अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले लेखिका ई. जिन क्यारोललाई यौन शोषण गरी त्यसलाई झुटा भन्दै बदनाम गरेको आरोपमा जरिवानास्वरूप ५० लाख अमेरिकी डलर तिर्नुपर्ने भएको छ।
न्यायाधीशको यो फैसलासँगै विश्वले सत्यता थाहा पाएको र यो जित आफ्नो मात्रै नभएर दुःख झेल्ने महिलाको समेत भएको क्यारोलको भनाइ छ ।
पूर्वराष्ट्रपति ट्रम्प फेरि एकपटक ह्वाइट हाउस प्रवेशका लागि अभियान चलाएका छन्। उनका वकिल जोसेफ टाकोपिनाले म्यानहटन संघीय अदालतमा पुनः अपिल गर्ने बताएका छन् ।
म्यानहटनस्थित बर्गडाफ गुडम्यान डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुममा सन् १९९५–९६ मा आफूलाई ट्रम्पले बलात्कार गरेको बयान क्यारोलले दिएकी थिइन्। पछि अक्टोबर २०२२ मा सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो बदनामी गरेको र त्यो छलकपट र असत्य रहेको क्यारोलको भनाइ थियो।
गत अप्रिलदेखि जारी परीक्षणमा ट्रम्प अनुपस्थित थिए। ट्रुथ सोसल मिडिया प्लेटफर्ममा आफूविरुद्धको फैसला अपमान भएको र वास्तवमा आरोप लगाउने महिला को हुन् भन्ने नै थाहा नभएको पोस्ट गरेका थिए। किनकि, यो दिवानी मामिला थियो। ट्रम्पले यसरी कुनै आपराधिक परिणाम सामना गर्नुपरेको थिएन। न जेल जाने जोखिम नै थियो।
५० लाख जरिवाना तिराउने फैसलामा पुग्न न्यायाधीशको टोलीले घण्टौँ विचार–विमर्श गरेको थियो। तर, यो मामिला अपिलमा रहँदासम्म ट्रम्पले क्षतिपूर्ति तिर्नुपर्ने छैन। गत अप्रिलमा ट्रम्पले निर्वाचनसम्बद्ध निकायलाई पाँच करोडबराबरको सम्पत्ति रहेको अन्दाजी विवरण दिएका थिए।
ट्रम्पका कोर–भोटर्स उनै
अमेरिकी ध्रुवीकृत राजनीतिक माहोलमा ट्रम्पका विपक्षीले उनको यो कानुनी समस्यालाई कमजोर पार्ने हतियारका रूपमा हेरे पनि यसले उनका सच्चा समर्थकलाई कुनै फरक नपार्ने देखिन्छ। पेन्सिलभेनियास्थित रिपब्लिकन योजनाकार चार्ली गेरो भन्छन्, ‘जो मानिस ट्रम्पविरोधी छन्, उनीहरू रहिरहन्छन्। तर, सच्चा समर्थक (मतदाता) परिवर्तन हुँदैनन् ।’ गेरोका अनुसार नकारात्मक प्रभाव सानो र उपनगरीय महिला तथा मध्यम रिपब्लिकनमा सीमित हुने सम्भावना छ ।
ट्रम्पले यो अभियान कमाइखाने भाँडो भएको बताउँदै पूर्वपत्रिकाकी स्तम्भकार र ‘रजिस्टर्ड डेमोक्र्याट’ क्यारोलले आफ्नो संस्मरणको बिक्री बढाउन र आफूलाई राजनीतिक रूपमा चोट पुर्याउन आरोप लगाएको बताएका छन् ।
सन् २०१६ को राष्ट्रपति चुनावमा विजयी हुनअघि एक पोर्न स्टारलाई लुकीछिपी पैसा दिएको आरोपमा गत महिना उनीमाथि कीर्ते व्यापार गरको आरोप लागेपछि उनको मतदाता संख्यामा सुधार आएको छ। भूतपूर्व या वर्तमानमा आपराधिक छविका पहिलो अमेरिकी राष्ट्रपति ट्रम्पले आफू दोषी नरहेको भन्दै यो आरोप राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् ।
क्यारोलले दिएको बयानमा आफू बर्गडर्फमा ट्रम्पसँग ठोक्किएको र अर्की महिलालाई उपहार दिन उनको सहयोग गरेको बताएकी छिन्। ड्रेसिङ रुपमा लैजानुअघि दुवैले अधोवस्त्र हेरेको, टाउको भित्तामा ठोक्काएको र ट्रम्पले भित्री वस्त्र खोलिदिएर आफ्नो काम गरेको बयान दिएकी थिइन्। यसरी भएको बलात्कारको मिति या साल प्रस्ट नभएको क्यारोलको भनाइ छ।
यता न्यायाधीशले भने ट्रम्पले क्यारोलको बलात्कार नभई यौनशोषण गरेको निष्कर्ष निकालेका छन्। न्यायाधीशको टोलीले क्यारोललाई क्षतिपूर्तिस्वरूप २० लाख डलर र २० हजार डलरको दण्डात्मक क्षतिपूर्ति तथा मानहानीका लागि २.७ करोड डलर क्षतिपूर्ति दिलाएका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित