तत्कालीन १० बर्से सशस्त्र युद्धको नेतृत्वकर्ता सुप्रिम कमान्डर प्रचण्डले नेपालको संसदीय राजनीतिमा पुष्पकमल दाहालको परिचय बसालेको १८ वर्ष भयो। संसदीय राजनीतिलाई दुत्कारेर १० वर्षसम्म संसदीय व्यवस्था र राज्य संरचना विरुद्ध बम र बारुद खेलाउँदा खेलाउँदै १७ हजार नागरिकले अनाहक मै ज्यान गुमाए। जुन माओवादी कै शब्दमा राज्यको अग्रगामी रूपान्तरणका लागि अपरिहार्य आवश्यकता थियो।
प्रजातान्त्रिक संसदवादी राजनीतिक दलको जनधारसँगै विश्वाससमेतको मर्ममा पटक पटक प्रहार गरेका प्रचण्डहरू २०६२ साल मङ्सिर ७ गते दिल्लीमा भएको १२ बुँदे सम्झौताको आड र संसदीय राजनीतिक दलका नेताहरूको भरोसामा २०६३ सालमा उही संसदीय राजनीतिमा फर्किए।
प्रचण्डबाट पुष्पकमल दाहाल बनेपछि ३ पटक त्यहीँ संसदीय प्रणालीको अङ्कगणितबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल अहिले तेस्रो कार्यकालको पनि उत्तरार्द्धमा छन्। अनि क्रान्तिको आगो ओकल्दै बुलेट बिसाएर शान्तिपूर्ण संसदीय यात्रामा होमिए पछिको १७ वर्षमा पुष्पकमल दाहालले न प्रचण्डहरूले भनेजस्तै सर्वहारा वर्गको उत्थान गर्न सकेका छन् न दलाल नोकर शाही पुँजीपति वर्गका अगाडि दस्ताबेजहरूमा भनेजस्तै प्रधान शत्रु बनेर उभिएका छन्।
दाहालहरू पटक पटक तिनै दलाल नोकर शाही भनिएकाहरूको दैलोमा लम्पसार परेको आरोपले डामिएका छन्। अर्थात् दाहाल अहिले उही युद्ध कालमा प्रचण्डहरूले भनेजस्तै खसीको टाउको देखाएर सर्वहारा गरिब वर्गलाई धमाधम कुकुरको मासु बेचिरहेका छन्। त्यही थलोको सत्ता योजनाका रणनीतिकार बनेका छन्।
यो संसदीय राजनीतिक विकृति भित्र पसेका पुष्पकमल दाहालहरूले देखाएको प्रचण्ड पथको निरन्तरतामा क्रम भङ्गता हो। जुन शब्द प्रचण्डले २०६३ साल मङ्सिर ५ गते अहिलेको संसद् भवन अर्थात् अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मूल भवनमा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर हुँदै गर्दा रोष्ट्रममा उभिएर बोलेका थिए।
कहाँ कहाँ चुके प्रचण्ड ?
२०६४ सालको संविधान सभाको चुनावपछि पहिलो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल नेतृत्वको सरकार ९ महिनामै ढल्यो। दुर्भाग्य नै मान्नुपर्छ, नेकपा एमाले अहिले पनि तत्कालीन मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारलाई देखाएर त्यसको ब्याज खाई रहेको छ। तर प्रचण्डको नौ महिने कार्यकाल विवादै विवादमा गुज्रियो। सरकार ढले लगत्तै माओवादीले गरेको सडक आन्दोलनमा दाहालले दिएको अभिव्यक्ति मान्ने हो भने, भारतको इसारामा दाहाल नेतृत्वको सरकार ढल्यो।
नागरिक सर्वोच्चता माग्दै सडकमा पुगेका दाहालले सिधै मालिकसँग संवाद गर्ने अभिव्यक्ति दिए। भारत विरुद्ध सुरुङ युद्ध छेड्ने युद्धकालीन छविलाई धमिलो बनाउने उत्तेजक अभिव्यक्ति दिए। दाहाल प्रधानसेनापति, पशुपतिनाथको पुजारी र प्रज्ञा प्रतिष्ठानको कुलपति काण्ड थाम्न नसकेर सिंहदरबारबाट बाहिरिएका थिए। यसको जवाफ मतदाताले लगत्तैको आवधिक चुनावमा दिए। प्रचण्ड पथको चुनावी अधोगति कस्तो रह्यो पछि चर्चा गरौँला।
