अब यक्षले भन्न थाल्यो—के गर्ने, यही बिचमा कुवेरको आगमन भयो र मलाई त्यसरी योनि परिवर्तन गरेर महिला भएकोमा रिसाएर अब तँ सधैँका लागि महिला नै भई रहेस् भनेर श्राप दिनु भयो। अर्थात् अब योनि परिवर्तन गर्नका लागि प्रतिरोपण असम्भव हुन पुग्यो। अनि शिखण्डी सदाका लागि राजकुमारका रुपमा परिणत भए ………
यहाँनेर के कुरा स्पष्ट हुन सकेन भने स्थूणाकर्ण आफूमा मात्र र आफ्नोमात्र लिङ्ग स्थानान्तरण, रोपण र प्रतिरोपण गर्ने क्षमता राख्थ्यो कि जसकसैको पनि लिङ्ग परिवर्तन गर्न सक्ने क्षमता थियो? अझ लोक महाभारतमा त के पनि भनिन्छ भने शिखण्डीलाई लिङ्ग प्रदान गरेपछि कुनै यक्ष त्यो दरबारमा घुम्दै आयो जो स्थूणाकर्णको चिरपरिचित थियो। जब उसले आफूले गरेको महादानको चर्चा गर्यो र पाञ्चाल जस्तो राज्य बचाउन आफूले सहयोग गरेको, महारथीका रुपमा परिचित भइसकेका शिखण्डीको इज्जत बचाउन आफूले भरसक सहयोग गरेको भन्दै शिखण्डीको अवस्था वृत्तान्त बतायो। अनि त्यो यक्षले स्पष्ट हुन चाह्यो—अब तिमीमा साँच्चै महिलाको जस्तो व्यवहार छ त? सामान्य महिला र तिमीमा केही भिन्नता छ कि छैन? के तिमीसँग पाठेघर पनि छ त? अनि तिमीमा कसरी पुँस्त्व हरायो त अब? यक्षका प्रश्नहरूको जबाफ स्थूणाकर्णले लाज मान्दै, यसो निहुँरिएर दिन थाल्यो—हे मित्र, यो लिङ्ग परिवर्तन भनेको मेरो पुल्लिङ्ग काटेर शिखण्डीमा टाँसेको मात्र होइन, न त शिखण्डीको स्त्रीलिङ्ग उक्काएर मेरोमा जोडेको हो। यसका लागि शरीरका यावत् संयन्त्रहरूको परिवर्तन गर्नु पर्थ्यो जुन म जान्दछु र गरेको हुँ। अब फेरि ऊ फर्केर आउँछ र मेरो लिङ्ग फिर्ता गर्नेछ, अनि उसका सबै शरीर संयन्त्र फिर्ता गर्नेछु र मेरा संयन्त्रहरू आफूमा फेरि जडान गर्नेछु। पाहुना यक्षले फेरि सोध्यो—तिमीमा महिलाको जस्तो कामवासना छ कि छैन? अर्को यक्ष, मानव, राक्षस या अन्य निशाचर देख्दा कामवासनाले सताउँछ कि सताउँदैन? स्थूणाकर्णले तत्काल भन्यो—मित्र, मैले अघि नै भनिसकेँ, लिङ्ग परिवर्तनसँगै उसमा आउने मनोभावमा पनि स्वतःपरिवर्तन हुन्छ र मलाई तिमीले यत्ति सोधपुछ गर्दा पनि कामवासनाले पीडित भई सकेँ। अनि के थियो, पाहुना यक्षसँग समागम भयो र त्यसै समयदेखि स्थूणाकर्ण गर्भिणी भयो या भइन् जे भनौँ। सामान्यतःलोकमा प्रचलित महाभारतको भनाइ यस्तो छ।
