‘सुकिला’ लाई कृषि अनुदान, निमुखाको पत्ता साफ

सुरेन्द्र भण्डारी/झापा

अर्थतन्त्रको मूलधारका रुपमा रहेको कृषि प्रणालीका निम्ति राज्यले अनुदान दिने नीति लिएको छ।  जसअनुसार स्थानीय तहहरूले कृषि उत्पादनमा सहजता र उत्पादकत्वमा वृद्धि गर्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। राज्यका तर्फबाट प्रदान गरिने आर्थिक तथा प्राविधिक सहयोगले कृषि उत्पादनमा आत्मनिर्भर बनायो भने देशकै उन्नतिका लागि सकारात्मक उपलब्धि हुनेछ।

कुनै दिन छिमेकी लगायत तेस्रो मुलुकसम्म कृषिवस्तु निर्यात गर्ने हाम्रो क्षमता युवावर्गको कृषि पेशाप्रतिको विकर्षण, राज्यको नीति र विदेश पलायनका कारण कमजोर भएको छ। यस्तोमा राज्यको पुनःसंरचनापछि निर्माण भएका स्थानीय, प्रदेश तथा संघीय सरकारले कृषिलाई प्राथमिकतामा दिएर कार्यक्रम निर्माण गरिरहेका छन्। कृषि उत्पादनलाई बढाउन तीन तहकै सरकारले कृषिसँग विभिन्न कार्यक्रम सञ्चालन गरिरहेपनि वास्तविक कृषकले भने अनुदान पाउनबाट बञ्चित रहेको तथ्य बाहिरिएको छ।

जिल्लाकै प्रशिद्ध व्यापारिक केन्द्रका रुपमा चिनिएको बिर्तामोडलाई झापाको मुटु समेत भनिने गरेको छ।  पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पर्ने बिर्तामोड जिल्लाको सबैभन्दा महत्वपूर्ण व्यापारिक केन्द्र पनि हो। तर, यही व्यापारिक केन्द्रमा बसोवास गर्ने नागरिकले कृषि अनुदानमा पहुँच राखेको पाइएको छ। १५ स्थानीय तह रहेको झापामा बिर्तामोडका लागि मात्रै २३ जना कृषि अनुदानका लागि कृषि अनुदानग्राहीका रुपमा छनौट भएका छन्।

कृषि ज्ञान केन्द्र झापाले सार्वजनिक गरेको सूचिमा बिर्तामोडमा बीउ प्रशोधन पूर्वाधार बीउ भण्डारण गृह र अदुवा प्रशोधन तथा यन्त्र उपकरण, युवा लक्षित कार्यक्रम र हाईब्रिड मकै विस्तार कार्यक्रम समावेश छन्। छनौटमा परेका मध्ये बीउ प्रशोधन पूर्वाधार/बीउ भण्डारण गृह र अदुवा प्रशोधन तथा यन्त्र उपकरण शीर्षकको कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र झापाले ५०/५० लाख रुपैयाँ अनुदान दिने तयारी गरेको छ।

बिर्तामोड–७ मा रहेको तमोर बिउ प्रालि र मेची खाद्य प्रशोधन उद्योगका लागि ५०/५० लाख अनुदान दिने तयारी गरिएको हो। प्रदीप खनालले सञ्चालन गरेको तमोर बिउ प्रालिले बीउ प्रशोधन र भण्डारण गर्ने बताइएको छ भने फणिन्द्र आचार्यले सञ्चालन गरेको मेची खाद्य प्रशोधन उद्योगले अदुवा प्रशोधन गर्ने बताइएको छ।

कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टका अनुसार बिर्तामोडपछि  धेरै लाभग्राही कचनकवल गाउँपालिकामा रहेका छन्। कचनकवल गाउँपालिकामा लाभग्राहीको संख्या १७ रहेको छ। कृषि प्रर्वद्धनका लागि कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७९/०८० का लागि कार्यक्रम छनौट गरेको हो। जसमा अर्जुनधारा नगरपालिकामा ८, कनकाई नगरपालिकामा २, कमल गाउँपालिकामा ३, गौरादह नगरपालिकामा ५ , गौरीगञ्ज गाउँपालिकामा २, झापा गाउँपालिकामा १०, दमक नगरपालिकामा २, वाह्रदशी गाउँपालिकामा १०, वुद्धशान्ति गाउँपालिकामा ३, भद्रपुर नगरपालिकामा ९, शिवसताक्षी नगरपालिकामा ७ र हल्दिवारी गाउँपालिकामा ४ जना अनुदान लाभग्राही छनौटमा परेका हुन्।

