खुला सिमानाले बढ्यो गर्भपतनसम्बन्धी अवैध औषधिको बिक्रीवितरण

प्रणय साह/वीरगञ्ज

भारतको बिहारसँग खुला सिमाना जोडिँदा पर्सा जिल्लामा अनधिकृत रूपमा गर्भपतनको औषधि बिक्रीवितरण हुँदै आएको छ।

नेपाल सरकारले देशमै सुरक्षित गर्भपतनका लागि विभिन्न १० प्रकारका औषधिलाई मान्यता दिएको छ। तर पर्साका थुप्रै निजी स्वास्थ्य संस्थामा भारतबाट अवैध रूपमा ल्याइएका औषधि बिक्री हुने गरेका छन्। यस्ता औषधि तस्करले उपलब्ध गराउँदै आएका छन्।

सरकारबाट इजाजत निलई खुलेका स्वास्थ्य क्लिनिकमा भारबाट ल्याइएका गर्भपतनसम्बन्धी औषधि पाइन्छ। उनीहरूले लुकीछिपी बिक्री गर्दै आएका छन्। यो कार्य नियमविपरीत रहेको डाक्टरहरू बताउँछन्।

खुला सिमानाको फाइदा उठाई लुकीछिपी भारतबाट औषधि ल्याएर बिक्रीवितरण भएको सुनिएको र यसबारे अनुगमन गर्ने औषधि व्यवस्था विभाग कार्यालय वीरगन्जका प्रमुख किरण बज्राचार्यले बताउनुभयो। ‘तस्करले अन्य औषधिको खोलमा समेत गर्भपतनसम्बन्धी औषधि ल्याउँछ भन्ने सुन्नमा आएको छ,’ बज्राचार्यले भन्नुभयो, ‘यसलाई कडा गर्न सिमानाकामा खटिने प्रहरी, सशस्त्र प्रहरीसित समन्वय गरी कामकारबाही अगाडि बढाइनेछ।

अवैध या अनिच्छापूर्वक बसेको गर्भ सम्बन्धित जोडीले सुरक्षित तरिकारले सरकारी स्वास्थ्य संस्थामा गएर गर्भपतन गर्ने सुविधा छ। तर अधिकांशले त्यहाँबाट सेवा नलिई निजी क्लिनिकमा गएर गर्भपतनका औषधि प्रयोग गर्ने गरेको पाइएको हो। सेवा लिन सरकारी स्वास्थ्य संस्थामा नजानुको प्रमुख कारण लाज र डर रहेको छ।

वीरगन्जका नारायणी अस्पतालमा, बगही प्राथमिक स्वास्थ्य केन्द्र, महुवन स्वास्थ चौकीलगायतका स्वास्थ्य संस्थामा निःशुल्क सुरक्षित गर्भपतनको सेवा भए पनि कर्मचारीको कमीले सेवा प्रभावित हुँदै आएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहले बताउनुभयो। ‘निजी क्लिनिकमा गर्भपतन गराउँदा तालिमप्राप्त स्वास्थ्यकर्मी हुँदैनन्, जसले गर्दा जोखिम बढी हुन्छ,’ साहले भन्नुभयो, ‘स्वास्थ्य सेवा स्थानीय तहमातहत पर्छ। स्थानीय तहले पनि सुरक्षित गर्भपतनको सेवा सञ्चालनका लागि कर्मचारी राख्दैनन्।’

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रणय साह/वीरगञ्ज का अन्य पोस्टहरु:
खुला सिमानाले बढ्यो गर्भपतनसम्बन्धी अवैध औषधिको बिक्रीवितरण
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link