नेपालमा चिनियाँले कसरी फैलाउदैछन् अपराधको जालो?

कृष्ण तिमल्सिना

प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआइबीले केही साता अगाडि एक चिनियाँ नागरिकले सामाजिक संजाल, दुरुपयोग गरी बिभिन्न स्थानका नाबालिकहरूसँग चिनजान गरी साथी बनाउने र काठमाडौँ बोलाई बिभिन्न मनोरञ्जनात्मक गतिविधिमा संलग्न गराउने गरेको विशेष सूचनाका आधारमा छापा मार्दा ललितपुरबाट एक चिनियाँ नागरिक पक्राउ परे। ति चिनियाँ नागरिकले ललितपुर महानगरपालिका वडा नम्बर २२ बुङमतीमा, कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी सञ्चालन गर्दै आएका थिए। सामाजिक सञ्जाल मार्फत बिभिन्न स्थानका नाबालिकलाई साथी बनाउने र काठमाडौँ बोलाई आर्थिक प्रलोभन देखाएर र यौन शोषण गर्ने गरेको तथ्य प्रहरीले फेला पार्‍यो।

पक्राउ परेका ४९ वर्षीय ति चिनियाँ नागरिक याङ् लि मिङ् ब्यापार व्यवसाय गर्ने नाममा नेपालमा बस्दै आपराधिक गतिविधि गरिरहेका थिए। केन्द्रीय अनुसन्धान व्युरो महाराजगञ्जबाट खटिएको टोलीले निज चिनियाँ नागरिकलाई बुङ्मतीबाट पक्राउ गरेपछि निजले बन्धक बनाएको १४ देखि १७ वर्षका ६ जना नाबालिका फेला परे। ६ जना मध्ये  २ जनालाई बुङ्मतीमा रहेको अपार्टमेन्टमा लगेर उसले यौन शोषण गरिसकेको थियो भने अन्य ४ जना बालिकाहरू ठमेलस्थित एक होटलमा थुनेर राखेको अवस्थामा भेटिए। प्रहरीले तत्काल ति बालिकाहरू उद्धार गरिसकेको छ। पक्राउ परेका निजलाई जबरजस्ती करणी शीर्षक मुद्दामा अदालतबाट म्याद थप गरि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

चिनियाँको कहालीलाग्दो अपराध शृङ्खला

नेपालमा चिनीया नागरिकको आपराधिक गतिविधि यो नयाँ र नौलो हैन। विगतका केही वर्षका अपराध शृंखला हेर्ने हो भने कैयौँ चिनियाँ नागरिकहरू नेपालमा दर्जन आपराधिक घटनामा मुछिएका छन्।

२०७६ साल वैशाख २६ गते, त्रिभुवन विमानस्थलबाट ४९ वर्षीय वाङ चुन यान चीन जान लागेको बेला एक लाख नेपाली रुपैयाँ, १३ हजार अमेरिकन डलर र ८ हजार भारतीय रुपैयाँसहित पक्राउ परे।

२०७६ पुष १० गते (सीआइबी) को टोलीले चिनियाँ प्रहरीको विशेष टोलीको सहयोगमा एकैदिन १ सय २२ जना चिनियाँ नागरिकलाई काठमाडौँका विभिन्न ९ वटा घरबाट नियन्त्रणमा लियो। चिनियाँ नागरिकले नेपालबाट साइबर क्राइम मार्फत चिनियाँ नागरिकलाई नै ठगी गरिरहेको सूचनाका आधारमा चिनियाँ प्रहरीको विशेष टोलीको सहयोगमा उनीहरू पक्राउ परेका थिए। तारकेश्वर, मनमैजु, महाराजगञ्ज, बुढानिलकण्ठका ९ वटा घरमा एकसाथ खोजतलास गर्दा मोबाइल ७ सय ४७ थान, ल्यापटप ३३१ थान, सीपीयू ९८ थान, मोनिटर ९९ थान, पेनड्राइभ २२ थान, सिमकार्ड ३२७ र पासपोर्ट ६७ थान प्रहरीले बरामद गर्‍यो।