अर्जुनधारा नगरपालिकाका लागि सविन भट्टराईको हाम्रो कृषि फर्मसहित ८ वटा फर्म र व्यक्ति अनुदान लाभग्राही रहेका छन्। हाम्रो कृषि र्फमका लागि कृषि ज्ञान केन्द्र झापाले ७ लाख रुपैयाँ अनुदान दिने जनाएको छ। त्यस्तै शनिश्चरे सुवारी टे«डर्सका लागि पचास लाख, एभरेष्ट लार्ज कार्डामम इण्डष्ट्रिज प्रालिका लागि ५० लाख रुपैयाँ अनुदान प्रदान गर्ने कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। युवा लक्षित कार्यक्रम अन्तर्गत कमलप्रसाद अधिकारीलाई एक लाख, हाइब्रिड मकै विस्तार आयोजनाका लागि सिंहदेवी कृषक समूहलाई प्रतिकठ्ठा पाँच सय, मेदनी खतिवडालाई ५ सय, मल्लिका अधिकारीलाई पाँच सय, खर्केली पशु तथा कृषि पर्यटन प्रबद्र्धन केन्द्रलाई हाइब्रिड मकै विस्तार आयोजनाकै लागि प्रतिकठ्ठा ५ सय रुपैयाँ अनुदान प्रदान गर्न लागिएको हो।

कचनकवल गाउँपालिकामा साथी कृषि फर्म तरकारी खेतीका लागि सात लाख, सोही शीर्षकमा अनिता राजवंशीलाई एक लाख रुपैयाँ अनुदान प्रदान गर्ने बताइएको छ। त्यस्तै सोही गाउँपालिकामा रहेका कृषकका लागि युवा लक्षित कार्यक्रममार्फत हेलनकुमारी राजवंशी, जय कृषि फर्म, चन्दन च्याऊ उद्योग, घनश्याम राजवंशी, फाकातुलाल राजवंशी, अनिल राजवंशी, तेजनारायण राजवंशी, जोरजी गणेशलाई तरकारी खेतीका लागि एक/एक लाख रुपैयाँ प्रदान गर्न छनौट गरिएको हो।

त्यस्तै हाइब्रिड मकै विस्तारका लाग सन्तोषी माँ कृषक समूह, गोदाबारी कृषि फर्म, सूर्यमुखी महिला कृषक समूह, शान्ति कृषि फर्म, वाली विकास मत्स्य तथा पशुपालक कृषक समूह, मनोजकुमार गणेश र गोपी तामाङलाई प्रतिकठ्ठा पाँच/पाँच सय रुपैयाँ प्रदान गरिने भएको छ। सो कार्यक्रमका लागि कृषकले बढीमा एक विगाहासम्म खेती गर्न सक्नेछन्।

यता कनकाई नगरपालिकामा सन्देश भट्टराई र कनकाई मौरी पालन उद्योगलाई युवा लक्षित कार्यक्रममा मौरी पालनका लागि एक/एक लाख रुपैयाँ प्रदान गर्न छनौट गरिएको हो। कमल गाउँपालिाकामा शिखर च्याऊ फर्म, रिजाल मौरी पालन तथा घर निर्माण उद्योगलाई एक/एक लाख र लगनशील कृषि सहकारी संस्था लि.लाई हाइब्रिड मकै विस्तारका लागि प्रतिकठ्ठा पाँच सय रुपैयाँ प्रदान गर्न छनौट गरिएको छ।

गौरादह नगरपालिकामा हाम्रो एकीकृत कृषि फर्म प्याज उत्पादन तथा प्रबद्र्धन कार्यक्रमका लागि दुई लाख, माँ लक्ष्मी बहुउद्देश्यीय कृषि फर्मलाई एक लाख, लक्ष्मीनारायण कृषक समूहलाई एक लाख, गौरादह बीउ उत्पादक कृषि समूहलाई १३ लाख, नरबहादुर बस्नेतलाई हाइब्रिड मकै विस्तारका लागि प्रति कठ्ठा पाँच सय रुपैयाँ प्रदान गर्न छनौट गरिएको छ।

