३.८ किलोमिटर सडकको ठेकेदार फरार, मुआब्जा विवाद, मारमा कलैयाबासी

प्रणय साह/वीरगञ्ज

बारा जिल्लाको सदरमुकाम कलैया उप महानगरपालिकामा पर्ने सडकको अवस्था दयनीय रहेको छ।  कलैया स्थिता भरत चौकबाट उत्तर दक्षिणमा पर्ने पिलुवा–मटिअर्वा हुलाकी सडक खण्ड अन्तर्गत पौने ४ किलोमिटर सडक निर्माण कार्य अलपत्र परेको सडक अवस्थामा दयनीय रहेको  छ।

२५ किलोमिटर पिलुवा–मटिअर्वा हुलाकी सडक निर्माण कार्य २०७३/०७४ सालमा ठेक्का साकार भई २०७७ सालमा सम्पन्न भइसकेको अवस्थामा मुआब्जा विवादको कारण कलैया उपमहानगरपालिका भित्र पर्ने शितलपुरदेखि कलैया बजारसम्म ३.८ किलोमिटर सडक निर्माण कार्य अलपत्र परेको हो। सडक निर्माणको क्रममा कलैया उपमहानगरपालिकाका स्थानीयहरूले मुआब्जाको विषयलाई लिएर उच्च अदालतदेखि सर्वोच्च अदालतसम्म मुद्दा दिए पश्चात पौने ४ किलोमिटर सडक निर्माण कार्य अवरुद्ध भएको थियो।

सरकारले निर्धारण गरेको मुआब्जा न्यून भएको भन्दै ३२ जनाले हुलाकी सडक आयोजना विरुद्ध उच्च र सर्वोच्च अदालतमा मुद्दा दिएपछि, कलैया बजारमा ३ किलोमिटर, शितलपुरमा ७ सय मिटर, मटिअर्वामा १ सय ७ मिटर सडक निर्माण कार्य अवरुद्ध भएको थियो। हालसम्म सर्वोच्च अदालतमा २ कित्ता मुद्दा विचाराधीन अवस्थामा छ भने उच्च अदालतले मन्सुर मियाँ र ऋषि कुमार महतोको मुद्दालाई सुनुवाई गर्दै नियमानुसार मुआब्जा दिन निर्देशन समेत दिइसकेको छ।

२ जनाको मुद्दा फैसला पश्चात कलैया उपमहानगरपालिकाको अनुरोधमा हुलाकी सडक आयोजना कार्यालयले अलपत्र पौने ४ किलोमिटर सडक निर्माणको लागि ११ महिनाको लक्ष्य सहित २०७८ पुस मसान्तमा २२ करोड ३१ लाख ८६ हजारमा सप्तकोशी जलाधार ओम साई कम्पनी जेभिलाई ठेक्का दिएको थियो। ठेकेदार कम्पनीले १० प्रतिशत काम समेत गरेको छ।  निर्माण कम्पनीलाई घाटा लागेपछि ठेकेदार फरार भएपछि निर्माण कार्य अलपत्र परेको हो।  जसबाट सर्वसाधारणले सास्ती खेप्नु परेको छ।

निर्माण कार्य नहुँदा सडकबाट आवागमन गर्ने यात्रुहरू दिनहुँ धुलोले सास्ती खेप्न बाध्य छन्।  धुलो धुँवाका कारण पैदल यात्रु र स्थानीयलाई आउ जाउ गर्न समस्या हुनुका साथै स्वास्थ्यमा पनि समस्या हुने गरेको स्थानीय राजकिशोर साह बताउनुभयो। शितलपुर घना बस्ती रहेको र सडकको दुबै पेटीमा नाला निर्माणको लागि पाँच बर्ष देखि खनिएको खाल्टोका कारण स्थानीयलाई आउन जान समस्या हुनुका साथै रड लगाएर अलपत्र छाडिएको कारण घरपालुवा जनावर खसेर ज्यान समेत गएको छ। यस अवस्थामा अलपत्र छाडिएको रडबाट बालबालिकाहरू पनि खाल्टोमा खस्ने सक्ने अवस्थाले स्थानीयलाई त्रसित बनाएको छ।

अर्कोतर्फ सडकमा भएको खाल्डाखुल्टीले स्थानीयलाई मात्रै होइन, त्यस सडकबाट हिँड्ने पैदलयात्रीदेखि सवारी साधन आवागमनमा समेत समस्या उत्पन्न भएको छ। खाल्डाखुल्टीयुक्त सडकबाट सवारी साधन गुडाउँदा सवारी दुर्घटना हुन सक्ने सम्भावना अत्याधिक छ भने सवारी साधन विग्रने पनि सम्भावना उच्च रहेको सवारी चालकहरूको भनाई छ।

बाँकी पौने ४ किलोमिटर सडक निर्माणको लागि ठेक्का साकार गरेका ठेकेदार कम्पनीले यही २०७९ माघ १ सम्म निर्माण कार्य सम्पन्न गरि सक्नुपर्ने हो, तर ठेकेदार कम्पनी फरार भएपछि निर्माण कार्य अलपत्र परेको हो।  सडक तथा नाला निर्माणका लागि भ्याट सहित ३६ करोड ५२ लाख ७८ हजार ७२४ रुपैयाँ ६० पैसा लागत अनुमान रहेकोमा ठेकेदार कम्पनीले २२ करोड ३१ लाख ८६ हजारमा ठेक्का सकार गरेको थियो।  सडक निर्माण सँगै फुटपाथ, डिभाइडर, नाला निर्माण समेतको योजना राखिएको थियो।

ठेकेदार कम्पनीले १० प्रतिशत जति काम गरेर घाटा लागेपछि फरार भएको हुलाकी सडक योजना कार्यालय वीरगंजका प्रमुख दरोगा प्रसादको भनाई छ।  उहाँले फरार ठेकेदार कम्पनीलाई करवाहीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो। पहिलो चरणको ठेक्का तोड्न पत्रिकामा सूचना प्रकाशित गरि सकिएको छ भने दोश्रो चरणको करवाही ठेकेदार कम्पनीले राखेको १ करोड ८८ लाख रुपैयाँ धरौटीलाई जफत गरि नेपाल सरकारको खातामा पठाइएको छ भने तेश्रो चरणको करवाहीको लागि प्रक्रिया अगाडी बढाइसकिएको जानकारी उहाँले दिनुभयो। तेश्रो चरणको कारवाहीको लागि सोही कम्पनीको ५ करोड ४८ लाख १० हजारको अर्को धरौटी पनि जफतको प्रक्रियामा रहेको र २०७९ चैत मसान्तसम्म जफत गरिने उहाँले वताउनुभयो।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सोही सडक तथा नाला बनाउने कार्यको लागि शिलान्यास गर्नुभएको थियो।  तर मन्त्रीले सडक निर्माणको लागि चासो नदिएको कारणले सडक खण्ड निर्माण कार्य अलपत्र परेको हो।  यसबारे कलैया उपमहानगरपालिका नगर प्रमुख विनोद साहले मुआब्जाको विषय लगभग समाधान भइसकेको अवस्थामा निर्माण गर्ने ठेकेदार सम्पर्कविहीन भएको कारण निर्माण कार्य अलपत्र परेको बताउनुभयो। उहाँका अनुसार ठेकेदारको बद्‍मासीले गर्दा यो अवस्था सृजना भएको भन्दै निर्माण कार्यलाई निरन्तरता दिन आफू लागि परेको बताउनुभयो।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रणय साह/वीरगञ्ज का अन्य पोस्टहरु:
३.८ किलोमिटर सडकको ठेकेदार फरार, मुआब्जा विवाद, मारमा कलैयाबासी
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link