२०७९ साल वैशाख १२ गते काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले फेरि १० जना पुरुष र १२ जना महिलासहित २२ जना चिनियाँलाई पक्राउ गर्‍यो। उनीहरू पर्यटकका रुपमा नेपाल आएर गैरकानुनी काम गरिरहेका थिए। अध्यागमन विभागका अनुसार भिसा अवधि सकिएको र अनलाइन जुवा खेलाउने लगायत काममा संलग्न चिनियाँहरू अहिले जेलमा छन्।

लगत्तै गत जेष्ठ २४ गते नागढुंगा प्रहरीले स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार रुपैयाँसहित ४ जना चिनियाँ र एक नेपाली ड्राइभरलाई पक्राउ गर्‍यो। प्रहरीका अनुसार चिनियाँ नागरिक वर्ष ५० वर्षका अङ जाइ किङसहित ४ जना चिनियाँ पर्यटक बी.ए.बी ५७१० नम्बरको गाडीमा उपत्यका बाहिर सञ्चालित कल सेन्टर तथा अनलाइन जुवा घरमा संकलन भएको स्रोत नखुलेको पैसा लिएर काठमाडौँ फर्किरहेका थिए।

यस्तै २०७८ साल १ फागुनमा चार केजी आठ सय ४० ग्राम सुनसहित चिनियाँ नागरिक झाङ लि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे। पर्यटकका रुपमा नेपाल आएका ३६ वर्षीय लि विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिकै जाँच गर्ने क्रममा पक्राउ परेका थिए।

२०७८ साल कार्तिक १२ गते संखुवासभा प्रहरीले ग्रामीण क्षेत्रमा भेटिएका चीनको सिचुआन निवासी वु छिङ लिङ र सान्दोङ निवासी जाङ फुहेनलाई पक्राउ गर्‍यो। उनीहरू रुद्राक्षको फलमा कृतिम आकार सिर्जना गर्ने उपकरण तथा औषधीसहित संखुवासभा पुगेका थिए। उनीहरूले उपकरण र औषधी प्रयोग गरेर लामो समयदेखि एक मुखे अथवा बहुमुखे रुद्राक्ष श्रृजना गर्ने र सोही दाना देखाएर ठग्ने धन्दा गर्दै आएको पुष्टि भयो।

२०७८ फागुन १० गते काठमाडौको मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परे। उनीहरू अनलाइनबाट अवैध कारोबार, कल बाइपास र जुवातास सट्टेबाजी धन्दामा संलग्न थिए।

लगत्तै सोही दिन प्रहरीले भक्तपुरको सानोठिमीमा छापा मार्‍यो। त्यतिबेला चिनियाँ नागरिकसहित ८१ जना पक्राउ परे। उनीहरू पनि अनलाइन ठगी तथा कल बाइपास धन्दामा संलग्न थिए।

२०७८ असार २३ गते प्रहरीको टोलीले काठमाडौंको ज्याठा गल्लीमा चीनका नागरिकले सञ्चालन गरेको एउटा होटलबाट दुर्लभ वन्यजन्तुको अखेटोपहारको खपटा पक्राउ गर्‍यो। होटलमा छापा मार्दा जुवातास र सट्टाबाजी खेलाइरहेको अवस्थामा थप चार जना चिनियाँ पक्राउ परे। निजहरूको साथबाट जुवातास खेल्न प्रयोग गरेका विद्युतीय टेबल २ थान, जुवातास खेल्न प्रयोग हुन चाइनिज भाषा माजुङ बताउने प्लाष्टिकको गोटी ४१० थान, नगद ८ लाख ८९ हजार १५५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाइल ७ थान, बाघको छाला जस्तो देखिने वस्तु १ थान, गाईको छालाजस्तो देखिने वस्तु १ थान, कस्तूरीको बिनाजस्तो देखिने वस्तु २० थान, बुद्वचित्त ९०० थान, रुद्राक्ष अन्दाजी २० किलोग्राम बरामद भएको थियो। निजहरूको साथबाट राहदानी २ थान, चिनियाँ बैकका एटीएम कार्ड ३५ थान, भौचर पाना (लेखिएका) २५० थान, भौचर पाना (नलेखिएका) ६८ थान, बाघको दाँतजस्तो देखिने वस्तु २ थान, फलामको धारिलो खुकुरी २ थान र फलामको धारिलो तरबार १ थान सोही होटलमा फेला परेको थियो। २०७८ साउन १५ गते काठमाडौँ प्रहरीले चीनको जि–याङ्–सु प्रान्तका ५६ वर्षीय शी झिवीलाई अवैध रूपमा मदिरा उत्पादन गरिरहेको अवस्थामा ठमेलबाट पक्राउ गर्‍यो।