उता गौरीगञ्ज गाउँपालिकामा ड्रागन फ्रुट खेतीका लागि सात लाख, पुरानो मकै ब्लक विकास कार्यक्रमका लागि १३ लाख रुपैयाँ अनुदान प्रदान गर्ने निर्णय भएको छ। ड्रागन फ्रुट गौरीगञ्ज–२स्थित सुमेरु फर्म प्रालिले नमूना फर्म स्थापना गर्दै उत्पादन गर्ने भएको छ भने गाउँ जागरण कृषि सहकारी संस्थाले पुरानो मकै ब्लक कार्यक्रम सञ्चालन गर्ने भएको छ।

झापा गाउँपालिकामा साधना संस्कृति नमूना कृषि फर्मका लागि १३ लाख रुपैयाँ अनुदान प्रदान गरिने भएको छ। जहाँ पुरानो केरा ब्लक विकास कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। लक्ष्मी तिम्सिनाले झापा गाउँपालिका–३मा यो कार्यक्रम सञ्चालन गर्ने जिल्ला कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। त्यस्तै मकैबारी प्रवर्ध्दन कार्यक्रमका लागि गजरंगपुर कृषक समूह, कुवाडीदेवी कृषि समूह, जनकलाल गणेश, न्यू जागृति कृषक समूह, एभरग्रिन मल्टी एग्रो फर्म, कुवाडी कृषि समूह, नमूना मिश्रित कृषक समूह, घुसुर गणेश र उज्यालो कृषक समूहलाई मकै उत्पादन तथा विस्तारका लागि प्रतिकठ्ठा पाँच सय रुपैयाँका दरले प्रदान गर्न लागिएको हो। दमक नगरपालिकामा हिमा काफ्लेलाई युवा लक्षित कार्यक्रमका लागि एक लाख र दमक–९मा रहेको सिकान बीउ उद्योगलाई पचास लाख रुपैयाँ प्रदान गर्न लागिएको बताइएको छ।

बाह्रदशी गाउँपालिकामा पाण्डे फलफूल नर्सरी फर्मलाई दुई लाख, डाँगीवारी साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई पचास लाख रुपैयाँ प्रदान गरिने भएको छ। खाद्यान्न भण्डार गृह निर्माणका लागि अनुदान रकम प्रदान गरिने र बाह्रदशी–७मा धान भण्डारण केन्द्र निर्माण गर्न लागिएको हो। युवा लक्षित कार्यक्रम अन्तर्गत ढुंगाना कृषि फर्मलाई एक लाख, मिलिजुली कृषक समूह मकै वाली प्रवर्ध्दनलाई नौ लाख, प्रगतिशील मिश्रित कृषक समूहलाई नौ लाख, सूर्यमुखी कृषक समूहलाई हाइब्रिड मकैका लागि प्रतिकठ्ठा पाँच सय, बालकुमारी आचार्यलाई हाइब्रिड मकै विस्तारका लागि पाँच सय, तेजप्रसाद कोइरालालाई हाइब्रिड मकै विस्तारका लागि प्रतिकठ्ठा पाँच सय, लक्ष्मीनारायण कृषि समूहलाई हाइब्रिड मकै विस्तारका लागि प्रति कठ्ठा पाँच सय र गुरुप्रसाद उप्रेतीलाई सोही कार्यक्रमका लागि प्रतिकठ्ठा पाँच सय रुपैयाँ प्रदान गरिने जनाइएको हो।

बिर्तामोड नगरपालिका तमोर बीउ प्रालिलाई पचास लाख रुपैयाँ, मेची खाद्य प्रशोधन उद्योगलाई ५० लाख, चन्द्रमुखी कृषि फर्मलाई एक लाख, अधिकारी च्याउ उद्योग एक लाख, उमा कृषि फर्म एक लाख, चन्द्रकला घिमिरे एक लाख, संगीता बस्नेत एक लाख, तारा कृषि फर्म एक लाख, तक्तिघर बहुउद्देश्यीय कृषि फर्मलाई एक लाख, गोपाल खवास एक लाख, पटेल कृषि फर्म एक लाख रुपैयाँ प्रदान गरिने भएको हो। हाइब्रिड मकै विस्तारका लागि प्रति कठ्ठा पाँच सयका दरले पदमप्रसाद पौडेल, रघुनाथ पौडेल, ओमनाथ घिमिरे, मोतीलाल दाहाल, खगेश्वरी पौडेल, राजकुमार दाहाल, पारस पौडेल, जयकुमार प्रसाईं, रुद्रबहादुर बराल, मनोहर पौडेल, रमेशकुमार कार्की र अमरबहादुर कार्कीलाई अनुदान रकम प्रदान गर्न लागिएको हो।