यदि ग्रन्थ महाभारतको प्रसङ्गलाई नै मान्ने हो भने पनि श्रापको दिनुको अर्थ हुनुपर्छ, गर्भिणी भइसकेकी स्थूणाकर्णले सायद बच्चा फालेरमात्र शिखण्डीको फिर्ता गरेको लिङ्ग जडान हुन सक्थ्यो किनभने लिङ्ग परिवर्तन गर्नका लागि शरीर संयन्त्रको यथावत् परिवर्तन आवश्यक पर्ने नै भयो। बच्चा फाल्नु अपराध थियो। खासगरी रक्ष संस्कृति र यक्ष संस्कृतिमा सामान्यतः एउटामात्र बच्चा पाउने चलन थियो अपवादमा बाहेक। त्यसो त कुवेरका धेरै छोराहरू र एकमात्र छोरी थिइन्। स्थूणाकर्ण भन्ने एकजना पात्र युधिष्ठिरको ब्राह्मण भेलामा पाइन्छन्, विद्वानहरूको भेलामा।
इन्डोनेसियाको जाभामा प्रचलित महाभारतमा शिखण्डीलाई अर्जुनकी पत्नीका रुपमा पनि लिइएको रहेछ। द्रौपदी पछि विवाहित स्त्री। तर अन्त कतै त्यो प्रसङ्ग पाइँदैन। अर्थात् शिखण्डी शिखण्डिनी भएको प्रमाणका रुपमा यो प्रसङ्ग आएको हुनुपर्छ। शिखण्डिनी हुँ भनेर त स्थूणाकर्णसँग सत्यापन गरेको पाइन्छ र स्थूणाकर्णको लिङ्ग स्वीकार गरी आफ्नो स्त्रीलिङ्ग नासोको रुपमा राखेको पाइन्छ। दशार्णकन्याका लागि पुरुषत्व देखाएरमात्र हुनेवाला थिएन, उनीसँग यौन समागम पनि जरुरी थियो जसले मात्र उब्जेको शङ्का निवारण हुनसक्थ्यो। त्यसैले शिखण्डीले प्राप्त पुँस्त्वको भरपुर सदुपयोग गरेको बुझिन्छ र राजकुमारीमा अब कुनै शङ्का नरहने अवस्था सृजना भएपछि उनी लुसुक्क एक्लै स्थूणाकर्णको दरबारमा गएका हुनुपर्छ। नजाँदा यक्षमा शिखण्डीप्रति अविश्वास पैदा हुनसक्थ्यो जसले गर्दा साँच्चै शिखण्डीको अरु बदनाम हुनसक्थ्यो। शिखण्डी स्त्री भएको पछिल्लो प्रमाणमा स्थूणाकर्ण नै त थियो।
केही समयपछि लिङ्ग फिर्ता दिएर आफू सत्यवादी पनि हुने, राजकुमारको जीवन पनि अनुभव गरिने र राजकुमारीमा रहेको शङ्का पनि निवारण हुने कारणले र वचनबद्धताका कारणले पनि शिखण्डी स्थूणाकर्णको पुल्लिङ्ग फर्काउन गएका थिए। तर उनको दिमागमा एउटा कुरा भने खेलिरहेको थियो, शिवजीले पहिले महिलाको रुपमा जन्मने र पछि पुरुषका रुपमा परिणत भएर लडाकुका भेषमा गङ्गानन्दनसँग लडेर उनको कालको कारण बन्ने वरदानको पूर्णता कसरी र कहिले हुने हो? कर्मप्रति विश्वास गर्ने शिखण्डीमा नियतिको खेल कसरी खेलिएला भन्ने आशङ्कामा नै थिए। त्यही द्विविधाभित्रै रहेर एक्लै स्थूणाकर्ण यक्षको दरबारतर्फ गई रहँदा मनमा अनेक कुरा खेल्दै थिए।
एकमनमा पक्कै लागेको थियो होला, यदि मैले यो पुँस्त्व फिर्ता नगरे के होला? सधैँको कालो धब्बाबाट त मुक्त हुने थिएँ कि शिखण्डी जन्मजात महिला हो र सधैँ महिला नै हो। तर यक्ष र राक्षसहरूले पिछा गर्न थाले पनि झन बाँच्न मुस्किल हुनेछ भन्ने पनि शिखण्डीलाई थाहा थियो। महाराज द्रुपदकी रानी प्रिषती सत्यवादी थिइन् र सन्तानलाई सत्यमेव जयते भन्ने धारणामा बाँच्न सिकाउँथिन्।