प्रहरीको टाउको दुखाउने अपराध

प्रहरीका अनुसार चिनियाँहरूको अपराध साम्राज्य अहिले नेपालमा टाउको दुखाईको विषय बनेको छ। किनकी उनिहरूको यो सञ्जाल, काठमाडौँ उपत्यका बाहिर पनि उस्तै छ। अनुसन्धान कै क्रममा गत बर्ष साउन ८ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा रहेको एउटा शंकास्पद कल सेन्टरमा छापा मार्‍यो। ब्लु स्काई बिजनेस सोलुसन प्रालिको बोर्ड राखेर उक्त कल सेन्टरले हजारौं नेपाली तथा भारतीय नागरिकलाई सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाएर ठगी गरिरहेका थिए। यसमा मुख्य गिरोहको नेतृत्व गर्ने चिनियाँ नागरिक सहित ठगी धन्दामा प्रयोग भइरहेका २ सय ५८ जना नेपाली युवायुवती पनि पक्राउ परे। यो कल सेन्टरबाट नेपालीसहित हजारौं भारतीय नागरिक पनि ठगिएका थिए। निजहरूले सामाजिक सञ्जालमार्फत चिट्ठा परेको भन्दै म्यासेज पठाउने, अरुको फेसबुकलगायतका सामाजिक सञ्जाल ह्याक गर्ने अनि चिट्ठा तथा सामान लिनका लागि भन्दै निश्चित रकम भन्सार शुल्कजस्ता शीर्षकमा रकम मागेर महिनौंदेखि ठगीको कारोबार सञ्चालन गरिरहेका थिए। निजहरूले काठमाडौ, पोखरा र चितवनमा लगायतका ठाउमा कल सेन्टर संचालन गरि दैनिक करोडौंको कारोबार गर्ने गर्थे।

लगत्तै प्रहरीले काठमाडौँको तीनकुनेस्थित गैरीगाउँमा अर्को चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मार्‍यो। स्काई वल्र्ड सर्भिस प्रालिका नाममा चलिरहेको कल सेन्टरका मुख्य योजनाकार पनि चिनियाँ नै थिए। प्रहरीले कल सेन्टरबाट एकजना चिनियाँ नागरिकसहित ४१ जनालाई नियन्त्रणमा लिएको थियो।

नेपालमा प्रविधिको प्रयोग गरेर नेपाली युवायुवतीमार्फत करोडौं ठग्ने चिनियाँ गिरोह पोखराको ड्याम साइडमा पनि पक्राउ परे। न्यु डायमण्ड टेक्नोलोजी नामको कम्पनीमार्फत दुई पुरुष र एक जना महिला चिनियाँले यो कल सेन्टर सञ्चालन गरेका थिए। अबैध कारोवार गर्ने न्यु डायमण्ड टेक्नोलोजी नामको कम्पनीबाट ८९ जना नेपालीसहित ४५ लाख ९७ हजार १८० रुपैयाँ प्रहरीले बरामद गरेको थियो।

