार्ग हुन्, यी राजमार्गमा चौबीसै घण्टा सवारी साधन गुड्ने भएकाले वन्यजन्तुलाई पनि समस्या हुन्छ,’ सूर्य खड्काले भन्नुभयो,  ‘निकुञ्ज क्षेत्रमा सवारी चलाउँदा चालकले हामी वन्यजन्तुको प्राकृतिक बासस्थानबाट हिडिरहेका छौं भन्ने कुरोको हेक्का राख्नु पर्छ, चालकले सावधानीपूर्वक तथा कम गतिमा सवारी चलाउँदा पनि थुप्रै वन्यजन्तुले अकालमा मर्नु पर्दैन।’

निकुञ्ज भएर गएको राजमार्गमा ठाउँ ठाउँमा सवारी चालकलाई सावधान गर्न चेतनामूलक सूचना बोर्डहरू पनि राखिएको उहाँले बताउनुभयो। तुलनात्मक रुपमा अघिल्ला २ आर्थिक वर्षमा दुर्घटनामा कम वन्यजन्तु मरेको देखिनुमा भने ती वर्ष कोरोना कालमा राजमार्गमा सवारी साधन कम गुडेर पनि दुर्घटना कम भएको हुन सक्ने उहाँले बताउनु भयो। निकुञ्जका सहायक संरक्षण एवम् सूचना अधिकृत सूर्य खड्काले राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ ले २६ स्तनधारी, ९ चरा र ३ सरिसृपलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको बताउनुभयो। ३ सरिसृपमध्ये अजिंगर पनि एउटा हो। सवारी दुर्घटनामा परी कुनै पनि वन्यजन्तु मरेको खण्डमा चोरी शिकारी सरह नै थुनामा राखी कानुनी प्रक्रिया सुरु गर्ने गरिएको उहाँले बताउनु भयो।  ऐनले वन्यजन्तुको प्रकृति अनुसार सवारी चालकलाई सजायको व्यवस्था गरेको उहाँले बताउनु भयो। ‘ऐनले हात्ति, बाघ, गैंडा, चितुवा जस्ता वन्यजन्तुको हकमा बढी र अन्य वन्यजन्तुको हकमा कम सजायको व्यवस्था गरेको छ,’ उहाँले भन्नुभयो, ‘अधिकतम १० लाख रुपैयाँ जरिवाना र १५ वर्ष कैद सजायसम्मको व्यवस्था पनि ऐनमा छ।’

पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका ५ जना मृत जरायो र जरायोको सिङसहित पक्राउ परेका छन्।  पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकुअनिया स्थितको वनजङ्गलमा वन्यजन्तुको शिकार गर्न पुगेका स्थानीय ३ जना र काभ्रे जिल्लाका २ जना गरी ५ जनालाई वन संरक्षण टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का झापस दास थारु, अकुअनिया टोलका नवराज बस्नेत, काभ्रे घर भई हाल सखुवाप्रसौनी १ मै बस्ने दामोदर अधिकारी, वडा नम्बर १ खजुरिया निवासी विशाल सहनी, काभ्रेको नासिक गाविस ६ का मालदोङ तामाङ रहेको पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका प्रमुख संरक्षण अधिकृत अशोक राम जानकारी दिनुभयो।

उनीहरूको साथबाट टाउकोमा गोली लागी मृत अवस्थामा रहेको पोथी जरायो र भाले जरायोको टाउको, शिकार गर्न प्रयोग भएका १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउन्ड गोली, पाँच थान मोबाइल, दुई लाख ९० हजार ६ सय ३० रुपैयाँ नगद बरामद भएको प्रमुख संरक्षण अधिकृत रामले बताउनुभयो।

उनीहरूले प्रयोग गर्ने बा ५ त ७८०५ नम्बरको टोयोटा गाडी, र प्रदेश २ ०२–०३–००१ च ३०९७ नम्बरको बोलेरो गाडी पनि नियन्त्रण लिई थप अनुसन्धान भइरहेको पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका सूचना अधिकारी सूर्य खड्काले बताउनुभयो। नियन्त्रणमा लिएको गाडी मध्य एउटा गाडी नवनिर्वाचित प्रदेशसभा सदस्य प्रमोद जयसवालले प्रयोग गर्ने गाडी रहेको पनि स्रोतले जनाएको छ। त्यसको आधिकारिक पुष्टि भने भएको छैन।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रणय साह/वीरगञ्ज का अन्य पोस्टहरु:
राजमार्गले असुरक्षित पर्सा निकुञ्ज
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link