२०६३ असार २ गते प्रचण्ड र लालध्वजहरु पहिलो पटक बालुवाटारमा सार्वजनिक हुँदा संसदवादी दलसँग माओवादीले गरेको ८ बुँदे समझदारी बाटै प्रचण्ड पथको अधोगति सुरु भएको मानिन्छ। प्रचण्डका राजनीतिक गुरु मोहन वैद्य किरण भन्छन्, त्यो शान्ति प्रक्रियाका नाममा गरिएको प्रचण्ड पथको आत्मसमर्पण थियो। अहिले पुष्पकमलजीहरूले त्यसलाई निरन्तर पुष्टि गरिरहेका छन्।
विद्रोही र सत्ताका बिचमा विश्वासको वातावरण सिर्जना गर्नु क्रान्तिको रणनीति हो तर सत्ताका लागि विद्रोह नै बिसाउनु गद्दारी हो। नेपालको १० बर्से युद्धको मूल्य र मान्यता यसै गरी सत्तासँग साट्ने काम भयो, वैद्य भन्छन्, क्रान्तिकारी जनसमुदाय माथि गद्दारी गरियो। उहिलेको प्रचण्ड पथ अहिले अवसरवादको पर्याय बनेको छ।
दाहालको राजनीतिक कद नाप्ने हो भने राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ७ गते विघटन गरेको प्रतिनिधि सभा २०६३ साल वैशाख ११ गते १९ दिने आन्दोलनको दबाब थेग्न नसकेर पुर्नस्थापित गरिएपछि नै प्रचण्ड परीक्षा सुरु भएको थियो। त्यसवेला जनमत र जनबल भन्दा पनि माओवादीले युद्धको राप र तापको बलमा १५ वैशाख २०६३ मा बसेको पुर्नस्थापित प्रतिनिधि सभाको बैठकले कोरेको मार्गचित्र अनुसार अन्तरिम व्यवस्थापिका संसद्मा नेकपा एमाले सरहको भूमिका पायो।
प्रचण्ड र लालध्वजहरुले केही समय हामी फरक छौँ भन्ने भ्रम सिर्जना गर्दै बालुवाटारमा सार्वजनिक हुँदा लगाएको खरानी रङ्गको कपडालाई ब्राण्डीङ गरे। त्यस वेला अन्तरिम संसद्मा पसेका माओवादीहरूको आवाज निकै त्रासदीपूर्ण लाग्थ्यो। तर प्रचण्डहरूले यो पार्टीको वैभव लामो समय जोगाउन सकेनन्। सर्वहारा गरिबको घर भान्छामा पिर्कामा बसेर ढिँडो रोटो खाई बनाएको प्रचण्डहरूको चहकिलो छविमा निरन्तर दाग लाग्दै गयो।
पुष्पकमल दाहाल प्रचण्ड कै भाषामा, भारतमा राम्रो सङ्गठन बनाउन नसकेको भए माओवादीको युद्ध १० वर्षसम्म थेगिन सक्ने अवस्थै थिएन। प्रचण्डले नै भनेका छन्, हतार हतार शान्तिपूर्ण संसदीय राजनीतिमा रूपान्तरण नभएको भए, लिट्टे बन्ने खतरा थियो। तर क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्य भन्छन्, यो जनताले दिएको अभूतपूर्व भरोसा र विश्वास माथिको अवहेलना हो। भुटेको मकै र ढिँडो गुन्द्रुकको स्वाद बिर्सेका विचलित नेताहरूको निष्कर्ष हो।
प्रचण्ड र लालध्वजहरु १० बर्से युद्धको समयमा ९ वर्ष त भारत मै बसे। स्वयं प्रचण्डहरूले स्वीकार गरेका छन्। भारतबाट हतियार तथा तालिमको बन्दोबस्त भयो। त्यसैले १९ दिने आन्दोलनको पृष्ठभूमि राजाको निरङ्कुशता भएर पनि प्रचण्डहरूले दिल्लीलाई सूत्रधार बनाएर १२ बुँदे सम्झौता उतै गराए।
रक्तपातपूर्ण राजनीतिबाट मुलुकलाई बाहिर निकाल्नुपर्ने राजनीतिक तथा सामाजिक दबाबमा रहेका काँग्रेस नेता गिरिजाप्रसाद कोइरालाहरूले त्यही १२ बुँदेको त्यान्द्रो समातेर प्रचण्डहरूलाई पुष्पकमल दाहाल बनाएका थिए। तर, संसद् पुनःस्थापनापछि सुरु भएको प्रचण्ड परीक्षामा पुष्पकमल दाहालहरू निरन्तर फेल भई राखे। वैद्य भन्छन्, संसदीय राजनीतिलाई उपयोग गरेर सर्वहारा वर्गको उत्थानका लागि जनवादी व्यवस्था ल्याउने भनिएको थियो, तर त्यो भूमिकामा पुगेपछि माओवादी नेतृत्वले गद्दारी गर्यो। पुष्पकमल दाहालहरू सिंहदरबार पसेपछि घुम्ने मेच माथिको अन्धो मान्छे जस्तै बनेर रत्तिए, यो नेपाली कम्युनिस्ट आन्दोलन माथिको गद्दारी हो।
किन पुड्को बन्यो प्रचण्ड पथ ?