वि.सं. २०७७ जेष्ठ १७ गते सोह्रखुट्टे प्रहरीले ठमेल ढल्कुमा नेपाली युवतीलाई जिस्क्याउने, फकाउने तथा दुर्व्यवहार गर्ने दुईजना चिनियाँ नागरिकलाई नियन्त्रणमा लियो। प्रहरीका अनुसार ती चिनियाँको, नेपाली युवतीलाई ललाइफकाइ बिहेको प्रस्ताव गर्ने र चीनमा लगेर घरेलु दास बनाउने गरेका थिए। प्रहरीका अनुसार अहिले ललितपुरको बुङ्‌मति र ठमेलबाट उद्धार गरिएका १४ देखि १७ वर्षका ६ जना नाबालिकालाई यस्तै प्रयोजनका लागि जम्मा पारिएको आशंका छ। जसलाई प्रक्रिया मिलाएर चीन लैजाने तयारी गरिएको थियो।

चिनियाँको धन्दा डलर देखी मानव तस्करीसम्म

प्रहरीको अनुसन्धान रिर्पोट हेर्दा धेरै चिनियाँ सिमा क्षेत्रका नागरिकले पाउने सुविधा दुरुपयोग गरेर काठमाडौसम्म आईपुगेका छन्। धेरै अपराधमा जोडिएका चिनियाँ पर्यटक भिसा अथवा व्यापारीक प्रयोजनका लागि नेपाल आएको र भिसा अवधी सकिएर पनि लुकीछिपी नेपालमा अपराध गतिविधिमा जोडिएको देखिन्छ। त्यसैको अर्को शृङ्खला थियो २०७४ असोज ४ गतेको घटना। यस दिनरसुवामा प्रहरीले चिनियाँ नागरिक ली वानलाई ५० हजार अमेरिकी डलरसहित पक्राउ गर्‍यो, उनि व्यापार प्रयोजनका लागि भन्दै नेपाल पसेका थिए। यसअघि २०७३ माघ ७ गते पनि रसुवाको टिमुरेमा, चिनियाँ नागरिक वाङ चुङ १८ हजार चार सय ३२ अमेरिकी डलरसहित पक्राउ परेका थिए।

२०७४ असोज १३ गते चिनियाँ महिला यान कुन दुवान ४६ हजार चार सय ८० अमेरिकी डलरसहित नेपालबाट भुटान जान खोज्दा पक्राउ परिन्। २०७२ जेठ ३२ गते चिनियाँ महिला याङ होङ ९८ हजार पाँच सय डलरसहित विमानस्थलमै पक्राउ परिन्।

२०७३ माघ १ गते २ लाख ६० हजार अमेरिकन डलर, एक लख १८ हजार यूरो र केही अष्ट्रेलियन डलरसहित रसुवातर्फ जाँदै गरेका तीन जना चिनियाँ नागढुंगामा पक्राउ परे। २०७२ भदौ १० गते काठमाडौँ विमानस्थलमा ७४ हजार अमेरिकी डलर, ७६ हजार यूरो, ४८ हजार स्वीस फ्रयाकसहित चिनियाँ नागरिक यी वाङ पक्राउ परे।

यसरी विभिन्न अपराध श्रृंखलामा जोडिएका र पक्राउ परेका चिनियाँहरूको तथ्यांक हेर्दा उनिहरू, सुरुमा सुन तथा रक्तचन्दन तस्करी हुँदै अहिले अवैध डलरको कारोबारमा संलग्न भएका छन्। यसरी चिनियाँले डलर तस्करी गर्ने गरेको तथ्य भने प्रहरीले  २०६७ असोज १८ गते पहिलो पटक पत्ता लगाएको थियो। त्यसदिन प्रहरीको विशेष टोलीले चिनियाँ नागरिक कोविन लि ४० हजार डलरसहित भक्तपुरमा पक्राउ गरेको थियो। त्यसपछि चिनियाँहरू निरन्तर, नेपाल प्रहरीको निगरानीमा छन्। नभन्दै सोही महिना प्रहरीले तीन लाख अमेरिकन डलरसहित काठमाडौँको स्वयम्भुबाट तीन चिनियाँलाई पक्राउ गरेको थियो। त्यसपछि २०६८ को पुसमा भक्तपुरको जगातीमा ९७ हजार दुई सय २३ डलरसहित तातोपानी नाकातर्फ डलर तस्करी गर्ने अर्का चिनियाँ पक्राउ परे।

