वीरगञ्ज महानगरमा फोहोरको विद्रोह

सडक बिगारेपछि टेलिकम परिसरमा महानगरले फाल्यो फोहोर 

वीरगञ्ज ।  नेपाल टेलिकमले फाइबर बिच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौँदेखि अलपत्र छाडेको भन्दै वीरगञ्ज महानगरपालिकाले टेलिकमको परिसरमा फोहोर थुपारेर विरोध गरेको छ । 

टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक बिगार्दा नगरवासीले पीडा भोग्नु परेको भन्दै महानगरले निर्माणका लागि पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि श्रीपुरस्थित टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा सांकेतिक विरोधस्वरूप फोहोर थुपारेको हो ।

महानगरपालिकाले वीरगञ्जमा सञ्चालन गरिरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगरप्रहरी सहितको टोलीले सात ट्याक्टर कचरासहितको फोहोर टेलिकमको परिसरभित्र फालेको हो । 

टेलिकमले अप्टिकल फाइबर बिच्छ्याउने क्रममा बाइपास सडकखण्डको करिब ५ किलोमिटर कालोपत्रे सडक र फुटपाथ खनेर महिनौँदेखि अलपत्र छाडेको छ । खनिएका सडक र फुटपाथ मर्मतका लागि पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर टेलिकम परिसरमा कचरा सहितको फोहोर फाल्नु परेको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।  

कार्यालयमै फोहोर फालेपछि खनेर अलपत्र छाडिएका सडक र फुटपाथ मर्मतका लागि अब टेलिकमलाई दबाब हुने मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले बताउनुभयो ।

गएको फागुन ३ गते प्रमुख जिल्ला अधिकारीकै उपस्थितमा बसेको सरोकारवाला निकायहरूको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्त भित्रै मर्मत गरिसक्ने लिखित सहमति गरेको स्वकीय सचिव घिमिरेले बताउनुभयो । उक्त सहमति कार्यान्वयनका लागि महानगरपालिकाले टेलिकमलाई धेरै पटक आग्रह गर्दै आएको थियो ।

फोहोरसहितको ट्याक्टर लिएर टेलिकम परिसरमा आफैं पुगेका घिमिरेले भने, ‘वीरगञ्ज शहरलाई सफा र सुन्दर बनाउन महानगरले अभियान नै चलाइरहेको छ, यो अवस्थामा टेलिकमले सडक र फुटपाथ खनेर महिनौँदेखि अलपत्र पार्दा बाइपास सडक कुरूप भएको छ, त्यसलाई पहिलेकै अवस्थामा पुग्ने गरि मर्मत गरिदेऊ भनेर पटक आग्रह गर्दा कुनै चासाे नदेखाएपछि हामी यो अप्रिय कदम चाल्न बाध्य भएका हौं ।’
उक्त सहमति पालना गराउनका लागि महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय पर्सालाई पनि पत्र लखेर आग्रह गर्दा समेत टेलिकमले नटरेको घिमिरेको भनाई छ । 

घिमिरेले भन्नुभयो, ‘अब हामीले कति चोटी अनुरोध गर्ने ?  हामीसँग अरु कुनै विकल्प नै भएन, नागरिकलाई त महानगरपालिकाले नै काम गरेन भन्ने सन्देश गइरहेको छ, महानगर अब  टुलुटुलु हेरेर बस्न सक्दैन, त्यसकारणले गर्दा आज फोहोर ल्याएर टेलिकममा फालिएको हो, अब मिडियाबाट यो विषय टेलिकमको केन्द्रीय कार्यालयमा पुग्नेछ र समस्याको समाधान हुनेछ भन्ने अपेक्षा लिएका छौं ।’  महानगरले चलाएको सफा र सुन्दर शहर बनाउने अभियानमा टेलिकमले भाँजो हालेको पनि उहाँले बताउनुभयो ।  

टेलिकमले खनेर अलपत्र परेको सडक उसैले बनाउनु पर्नेमा बनाउन ढिला गर्दा नगरवासीले लामो समयदेखि समस्या भोग्दै आएका छन् ।
यो सडक खण्डमा नेपाल खानेपानी संस्थान र मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइप लाइनलेसमेत आफ्नो योजना कार्यान्वयनका क्रममा सडक खनेका छन् । खानेपानी र पेट्रोलियमले अपेक्षित काम गरे पनि टेलिकमले कामै नगरेपछि आजको कदम चालिएको घिमिरेले बताउनुभयो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रणय साह/वीरगञ्ज का अन्य पोस्टहरु:
वीरगञ्ज महानगरमा फोहोरको विद्रोह
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link