हुन त प्रचण्ड अर्थात् पुष्पकमल दाहाल, परिस्थितिको मूल्याङ्कन गरी तत्काल निर्णय लिएर जोखिम मोल्न सक्ने राजनीतिज्ञको पर्याय मानिन्छन्। तर ब्यालेट यात्रामा पुष्पकमल दाहालको यही खुबीले सिङ्गो माओवादीको राजनीतिक विश्वास र साख गिराई राखेको छ। तत्कालीन माओवादीलाई सशस्त्र युद्धबाट शान्तिपूर्ण राजनीतिमा रूपान्तरण गर्न नागरिक अगुवाको हिसाबले भूमिका खेलेका डाक्टर सुन्दरमणि दीक्षित भन्छन्, पुष्पकमल दाहालले यो पछिल्लो १८ वर्षमा अस्थिर, बोलीको ठेगान नभएको, धोकाधडी राजनीतिक खेलाडीको छवि बनाएका छन्।
पुष्पकमलहरूले आफ्नै सहयोद्धालाई धोका दिएका छन्, सहपाठी माथि गद्दारी भएको छ। युद्धका घाइते रोएर हिँडेका छन्। सहिद परिवारको बिचल्ली छ। जनमुक्ति सेनामा प्रचण्डको रक्षा कवच बनेकाहरू खाडीमा श्रम बेचिरहेका छन्। वाइसिएलमा लागेकाहरू माओवादीलाई नै भोट नहाल्ने अवस्थामा फर्केका छन्। पुष्पकमल दाहाल लोभी, पापी र अवसरवादीको झुन्डले घेरिएर बसेका छन्। दीक्षित भन्छन्, पहिलो कार्यकालमा भर्खरै युद्धबाट आएका थिए, विद्रोही नेताको हिसाबले नेपाली सेना माथि बैरी साँध्ने काम गरे त्यो पृष्ठभूमिका हिसाबले ठिकै थियो होला तर त्यसपछिको सत्तारोहण भ्रष्ट, नैतिकता र आचरणहीन राजनीतिमा निरन्तर भासिँदै गएर अहिले परिवार केन्द्रित आत्मकेन्द्रित बनेका छन्। यो प्रचण्ड पतनको कारण हो।
अवसरवादी चरित्र कै कारण न एमालेसँग माओवादीको सुमधुर सम्बन्ध छ न काँग्रेससँगको सत्ता साझेदारी टिकिराख्ने अवस्था छ, यो अन्तर्विरोधमा खेल्न रुचाउने दाहाल कै कारण राजनीतिमा सृजना भएको राष्ट्रिय समस्या हो, दीक्षित भन्छन्, ‘प्रचण्ड जी संसदीय राजनीतिमा राष्ट्रिय समस्या बन्नुभयो। उहाँ कै नेतृत्वमा भएको आन्दोलनको बलमा बिदा भएको राजतन्त्र उहाँले नै आफ्नो सिद्धान्त अनि निष्ठाको राजनीतिमा बन्चरो हानेकाले राजा फर्किन्छन् की भन्ने जनमत बढेको हो।
अन्तर्विरोधमा खेल्दा खेल्दै सकिएका प्रचण्ड
पुष्पकमल दाहालको राजनीति दागी बन्ने यस्ता दर्जनौँ कारण छन्। माओवादी भित्रको अन्तर्विरोधमा खेलेर माओवादी फुटाएको आरोप दाहालले खेपी रहेका छन्। दाहालले एमाले भित्रको अन्तर्विरोधमा खेल्दा एमाले फुट्यो। अहिले सत्ता साझेदार नेपाली काँग्रेस भित्रको अन्तर्विरोधमा दाहालले खेली रहेको देखिन्छ, राजनीतिक विश्लेषक पुरन्जन आचार्य भन्छन्, अवसरवादको राजनीतिमा गतिशील नेता बन्न खोज्दा दाहाल आफैँ पटक पटक दुर्घटनामा पर्नुभएको छ, र नेपाली काँग्रेसको नेतृत्व यही दाहालको रणनीतिको सिकार बनेको छ। काँग्रेस त फुटाउन सक्दैनन् तर अन्तर्विरोधमा खेल्न सक्ने रणनीतिकार दाहालको सारथि बन्दा काँग्रेसले राजनीतिक छवि र जनविश्वास गुमाई रहेको छ।
