ठूलै शहर मानिन्छ हेटौंडा। त्यसमाथि अहिले त बागमती प्रदेशको राजधानी शहर नै हो हेटौंडा।तर स्वास्थ्य उपचारका मामिलामा भने साह्रै पिछडिएको छ यो शहर।मान्छे बिरामी भए कि त चितवनको मुख ताक्न पर्छ कि काठमाडौँको।यो तितो यथार्थ मनन् गरेर नै जम्मा ५० शैयाको हेटौंडा अस्पताललाई ३०० बेडको सुविधासम्पन्न अस्पताल बनाउन थालिएको थियो यस अघिको प्रादेशिक सरकारको पालामा तर अहिले राजनीति शुरू भएको छ।अनि अहिले परिस्थितिलाई हेर्दा पहिला सत्तामा रहेका कम्युनिष्टहरूको विभाजनको सिकार हेटौंडा अस्पताललाई बनाउन लागिएको आभास आउन थालेको छ।
अघिल्लो डोरमणी सरकारले हेटौंडा अस्पताललाई आफूहरूले स्थापना गरेको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत ल्याएर व्यापक सुधार गर्न थालेको थियो। जम्मा ५० शैयाको हेटौंडा अस्पताल उक्त प्रतिष्ठानमार्फत हाल ३०० बेडको सुविधासम्पन्न अस्पतालमा परिणत भएको छ। प्रदेश सरकारले निर्माण प्रारम्भ गरेको ६ तले भवन निर्माणाधीन रहेको छ। हाल मदनभण्डारी स्वाथ्य विज्ञान प्रतिष्ठानमा जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी जस्ता तीनवटा विषयमा अध्यापन भइरहेको छ भने एमबिबिएसको कक्षा सञ्चालनको तयारी भइरहेको थियो।
तर अहिले प्रदेश सरकारले यो संस्थालाई गम्भीर असर पर्नेगरी अध्यादेश ल्याएको भन्दै तीव्र विरोध शुरु भएको छ। वि.सं.२०१६ सालमा १५ बेडको सामान्य अस्पतालबाट शुरु भएको हेटौंडा अस्पताल वि.सं.२०२२ सालमा २५ शैयाको जिल्ला अस्पतालको रुपमा परिणत भयो। अस्पतालको विकास गर्न हेटौडा अस्पताल विकास सेवा समितिको गठन भई सो समितिमार्फत थप २५ शैया गरी जम्मा ५० शैयाको अस्पताल सञ्चालन भइ सेवाप्रदान गर्दै आएको अवस्थामा आर्थिक बर्ष २०६१/६२ सालमा मन्त्रीपरिषद्को निर्णयानुसार उप क्षेत्रीय अस्पतालको नाममा नामाकरण गरिएको थियो। तर सरकारले उप क्षेत्रीय अस्पतालको दरबन्दी पठाउन नसकेको कारण वि.सं. २०७१ असार २० गतेको मन्त्रिपरिषदको निर्णयले ५० शैयानै कायम गर्यो।
मकवानपुरका तत्कालीन राप्रपा नेता कमल थापाले आफू सरकारमा भएको बेला उपक्षेत्रीय अस्पतालका रुपमा नाम त लेखाउनु भयो, तर त्यो नाममै सीमित भयो। उपक्षेत्रीय अस्पताल हुन चाहिने न्युनतमा मापदण्ड, चिकित्सक तथा अन्य कर्मचारीको दरबन्दी थप, स्वास्थ्य सेवामा प्रयोग हुने उपकरणलगायतको व्यवस्थापन हुन नसकेपछि उपक्षेत्रीय अस्पताल पुनः जिल्ला अस्पतालमा नै रह्यो।
अस्पतालमा सत्ताको नेतृत्व परिर्वतन हुने बित्तिकै अस्पताल सञ्चालन समिति पनि परिवर्तन हुने क्रम चलेको थियो।
नेपाल संघीयतामा गएपछि बागमती प्रदेशका मुख्यमन्त्री हेटौडाका स्थानीय डोरमणि पौडेल बनेसँगै मकवानपुरको स्वास्थ्य क्षेत्रमा सुधारको पहल भयो। यस क्रममा, हेटौंडा अस्पताललाई समेटेर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवधारणा आयो।त्यसलाई शिक्षण अस्पतालका रुपमा अगाडि बढाउन हेटौंडा अस्पताललाई प्रतिष्ठान मातहत ल्याईयो। ५० बेडमा सिमित रहेको हेटौंडा अस्पताल ३०० बेड हुँदै अहिले ५०० बेडमा उक्लने क्रममा रहेको छ।
तर नेकपा (एमाले)का डोरमणि पौडेलको नेतृत्वको सरकारले शुरु गरेको यो क्रमलाई एमालेबाट फुटेर बनेको नेकपा (एकिकृत समाजबादी) का राजेन्द्र पाण्डे नेतृत्वको सरकारले प्रतिष्ठान र अस्पताल अलग्याउने निर्णय गरेको छ। संसद बन्द भएको अवस्थामा पाण्डे नेतृत्वको कांग्रेस र माओवादी रहेको सरकारले अध्यादेश जारी गरेर प्रतिष्ठान र अस्पताललाई छुट्टै अस्तित्व भएको संस्थाको रुपमा खडा गर्यो।