मानव तस्करीको धन्दा मौलायो

प्रहरीका अनुसार  चिनियाँहरू अहिले सन्तान उत्पादन प्रयोजनका लागि नेपाली युवतीलाई विवाह गरेर चीन लैजाने र सन्तान उत्पादन प्रयोजन सकिएपछि नेपालीहरूलाई देहव्यापार तथा घरेलु श्रमीकका रुपमा बन्धक बनाएर राख्ने धन्दामा पनि जोडिएका छन्। यो क्रम निरन्तर बढेपछि नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले २०७६ साल भदौ १३ गते एउटा सूचना नै जारी गरेको थियो। जसमा लेखिएको थियो, दुलही किनबेच गरी मानव तस्करी।

प्रहरीले नेपाली युवतीहरूलाई विवाहको बहाना बनाएर चीनमा तस्करी गर्ने गरेको सूचनाका आधारमा लामो समय गरेको अनुसन्धान अनुसार ४ जना पीडित नेपाली युवतीलाई काठमाडौँका विभिन्न स्थानमा सञ्चालित चिनियाँको म्यारिज ब्यूरोबाट उद्धार गरेपछि म्यारीज व्यूरोको नाममा भईरहेको मानव तस्करी नियन्त्रणमा विशेष टोली नै खटाएको थियो। त्यसबेला पहिलो पटक ६ जना चिनियाँ मानव तस्कर पक्राउ परेका थिए। उनीहरूले चिनियाँ युवकसँग विवाह गराइदिने र सजिलै चीन जान पाइने प्रलोभन देखाएर नेपाली युवतीबाट जनही २० लाखसम्म ठगेको पाइएको थियो। म्यारिज ब्यूरोको कार्यालयमा चिनियाँ युवकले नेपाली युवती छान्ने र जिल्ला प्रशासन कार्यालयमा विवाह दर्ताको कागज बनाएर नेपाली युवतीलाई चीन लैजाने गिरोह कोरोना महामारी हटेपछि अहिले फेरि सल्वलाएको प्रहरीको अनुमान छ।

तस्करीको ट्रान्जिट बन्दै नेपाल

नेपाल प्रहरीका अनुसार चिनियाँहरूले नेपाललाई गैरकानुनी अनलाइन ठगी, मानव तस्करी तथा अरु विभिन्न संगठित विद्युतीय अपराध सँगै प्रतिबन्धित बस्तु सँगै वन्यजन्तु तस्करीको ट्रान्जिट बनाएका छन्। यही सञ्जालले अफ्रिकाको कङ्गोबाट टर्की हुँदै नेपाल ल्याई पुर्‍याएको एक सय ६२ केजी सालकको खपटा समेत प्रहरीले पक्रेको रेकर्ड छ।। प्रहरीको विवरणमा, २०७४ माघ १५ गते चिनियाँ नागरिकहरू क्वी जि–ओ–रोङ र क्वी लिबा ओ काठमाडौँ विमानस्थलमा सालकको खपटासहित पक्राउ परेको देखिन्छ। लगत्तै २०७५ भदौ ४ गते प्रहरीले समुद्री घोडा तथा बाघको छालासहित तीन जना चिनियाँलाई ठमेलमा पक्रेको थियो। जो त्यसबेला काठमाडौं वान होटलका सञ्चालक चिनियाँ नागरिक चेन क्आङ थिए।