दश बर्से सशस्त्र युद्धमा प्रचण्ड पथको सारथि बनेका नेत्रविक्रम चन्द ‘विप्लव’ क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने भन्दै दाहालबाट टाढिए। उनकै नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य भरत बम, दाहालको राजनीतिलाई धोका धडी, उपयोगवादी र दलाल पुँजीवादी अवसरवादको अवशेष भन्छन्। धोखाको राजनीति गर्दै आएका दाहालले युद्धको नाममा दाहालले सर्वहारा वर्ग र युद्धमा होमिएका हजारौँ वीर योद्धालाई धोका दिएको निष्कर्ष सहित ‘विप्लव’ ले नयाँ दल खोलेका हुन्। माओवादीबाट अलग भएपछि ‘विप्लव’ समूहका नेताहरूले युद्ध कालमा एक छाक खान धौधौ पर्ने दाहालको परिवारका सदस्यले दुबईको एउटा बैङ्कमा २१ अर्ब रुपैयाँ जम्मा गरेको दाबी सार्वजनिक गरे। बम भन्छन्, विदेशी प्रतिक्रियावादी, दलाल पुँजीपति वर्गको इसारामा दाहालले कहिले यता कहिले उता गर्दै फाइदा लिइरहनुभएको छ। आफ्नै कारणले दाहाल महाविपत्तिमा फस्दै गएपछि समाजवादी मोर्चा अथवा बृहत् वाम एकताको बाँसुरी बजाउन थालेको बमको आरोप छ।
छोरा प्रकाश दाहालको निधन भए लगत्तै २०७६ साल साउन १४ गते दाहालको परिवार मुड फ्रेसका लागि भन्दै केही समय दुबई गएर बसेपछि प्रचण्ड माथि छोराको खातामा रहेको २१ अर्ब रुपैयाँ व्यवस्थापन गर्न गएको आरोप लागेको थियो। तर दुबईबाट फर्किएपछि, दाहालले क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका प्रतिगामी तत्त्वहरूले क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कु प्रचार गरेको टिप्पणी गरे। यस्तै आरोप युद्ध कालका सहयोद्धा बाबुराम भट्टराईले पनि लगाएका छन्। बुढीगण्डकी, लडाकुको शिविर व्यवस्थापन, एनसेल, वाइडबडी जस्ता ठुला घोटाला प्रकरणमा दाहालको नाम जोडिएको छ। यो, प्रचण्ड अर्थात् दाहालको राजनीति दागी बन्नुको कारण हो।
संसदीय राजनीतिक मैदानमा अव्बल खेलाडी बनिसकेका दाहालको राजनीतिक क्रेज र कद घट्नुका कारणहरू अरू पनि धेरै छन्। पहिलो पटक सिंहदरबारबाट बाहिरिँदा कटवाल काण्ड र तत्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई प्रथम राष्ट्रपति बन्नबाट रोकेको घटनाको पश्चात्ताप गरिरहेका छन्। कोइरालालाई राष्ट्रपति बन्नबाट रोकेपछि दाहालले दुई स्थानमा चुनाव हारेका माधव नेपाललाई राष्ट्रपति बनाउने चर्चा चलाए। यो एमाले भित्रको अन्तर्विरोधमा खेल्ने रणनीति थियो। तर अन्तिम समयमा रामराजा प्रसाद सिंहलाई अघि सारे। पहिलो संविधान सभाले महत्त्वपूर्ण कार्यभार पुरा नगर्नुमा पनि दाहाल नै जिम्मेवार देखिए।