एमालेले राजनीतिक प्रतिशोध साँध्न अध्यादेश ल्याएको बताइरहेको छ भने सत्ता निकटका दलका नेता तथा कार्यकर्ताहरु मौन बसेका छन्।
प्रतिष्ठानलाई चितवन सार्ने र अस्पताललाई अलग बनाउने प्रयत्नस्वरुप अध्यादेश ल्याइएको भन्दै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री पौडेलले यो कदमप्रति आपत्ति जनाउँदै पत्रकार सम्मेलन गरिसक्नु भएको छ। सामान्य भन्दा सामान्य उपचारका लागि पनि हेटौंडा बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्न प्रतिष्ठानमार्फत मकवानपुरबासीलाई सेवा दिने शुरुवात गरिएको पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले बताउनु भएको छ। आफू नेतृत्वको सरकारले हेटौंडा अस्पतालको स्वामित्व समेत लिने गरी प्रतिष्ठानमार्फत हेटौंडा अस्पतालको स्तरोन्नतिको कार्य गरेको बताउँदै अध्यादेशमार्फत अस्पताल र प्रतिष्ठानलाई छुट्याउनु गलत भएको पौडेलले वताउनु भयो।
मकवानपुरे जनताको स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धी हुँदै गरेको प्रतिष्ठान र अस्पताललाई टुक्राउने र कमजोर बनाउने कार्यको मकवानपुरबाटै निर्वाचित प्रदेश सभा सदस्य र मन्त्रीले समेत रोक्ने प्रयत्न नगर्नु दुखद् भएको पूर्वमुख्यमन्त्री पौडेलको भनाई छ। ‘मकवानपुरे जनताको सेवा, सुविधामा हस्तक्षेप हुने निर्णयमा कम्तिमा मकवानपुरबाटै निर्वाचित प्रदेश सभा सदस्य र मन्त्रीले समेत विरोध नगर्नु दुखद् विषय हो,’ पौडेलले भन्नुभयो।
गत साता आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पौडेलले आफू नेतृत्वको सरकारले प्रदेशकै गौरवको योजनाको रुपमा अगाडि सारेर उल्लेखनीय उपलब्धी हासिल गरेको प्रतिष्ठानलाई सार्ने, कमजोर बनाउने कार्य भएको बताउनु भयो। मकवानपुरको कमजोर स्वास्थ्य सेवामा सुधार गर्ने, दक्ष जनशक्ति समेत उत्पादन गर्ने गरी स्थापित प्रतिष्ठानलाई कमजोर बनाउने, प्रदेशको राजधानीबाट बाहिर लैजाने प्रयत्नले मकवानपुरबासी पीडित हुने उहाँको जिकिर छ।
प्रतिष्ठान मातहत आएपछि हेटौंडा अस्पतालमा विशेषज्ञ चिकित्सकको संख्यामा वृद्धि भएको, सघन उपचार कक्ष (आइसियु), एचडियु कक्ष स्थापित हुनुका साथै प्रयोगशालाको क्षमता विकास गर्ने काम भएको पूर्वमुख्यमन्त्री पौडेलको भनाई छ। यता बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वायत्त संस्थाको रुपमा स्थापना गर्नका लागि आफ्नै अस्पतालको व्यवस्था गर्ने उद्देश्य अनुसार अध्यादेश ल्याइएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण शर्मा खनाल बताउनुहुन्छ।
उक्त अध्यादेश जारी भएसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत राखिएको हेटौंडा अस्पताल अलग हुने छ। हेटौंडा अस्पतालमा चिकित्सा शिक्षाका अन्य विषयहरु अध्यापन गराउनको लागि पर्याप्त भौतिक संरचना र जनशक्ति नभएकाले प्रतिष्ठानबाट अलग गरिएको खनाल बताउनुहुन्छ।
स्वास्थ्य विज्ञानका विभिन्न कार्यक्रमहरुको पठन पाठन गर्ने गराउने सन्दर्भमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नो स्थायी संरचना हेटौडा उपमहानगर पालिका वडा नं. १० साबिकको टि.सि.एन को करिब १० विगा जमिनमा तयार हुने प्रतिष्ठानका प्रशासन प्रमुख अमर अधिकारीको भनाई छ।