यार्सागुम्बा, सुनाखरी, बाघको हड्डी तथा विभिन्न जडीबुटी तस्करीमा चिनियाँ नै अगाडि छन्। यसबाहेक चिनियाँहरूले नेपालमा चिकित्सा क्षेत्रमा समेत अपराध सञ्जाल बिस्तार गरेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले २०७४ फागुन १६ गते एकसाथ ठमेलको एपोलो इन्टरनेशन क्लिनिक, बौद्धको चाइना ग्रेट वाल हेल्थ सेन्टर, चाइनाज् पिपल्स हस्पिटल र चाइना डेन्टल अस्पतालमा कार्यरत १३ जना चिकित्सकलाई पक्राउ गरेको थियो। उनीहरू अनुमतिबिना नै नेपालमा महङ्गो सेवा शुल्क असुलेर चिकित्सकीय कार्य गर्दै आएका थिए। प्रहरीका अनुसार अहिले पनि कतिपय चिनियाँहरू अनधिकृत रूपमा नेपालीलाई देखाएर यस्तै अस्पताल सञ्चालन धन्दामा संलग्न छन्।

प्रहरीलाई समेत कुटे चिनियाँले

त्यसो त, चिनियाँहरूको हर्कत गैरकानुनी धन्दामा मात्र सीमित छैन। उनीहरूले कोरोनाका कारण सम्पूर्ण विश्व स्तब्ध भइरहेको समयमा २०७७ साल वैशाख २६ गते चिनियाँले प्रमुख प्रशासनिक निकाय सिंहदरवारको गेट अगाडि स्वदेश फिर्ता हुन पाउनुपर्ने मागसहित धर्ना दिए र केही प्रहरीलाई कुटे। बिनाकुनै जानकारी चिनियाँहरूले संगठित रुपमा लकडाउनको निषेधित क्षेत्रमा भेला भएका ३३ जना चिनियाँ नागरिकले प्रहरीलाई ढुंगामुढा गर्दा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत र एक महिला प्रहरी घाइते भएका थिए। लगत्तै २०७८ साल फागुन २६ गते, सङ्खुवासभाको उत्तरी क्षेत्रमा शंकास्पद गतिविधि गर्दै आएका छोङ जेनजियन नाम गरेका २८ वर्षीय चिनियाँ नागरिकलाई पक्राउ गर्‍यो। उनी नेपाल र चीनको सीमावर्ती नाका किमाथाङ्काको निषेधित क्षेत्रबाट अबैध धन्दा चलाउँदै आएका थिए।

माथिका तमाम, अपराध विवरण विश्लेषण गर्ने हो भने, नेपालमा चिनियाँ नागरिकले कुन तहको आपराधिक जालो फैलाइरहेका छन् भन्ने प्रष्ट हुन्छ। किनकि सुन, डलर, वन्यजन्तुका अङ्ग, जडीबुटी तस्करी, ह्याकिङ, मानव अपहरण, हत्या प्रयास, मानव बेचबिखन, लागूऔषध तस्करी, अनलाइन ठगी, जुवा तथा गेमसेन्टर र अवैध चिकित्सकीय अभ्यासजस्ता धन्दा सबैतिर चिनियाँ जालो फैलिएको छ। प्रहरीका अनुसार २०६० साल पहिलेसम्म नेपालको अपराध श्रृंखलामा चिनियाँहरूको उपस्थिति अत्यन्तै थोरै थियो। फ्री तिब्बत मुभमेन्ट बाहेकका गतिविधिलाई निगरानी गर्नुपर्ने अवस्था थिएन। तर अहिले चिनियाँहरू टोल टोलमा यस्तै अवैध गतिविधिको जालो फैलाएर बसेका छन्। प्रहरीलाई टाउको दुखाइको कारण बन्न थालेका छन्। प्रहरीले गम्भीर अपराधमा संलग्न बाहेक पक्राउ परेका सबैलाई चीन सरकारको जिम्मा लगाउने गरेको छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

कृष्ण तिमल्सिना का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link