देशैभरि समाज भित्रको अन्तर्विरोधमा खेल्दै दाहालले पहिचानवादीहरूलाई आन्दोलित बनाए। जात, भाषा, भूगोल, धर्म, संस्कृति तथा पहिचानको अन्तर्विरोध बढ्दा संविधान सभाले संविधान जारी गर्न सकेन। दोस्रो संविधान सभाबाट संविधान जारी भएपछि संसदीय राजनीतिमा दाहालको अन्तर्विरोधमा खेल्ने रणनीति झनै संस्थागत बन्यो। सुशील कोइरालाको बर्हिगमन पछि आफ्नै अग्रसरतामा केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाए। १० महिना मै ओलीलाई दिएको समर्थन फिर्ता लिएर काँग्रेससँग मिल्न पुगे। प्रधानमन्त्री बन्न कै लागि एमाले पछि काँग्रेसलाई प्रयोग गरेर दाहाल दोस्रो पटक अन्तर्विरोधमा खेल्दै प्रधानमन्त्री बने। तर दाहालको दोस्रो कार्यकाल पनि सुखद रहेन। वैदेशिक सम्बन्धमा ठुलो उतारचढाव आयो। मधेसमा आन्दोलन चर्कियो। संविधान कार्यान्वयनमा विश्वास जगाउन सकेनन्।
पहिलो स्थानीय तहको निर्वाचन गराएर सिंहदरबार छाडेका दाहाल तत्कालै एमालेसँग मिल्न पुगे। २०७४ सालको स्थानीय चुनावमा नेपाली काँग्रेसलाई उपयोग गरेका दाहालले प्रदेश तथा प्रतिनिधि सभा चुनावमा काँग्रेसलाई नै धोका दिए। तर एमालेसँगको चुनावी साझेदारीबाट पार्टीको साख जोगाएका दाहालले तीन वर्ष मै काँग्रेससँग मोर्चाबन्दी गरे। एमाले भित्रको अन्तर्विरोधमा खेल्न खोज्दा माओवादी कै प्रभावशाली नेताले साथ छाडे। एमाले पनि दाहालको राजनीतिक चतुर्याईंको सिकार बन्यो।
केपी ओलीले दुई पटकसम्म गरेको असंवैधानिक संसद् भङ्गको राजनीतिक कलङ्क बेग्लै बहसको विषय बन्न सक्छ। तर यी सबै संसदीय घटनाक्रममा प्रचण्डको कद पुड्को अनि दाहालको छवि धमिलो बनिरहेको थियो। तर निरन्तर राजनीतिक नैतिकताको कसीमा कमजोर बनिरहेका दाहालमा राजनीतिक रूपान्तरण देखिएन। नेपाली काँग्रेस लगायतका दलसँगको मोर्चा वन्दीमा आर्जेको ३२ सिट कै भरमा प्रधानमन्त्रीको च्याँखे थापी हिँडेका दाहाल क्षणभर मै एमालेसँग मिल्न पुगे।
पहिलो कार्यकालको प्रधानमन्त्री बन्नका लागि काँग्रेसलाई जिल्लाएर एमालेको पोल्टामा पुगेका दाहालको, प्रधानमन्त्री बनेको हप्ता १० दिन मै फेरि रङ फेरियो। बालकोटको बार्दलीमा भएको सहमति क्षणभर मै तोडेर दाहाल काँग्रेस कै मोर्चामा उभिए। यो सुकिलो प्रचण्डको छविलाई कलङ्कित बनाउने अर्को संसदीय घटना बन्यो।
अहिले के गर्दै छन् त दाहाल ?