त्यसको लागि संघीय सरकारले उपलव्ध गराउने करिव ९६ करोड अनुदान रकमको टेण्डर प्रक्रिया पूरा भई निर्माण कार्य अगाडि वढेको उनले। आफ्नो संरचना तयार नहुन्जेल सम्म हेटौडा उपमहानगर पालिका वडा नं. ११ मा रहेको नवलपुरमा चिकित्सा शिक्षा आयोगवाट ३ वटा विषयहरु (बि. फार्मेसी, बि.पि.एच. र बि.एम.एल.टि ) को स्नातक तहको पढाई यसै शैक्षिक शत्रवाट शुरु भएको पनि उहाँले जानकारी दिनुभयो।
आ.व. ०७७।०७८ मा चिकित्शा शिक्षा आयोगको अस्पताल तथा शैक्षिक संस्थाको अवलोकन पश्चात मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्नातक तहका ३ वटा विषय पठन पाठनको सञ्चालन अनुमति दिएपछि सोही बमोजिम पठनपाठन भईरहेको हो। राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा १२ उपदफा (१) को “क” अनुसार प्रतिष्ठानले स्नातक तहका चिकित्सा कार्यक्रम सञ्चालन गर्न १०० शैया र चिकित्सा विज्ञानको कार्यक्रम संचालन गर्न कम्तिमा ३०० शैयाको अस्पताल आफ्नै हुनु पर्ने व्यवस्था रहेको र अध्यापन गराउने ठाउँ र अस्पताल १० कि.मि. भित्र हुनु पर्ने प्रावधान रहेको छ। अस्पतालको आफ्नै अस्पताल नबनिसकेको वर्तमान अवस्थामा सो अध्यादेश जारी भएपछि प्रतिष्ठानको पठन पाठन र विकासमा गम्भीर असर पर्ने छ।
५० बेडको जिल्ला अस्पताल क्रमश ३०० र २०० थपिएर ५०० शैयाको शिक्षण अस्पतालको रुपमा विकाश हुँदै गएको हेटौडा अस्पताल अब फेरी पुरानै अवस्थामा फर्काउने प्रयास गरिनु विकेन्द्रीकरणको सिदान्त विपरित रहेको छ। आ. व. २०७७/०७८ मा संघीय सरकारबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि आएको विशेष अनुदान प्रतिष्ठान मातहतको हेटौडा अस्पताल भित्र थप २०० शैयाको अस्पताल निर्माणाधीन रहेको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईको भनाई छ।
प्रसाईका अनुसार हेटौंडा अस्पताल प्रतिष्ठान मातहत आउनु अघि विशेषज्ञ डाक्टर १२ जना मात्र रहेकोमा हाल २२ जना पुर्याइएको छ। प्रतिष्ठान मातहत आउनुअघि आइसियु, एचडियु लगायतको कुनै पनि सेवा उपलब्ध नरहेकोमा प्रतिष्ठान मातहत आएपछि १७ बेडको आइसियु र २० बेडको एचडियु सञ्चालन गरिएको छ। त्यस्तै अस्पतालले ५०० बेडको लागि पर्याप्त हुने अक्सिजन प्लान्ट जडान गरेको उहाँले बताउनुभयो ।
अस्पतालले पहिलो पटक मनोरोगको विशेषज्ञ सेवा प्रारम्भ गरेको तथा दैनिक ४०० जनालाई मात्रै सेवा प्रदान गर्दै आएको अस्पतालले हाल ६५० जनाभन्दा बढीलाई दैनिक सेवा दिन थालेको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रसाईले जानकारी दिनुभयो।
यी सबै तर्कहरूका बीचमा स्थानीय बासिन्दाको डरचाहिँ बल्ल बल्ल सुध्रिन लागेको हेटौंडा अस्पताल फेरि पुरानै अवस्थामा फर्किने हो की भन्ने हो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
प्रकाश दाहाल/हेटौंडा का अन्य पोस्टहरु:
- बिमाको पैसा नपाउँदा हेटौंडाको आँखा अस्पताललाई समस्या
- ऐतिहासिक रौनक ब्युँताउँदै भीमफेदी गाउँपालिका
- मकवानपुर १(क): पूर्व सांसद र पूर्व गाविस अध्यक्ष बीचको रोचक भिडन्त
- कमल थापाको निर्वाचन क्षेत्रमा राजेन्द्र लिङ्देनको धावा
- मकवानपुर २: गुरुचेलाको भिडन्त
- सूर्य चिह्न बोकेर कमल थापा मकवानपुर- १ मा डिना र दिपकसँग भिडदै
- हेटौडाको मत्स्य प्रवर्द्धन केन्द्र पर्यटकीय आकर्षणको केन्द्र बन्दै
- हेटौडामा बढे डेङ्गु संक्रमित; मेयर साब मलेसियामा
- जब अभिभावक तथा शिक्षक नै आफू “भाइरल” हुन बालबालिकाको दुरुपयोग गर्छन्
- हाम्रा गाउँ मर्दै गएका हुन्?