जब स्थूणाकर्णको दरबारमा शिखण्डी अन्यमनस्क भावमा पुगे, उनीभन्दा झन अन्यौल र अन्यमनस्क भावमा त यक्ष पो थिए। आफ्नो पेटको बच्चाको माया कसलाई पो हुँदैन र? पक्कै त्यो गर्भ कुनै यक्षको थियो होला भन्ने अनुमान पनि लोक साहित्यमा गरिन्छ। तर वैशाम्पायनका विचारमा यक्षहरूका राजा तथा सम्पूर्ण विश्वका अर्थमन्त्रीका रुपमा देवताका राजा इन्द्रले खटाएका कुवेर पनि यक्ष नै थिए र यक्षुराजका रुपमा मानिएका त देवता त कुवेर नै थिए। बेला मौकामा कुवेरलाई राक्षसको रुपमा पनि गणना गरिन्छ भने इन्द्रका प्रतिनिधि भएर लक्ष्मीको सेवा गरेर धनपाल भएकामा उनी आफ्ना कर्तव्य पूरा गर्दै थिए। स्थूणाकर्णले जब लिङ्ग फिर्ता लिएर रोपण—प्रतिरोपण गर्न असमर्थता जनाएपछि शिखण्डीको भित्र रहेको कुण्ठा बोल्ने नै भयो—यदि तोकिएको समयमा, हे यक्ष, तिमीले तिम्रो लिङ्ग फिर्ता लिँदैनौ भने म पनि यो लिङ्ग दिन भनेर लुकीलुकी हिमालय क्षेत्रमा आउनेवाला छैन। लिने भए अहिले लेऊ, नभए कहिले पनि यो मेरो शरीरमा जडित लिङ्ग फिर्ता दिन बाध्य हुनेवाला छैन। स्थूणाकर्णले पनि बाध्य भएर शिखण्डीलाई आफ्नो पुँस्त्वको बलीदान दिँदै अब फिर्ता लिनु नपर्ने गरी दिएको घोषणा गर्यो।
यसरी शिखण्डी असत्य हुने अवगालबाट पनि बचे, पुँस्त्व पनि प्राप्त गरे र स्थूणाकर्णलाई धन्यवाद दिँदै, उसलाई आफ्नो नियति भोगेर बाँकी जीवन बाँच्न शुभकामना दिँदै दरबार फर्किए। यसरी नियतिको खेल पूरा हुने क्रममा, शन्तनुनन्दनको लागि मनमा क्लेश पालेर बसेका र भीष्म पितामहकै कालको रुपमा आफू जन्मेको घोषणा गर्ने राजकुमारको मुख्य मनोरथ पूरा हुन थालेको आभास पाउन थालेका थिए शिखण्डीले पनि। पूर्वजन्मको कथा उनको दिमागमा फन्को मारेर बसेको थियो र उनले सपना जपना सधैँ देवब्रत उनको बाणको भार र मार खप्न नसकेर भुइँमा पछारिएको मात्र देख्थ्यो। र अम्बालाई गरेको अपमानको बदला लिएको झल्झली देख्दै, त्यस्तो समयको प्रतीक्षामा पूर्व अम्बा अर्थात् हालमी शिखण्डी रहेको पाइयो। नियतिको खुँगामा कसरी मनुवा पर्छ भन्ने यो पनि एउटा उदाहरण थियो।
शिखण्डी जति शूरवीर थिए, जति अन्यमनस्क भावमा रहन्थे, त्यति नै भीष्ममा पनि पूर्व जानकारी उनले पाएका थिए भन्ने बुझिन्छ। क्रमशः
श्रोत: आइएनएस-स्वतन्त्र समाचार