बुद्धशान्ति गाउँपालिकामा अंकुरण एग्रो प्रालिलाई प्राङ्गारिक मल उत्पादनका लागि पचास लाख, विक्रम सुपारी प्रशोधन केन्द्रलाई पचास लाख र बुद्धशान्ति मौरी कृषि फर्मलाई एक लाख रुपैयाँ प्रदान गर्न लागिएको हो। भद्रपुर नगरपालिका एदन नर्सरीलाई दुई लाख रुपैयाँ प्रदान गर्न लागिएको हो। जसले भद्रपुर–२मा पुष्प खेतीका लागि नर्सरी विस्तार गर्ने बताइएको छ। त्यस्तै सुनगाभा अध्ययन कृषि फर्मलाई तरकारी उत्पादनका लागि अनुदान प्रदान गर्न लागिएको हो। रेनुका कृषि फर्मकी धनकुमारी इदिङ्गो, भरतकुमार यादव, महिला कृषि तथा पशुपालन कृषक समूह, मिलिजुली कृषि तथा पशुपालन कृषक समूह, हेमराज भट्टराई र बमबहादुर तामाङलाई हाइब्रिड मकै विस्तारका लागि प्रति कठ्ठा पाँच सय दरले प्रदान गर्न छनौट गरिएको जनाइएको छ।

मेचीनगर नगरपालिका–१०मा रहेको फोइडिटा कृषि फर्मलाई जैविक विषादि उत्पादन कार्यक्रमका लागि अनुदान रकम प्रदान गर्न लागिएको हो। मेचीनगर–१०मै रहेको कञ्चन बीउ उत्पादन तथा प्रशोधन प्रालिलाई ५० लाख, सारु गौडा कृषि फर्मलाई एक लाख रुपैयाँ प्रदान गर्न लागिएको हो।

शिवसताक्षी नगरपालिकामा यशोदा कृषि फर्मका लागि सात लाख, हाइ हिमालयन अग्र्यानिक प्रालिका लागि ५० लाख, कञ्चनजंघा च्याउ उद्योगका लागि एक लाख, हाम्रो हातेमालो कृषि सहकारी संस्था लिमिटेडलाई २० लाख, कमलधाप कृषक समूहलाई १० लाख, कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिलाई १० लाख, पुनिका मौरी पालन उद्योगलाई १५ लाख रुपैयाँ प्रदान गर्न लागिएको हो।

हल्दिवारी गाउँपालिकामा रहेको पाथीभरा सप्लायर्सलाई खाद्यान्न भण्डार निर्माणका लागि ५० लाख, प्रभात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई लाख १५ लाख, एकता बहुउद्देश्यीय सहकारी संस्थालाई १५ लाख र ओमकृष्ण सिलवाललाई हाइब्रिड मकै विस्तारका लागि प्रति कठ्ठा पाँच सय दरले प्रदान गर्न कृषि ज्ञान केन्द्र झापाले छनौट गरेको जनाइएको छ।

अनदान रकम कार्यालयको अनुगमन पश्चात मापदण्ड पुगेका कृषकले मात्र पाउने कृषि ज्ञान केन्द्र झापाका बाली संरक्षण अधिकृत समेत रहेको निमित्त कार्यालय प्रमुख विष्टले जानकारी दिनुभयो।

कृषक तथा उद्यमीलाई संरक्षण तथा सेवा प्रदान गर्ने नीति स्वागतयोग्य छ। तर, अनुदान वास्तविक कृषक र लक्षित वर्गसम्म पुगेको छ/छैन त्यसको अनुगमन र नियमन सम्बद्ध निकायले गर्नुपर्छ। प्रभाव, पहुँच र पैसाका भरमा अनुदान वितरण गरिन्छ भन्ने टिप्पणी र आलोचनालाई समेत केन्द्रमा राखेर जिम्मेवार निकायले निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढंगले नियन्त्रणमा समेत ध्यान दिनु पर्छ। त्यसो भयो भने साच्चै नै कृषि क्रान्ति सम्भव हुन्छ। जसले कृषि कर्मप्रति आकर्षण बढाएर युवा वर्गलाई वैदेशिक रोजगारमा जानबाट रोक्न सक्छ। जनशक्तिको अभावमा कुनै आधुनिक प्रविधि र उपकरणहरूले उपलब्धि दिन सक्दैनन् भन्ने तथ्यलाई तीनै तहका सरकारले बिर्सनु हुँदैन।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

सुरेन्द्र भण्डारी/झापा का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link