दाहालले तेस्रो कार्यकाल सुरु गरे लगत्तै सिंहदरबारमा नेपाल सरकारका सचिवहरूलाई, तेस्रो कार्यकालमा परिवर्तनको अनुभूति गराउने भन्दै जनताको पक्षमा काम गर्न निर्देशन दिएका थिए। तर त्यसको ११ महिनापछि गएको साता दाहालले तिनै सचिवहरूसँग गुनासो गरे, जनताको पक्षमा काम गर्न सकिएन। जनता झनै निराश छन्, म सरकारको कामबाट सन्तुष्ट छैन।
सरकारमा बसेर सरकारका विरुद्ध देशव्यापी आन्दोलन गर्ने भन्दै सर्वदलीय बैठकमा हस्ताक्षर गर्ने दाहाल अहिले नागरिक अगुवा दीक्षित तथा राजनीतिज्ञ भरत बमले भनेजस्तै सुकिलामुकिला व्यापारी र परिवारको सानो घेरामा बन्धक बनेका छन्। हालै मात्र प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका हरिबोल गजुरेल भन्छन्, सरकारलाई सफल बनाउन धेरै मेहनत गरेँ तर सकिएन। भोलि प्रश्नहरू उठ्ने छन् र त्यसको जवाफ पार्टी नेतृत्वले दिनुपर्छ, माओवादीका नेता समेत रहेका गजुरेलका अनुसार, दाहालको अहिलेको कार्यकालसँग जोडिएर भविष्यमा प्रशस्तै विवाद उठ्ने अवस्था छ।
एनसेल प्रकरण, भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्डको छानबिन, विमानस्थलबाट भई रहेको सुन तस्करी, एमसीसी र विआरआई कार्यान्वयनमा परिरहेको दबाब लगायतका प्रश्नको जवाफ भोलि दाहालले दिनुपर्ने हुन्छ। आफ्नै परिवारका सदस्यको जीवन शैली र खर्च व्यवस्थापनका प्रश्न झनै पेचिलो बनेको छ। यही साता राजनीतिक सल्लाहकारको पदबाट राजीनामा दिएका गजुरेल भन्छन्, राजनीतिक जीवनमा यती धेरै दाग लाग्नु राम्रो हैन।
अहिले संसद्मा जम्मा ३२ सिट भएर पनि दाहाल झन्डै एक वर्षदेखि सरकारको नेतृत्व गरिरहेका छन्। तर न विगतमा उठेका प्रश्नको जवाफ दिन सकेका छन्, न राष्ट्रियताको सन्दर्भमा दाहाल दरिलो बनेका छन्। यही नेतृत्व कालमा थुप्रै भ्रष्टाचारजन्य कसुरमा संलग्नलाई चोख्याएर सुनपानी छर्ने काम भएको छ। एनसेलको खरिद बिक्री प्रकरणदेखि पत्याउनै नसकिने तस्करीजन्य घटनामा दाहालका सारथिहरू जोडिई रहेका छन्।
खुला राजनीतिक मैदानमा खराने सर्ट पाइन्टबाट सुरु भएको दाहालको फरकपन टाई सुट, भादगाउँले टोपी हुँदै दौरा सुरुवाल अनि विलासी पहिरनमा भन्दा बाहेक कतै देखिएको छैन। दुई करोडसम्मको घडी अनि लाखौँ रुपैयाँका ह्यान्ड ब्याग बाटै क्रान्तिकारी नेता प्रचण्डले समाज रूपान्तरणको सन्देश दिन खोजिरहेको भान हुन्छ। बाँकी, सार्वजनिक कार्यक्रममा दाहालले भने जस्तै सरकारले जनतामा नयाँ भरोसा गाउन सकेको छैन। बुलेटबाट स्थापित भएको प्रचण्ड पथ ब्यालेट यात्रामा अवसरवादको कुहिरोमा हराएको काग जस्तै बनेका छन्। अझ भयावह तस्बिर अबको चुनावमा दाहालहरूले भोग्नुपर्ने छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
कृष्ण तिमल्सिना का अन्य पोस्टहरु:
- ओलीको चीन भ्रमण: ऋणको पासो की अनुदानको आशा ?
- सङ्क्रमणकालीन न्यायको प्रश्नमा द्वन्द्व पीडितको शङ्का: हाम्रो घाउ फेरि बल्झिन सक्छ !
- नेतालाई जुत्ता, मुक्का र खोयाको त्रास
- १२ महिनामा प्रचण्ड सरकारको १२ धक्का
- बीआरआईको त्रास: श्रीलङ्का र पाकिस्तान बन्ने की इटाली !
- विशेष खोज: शङ्का र स्वार्थमा जेलिँदै एमसीसी परियोजना
- प्रतिशोधको भड्खालोमा जकडिएको चीनको सी–सत्ता
- सीमा अतिक्रमण : कालापानीमा भारत र तातोपानीमा चीनको ज्यादती, भोटेकोशीको बस्ती नै उठ्दै
- हङकङमा प्रजातान्त्रिक योद्धाविरुद्ध तीव्र धरपकड
- छानबिनको राडारमा नपर्ने गणतन्त्रका ‘वाम राजकुमार’हरू